बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ आश्विन २६, आईतवार) १३:०८

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् ।

सांसद मोहम्मद अफ्ताव आलमलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले जानकारी दिए । सोही आदेशअनुसार जिल्ला अदालत रौतहटबाट पक्राउ पूर्जी जारी भएपछि अनुसन्धानका लागि नियन्त्रण गरिएको प्रवक्ता डीएसपी कार्कीले बताए ।

संविधानसभाको पहिलो चुनाव लक्षित गरी ०६४ चैत २७ गते राति रौतहटको राजपुरमा बम विस्फोट भएको थियो । बम बनाउँदै गर्दा विस्फोट भएको घटना लुकाउन घाइतेहरुलाई इँटाभट्टामा हत्या गरेको आरोप आलममाथि छ । बम विस्फोटमा मृत्यु भएका केही परिवारले प्रहरीमा उजुरी दिएपछि त्यसबेलै प्रहरीले अनुसन्धान गरेको थियो ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले ०७५ चैत ८ गते पुनः मुद्धा चलाउने आधारहरु प्रसस्त भएको भन्दै पक्राउ गर्न आदेश दिएको थियो । पछिल्लो समय आलमलाई मोस्ट वान्टेडको सूचीमा राखेको थियो ।

 

 


(२०७६ आश्विन २६, आईतवार) १३:०८ मा प्रकाशित

Exchange Rate

Nepali Patro