आत्महत्याको बढ्दो ग्राफ:चार बर्षमा २०९६७ ले गरे आत्महत्या

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ भाद्र ७, शनिबार) ०९:०२

टेकराज थामी नयपत्रिका/

आत्महत्या गर्ने ५६ प्रतिशत युवा 
सरदर दैनिक १५ नेपालीले आत्महत्या गर्ने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार पछिल्ला चार वर्षमा मुलुकभर २० हजार नौ सय ६७ जनाले आत्महत्या गरेका छन् । यो संख्या आपराधिक क्रियाकलापबाट हुने कुल मृत्युको ४५ प्रतिशत हो । तथ्यांकअनुसार कुलमध्ये आत्महत्यामा एक प्रतिशत हत्या ‘दुरुत्साहन’बाट हुने गरेको छ । ७५ प्रतिशत आत्महत्या झुन्डिएर हुने गरेको छ । विष सेवनबाट आत्महत्या गर्ने दर २३ प्रतिशत छ । बाँकी एक प्रतिशत आत्महत्या भने अन्य कारणबाट हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

आत्महत्या गर्नेमा सबैभन्दा धेरै १९ देखि ४० वर्ष उमेर समूहका छन् । ५६ प्रतिशत आत्महत्या गर्ने यही उमेर समूहका रहेको प्रहरी तथ्यांक छ । ४१ देखि ५९ वर्ष उमेर समूहका दोस्रो नम्बरमा छन् । २९ प्रतिशत आत्महत्या यो उमेर समूहका व्यक्तिले गरेका छन् । १८ वर्षभन्दा कम उमेरका आठ प्रतिशत र ६१ वर्षमाथिका सात प्रतिशत छन् ।

मनोविश्लेषक वासु आचार्य भन्छन्–डिप्रेसनबारे बुझाउन जरुरी छ
सरकारी कर्मचारी नै डिप्रेसनको सिकार देखिएका छन् । यो वास्तवमै गम्भीर विषय हो । कर्मचारी नै डिप्रेसनमा जाँदा उनीहरूले दिने सेवा प्रभावित हुन्छ । यसको असर जनताले भोग्ने हो । सरकार समस्या समाधानमा लाग्नु जरुरी छ । कर्मचारीलाई मोटिभेसन हुने क्रियाकलाप गर्न जरुरी छ । डिप्रेसनबारे बुझाउन आवश्यक छ । औषधि सेवनपछि ठीक हुन्छ भनेर चेतना दिनुपर्छ । कार्यालयमा पारिवारिक माहोल बनाउनुपर्छ । सामाजिक, राजनीतिक, आर्थिक माहोल पनि सुधार्न आवश्यक छ । जब यी पक्ष बिग्रिन्छन्, तनाव सुरु हुन्छ । तनाव व्यवस्थापन नभएपछि आत्महत्या हुन्छ ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छन्–जीवनको मूल्य नदेखेपछि आत्महत्या
आत्महत्याका विविध आयाम छन् । त्यसको जड पीडा नै हो । जसले पीडा व्यवस्थापन गर्न सक्छ त्यसको जीवन सुखमय हुन्छ । जसले पीडा व्यवस्थापन गर्न सक्दैन, डिप्रेसनमा जान्छ । डिप्रेसन बढ्दै गएपछि जीवनप्रतिको मोह नै हराउँछ । उसले जीवनको कुनै मूल्य नै देख्दैन । त्यसपछि आत्महत्याको बाटो रोज्छ । पीडा सिर्जना हुनुमा विविध कारण छन् । पारिवारिक, सामाजिक, आर्थिक, राजनीतिक जुन पनि हुन सक्छ ।

