चलचित्र विकास बोर्डको बालाजुस्थित २० रोपनी जग्गा गायब, भुमाफियाद्वारा जग्गाको फाइल पनि बेपत्ता

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण २३, बिहीबार) १४:४०

नेपाल चलचित्र विकास बोर्डको स्वामित्वमा रहेको काठमाडौंको बालाजुस्थित करीब २० रोपनीभन्दा बढी जग्गा कसको नाममा दर्ता भएको छ भन्ने बारेमा न नेपाल चलचित्र विकास बोर्डलाई थाहा छ , न सम्बद्ध मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई नै थाह छ।  त्यसमाथि पनि भूमाफियाहरूले सो जग्गासम्बन्धी फायल नै गायब पारेका छन्।

चौतर्फी दबाबपछि आफ्नो सम्पत्तिको खोजी गरेको नेपाल चलचित्र विकास बोर्डले बालाजुमा तात्कालीन समयमा झन्डै २७ रोपनी जग्गा आफ्नो स्वामित्वमा रहेको पत्ता लगाए पनि अहिले आएर ६.७५ रोपनी जग्गा आफ्नो नाममा रहेको तथ्य फेला पारेको थियो।

आफ्नो सम्पत्ति खोज्ने क्रममा चलचित्र विकास बोर्डले आफ्नो जग्गाको अवस्था पत्ता लगाउन कम्पनी रजिष्ट्रारको कार्यालय, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, शेयर कारोबार गर्ने संस्थालगायतलाई पत्राचार गरेको थियो । तर, कसैले पनि जग्गाबारे विस्तृत जानकारी दिन नचाहेको बोर्डका अध्यक्ष केशब भट्टराईले गुनासो गरे ।

कम्पनी रजिष्ट्रारको कार्यालयले बोर्डसम्बन्धी फाइल नै नभएको गैरजिम्मेवार जवाफ पठाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र शेयर कारोबार गर्ने संस्थाले पनि चित्तबुझ्दो जवाफ नदिएको बोर्डले जनाएको छ।  भूमाफियासँगको मिलेमतोमा फाइल गायब पारेको बोर्डका पदाधिकारीहरू आशंका व्यक्त गर्छन् ।

प्राप्त जानकारी अनुसार, नेपाली चलचित्र उद्योगको विकास गर्ने र चलचित्रमार्फत जनताको सेवा गर्ने भन्दै ०२८ सालमा शाही नेपाली चलचित्र संस्थान स्थापना गरिएको थियो । राष्ट्रिय सञ्चार योजनाअनुसार स्थापना भएको यो संस्थानले केही चलचित्र निर्माण पनि गर्‍यो ।

पञ्चायती व्यवस्थाको अन्त्यपछि ०४८ सालमा शाही नेपाली चलचित्र संस्थानको नाम नेपाल चलचित्र विकास संस्थान बन्यो । राष्ट्रिय सञ्चार नीति, ०४९ मा चलचित्र विकास संस्थानलाई निजीकरण गर्ने व्यवस्था गरियो ।

सरकारको त्यही नीतिअनुरुप ०५० कात्तिक २६ गते बहुमत सेयर बिक्री गरियो । त्यतिबेला ५१ प्रतिशत सेयर ६ करोड ४६ लाख ६२ हजार रुपैयाँमा बिक्री गरिएको थियो । बाँकी ४९ प्रतिशत मध्ये २४ प्रतिशत चलचित्रसँग सम्बन्धित व्यक्ति, २० प्रतिशत सर्वसाधारण र ५ प्रतिशत संस्थानकै कर्मचारीलाई दिइएको थियो ।

त्यसपछि कम्पनी ऐनअनुसार नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको रुपमा दर्ता गरियो । कम्पनी ऐनअनुसार दर्ता भएयताको दुई दशकमा २० रोपनीभन्दा बढी जग्गा गायब भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र बिकास बोर्डको नामको बालाजुस्थित जग्गा खोजी गर्न बोर्डलाई निर्देशन दिएको छ।  तर बोर्डले जग्गा खोज्नु त कता हो कता जग्गा सम्बन्धि फाइल पनि पत्ता लगाउन सकेन।  फाईल खोज्न असहयोग गर्ने कार्यालयको विवरण उल्लेख गरेर बोर्डले मन्त्रालयलाई पत्राचार गरेको छ।  अब त्यो जग्गा खोज्ने जिम्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको हातमा पुगेको छ।

चलचित्र विकास बोर्डको १९ औं वार्षिक उत्सव कार्यक्रममासञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले  ‘ बालाजुको जग्गा खोई ? नेपाली चलचित्रको विकासका लागि दिएको जग्गा व्यक्तिले ‘क्याप्चर’ गरेर मोजमस्ती गर्न मिल्छ ? अब पानीमुनि गए पनि नछोडिने” प्रतिबद्धता व्यक्त गरेका छन् । उनको यो प्रतिबद्धता प्रतिबद्धतामा मात्र सिमित हुने हो कि कार्यान्बयन भएर गायब जग्गा खोजी गरी बोर्डको स्वामित्वमा फर्किने हो, त्यो हेर्न बाँकी छ।


(२०७६ श्रावण २३, बिहीबार) १४:४० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा नेपाल र नेपालीको.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

त्रिवि पदाधिकारीमा खुला प्रतिस्पर्धाबाट विज्ञहरु नियुक्त गर्न क्रान्तिकारीको माग, माफिया नियुक्त भए बहिस्कार गर्ने

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले विभुवन विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट विज्ञहरुलाई नियुक्त गर्न माग गरेको छ । अखिल क्रान्तिकारी.....

Exchange Rate

Nepali Patro