नेपाली चलचित्रमा जुही चावला

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ पुष ८, शुक्रबार) ००:०४

अमिताभ बच्चन अभिनित फिल्म ‘भूतनाथ’ का निर्देशक विवेक शर्माले नेपाली चलचित्र ‘मेरो पैसा खोई’ को निर्देशन गर्दै छन् । यो चलचित्रलाई हिन्दी भाषामा पनि निर्माण गरिने भएको छ । जसमा बलिउड कलाकार जुही चावला, सञ्जय मिश्रा, राजपाल यादव, सागर तिवारी चयन भएको निर्देशक शर्माले बताए । बलिउडबाट एक मुख्य अभिनेत्री पनि हुने निर्देशक शर्माले गराए ।

राजधानीमा मंगलबार राति एक समारोहबीच उनले यो चलचित्रको कलाकार घोषणा गरेका छन् । जसमा नेपालबाट सौगात मल्ल, वर्षा शिवाकोटी, बुद्धि तामाङ, कमलमणि नेपाल, रविन तामाङ मुख्य भूमिकामा चयन भएका छन् ।

यो चलचित्रलाई नेपालीमा रोज राणाले निर्माण गर्न लागेका हुन् । यो चलचित्रको १५ माघबाट छायांकन सुरु गरिने पनि निर्माता राणाले जानकारी गराए । छायांकन काठमाडौं, पोखरा, बुटवल र मुस्ताङमा गरिनेछ । हिन्दी संस्करणको निर्माता शर्मा आफैं हुन् । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक शर्मा आफैंले लेखेका हुन् । त्यसलाई मौनता श्रेष्ठले नेपालीमा अनुवाद गरेका हुन् । नेपाली गीत दयाराम पाण्डेले लेखेको निर्माता राणाले जानकारी गराए । चलचित्रको द्वन्द्व निर्देशकमा चन्द्र पन्त र छायाकारमा हरि घले लामा रहेका छन् ।


(२०७३ पुष ८, शुक्रबार) ००:०४ मा प्रकाशित

Exchange Rate

Nepali Patro