शहिदले देखाएको बाटोको अनुसरण गरौ – विप्लव

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण ९, बिहीबार) १३:१४

क्रान्तिमा बलिदान र सहादत पुनः सुरु भएको छ । एकीकृत जनक्रान्तिमाथि कथित प्रतिबन्ध थोपरिएपछि कमरेड राजु, कमरेड कुमार र कमरेड सुप्रिम सहिद हुनुभएको छ । आन्तरिक दुर्घटनामा कमरेड महान, दीपेन्द्र, निरन्तर, प्रज्वल र रवि ……को सहादत भएको छ । कमरेड दुर्गा, सुरेन्द्र, छोटेलाल, बुद्ध र विक्रमहरू घाइते हुनुहुन्छ ।

कमरेड राजुलाई गिरफ्तार गरेर आत्मसमर्पण गर्न नमानेपछि केपी—बादलका भरौटे, भाट, रक्तभोगीहरूले क्रूर र अमानवीय प्रकारले गोली हानी हत्या गरे । कमरेड कुमारलाई बाटो ढुकेर डाँकाहरूले भन्दा पनि क्रूर प्रकारले पहिले हातमा गोली हानेर नियन्त्रणमा लिए । उहाँले आत्मसमर्पण गर्न नमानेपछि अर्को हातमा गोली हाने र अन्तिममा कञ्चटमा हानेर हत्या गरे । कमरेड सुप्रिम (निरकुमार राई) लाई सदरमुकाममा गोली हानी नियन्त्रणमा लिएर क्रूरतापूर्वक हत्या गरे । कमरेडहरूले श्रमिक जनताको मुक्ति, देशको स्वाधीनता, एकीकृत जनक्रान्ति, वैज्ञानिक समाजवाद—साम्यवादका लागि रत्तिभर नडगेर—नझुकेर आफ्नो जीवन बलिदान गर्नुभयो । गोलीको पीडालाई पनि सहज पचाएर रगत दिनुभयो । आफ्नो जीवन, परिवार, निजी सुखसुविधाभन्दा माथि क्रान्ति र जनताको मुक्तिलाई राख्दै जीवनको आहुति दिनुभयो । क्रान्ति र क्रान्तिकारीहरूको आँधीबाट थर्कमान भएको दलाल पुँजीपतिवर्ग, कम्युनिस्टका नाममा कलङ्क बोकेको दलालवर्गको रक्षक केपी—प्रचण्ड—वादलको सरकारले राणा, पञ्चायत, जनयुद्धकालको दमनलाई समेत उछिन्दै आततायी प्रकारले कमरेडहरूको रगत पियो । क्रान्तिकारीहरूको छायाँबाट पनि तर्सिने दलाल—भ्रष्टहरूले आफ्नो अनुहारलाई जनताका असल छोराछोरीको रगतले पोते । हाम्रा प्रिय एवम् महान् सपूत सहिदहरूप्रति हाम्रो अगाध, अनुपम, अद्वितीय श्रद्धा र सम्मान छ भने हत्यारा, अपराधी रक्तपिपासु, नरपिचासहरूप्रति घिनलाग्दो एवम् तुच्छ घृणा छ ।

क्रान्तिको बाटो महान्, प्रज्वलित र रक्तरञ्जित छ । श्रमिक जनताको पसिना, कमाइ, श्रम र उत्पादन लुटेर पुलिस—सेनाको बलमा रजाइँ गर्ने दलाल, लुटेरा, भ्रष्ट वर्गलाई कुर्सीबाट धुलोमा पछार्ने र जनताको कमाइ जनताले नै पाउने, सबै मानवबीच समानता, स्वतन्त्रता, मानवीयता दिने वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने क्रान्ति मानव जातिले गरेका सबै क्रान्तिभन्दा उच्च, महान् र उज्ज्वल छ । यस्तो क्रान्तिमा भाग लिनु र समर्पित हुनु वास्तवमै गौरवपूर्ण छ । तर महान् र उज्ज्वल लक्ष्यमा पुग्न सहज र सामान्य भने छैन । त्यसका लागि सत्तासीन चोर, डाँका, लुटेराहरूले आफ्नो रक्षाका लागि खडा गरेका अजङ्गका बाधा, अवरोध, बन्दुक, बम—बारुदका छेकबारहरूलाई काटेर, छिचोलेर बढ्नुपर्ने हुन्छ । त्यहाँ टक्कर पर्छ, भिडन्त हुन्छ र थुप्रै सपूतहरूले रगतको आहुतिद्वारा त्यसलाई पन्छाउनुपर्ने हुन्छ । हाम्रा प्रगतिशील, परिवर्तनशील, क्रान्तिकारी सबै अग्रजहरूले यस्तै यात्रा पार गरेर समाजलाई अन्धकारबाट आजसम्मको उज्यालोमा ल्याएका हुन् । हामी उत्कृष्ट, सुन्दर सभ्यताका लागि अन्तिम अँध्यारोसँग लडिरहेका छौँ । हामीलाई प्रस्ट ज्ञान छ हामीले अन्तिमपटक रगत बगाएर यो प्राप्त गर्नु पर्नेछ । हामी नै यस्तो महान् यात्राका अभियन्ता हौँ ।

