विश्वमै सबैभन्दा अग्लो स्थान मनाङमै फेला पर्यो अर्को ताल

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण ९, बिहीबार) ११:५१

विश्वमै सबैभन्दा अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल भन्दा पनि अग्लो स्थानमा अर्को एक ताल फेला परेको छ। समुन्द्री सतहदेखि ५ हजार २ मिटर उचाईमा रहेको मनाङकै चामे गाउँपालिका अन्तरगतको लमजुङ हिमालको बेसक्याम्पमा अर्को ताल फेला परेको हो।  चामे गाउँपालिका वडा नम्बर ४ मा फेला परेको यस तालको नाम केजिन सारा लेक राखिएको छ र यो करिब १ किलोमिटर ठूलो रहेको विज्ञहरुले बताएका छन् ।

हालसम्म मनाङमा रहेको तिलिचो ताललाई विश्वमै सबैभन्दा अग्लो स्थानमा रहेको तालका रुपमा मानिंदै आएको थियो । तिलिचो ताल अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यो ताल समुद्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा छ ।

चामे घर भइ अमेरिकामा बस्दै आएका व्यक्तिले गुगलमा नयाँ ताल देखे। तयो खबर गाउँमा गरे। ताल भएको स्थान वरपरका याक, चौरी, भेडा गोठालाहरुलाई सोध्दा ताल भएको जानकारी आएपछि चामेबाट गएको स्थलगत भ्रमण समूहले अमेरिकाबाट भनिएको खबरअनुसार नै ताल भएको पुष्टी भयो ।

गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार, पहिले नै यो ताल देखिएको भएपनि उचाई थाहा थिएन । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेको नेतृत्वमा २४ जनाको समूह ताल पहिचानका लागि साउन ५ गते स्थलगत भ्रमणका लागि गएको थियो। साउन ५ गते गाउँपालिका, जिल्ला प्रशासन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङको सहयोगमा तालको क्षेत्रफल र उचाई नापिएको हो । उनीहरु तालमै पुगेर नापजाँच गरेका थिए । यो तालको गहिराई, लम्बाई र चौडाई भने पत्ता लाग्न बाँकी छ।

ताल भएको ठाउँमा पुग्न चामेबाट २ दिन लाग्ने सशस्त्र प्रहरी बलका डिएसपी निलकमल आचार्यले बताए । भर्खरै ताल भेटिएकोले खाने र बस्ने प्रबन्ध नभएको उनको भनाई छ ।

मनाङ जिल्लामा ४ हजार मिटरभन्दा माथी दर्जनभन्दा धेरै तालहरु छन् ।

 

 


(२०७६ श्रावण ९, बिहीबार) ११:५१ मा प्रकाशित

Exchange Rate

Nepali Patro