दोस्रो पटक गिरफ्तार हुँदा क्रान्तिकारी स्रष्टा रसुवाली कबिको अनुभूति : लेखक र पत्रकारको ‘फेक इन्काउन्टर’ पनि हुन सक्छ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार १३, शुक्रबार) १३:१९

यो वर्ष मेरा लागि खडेरीको वर्ष रह्यो । नयाँ वर्ष नै हिरासतमा मनाउनुपर्‍यो । असार ११ गते फेरि यो क्रम दोहोरियो । एउटा कलमजीवीको जिन्दगीमा पटक–पटक खडेरीको खेती गरिरहेको छ दुईतिहाइ ‘कम्युनिस्ट’ सरकार !

असार ११ गते मलाई विप्लव नेकपाको आरोपमा दोस्रोपटक समातियो । सरकार भन्छ– विप्लवको गतिविधि नियन्त्रण गर्ने हाम्रो मनसाय हो । विचार र आस्थामाथि निषेधको रणनीति होइन ।

सरकारले मलाई जे आरोप लगाएर गिरफ्तार गरिरहेको छ, त्यो आरोप सत्य छैन । विगत एक वर्षदेखि एउटा ‘स्वतन्त्र’ नागरिकका रूपमा रहेको छु । मेरो सम्पादनमा निस्कने रातो हिमाल पत्रिका पनि निकाल्न सकेको छैन ।

जेठ १२ गते अनामनगरको बम विस्फोटमा घाइते भएका रवीन खड्का पनि सिंहदरबार प्रहरी वृत्तमै रहेछन् । सामना परिवारका वुद्धचाहिँ बिरामी रहेछन्
निरन्तररूपमा शारीरिक स्वास्थ्यमा आएको खराबीले सामाजिक–राजनीतिक तथा अन्य गतिविधि पनि गर्न सकेको छैन । यसैले विगत एक वर्षदेखि एउटा ‘स्वतन्त्र’ नागरिकका रूपमा रहेको हुँ । यो कुरा सार्वजनिक छ । प्रहरी पनि यस विषयमा अनभिज्ञ नहोला । अदालतमा मेरो वयान पनि त्यही अनुसार छ ।

खानतलासीपछि मेरो नाम, मोबाइल नम्बर, स्थायी वतन, उमेर, तौल, लिङ्ग आदिबारे टिपोट गरियो । हिजोआज राज्य हामीजस्ता मान्छेको नाम, थर, वतनदेखि पनि डराउँछ सरकार ।महानगरीय प्रहरी वृत्त अनामनगर पुगेपछि मेरो शरीर खानतलासी भयो । खानतलासी गर्दा एउटा मोबाइल र पत्रकार महासङ्घको कार्यक्रममा वाचन गर्न लगेको कविता भेटियो, जुन कविता मैले भृकुटीमण्डपमा बसेर लेखेको थिएँ । कविता लेख्दै गर्दादेखि नै प्रहरीले मलाई निगरानी सुरु गरेको रहेछ । पछि त्यो कुरा थाहा पाएँ ।

प्रहरीको खातामा अब धेरै कलमकर्मी सहीछाप गर्ने क्रम झन् बढ्नेछ । सरकारको पछिल्लो रबैया हेर्दा यो प्रस्ट हुन्छ । साइबर क्राइमको मुद्दामा वास्तविक कलमजीवी नै फस्ने देखिन्छ ।

‘फेक न्युज’ र मुकुन्दे अनि लीलाराज खतिवडासम्मलाई भाइरल गराउने युट्युब धन्दा उस्तै रहनेछ । युट्युबका नाममा व्यक्तिगत चरित्र हत्या हुने छोड्ने छैन । तर, एकदम मेहनत गरिरहेका र पत्रकारितामा जीवन बिताएका मान्छेचाहिँ फस्ने देखिन्छ ।

मेरो खानतलासीपछि प्रहरीले सानोतिनो वयानजस्तो लियो:

तपाईं क्रान्तिकारी पत्रकार सङ्गठनमा हुनुहुन्छ ?

छैन ।

अखिल क्रान्तिकारीमा ?

छैन ।

अनि लेखक सङ्घमा नि ?

छैन ।

हामी कर लगाउँदैनौँ, सत्य कुरा निर्धक्क भन्नुस् ।

म सत्य कुरा नै भनिरहेको छु । जे हो, त्यही भनिरहेको छु ।

एकजना प्रहरीले यस्तै प्रश्न गरेर केही कुरा सङ्कलन गरे । केहीबेर प्रश्न–उत्तर भयो । एकदमै तिर्खा लागिरहेको थियो, पानी मागेँ । पानी पिएपछि केही हल्का महसुस गरेँ । तर, मनको तिर्खा भनेको कम भएको थिएन ।

सर, फोन गर्नुपर्‍यो– मैले भनेँ ।

– इन्स्पेक्टर सा’बले पछि गर्न दिने भनेका छन्, अहिले मिल्दैन ।

मैले पटकपटक अनुरोध गरे पनि फोन गर्न पाइनँ । केहीबेरमा मलाई तल पठाइयो । तल अर्थात् हिरासतमा ।

त्यो खाडलजस्तो ठाउँमा पुगेपछि जुत्ता फुकालेँ । भित्र गएपछि गोडा पखालेँ । थुनुवाहरूले के मुद्दामा ? कहाँबाट आएको ? कतिबेला समातेको आदि कुरा सोधे ।

सिंहदरबारको पश्चिम–उत्तरस्थित अनामनगरमा रहेको प्रहरी वृत्तले रत्नपार्क क्षेत्रसमेत हेर्ने भएकाले यौन व्यवसायीदेखि तेस्रो लिङ्गीलाई जिस्क्याएकासम्मको भीड थियोे त्यहाँ ।

