ने.क.पा.को स्थायी कमिटि र पोलिटब्युरो भङ्ग, १७  केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर ‘खुला मोर्चा’को जिम्मा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण १६, बिहीबार) ११:२८

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पांच सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको समाचारहरु सार्वजनिक भएका छन्।

केही दिनअघि बसेको स्थायी कमिटी बैठकले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको सार्वजनिक समाचारमा जनाइएको छ ।

सार्वजनिक समाचार अनुसार, अब पार्टी अन्तरगतका सबै कमान्डहरु महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ आफैंले सम्हाल्ने भएका छन् । महासचिव बिप्लवबाहेकका चार जना स्थायी कमिटी सदस्यलाई सचिवालय सदस्यको जिम्मेवारी मात्र दिइएको छ । पार्टीको स्थायी कमिटीमा रहेका  हेमन्तप्रकाश ओली, खडगबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला र सन्तोष बुढामगर अब पार्टीको सचिवालय सदस्यको जिम्मेवारीमा रहनेछन।

स्थायी कमिटि बैठकले स्थायी कमिटि र पोलिटब्युरो भंग गरिसकेको अवस्थामा पोलिटब्युरो सदस्यहरुको जिम्मेवारी स्वत: घटुवा भई केन्द्रिय सदस्यमा सिमित हुन पुगेको छ।  पोलिटब्युरो सदस्यहरू भरत बम, अनिल शर्मा, ओमप्रकाश पुन, उमा भुजेल, वीरजंग र मोहन कार्कीलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको छ । पोलिटब्युरो सदस्य कृष्ण धमलालाई भने केन्द्रीय सदस्यको जिम्मेवारीबाट समेत हटाइएको छ ।

पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै ५० सदस्यीय  केन्द्रीय समितिबाट १७  जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर ‘खुला मोर्चा’ मा पठाएको छ । केन्द्रीय समितिबाट हटाइएकाध्ये केहीलाई पार्टीले दिएको जिम्मेवारी पूरा नगरेपछि हटाइएको समाचारस्रोतलाई उल्लेख गर्दै सार्वजनिक समाचारमा उल्लेख गरिएको छ। ने.क.पा.का एक नेताका अनुसार, पार्टी कार्यकर्ताको सुराकी गरेको, जिम्मेवारी दिएको क्षेत्रमा नगएको भन्दै केहीलाई जिम्मेवारीबाट हटाइएको र केहीलाई बर्खास्त गरिएको छ । समाचारस्रोतलाई उल्लेख गर्दै समाचारमा अघि भनिएको छ, “अब नयाँ ढंगले चल्नुपर्छ भन्ने पार्टीको निष्कर्ष छ, केहीलाई कारबाही पनि हुन सक्छ।  “

केन्द्रीय सदस्य रामप्रसाद तिमल्सिना, शंकर खडका, देवीदत्त पाण्डे, भेषराज भुसाल, पुरुषोतम विष्ट, धनबहादुर महर्जन, डम्बर विश्वकर्मा, आजाद केसी, बालाराम थापा कीर्ति, नन्दबहादुर वुढा विजय, कृष्ण अधिकारी ‘रवि’, बालाराम सुनार ‘हिमाल’, मकर गुरुड, सम्झना बुढा लगायत १७ जनालाई केन्द्रीय सदस्यबाट हटाइएको ने.क.पा.का एक नेतालाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।

‘केही सदस्यले पार्टीभित्रको गोपनीयता भंग गरेको, सुराकी गरेको भन्ने उजुरी परेका छन्,’ उनले भने, ‘त्यही कारण पार्टीको शुद्धीकरण अभियान चलाइएको हो, पार्टीले तीनवटै कमिटीका सदस्यहरूलाई नयाँ ढंगले जिम्मेवारी दिएर कार्यक्षेत्रमा पठाएको छ ।’

सरकारले प्रतिबन्ध लगाएको अवस्थामा इमानदार कार्यकर्ता आवश्यक रहेको उल्लेख गर्दै उनले शुद्धीकरण अभियानबाट पार्टी झन् बलियो हुने दाबी गरे । उनले दर्जनभन्दा बढी कार्यकर्तामाथि निगरानी गरिरहेको जानकारी दिँदै केही दिनभित्रै पार्टी निष्कर्ष पुग्ने बताए ।

आज प्रकाशित कान्तिपुरले बिप्लव नेतृत्वको ने.क.पा.को स्थायी कमिटि र पोलिटब्युरो भङ्ग गरिएको, पोलिटब्युरो सदस्य कृष्ण धमलालाई लाई कारवाही गरिएको र  १७  केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर ‘खुला मोर्चाको जिम्मा दिइएको समाचार सार्वजनिक गरेपनि नेपाल कम्युनिष्ट पार्टीले यस समाचारका बारेमा अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।


(२०७६ श्रावण १६, बिहीबार) ११:२८ मा प्रकाशित

Exchange Rate

Nepali Patro