तीन सातामा चार कर्मचारीले गरे आत्महत्या डिप्रेसन प्रमुख कारक

घटना १ : मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन सुब्बा युक्तप्रसाद श्रेष्ठले बालाजु माछापोखरीस्थित हिमालयन सिटी सेन्टरको सातौँ तलाबाट हामफालेर आत्महत्या गरे । १२ साउनमा दिउँसै उनले आत्महत्या गरेका थिए । उनी बालुवाटारस्थित प्रधानमन्त्रीनिवासको सरकारी जग्गा निजी बनाउने कार्यमा मुछिएका थिए । पर्वत कांग्रेस जिल्लासचिवसमेत रहेका श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा बयान लिइरहेको थियो ।

घटना २ : मालपोत कार्यालय कलंकीका तत्कालीन सुब्बा हरि आचार्य २७ साउनमा उदयपुर त्रियुगा नगरपालिका–१ स्थित रातोमाटे जंगलमा झुन्डिएको अवस्थामा फेला परे । उनी पनि भ्रष्टाचार मुद्दामा तानिएका थिए । अख्तियारले बयान लिँदै थियो । शरीर खानतलासी गर्दा साथमा भेटिएको ‘सुसाइड’ नोटमा उनले आफूलाई निर्दोष दाबी गरेका थिए । उनले आफूले कहिल्यै अनियमितता नगरेको भन्दै सुसाइड नोटमा अख्तियार प्रमुख नवीन घिमिरेलाई ‘दुई सय वर्ष बाँच्नु’ भनेर व्यंग्य गरेका थिए ।

घटना ३ : मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगका बहालवाला सुब्बा बच्चुराम केसी मंगलबार कार्यालयभित्रै मृत भेटिए । उनले विष सेवन गरेका थिए । कीर्तिपुर टौदहका केसीको साथमा ‘सुसाइड’ नोट फेला परेको छ । जसमा उनले परिवारलाई सुख दिन नसकेको, चाहेजस्तो सुविधा दिन नसकेकोजस्ता बिलौना गरेका छन् । उनी दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी पनि हुन् । तत्कालीन दरबारको भान्से रहेका उनी पछिल्लो समय राहदानी विभागमा सरुवा भएका थिए । विभागमा रहँदा १७ बंगलादेशी नागरिकलाई नेपाली राहदानी वितरण गरेको अभियोगमा उनी पक्राउ परे । अदालतमा मुद्दा पनि खेपे । यही क्रममा उनको सरुवा सिंहदरबारस्थित योजना आयोगमा भयो । मुद्दाकै कारण तनावमा रहेका उनको परिवारसँग पनि मेल थिएन । तनावकै बीच उनले आत्महत्या गरे ।

घटना ४ : महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी जवान २६ वर्षीय शंकरसिंह ठगुन्नाले १ भदौमा आत्महत्या गरे । दार्चुला घर भएका उनी एक युवतीको कोठामा झुन्डिएको अवस्थामा फेला परे । उनले परिवारबाट टाढा रहेको, आर्थिक अवस्था सुधार नभएकोजस्ता गुनासा लामो समयदेखि सहकर्मीसँग गर्ने गरेका थिए ।

पछिल्लो तीन सातामा सरकारका चार कर्मचारीले आत्महत्या गरेका छन् । निजामती सेवाका तीन नायब सुब्बा र एक नेपाल प्रहरीका जवान छन् । एक सुब्बा र प्रहरी जवान बहालवाला हुन् । जसमध्ये दुई सुब्बा अवकाशप्राप्त हुन्, एक भने बहालवाला । तर, तीनैजना भ्रष्टाचार मुद्दामा मुछिएका देखिन्छन् ।

आत्महत्याका चारवटा घटनाको प्रकृृति फरक–फरक छ । तर, पृष्ठभूमिमा यसको लहरो अर्थ, समाज र परिवारसँग जोडिएको देखिन्छ । पूर्वसचिव शारदाप्रसाद त्रितालले नेपाल सरकारका अधिकांश कर्मचारी कुनै न कुनै प्रकारको डिप्रेसनमा गुज्रिएको बताए । त्यसमध्ये पनि मध्यमस्तरका कर्मचारी बढी पीडित रहेको उनको भनाइ छ ।