हाम्रो समाजमा विभिन्नथरी मान्छेहरू छन् । एकथरी जनताको रगतपसिना चुसेर मोजमस्तीको जीवन बिताउन मन पराउने मान्छेहरू छन् जसलाई लुटेरा, शोषक र चुसाहा वर्ग भनिन्छ । अर्काथरी चुसिँदा, लुटिँदा र शोषित हुँदा पनि चुपचाप लागेर लुटेरा, चुसाहा, अतिक्रमणकारीहरूको सेवामा बस्ने र चाकरी बजाउने मान्छेहरू छन् जसलाई दब्बु, सेवक र दास भनिन्छ । अर्कोथरी मान्छेहरू छन् जसले आफूमाथिको शोषण, दमन र लुटको मात्र होइन, सिङ्गो समाज र देशमाथि हुने लुट, शोषण, अत्याचार र दमनका विरुद्ध विरोध, सङ्घर्ष एवम् विद्रोह गर्दछन् । आवश्यक पर्दा हिरासत, जेल र यातना भोग्न तयार हुन्छन् साथै बलिदानसमेत दिन्छन् । तिनलाई न्यायप्रेमी, परिवर्तनकारी, क्रान्तिकारी र विद्रोही भनिन्छ । हाम्रा सहिद हुने कमरेडहरू यी तीनथरीमा सबैभन्दा उत्तम मान्छेहरू हुनुहुन्छ जसले नेपाली समाज र राष्ट्रको परिवर्तन र रूपान्तरणका लागि लुटेरावर्गका विरुद्ध विद्रोह गर्नुभयो र जरुरी पर्दा आफ्नो रगत दिनुभयो । कमरेडहरूलाई नेपाली श्रमिक जनताले युगयुगसम्म स्मरण र सम्मान गरिरहनेछन् ।

क्रान्तिकारी, परिवर्तनकारी र विद्रोही मान्छेहरूमा पनि दुईथरी प्रवृत्तिका मान्छे देखिने गरेका छन् : पहिलोथरीमा क्रान्तिकारी आन्दोलन, पार्टी र क्रान्तिमा सहभागी भएपछि त्यसको उद्देश्य, लक्ष्य, विचार र आदर्शका लागि जस्तोसुकै खतरा, जोखिम र कठिनाइ पनि मोल्न तयार हुने, हिरासत र जेल बस्न तयार हुने साथै सङ्घर्ष गर्दागर्दै आफ्नो जीवन नै दिनु परे पनि नहिच्किचाउने र बलिदान गर्ने पर्दछन् भने दोस्रोथरी क्रान्तिकारीहरूमा परिवर्तन र क्रान्तिको चाहना त राख्ने, क्रान्तिमा सहभागी पनि बन्न आउने, कुरासम्ममा चर्कै पनि गर्ने, फाइदा सोहोर्न पाए सोहोर्ने तर क्रान्तिले माग गर्ने दुःख, कष्ट, त्याग र बलिदान गर्न तयार नहुने, प्रतिक्रियावादीहरूको दबाबमा परेर बीचबाटै पुरानो समाजतिर फर्किने, जनताका वैरीसँग आत्मसमर्पण गर्ने, झुक्ने, जीवनको रक्षाका लागि लुटेराहरूसँग याचना गर्ने, प्राणको भिक माग्ने, क्रान्ति छोडेर क्रान्तिकारी योद्धाहरूलाई धोका दिने, आफ्नै सहयोद्धा र नेताहरूको सुराकीसम्म गर्न पछि नपर्ने गद्दारहरू पर्दछन् । यिनलाई क्रान्तिकारीका नाममा घुसेका अस्थायी क्रान्तिकारी वा अवसरवादी भन्न सकिन्छ ।

