कांग्रेसी मेयरद्वारा एकलौटी गरेको भन्दै सत्तारुढ नेकपाका वडाध्यक्षहरुद्वारा चक्काजाम

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण ८, बुधबार) २१:४३

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसका तर्फबाट बिजयी नगर प्रमुख इवन राईले एकलौटी रुपमा काम गरेको भन्दै सत्तारुढ नेकपाका तर्फबाट बिजयी वडाध्यक्ष लगयतका जनप्रतिनिधिहरु रणबद्ध आन्दोलनमा उत्रिएका छन्।

त्यसै क्रममा सत्तारुढ नेकपाका तर्फबाट बिजयी वडाध्यक्ष लगयतका जनप्रतिनिधिहरुले नगर प्रमुख इवन राईबिरुद्ध नाराबाजी गर्दै आज बिहान चक्काजामको आयोजना गरे। नगर प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको गर्यो  ।

चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई र सोही वडाका वडासदस्य नीरजमानसिं बस्नेतसहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुसँगै चक्काजाममा बसेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हलेसी नगर समितिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर समितिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडासमिति सचिव धनकुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय हलेसीमा राखिएको  जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

गत असार ३१ गते आयोजित नगरसभामा नगरप्रमुख राईले नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटी ढङ्गले नगरसभा गरेको भन्दै विरोधमा उत्रिएका उनीहरुले एक घण्टाका लागि बिहान छ बजेदेखि चक्काजाम गरेका थिए । चार वडाध्यक्षसहित २६ जनप्रतिनिधि, नेकपानिकट कार्यकर्ता र स्थानीयवासीले हिजो नाराजुलुससहित एक घण्टा दुर्छिमस्थित नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए ।

नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक वर्ष २०७४÷७५ को महालेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्नलगायतका माग राख्दै आएका छन् । नगरप्रमुखदेखि रुष्ट बनेका उनीहरुले सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजश्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको लगायतका आरोप लगाएका छन् ।

 


(२०७६ श्रावण ८, बुधबार) २१:४३ मा प्रकाशित

Exchange Rate

Nepali Patro