‘हामीकहाँ सम्पूर्ण कर्मचारीलाई एउटै डालोमा राखेर हेर्ने चलन छ । उनीहरूको आर्थिक, सामाजिक र पारिवारिक अवस्थाको कहिल्यै अध्ययन भएन,’ पूर्वसचिव त्रितालले भने, ‘भारतकै उदाहरण हेरौँ, बेलायतबाट स्वतन्त्र हुनासाथ भारत सरकारले कर्मचारीको वृद्धिविकास अध्ययन गर्न तलब आयोग बनायो, अहिले पनि कायम छ । यसले सम्पूर्ण भारतीय कर्मचारीको विविध पक्षको अध्ययन गर्छ । सोही आधारमा सेवासुविधा तोकिन्छ । जसले कर्मचारीलाई मोटिभेसन दिन्छ । तर, नेपालमा यस्तो प्रणालीको विकास नै भएको छैन । यसैका परिणाम अहिले देखिन्छ ।’

तीनकुनेमा मनोपरामर्श दिने ‘ह्याप्पी क्लब’ सञ्चालन गर्दै आएका मनोविश्लेषक वासु आचार्य आफूकहाँ परामर्श लिन आउने सेवाग्राहीमध्ये २० प्रतिशत सरकारी कर्मचारी रहेको बताउँछन् । त्यसमध्ये पनि अधिकांश मध्यमस्तरका कर्मचारी धेरै रहेकोे बताए । ‘मैले केही वर्षदेखि मनोपरामर्श क्लिनिक चलाउँदै आएको छु । मकहाँ अनेक क्षेत्रका सेवाग्राही आउँछन् । त्यसमध्ये २० प्रतिशत सरकारी कर्मचारी छन् ।’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलले नेपाल प्रहरीका कर्मचारीमा पनि कुनै न कुनै प्रकारको डिप्रेसन रहेको बताए । लामो अवधि परिवारसँग अलग रहने, मानसिक, आर्थिक, सामाजिक तथा शारीरिक आवश्यकता पूरा गर्न नसक्ने र कामको अत्यधिक चाप डिप्रेसनको मुख्य कारण रहेको उनको बुझाइ छ ।

‘प्रत्येक मानिससँग फरक–फरक मनोकांक्षा हुन्छ । सबैका मनोकांक्षा पूरा हुन्छ भन्ने छैन । जसको पूरा हुँदैन, उसले पीडा महसुस गर्छ । पीडा व्यवस्थापन गर्न सकियो भने ठीक ठाउँमा आउँछ । नसक्दा थिग्रिँदै जान्छ । त्यसले आत्महत्याको परिणाम निम्त्याउँछ,’ डिआइजी पोखरेल भन्छन्, ‘नेपाल प्रहरीका कर्मचारीमा पनि केही न केही डिप्रेसन छ । त्यसमध्ये कामको ओभरडोज पनि कारण हो । पारिवारसँग लामो समय अलग बस्नुपर्ने बाध्यता पनि अर्को कारण हो ।’

सेनाका कर्मचारीमा पनि डिप्रेसन 
सैनिक स्रोतका अनुसार नेपाली सेनाका कर्मचारी झन् ठूलो डिप्रेसनबाट गुज्रिएका छन् । तर, उनीहरूका पीडा कमै सार्वजनिक हुन्छन् । डिप्रेसनमा गएपछि नेपाल प्रहरीका कर्मचारीलाई अस्पताल गएर उपचार गर्न छुट छ । तर, नेपाली सेनामा त्यो पनि छुट छैन । किनभने डिप्रेसनको औषधि सेवन गर्ने नेपाली सेनाका कर्मचारी संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान अयोग्य हुन्छन् । सोही कारण उनीहरू वर्षौँदेखि पीडा दबाएर बस्न बाध्य हुन्छन् ।

०७२/७३ मा ४७० ५ जना

०७३/७४ मा ५१३१ जना

०७४/७५ मा ५३४६ जना

०७५/७६ मा ५७८५ जना

 


(२०७६ भाद्र ७, शनिबार) ०९:०२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro