वैज्ञानिक समाजवादको विशेषताहरु : राजेन्द्र किराती

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण ९, बिहीबार) ११:०४

ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी मान्यताअनुसार मानव समाज विकासले विभिन्न ऐतिहासिक चरण पार गर्दैआएको देखिन्छ । यसमा आदिम साम्यवाद, दास युग, सामन्ती युग, पुँजीवादी युग अनि समाजवादी ऐतिहासिक युगको अभ्यास भइसकेको छ । समाजवादी राज्य रूपको पनि तीनवटा विशेषता देखिन्छ । यसमा काल्पनिक, वैज्ञानिक र उपभोक्तावादी समाजवाद पर्छ । औद्योगिक क्रान्तिको विकाससँगै पुँजीवादको जन्म भयो । यसमा मजदुर र मालिकबीच चरम अन्तरविरोधपूर्ण अवस्था रह्यो । शोषण, विभेद र असमानता पुँजीवादको पर्याय नै बन्न पुग्यो । यही वस्तुगत धरातलमा पुँजीवादको विकल्पबारे वैज्ञानिकहरूले बहस प्रारम्भ गरे ।

यसैक्रममा दार्शनिकहरूले शोषण र विभेदरहित आदर्श समाजको परिकल्पना गर्न थाले । उनीहरूको आदर्श समाजलाई नै काल्पनिक समाजवाद भनियो । यो अवधारणा अपनाउने दार्शनिकमा साइन्ट सिमन, रोवटै ओवेन, चाल्र्स फ्युरीयर र प्रुँधोलगायत थिए । तर, उनीहरूले ऐतिहासिक रूपमा विकसित सर्वहारा र पुँजीपती वर्गबीचको सङ्घर्षको निरन्तर प्रक्रियाबाट मात्र समाजवाद सम्भव हुन्छ भन्ने वैज्ञानिक मान्यता अन्वेषण गर्न सकेन । यसकारण यो अवधारणा काल्पनिक हुनपुग्यो ।

यता माक्र्स र एङ्गेल्सले काल्पनिक समाजवादको खण्डन गर्नुभयो । सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र सार्वजनिक गर्दै वैज्ञानिक समाजवादी अवधारणा अन्वेषण गरे । यसमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षको स्वरूप स्पष्ट गरिएको छ । उनीहरूले पुँजीवादी साम्राज्यको गर्भबाट नै वैज्ञानिक समाजवाद जन्मिने ऐतिहासिक भौतिकवादी मान्यता अघि सारे । यस आलेखमा वैज्ञानिक समाजवादको विशेषताको चर्चा गरिएको छ ।

(क) राजनीतिक विशेषता ः विकसित पुँजीवाद र साम्यवादबीचको सङ्क्रमणकालीन राज्य व्यवस्था नै वैज्ञानिक समाजवाद हो । यो साम्राज्यवाद, विस्तारवाद, उपनिवेशवाद र दलाल पुँजीवाद विरोधी राज्य व्यवस्था हो । यो समुदाय केन्द्रित सामाजिक आर्थिक पद्धतिमा आधारित हुन्छ । आर्थिक विकासको सामाजिक सम्बन्धको विशिष्ट ऐतिहासिक चरण हो । वैज्ञानिक समाजवाद बनीबनाउ र आकस्मिक रूपमा नभएर ऐतिहासिक विकासक्रमको शृङ्खलामा विकसित उत्पीडक र उत्पीडित वर्गबीचको सङ्घर्षको लामो प्रक्रियाबाट स्थापित हुन्छ । प्राथमिक चरणमा पुँजीवादी र समाजवादी द्वैध आर्थिक पद्धति अस्तित्वमा रहन्छ तर उच्च चरणमा आर्थिक, सामाजिक र सांस्कृतिक स्वरूप समाजवादीकरणको उच्चतम बिन्दुमा पुग्छ, जहाँ पैसाको मूल्य, ज्याला र पुँजीसञ्चय न्यून हुँदै जान्छ । यसैको जगमा साम्यवाद निर्माण गरिन्छ ।