थुनुवाहरू भन्थे– रत्नपार्कबाट उठाएका हुल रातभरि आउँछन्, सुत्न पाइँदैन । यो ठाउँ यस्तै हो ।

म पुग्दा आफन्तहरूलाई भेट्न पाउने समय रहेछ । बारमा आएका आफन्तहरू थुनुवाहरूलाई भेटिरहेका थिए । केहीबेरपछि चिया आयो । कालो चिया खाइयो ।

अनामनगरमा जेठ १२ गते बम बिस्फोट भएपछि घाइते भएका रवीन खड्का पनि त्यहीँ रहेछन् । घाउ निको भए पनि अनेकौँ मुद्दामा फसेकाले उनी त्रसित रहेछन् । विभिन्न अधिकारकर्मी, कानुन व्यवसायीलाई गुहार गर्दै रहेछन् । अरू मुद्दाका थुनुवाहरु पनि यस्तै गुनासो गर्थे । सामना परिवारका वुद्ध पनि रहेछन् । उनीचाहिँ निकै बिरामी रहेछन् ।

यस्ता धेरै विषय थिए । त्यसभित्र गढेको सामाजिकता थियोे । तर, म केही सोच्न सकिरहेको थिइनँ ।

एकजना अदालत धाइरहेको, बिरामी अवस्थामा रहेको, कविता पनि लेख्ने एउटा निहत्था नागरिकलाई किन पक्राउ गरिन्छ ? जो कुनै गतिविधिमा सहभागी छैन भने उसलाई मानसिकरूपमा किन विक्षिप्त बनाउन खोजिन्छ ?राजनीतिक उद्देश्य बोकेको पार्टीमाथि गैरन्यायिक प्रतिबन्ध, कार्यकर्तामाथि धरपकड र फेक इन्काउन्टर खडा गरी हत्या हुँदा सरकारले किन स्पष्ट जवाफ दिन सक्दैन ?

ल क्याम्पसदेखि गोकुल बास्कोटासम्म

ल क्याम्पसबाट पक्राउ पर्दा म एउटा कार्यक्रममा सहभागी थिएँ । स्वनाम साथीदेखि खगेन्द्र सङ्ग्रौलासम्म सहभागी उक्त कार्यक्रमबाट बाहिर निस्कँदै गर्दा कवि सङ्गीत श्रोताको स्कुटीबाट तानेर प्रहरीको जत्थाले मलाई पक्राउ गर्‍यो ।

ल क्याम्पसमा भएको कार्यक्रममा म संयोगले पुगेको थिएँ । मित्र यादव देवकोटाले ‘जाऊँ न यार’ नभनेको भए म सायद जाने थिइनँ । प्रहरीले सोचे छ– त्यो कार्यक्रम विद्रोहीले गरेका हुन् । अखिल क्रान्तिकारीले गरेको हो । सायद गुप्तचर रिपोर्ट गडबड भयो । त्यहाँ सरकारी नेकपाका महासचिव विष्णु पौडेलका परिवारका सदस्य गोपीरमण उपाध्यायसमेत सहभागी थिए ।

त्यसैले मलाई लाग्छ, त्यसरी तानेर पक्राउ गर्नु जरुरी थिएन । एक त बिरामी थिएँ, अर्को कुरा यो न्यूनतम् मानवअधिकारको समेत अवहेलना थियोे ।

सरकारी प्रवक्ता गोकुल बास्कोटाले भनेछन्– उस्तै लाग्ने जोकोही पक्राउ पर्न सक्छ । तर, उस्तै लाग्दैमा पक्राउ गर्दै जाने हो भने जनताको हालत के होला ?

मलाई बिनाकारण पक्राउ गरियो । त्योभन्दा धेरै सङ्गीत स्रोतालाई दुःख दिने नियत प्रष्ट थियोे । बाहिरबाट चौतर्फी दबाव नआएको भए सङ्गीत र म दुबैलाई मुद्दा चल्ने थियोे । वृत्तमा पुगेका सयौँ लेखक–पत्रकारहरूको दबावका कारण अन्ततः प्रहरीले छोड्ने निर्णय गर्‍यो ।

यो निर्ययले खुसी हुनुपर्ने कारण छैन । अब जो कोही लेखक–पत्रकार जहाँबाट पनि पक्राउ पर्न सक्छन् । सरकारले मनलाग्दी जुनसुकै मुद्दा चलाउन सक्छ । पत्रकार महासङ्घको कार्यक्रममा गएको भए पनि म पक्राउ पर्ने कुरा रहेछ । यसरी छेकीछेकी पक्राउ गर्ने र पक्राउ पर्ने क्रम जारी रहन्छ । प्रधानमन्त्री केपी ओली हुन् कि प्रचण्ड, नियत फेरिँदैन ।

लेखकहरू सडकमा आएनन् भने, बोलेनन् भने कोही कवि–लेखकलाई राजनीतिक कार्यकर्ता मात्रै भनिने अवस्थामा अल्झिरहे भने अभिव्यक्ति स्वतन्त्रताको अभियान जटिल बन्नेछ । गोकुल बास्कोटा भनिरहने छन्– उस्तैउस्तै लाग्ने मान्छे पक्राउ पर्न सक्छ । अनि यहाँ झुक्किएर धेरै कुरा हुन सक्छ । हिरासतहरू लेखक र पत्रकारका हुलले भरिन सक्छन् । झुक्किएर ‘फेक इन्काउन्टर’ पनि हुन सक्छ ।


(२०७६ असार १३, शुक्रबार) १३:१९ मा प्रकाशित

Exchange Rate

Nepali Patro