विमानस्थलबाट एक किलाे ४ सय ग्राम सुनसहित तीन जना पक्राउ

संबाददाता : बुद्धि हमाल     प्रकाशित मिति: (२०७६ भाद्र २३, सोमबार) १९:५९

नेपाल प्रहरीले त्रिभुवन विमान स्थलबाट एक किलो ४०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीन जनालाई साेमबार बिहान पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले विमानस्थलको आगमन कक्षबाट कतारबाट आएका गुरुङलाई एक किलो ४०० ग्राम सुनसहित बिहान पक्राउ गरिएको जानकारी दिनुभयो ।

गुरुङ हिमालय एयरलाइन्सको उडान नम्बर एच ९५६४ मार्फत नेपाल आएका थिए । प्रहरीले गुरुङलाई विमानस्थलमा लिन पुगेका अन्य दुई जनालाईसमेत पक्राउ गरेको छ । पछि पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


(२०७६ भाद्र २३, सोमबार) १९:५९ मा प्रकाशित

Exchange Rate

Nepali Patro