दलाल संसदीय ब्यबस्था र वार्ताको ढ्वाङको औचित्यता : ओम हमाल

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण १, बुधबार) ०८:५८

२०६०/६१ सालतिर कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जाँदा टेलिभिजनका लागि समाचार बनाउन समाचार श्रोत खोज्न भएको समस्या जस्तो भएको छ वर्तमान सरकारलाई, जो देखे पनि विप्लव  नेतृत्वको  ने.क.पा.का नेता तथा कार्यकर्ता जस्तो लाग्ने अनि सम्पर्क सुत्र बन्छ कि जस्तो लाग्ने l
 
त्यतिबेला म नेपाल वान टेलिभिजनमा पोखरा ब्युरो कार्यालय प्रमुखको हैसियतमा थिएँ l कुनै एक सन्दर्भबस म एक रात बस्ने गरे दिउँसो अबेर घान्द्रुक पुगेको थिएँ l गएको बेला झ्याप-झुप ५/६ वटा न्युज बनाउँ भन्ने मेरो सोंच थियो l म फटाफट न्युजका लागि भिजुअल संकलन गरिरहेको थिएँ l त्यही बेला घान्द्रुक गाउँ भरि छ्याप छ्याप्ती तात्कालीन बिद्रोही माओवादीका नेता तथा कार्यकर्ताहरु हतियारसहित थिए र भटाभट पर्यटकसंग चन्दा उठाई रहेका थिए l पर्यटकहरु चन्दा दिन आनाकानी गरिरहेका थिएनन l त्यही न्युज बनाउने सोंचमा म पुगें l
 
त्यसका लागि मैले त्यहाँ उपस्थित सबै कार्यकर्तालाई आफुले माओबादीले चन्दा उठाइरहेको समाचार बनाउन लागेकाले टेलिभिजनको क्यामरामा बोलिदिन आग्रह गरें l तर कोही तयार भएनन l क्यामरामा बोलिदिने मान्छेको खोजीमा क्यामरा बोकेर एक होटलमा पसेको त त्यहाँ पर्यटकसंग भटाभट चन्दा उठाउँदै गरिएको रहेछ l पर्यटकसंग चन्दा उठाउँदै गरेका ती दुब्लो र पातलो माओवादी नेतालाई मैले आफुले “माओबादीले पर्यटकसंग चन्दा उठाइरहेको ” भन्ने समाचार बनाउन लागेकाले क्यामरामा बोलिदिन आग्रह गरें l मेरो आग्रह सुन्नासाथ ती नेता उत्साहित भए l आफुलाई प्रवेश अधिकारी भनेर चिनाउने ती नेताले आफु घान्द्रुक एरियाको सदस्य रहेको जिकिर पनि गरे l
 
म भने आफ्नो एक्सक्लुसिभ समाचार बन्ने भएकोमा मक्ख थिएँ l उनले मेरो स्यानो फिस्टे टेलिभिजन क्यामराकै अगाडी आफुहरुले “जनसरकार, जनसेना र जनअदालत सहित बैकल्पिक सत्ता चलाइरहेकाले आफ्नो जनसत्ताको क्षेत्रमा घुम्न आउने पर्यटकसंग चन्दा नभई नियमित कर उठाइरहेको” दाबी गरे l त्यति मात्र हैन उनले, “देशभित्र द्वन्द्व चलिरहेको भएपनि यस द्वन्द्वले पर्यटकलाई खासै असर नगर्ने र पर्यटकमाथि आक्रमण नगर्ने निती पार्टीको रहेकाले बिना हिच्किचाहट नेपाल घुम्न आउन” आग्रह गरे l सानै भएपनि माओवादी नेताको अन्तर्वार्ता लिन पाएकोमा म मक्ख थिएँ l त्यो समाचार नेपाल वान टेलिभिजनमा प्राथमिकताका साथ् प्रशारण भयो l त्यस समाचारले बिदेशमा सकारात्मक प्रभाव पर्यो भनेर पर्यटन ब्यबसायीहरुले प्रतिक्रिया दिए l
 
समाचार प्रशारण भएको एक-डेढ वर्ष कति भएको थियो, मलाइ मिति ठ्याक्कै याद भएन l एक दिन साँझ पख म रेडियो सुनिरहेको थिएँ “गस्तीमा गएको सुरक्षा फौजले पर्वतमा कारवाही गर्दा प्रवेश अधिकारी नामका माओवादी नेताको मृत्यु भएको नेपाली सेनाले जनाएको छ l तर स्थानीय बासिन्दाले अधिकारीलाई सुराक्षाफ़ौजले लखेटी लखेटी हत्या गरेको बताए” यो समाचार सुन्दा मलाई एकदम नरमाइलो लाग्यो l आफुले समाचारका लागि भेटेका नेताको मृत्युले मेरो मन केही बिचलित भए जस्तो भयो l
दिनहरु बित्दै गए l समाचारकै लागि मैले फेरी एकजना माओवादीका जिल्ला स्तरका नेतालाई भेट गर्ने मौका पाएँ l त्यस भेटमा उनले “प्रवेश अधिकारीसंग तपाइंले कसरी अन्तर्वार्ता लिनुभयो ? वहा त पार्टीको कारवाहीमा परि जनहिरासतमा परेको मान्छे हो” भने l उनको यो कुराले म केही लज्जित भएको महशुश गरिरहेको थिएँ l हुन् त बैकल्पिक जनसत्ता चलाएको दाबी गरेको तात्कालीन माओवादीले त्यस बेलासम्म आधिकारिक रुपमा केही बोलेको थिएन l समाचार छिटो र राम्रो हाल्ने नाममा मैले पार्टीको जनहिरासतमा परेका व्यक्तिलाई अज्ञानताबस माओवादी नेता भनेर समाचार हालेको थिएँ l
 
ठिक त्यस्तै हालत भएको छ, वर्तमान सरकारको हालत, कुन व्यक्ति कस्तो हो, विप्लव नेतृत्वको ने.क.पा.को कुन हैसियतको हो ? केही थाहा छैन l बिप्लवको ट्गया लागेका जो भेटे पनि वार्ताको संदेश बिप्लव्संम  पुर्याईदिन्छ कि भन्ने लाग्दो हो l दश वर्ष जनयुद्ध लडेका तात्कालीन सर्बोच्च कमाण्डर अहिले चोक चोक गल्ली गल्लीमा हुने कार्यक्रममा भेटिन्छन l तर राजनीतिक गतिबिधि गर्न प्रतिबन्ध लगाएका विप्लवका नेता तथा कार्यकर्ता झ्याप्पै भेट्न गार्हो छ l भेटिएका नेता तथा कार्यकर्तालाई वार्ताका लागि पहल गरिदेउ न भनेर गुहार माग्ने ठिक्क छ l त्यही गुहारलाई ‘बिप्लवसंग वार्ता भयो” भनेर हल्ला गरिरहेको छ सरकार l
 
सरकार “वार्ता ! वार्ता !! वार्ता !!!” भनेर कोकोहोलो मच्चाईरहेको छ l के सरकार वार्ताका लागि जिम्मेवारढंगले प्रस्तुत हुन पर्दैन ? सरकार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक समुह भनिरहेको छ l सरकार ! के विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आपराधिक समूह हो ? आपराधिक समुह हो भने के को वार्ताको लागि कोकोहोलो मच्चाएको ? सरकार ! विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हेर्ने दृष्टिकोण प्रस्ट पारेर मात्र वार्ताको कुरा गर l
 
सरकार ! विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्तामा बोलाएको हो भने चोकमा गएर “वार्तामा आऊ ” भन्दैमा विप्लव वार्तामा आउदैनन्, प्रष्ट होउ l चोकमा गएर गरिएको वार्ता आव्हान त गुण्डालाई गरे जस्तो भो l अझै पनि सरकार ! विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक समूह ठान्छ र राजनीतिक पार्टीको रुपमा हेर्दैन भने वार्तामा बोलाउनुको अर्थ छैन l पहिला विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई राजनीतिक पार्टीको रुपमा स्वीकार गर l विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई राजनीतिक पार्टीको रुपमा आधिकारिक तरीकाले पत्र लेखी वार्तामा बोलाउ, तब न हुन्छ वार्ता l “वार्ता ! वार्ता !! वार्ता !!!” भनेर मात्र वार्ता हुन्छ l
 
सरकार वास्तावमै वार्ता चाहेको हो भने त पहिला उनीहरुलाई सहज रुपमा भेट्ने वातावारणका लागि उनीहरुमाथि लागेको प्रतिबन्ध हटाएर राजनीतिक गतिबिधि गर्ने वातावरण बनाउनु त पर्यो नि l अनि ने.क.पा. का नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्ने कार्य जारी त छ नै, यता वार्ताको ढ्वांग फुकिरहने उता ने.क.पा.का नेता तथा कार्यकर्तालाई अदालतले निर्दोष भनेर छड़नासाथ् अदालत परिसरबाट किन गिरफ्तार गरिरहेको ? नक्खु जेलमा रहेका ने.क.पा. स्थायी कमिटि सदस्य हेमन्त प्रकाश ओली “सुदर्शन:लाई वार्ताको पहल गरिदिन भन्न चाहिं जाने, अनि तिनैलाई जेलमा कोचेर राख्ने ? यो तिमीहरुको कस्तो नैतिकता हो ? उनीहरुलाई जेलमुक्त गरे पो वार्ताको लागि पहल गर्न सजिलो होला नि ?
 
सरकार ! पहिला तिमि कुन वर्गको र कसको नेतृत्व गरिरहेका छौ भनेर प्रस्ट हौउ l दुई-तिहाई बहुमत ल्याएर संबिधान परिवर्तन गर्न सकिन्छ भन्ने कथित दलाल संसदीय ब्यबस्थामा नै रुमल्लिने गरी वार्तामा बोलाउनुको औचित्य छैन l किनकि अहिले त्यही संसदीय ब्यबस्था अन्तरगत रहेको सत्तारुढ नेकपासंग झन्डै दुई-तिहाइ बहुमत छ l खै त कम्युनिस्टहरुले चाहेको जस्तो संबिधान जारी गर्न सकेको ? देशी तथा विदेशीले कम्युनिष्टले चाहेको जस्तो संबिधान जारी गर्न त दिएनन ठिक छ l तर कम्युनिष्टले आधारभूत वर्ग भनेका गरीब, किसान, मजदुर, सुकुम्बासीका पक्षमा कार्यक्रमहरु ल्याएको खै ? उनीहरुको पक्षमा कार्यक्रम ल्याउन कसले छेकेको छ ? के कम्युनिष्ट सरकारमा वर्गबीचको खाडल बढ्दै जान्छ ? उत्पीडित वर्गको आवाज नसुन्ने पनि कम्युनिष्ट सरकार हुन्छ ? देशमा बिदेशी शक्तिको चलखेल र हस्तक्षेप् नाङ्गो रुपमा चलिरहेको छ l छिमेकी चीनलाई घेर्ने दाउमा रहेको अमेरिकी साम्राज्यवाद नेपाल छिरेको छ l नेपाललाई हडप्न खोज्ने विस्तारवादी भारत पनि नेपाललाई कति बेला हडप्न सकिन्छ भनेर विभिन्न उपायहरु लगाउंदै पर्खाइमा बसिरहेको छ l रास्ट्रियता , जनतन्त्र र जनजीविका कमजोर हुँदा के कम्युनिस्ट सरकार चुप लागेर बस्न सक्छ ?
 
देशमा चौतर्फी रुपमा अन्याय, अत्याचार, भ्रस्टाचार, नाताबाद, कृपावाद, महंगी, कालाबजारी व्याप्त छ l के कम्युनिष्टहरुको लागि सह्य छ ? हो पक्कै पनि सह्य छैन l किनकि यो दलाल संसदीय ब्यबस्थामा प्रचण्ड मात्र हैन आजका क्रान्तिकारी भनिएका विप्लव गएपनि केही गर्न सक्दैनन् l यो दलाल संसदीय ब्यबस्थाबाट आधारभूत वर्गको मुक्ति सम्भव छैन l त्यसैले सरकार ! यो दलाल संसदीय ब्यबस्था परिवर्तन गर्ने मानसिकता सहित वार्तामा आऊ l दलाल संसदीय व्यबस्थाको बिकल्पमा आउने वैज्ञानिक समाजवादी ब्यबस्थामा दलाल, नोकरशाही, सामन्त र प्रतिक्रियावादीहरुलाई नि:षेध हुनेछ l त्यस ब्यबस्थामा आधारभूत वर्गको पकड हुनेछ l के कम्युनिस्टले चाहने त्यस्तै ब्यबस्था हैन र ?
 
फेरी पनि वार्ता ! वार्ता !! वार्ता !!! भन्दै “विप्लव हतियार बुझाउ l यही संसदीय ब्यबस्थामा मंत्री बन l सत्तारुढ पार्टीको अध्यक्ष बन, महासचिब बन ” भनेर वार्ता प्रस्ताब ल्याउँछौ भने यो कदापी स्वीकार्य छैन l पहिला त आधारभूत वर्गको पक्षमा सशस्त्र लडाई लड्न पर्छ भन्ने सोंच मात्र भएको हो l यहाँ हतियार बुझाउने कुरा कहाँबाट आउँछ ? हतियार कोसँग कहाँ छ ? अब रह्यो दलाल संसदीय ब्यबस्थामा सहभागी हुने कुरा, नेपालमा जनवादी गणतन्त्र स्थापना मूल उद्देश्यका साथ् २०५२ सालमा शुरु गरिएको महान जनयुद्धका सर्बोच्च कमान्डरसहितका धेरै नेता तथा कार्यकर्ताहरु आज त्यही दलाल संसदीय व्यबस्थाको दलदलमा फंसेर चिल्लिबिल्लीमा परेका छन् l उनीहरु थाल खाम कि भात खाम गरिरहेका छन् l आज गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत आधारभूत वर्ग प्रति बेइमानी भएको छ l अनि त्यही दलाल संसदीय ब्यबस्थामा आधारभूत वर्गको पक्षमा एकत्रित भएको क्रान्तिकारी तप्का फेरी समाहित हुने ? अहँ ! यो कदापी हुने छैन र कदापि स्वीकार्य पनि छैन l यदि कोही त्यो दलाल संसदीय ब्यबस्थामा समाहित हुन् चाहन्छ भने जाओस, तर फेरी पनि यो देशमा आधारभूत वर्गको पक्षमा क्रान्ति जारी रहन्छ l
 
एकीकृत जनक्रान्ति जिन्दावाद ! बैज्ञानिक समाजवाद जिन्दावाद ! दलाल संसदीय ब्यबस्था मुर्दाबाद !

(२०७६ श्रावण १, बुधबार) ०८:५८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro