समाजवादी पार्टी शुद्धोधन गापा अध्यक्ष यादवमाथि गोली प्रहार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण १६, बिहीबार) १८:१४

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो गोली हानिएको छ। गोली लागेर सामान्य घाइते यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

शुद्धोधन गाउँपालिका-५ हथिहवा निवासी यादवको कुममा गोली लागेको छ । मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेका र उनीहरुको पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दिउँसो २ बजे गोली हान्ने अज्ञात समूहलाई प्रहरीले तत्काल पक्राउ गर्न सक्ने अवस्था भएपनि पक्राउ गर्न नचाहेको भन्दै स्थानीय आक्रोसित भएका छन् ।

इलाका प्रहरी कार्यालय पकडीका अनुसार पीडितले गोली लागेको भन्दै उपचारका लागि अस्पताल पुगेका थिए। तर गोली हानेको देख्ने प्रत्यक्षदर्शी कोही नभएका कारण एकीन भइनसकेको प्रहरीको भनाइ छ।

यसभन्दा अगाडी यही शुद्धोधन गाउँपालिकाका दीपेन्द्र चौधरी (राजाबावु) को गोली हानी हत्या भएको थियो । राजाबाबु नेकपाका नेता थिए । उनी पनि गाउँपालिकामा अध्यक्षमा उठेका थिए भने प्रदेश सभा निर्वाचनको उम्मेद्वार थिए ।


(२०७६ श्रावण १६, बिहीबार) १८:१४ मा प्रकाशित

Exchange Rate

Nepali Patro