प्रगतिशील पुँजीवादमा जनताको अधिनायकत्व हुन्छ भने वैज्ञानिक समाजवादमा सर्वहारा (उत्पीडित) वर्गीय अधिनायकत्व हुन्छ । सम्पूर्ण जनतालाई एउटै समाजवादी राजनीतिक मिसनमा गोलवन्द गरिन्छ । सिङ्गो मानव समाज एउटै लक्ष्य र गन्तव्यको ऐतिहासिक प्रक्रियामा गोलवन्द हुन्छ । बहुसङ्ख्यक सर्वहारा वा उत्पीडित वर्गीय अधिनायकत्वअन्तर्गत उत्पादक शक्तिको अधिकतम विकास गरिन्छ । सार्वजनिक, सहकारी र सामूहिक मनोवैज्ञानिक सोच र चिन्तनलाई लामो सङ्घर्षको प्रक्रियाबाट संस्थागत गरिन्छ । यो लामो आन्दोलन हो, जुन सबैको सचेत र सङ्गठित प्रक्रियाबाट मात्र सम्भव हुन्छ ।

वास्तवमा यो समाज विकासको ऐतिहासिक प्रक्रियाकै एउटा महŒवपूर्ण चरण हो । यो सर्वोत्तम र उन्नत साम्यवादी विश्व व्यवस्थाको आधारशीला हो । यो अस्थायी र सङ्क्रमणकालीन हुने गर्छ । राज्यको सबै सत्ता एकल समाजवादी मिसनमा आ–आफ्नो ठाउँबाट क्रियाशील रहन्छ । त्यति मात्र होइन, यो वर्ग सचेत क्रान्तिकारी जनताको सङ्क्रमणकालीन वर्गीय अधिनायकत्वसहितको राज्य व्यवस्था हो । यसमा समानता र सामाजिक न्यायको पूर्ण प्रत्याभूति हुन्छ ।

(ख) आर्थिक विशेषता ः राजनीति र अर्थतन्त्र अन्तरसम्बन्धित आयाम हुन् । सार्वभौमतः वैज्ञानिक समाजवादका लागि अर्थतन्त्रको चरित्र पनि सामूहिक र सामाजिक हुने गर्छ । यसमा राष्ट्रिय औद्योगिक अर्थतन्त्रको पूर्ण आकारमा विकास गरी त्यसलाई समाजवादीकरण गरिएको हुन्छ । समाज पूर्ण रूपमा औद्योगीकृत हुनुपर्छ । सामानको प्राचुर्यता र सेवा पर्वाह व्यापक रूपमा गरिन्छ । आन्तरिक पुँजीको बृहत्तर विकास पछिको सामूहिक तथा न्यायपूर्ण परिचालन र वितरणको समग्रता नै समाजवादी अर्थतन्त्रको सार हो । उद्योग, कलकारखाना र अन्य आर्थिक एकाइलाई राष्ट्रियकरण र सहकारीमा पुनःसङ्गठित गर्दै समाजवादीकरण गरिन्छ । अर्थतन्त्रको मूलभूत चरित्र सार्वजनिक, सामूहिक र सहकारी पद्धतिमा आधारित हुन्छ । श्रमशक्ति खरिद बिक्रीको अन्त्य गर्दै समाजका सदस्य मजदुर–मालिक एउटै भूमिकामा रहन्छ । राज्य एउटा समृद्ध एवं सुखी समुदाय र परिवारजस्तो हुन्छ ।

मूलतः उत्पादनको साधनहरूको सामूहिक स्वामित्व र सामाजिक परिचालन गरिन्छ । यसमा व्यक्तिगत स्वामित्वको ठाउँमा सामाजिक स्वामित्व स्थापित गरिन्छ । सामाजिक स्वामित्वको लामो अभ्यास पछि मात्र साम्यवाद सम्भव हुन्छ । स्वायत्त सहकारी, प्रत्यक्ष सार्वजनिक स्वामित्व र सामूहिक उपयोगका लागि उत्पादन गरिन्छ । प्राथमिक चरणमा बजार सम्बन्ध अस्तित्वमा रहे पनि क्रमिक रूपमा नाफा र बजारविहीन सामाजिक आर्थिक सम्बन्ध स्थापित गरिन्छ । पछौटे र टुक्रे आर्थिक उत्पादन सम्बन्धलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्दै बृहत्त स्केलमा उत्पादन गरिन्छ । यसमा क्षमताअनुसारको काम र कामअनुसारको दामको नीति हुन्छ । वैज्ञानिक समाजवाद भनेको आर्थिक तथा सामाजिक प्रणालीको ऐतिहासिक शृङ्खला हो, जहाँ उत्पादक शक्तिहरूको समुचित विकास गर्नुका साथै उत्पादनको साधनहरूमा जनताको नियन्त्रण र सामूहिक स्वमित्व हुन्छ ।

अर्कोतिर वैज्ञानिक समाजवादमा उत्पादक शक्तिहरू सचेत र विकसित हुनु अपरिहार्य हुन्छ । पछौटे उत्पादन सम्बन्धले समाजवाद सम्भव हुँदैन । उत्पादनको साधनहरूमा श्रमजीविहरूको पूर्ण नियन्त्रण अनिवार्य हुन्छ । अर्थात् उत्पादन, विनिमय, वितरण र उपभोगमा सामाजिक पद्धति अङ्गीकार गरिन्छ । उत्पादन सम्बन्ध र सम्पत्तिमा जनताको स्वामित्व कायम गरिन्छ । यसमा सार्वजनिक, सामूहिक र सहकारी स्वामित्व रहन्छ । राज्यले मानव मात्रको हर आवश्यकताको दायित्व लिने राजकीय सामाजिक पद्धति नै वैज्ञानिक समाजवाद हो । सामाजिक आर्थिक सत्ताको समुदाय केन्द्रित पद्धति निर्माणको वैज्ञानिक तरिका नै समाजवाद हो ।

(ग) सांस्कृतिक तथा सामाजिक विशेषता ः आज विश्वमा उपभोक्तावादी सांस्कृति हाबी छ । यो माक्र्सवाद विरोधी संस्कृति हो । उपभोक्तावादी संस्कृतिले वैज्ञानिक समाजवादको वकालत गर्दैन । यसको लागि माक्र्सवादी उन्नत, न्यायिक र प्रगतिशील संस्कृति अपरिहार्य हुन्छ । यो समानता, न्याय र मानवतामा आधारित हुन्छ । वास्तवमा भाते, स्वादे र भोगविलासी प्रवृत्ति नै उपभोक्तावाद हो । तर, वैज्ञानिक समाजवादमा भने माक्र्सवादी पद्धति अनुरूपको उन्नत चेतना अनिवार्य हुन्छ । उपभोक्तावादी समाजवादमा सम्पूर्ण सत्तानिहीत स्वार्थको गुरुत्वकेन्द्रमा घुमिरहन्छ । व्यक्तिगत सम्पत्ति आर्जनको होडबाजीका कारण भ्रष्टाचार संस्थागत हुन्छ । मुठ्ठीभर योग्यतमहरू हाबी हुन्छन् ।

तर, यता वैज्ञानिक समाजवादमा सबै नागरिकलाई कामको प्रकृतिअनुरूप समान वितरण र उपभोगको अवसर दिइन्छ । समाजवादी संस्कृतिले जनतामा उन्नत माक्र्सवादी सामूहिक चेत र मनोविज्ञानलाई आधारभूत सर्त स्वीकार गर्छ तर उपभोक्तावादले भने राज्यले दायित्व लिने नाममा जनतालाई बोइलरीकरण गर्छ । सामूहिक पद्धति, चिन्तन र चेतविना राज्यबाट उपलब्ध गराइने सेवासुविधा भनेको जनतालाई बोइलर बनाउने काइदा मात्र हो । यसबाट समाजवाद निर्माणको लामो एवं कठिन ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रक्रियालाई सम्बोधन हुँदैन । ऐतिहासिक आन्दोलनको निरन्तर प्रक्रियामार्फत मान्छेको सोच्ने तरिकालाई रूपान्तरण गर्ने पद्धति नै वैज्ञानिक समाजवाद हो ।

त्यस्तै, सामाजिक रूपमा पनि एकरूपता, सद्भाव र मेलमिलापको राजकीय नीति अपनाइन्छ । वैज्ञानिक समाजवादमा सबै समुदायलाई समान अवसर, न्याय र सम्मानसहितको सामाजिक सद्भावको वकालत गरिन्छ । यसमा विभिन्न वर्ग, जाति, क्षेत्र र लिङ्गका नागरिक एउटै सुन्दर परिवारमा सङ्गठित हुन्छन् । स्वार्थ, सोच, चाहना, मर्म र भावना पनि सामूहिक वा सामाजिक पद्धतिमा आधारित हुन्छ । सामूहिक रूपमै दुःख, कष्ट, खुसी र हाँसो, पीर र चिन्ता साटासाट गरिन्छ । त्यसैले माक्र्सवादी मान्यताअनुरूप साम्यवादमा पुग्ने अस्थायी साधन नै वैज्ञानिक समाजवाद हो ।


(२०७६ श्रावण ९, बिहीबार) ११:०४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro