सरकारी वकिलसमक्ष महराले दिए सात घण्टा बयान, आरोप आधा इन्कार, पीडितद्वारा इजलाशमै निबेदन दर्ता

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक ४, सोमबार) ०२:१५

संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेर सभामुखबाट राजीनामा दिएपछि पक्राउ परेका कृष्णबहादुर महराले सरकारी वकीलको उपस्थितिमा सात घण्टा बयान दिएका छन्। निवर्तमान सभामुख महराले आइतबार आफूविरूद्ध महानगरीय प्रहरी वृत्त तीनकुनेमा पीडित महिलाले दर्ता गरेको उजुरीमा बयान दिएका हुन्।

काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयमा बिहान करिब ११ बजेदेखि साँझ करिब ६ बजेसम्म लगभग ७ घण्टा लगातार बयान दिएका हुन्। प्रहरीले बबरमहलस्थित सरकारी वकीलको कार्यालयमा महरालाई ४४ वटा प्रश्न सोधेको बताइएको छ। जसमा १० जति प्रश्न औपचारिक थिए। ती प्रश्नमा नाम, बाबु, आमाको नाम, थर, ठेगाना, उमेरलगायत रहेका बताइएको छ। त्यसपछि भने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले सोझै मुद्दासँग सम्बन्धित प्रश्न सोधेका थिए। जसमा उजुरीमा भनिएका कुरालाई लिएर कडा प्रश्न सोधेको स्रोतले बतायो। प्रहरीले सोधेको प्रश्नमा महराले ‘आंशिक इन्कारी’ बयान दिए।

बयानका क्रममा महराले ती कर्मचारीको उजुरीमा भनिएजस्तो बलात्कारको प्रयास नगरेको बताएका छन्। स्रोतका अनुसार महराले आफूलाई ‘महिला कर्मचारी रोशनी शाहीले  फोन गरेर कोठामा  बोलाएपछि उक्त क्षेत्रमा गएको, तर  त्यहाँ पुगेपछि उनलाई फोन गर्दा नउठाएपछि १५ मिनेट उक्त क्षेत्रमा बसेर फर्किएको” भनेर बयान दिएका छन्।

रोशनीसँग पारिवारिक सम्बन्ध भएकाले पहिले पनि आउने-जाने गरेको भनेर आफ्नो बयानमा उल्लेख गरेका महराले अभियोग लगाइएजस्तो केही क्रियाकलाप नभएको बताएका छन् ।

सरकारी वकीलको रोहबरमा प्रहरीले लिएको बयानमा उक्त प्रकरणमार्फत् आफूलाई राजनीतिक रूपमा फसाउन खोजिएको महराले  जिकिर गरेका छन् । तर कसले फसाउन खोजेको भन्ने कुरा खुलाएका छैनन्।

रोशनीको कोठामा भेटिएको भाँचिएको चश्मा र जुत्ताको भित्री भागलाई लिएर पनि प्रहरीले प्रश्न सोधेको थियो। जुन चश्मा र जुत्ताको अंश पनि आफ्नो नभएको महराले प्रहरीलाई जवाफ दिएका थिए।

महरालाई त्यहाँ पुगेर मदिरा पिएकोबारे पनि प्रश्न सोधिएको थियो। त्यो कुरा पनि उनले अस्वीकार गरेको बताइएको छ।

यसैबीच निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको भन्दै जाहेरी दिएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुराम सुवेदीको इजलाशमा एक निवेदन दिएकी छन्।

म्याद थपको अनुमतिका लागि महरालाई आइतबार अदालतमा पेश गरिँदा  उनले इजलाससमक्ष आफूले स्वेच्छाले कुनै निवेदन नदिएको र  प्रहरीले करकाप गरेर जाहेरी दिन लगाएको व्यहोराको निवेदन पेश गरेकी छन् ।

यसैबीच जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध कुनै अभियोगपत्र दर्ता नहुञ्जेल उनीबाट पीडित भएकी भनिएकी शाहीको निवेदनमाथि कुनै सम्बोधन नगर्ने भएको छ ।

‘मूल मुद्दा दर्ता भएको छैन, कुनै किटानी जाहेरीका क्रममा आरोपित थुनामा छन् र म्याद थप भइरहेको छ’ एक न्यायाधीशले भने, ‘यस्तो अवस्थामा घटनाको आरोप समेत परिपक्व भएको हुँदैन, जाहेरी दिनेको निवेदन लिनुको के अर्थ हुन्छ र ?’ ती न्यायाधीशका अनुसार, कतिपय अवस्थामा त बयान फेरेको अनि अनुसन्धानमा असहयोग गरेको आरोपमा समेत जाहेरीकर्तामाथि छानबिन र कारबाहीको अवस्था हुन्छ । मुद्दा दर्तापछि मात्रै अदालतले ‘उचित ठानेमा’ त्यस्ता निवेदनको विषयवस्तु ग्रहण गर्ने उनले बताए ।

यसबीच न्यायाधीश सुवेदीको इजलासले आजै महरामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको छ। सरकारी वकिल कार्यालयले सात दिन समय मागेकोमा अदालतले पाँच दिनमात्र म्याद थपिदिएको हो।

आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै घटना लगत्तै असोज १२ गते संसद सचिबालयकी कर्मचारी  शाहीले प्रहरीमा उजुरी दिएकी थिइन्।

यो घटना बाहिरिएर चौतर्फी आलोचना भएपछि महराले सभामुखको पदबाट राजीनामा दिएका  थिए तर सांसदको पदबाट भने राजीनामा दिएनन्।

शाहीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले महरालाई असोज १९ गते सभामुख भवन बालुवाटारबाट पक्राउ गरेको थियो।

पक्राउ परेसँगै उनले सांसदको हैसियत गुमाएका छन् भने सेवासुविधा पनि रोक्का भएको छ।


(२०७६ कार्तिक ४, सोमबार) ०२:१५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६ शेराफिल्डबाट ती भारतीय.....

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष.....

ने.क.पा. जाजरकोटका इन्चार्ज ओली सालको बुटाबाट गिरफ्तार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित ने.क.पा. को जाजरकोट जिल्ला ईन्चार्ज प्रेमप्रकाश ओली 'धमिल'लाई प्रहरीले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सालको बुटा.....

Exchange Rate

Nepali Patro