अदालतमा नाताबाद-कृपावादको नमुना : किर्ते तमसुकलाई सद्दे ठहर

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ भाद्र १, आईतवार) ११:१४

बालुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ । यसमा जिल्लाका एक र तत्कालीन पुनरावेदन तहका दुई न्यायाधीश मुछिएका हुन् ।

पटक पटक गरी १६ लाख रुपैयाँ ऋण लिएका ढकालले ऋण तिर्नुपर्ने भान्जीबुहारी शान्ता खनालका नाममा उल्टै साढे २ करोडको तमसुक खडा गरेका थिए । जग्गा किन्ने प्रयोजनका लागि खनालले हस्ताक्षर र औंठाछाप गरेर दिएको खाली कागज मामाससुरा पर्ने शोभाकान्तले दुरुपयोग गरी तमसुक बनाएका थिए ।

त्यही कागजलाई तत्कालीन जिल्ला न्यायाधीश नगेन्द्रलाल कर्ण, पुनरावेदन अदालतका न्यायाधीशद्वय शिवनारायण यादव र नारायणप्रसाद श्रेष्ठले सद्दे ठहर्‍याएका हुन् ।

पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आफ्नो प्रतिवेदनमा ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने खेलमा संलग्न भनी रामकुमार सुवेदी र ढकाललाई ‘भूमाफिया’ किटान गरेको थियो । ढकालले पत्नी उमा ढकाल्नीको नामबाट तमसुक गरेका हुन् । यससम्बन्धी कागजात अध्ययन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उमाको नाम प्रयोग भए पनि सबै काम शोभाकान्तबाटै भएको छ ।

अदालतमा दिएको जवाफ र अन्य विवरणअनुसार उमाको नामबाट शान्ता र उनका देवर नारायण खनालको नाममा २ करोड ५० लाख रुपैयाँ ऋण दिएको तमसुक बनेको थियो । त्यसबीच शोभाकान्तसँग मिलेर उनैको इसारामा नारायणले दाइ चन्द्रमणि र भाउजू शान्ताविरुद्ध अंशमुद्दा गरेका थिए । त्यो मुद्दा हारेलगत्तै शोभाकान्तले पत्नीका नामबाट शान्ताविरुद्ध लेनदेन मुद्दा अघि बढाएका हुन् ।

आज प्रकाशित कान्तिपुर दैनिकको समाचार अनुसार, अदालतमा पेस भएको लेनदेन मुद्दाको तमसुक लिखत लेख्न नेपाली नभई अन्य कागज प्रयोग गरिएको छ । कपाली तमसुकमा माथिपट्टि हस्ताक्षर हुँदैन तर शोभाकान्तले पेस गरेको लिखतमा त्यस्तो हस्ताक्षर गरिएको छ । तमसुकमा दुईथरीको हस्ताक्षरको मसीसमेत भिन्न खालको छ । ल्याप्चे लगाउँदा दुईथरी स्ट्याम्प प्याड प्रयोग भएको छ ।

लिखतको प्रकृतिमाथि अनेक कोणबाट प्रश्न उठेको छ। तमसुकमा अक्षरहरू छुने गरी औंठाछाप हुनुपर्नेमा शोभाकान्तले पेस गरेको तमसुकमा औंठाछाप छुट्टै छ । तमसुकको पछाडि ‘यो खाली कागज मञ्जुरीनामाका लागि मात्रै सहीछाप गरी छाडिदिएकी छु’ भन्ने विवरण उल्लेख छ । तर जिल्ला न्यायाधीश कर्णले सक्कल कागजातको फोटोकपी गर्न नदिएको पुनरावेदनपत्रमै उल्लेख छ ।


(२०७६ भाद्र १, आईतवार) ११:१४ मा प्रकाशित

Exchange Rate

Nepali Patro