शौचालयको सेफ्ट ट्याङ्कको ढक्कन भाँसिदा चार बालबालिकाको मृत्यु

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ २९, बुधबार) ०७:४३

दार्चुलाकाे नौगाढ गाउँपालिका-४ मा रहेको गणेशविनायक मावि स्कुलमा शौचालयको सेफ्ट ट्याङ्कको ढक्कन भाँसिदा चार बालबालिकाको मृत्यु भएको छ । दिउँसो करिब साढे ४ बजेतिर सेफ्ट ट्याङ्कको ढक्कनमाथि खेल्दै गरेका साेही गाउँपालिकाकाे १० वर्षीय अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीय युनिका धामी र ७ वर्षीय निरुता ठगुन्नाको मृत्यु भएको हो ।

सेफ्ट ट्याङ्कको ढक्कनमाथि माटो राखेर मैदान बनाएकाे थियाे । साेही मैदानमा खेल्दै गरेका ती बालबालिकाको ढक्कन भाँसिदा सेफ्ट ट्याङ्कमा परी मृत्यु भएको स्थानीय प्रतापसिंह ठगुन्नाले बताए ।
ढक्कनमाथि राखिएको माटोसहित बालबालिका करिब १० मिटर तल खसेकाे थियाे । ट्याङ्कीमा खसेर मृत्यु भएकाे बालबालिकाकाे उद्धार गर्न तीन घण्टा लागेको प्रहरी चौकी सिप्टीका इन्चार्ज देवदत्त भट्टले जानकारी दिए ।

घटनाको खबर सुन्ने बित्तिकै गोकुलेश्वर इलाका प्रहरी चौकीबाट प्रहरी निरीक्षक सुरजबहादुर खड्काको टोली घटना स्थल पुगेको थियो ।

दिउँसो घटना भएलगत्तै विद्यालय परिसरमा जम्मा भएका स्थानीयले कति बालबालिका ट्याङ्कीमा परे भन्ने छुट्याउन सकेनन् । स्थानीयहरु आफ्ना बालबालिका घरमा छन् कि छैनन् खोज्नतिर लागे ।

विद्यालयको निर्माणाधीन भवनको उपभोक्ता समिति अध्यक्ष रहेका कृष्णसिंह धामीकी कक्षा २ मा पढ्ने १० वर्षीय छोरी अनुस्का र उनका ४ जना साथीहरु खेलिरहेको स्थानीयले बताएका थिए । अनुस्कासहित सबै बालबालिकाको लाश पहिचान भएपछि गाउँ नै शोकमा डुबेको छ ।

 


(२०७६ जेष्ठ २९, बुधबार) ०७:४३ मा प्रकाशित

Exchange Rate

Nepali Patro