हरक्रान्तिले यी दुईथरी क्रान्तिकारीहरू भोग्ने गरेको छ । हाम्रो एकीकृत जनक्रान्तिमा पनि यी दुवै प्रवृत्तिहरू देखापरेका छन् । कमरेड सुप्रिम, कुमार र राजुहरू क्रान्ति, श्रमिकवर्ग, वैज्ञानिक समाजवादका लागि जीवन दिने सर्वोत्कृष्ट कमरेडहरू हुनुहुन्छ । सयौँ कमरेडहरू जो हिरासत र जेलभित्र कठिन जीवन बिताइरहनुभएको छ, उहाँहरू पनि यस्तै असल कमरेडहरू हुनुहुन्छ । केही साथीहरू भने पुलिसको हातमा पर्दासाथ, हिरासतमा धम्कीकै भरमा वा केही यातना पाएपछि आतङ्कित हुँदै, केही विभिन्न लोभलालचमा फसेर वा केही आफ्नो विचारमा टिक्न नसकेर गल्ने, कागज गर्ने, सरकारी मान्छेहरूलाई अनुनयविनय गर्ने, आत्मसमर्पण गर्ने, कुरा खोल्ने, कमरेडहरू बसेको ठाउँ देखाउँदै हिँड्ने, नेतालाई गिरफ्तार गराउनेसम्ममा पुगेका छन् । यस्ता मान्छेले जतिसुकै धाक र गफ लगाए पनि वा पार्टीलाई छलछाम गर्न खोजे पनि यिनीहरू क्रान्तिकारी र जनताका आँखामा देखावटी, बोक्रे, अस्थायी, अवसरवादी एवम् धोकेबाज मान्छेहरू हुन् ।

एकीकृत जनक्रान्तिमा हाम्रा कमरेडहरूले कस्तो प्रवृत्ति, संस्कार र चरित्रलाई अनुसरण गर्ने भन्ने विषय निकै मननीय र ग्रहणीय छ । पार्टी, क्रान्ति, श्रमिकवर्ग र समाजवाद—साम्यवादका लागि सारा कठिनाइ सहन गर्न सक्ने, हिरासत र जेल भोग्न तयार हुने, जीवन दिन तयार हुने, आफ्नो रगत दिएर पनि क्रान्ति बचाउने नमुनालाई अनुसरण र अनुकरण गर्ने वा आफ्नो छाला जोगाउन पार्टी, क्रान्तिलाई धोका दिन पनि पछि नपर्ने गद्दारहरूको प्रवृत्तिलाई पस्न दिने ? निश्चय नै हामीले हाडछाला बचाएर श्रमिकवर्ग, पार्टी र क्रान्तिलाई घोका दिने प्रवृत्तिलाई घृणा गर्दै निस्तेज पार्नु पर्दछ भने आफ्नो जीवन दिएर पनि श्रमिकवर्ग र पार्टीको जीवनमा प्राण भर्ने बन्दी एवम् रगत दिने कमरेड सुप्रिम, कुमार, राजु र महानहरूको वीरता, साहस र बलिदानको नमुनालाई अनुसरण र आत्मसाथ गर्नु पर्दछ । हाम्रो पार्टीका सबै नेता, कार्यकर्ता र समितिहरूले यिनै कमरेडहरूको नमुना, चरित्र र संस्कारलाई अनुसरण गर्नुपर्छ । यही चरित्र र संस्कारको नमुनालाई शोषित, पीडित, श्रमिक जनतामाझ रोप्नु र फैलाउनु पर्दछ । वीरतापूर्ण बलिदानहरू एक दिन विजयमा बदलिनेछन् । कमरेड कुमार, सुप्रिम, राजु, महानहरू, दीपेन्द्र, निरन्तर, प्रज्वल र रविहरू नयाँ युगसँगै चम्किरहनुहुनेछ ।


(२०७६ श्रावण ९, बिहीबार) १३:१४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro