फकाउन बोलाएका सत्तारुढ नेकपाका पत्रकारले संचारमन्त्री बास्कोटालाई ख्याप ख्याप पारे

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ ५, आईतवार) १६:५८

सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी विधेयकको विरोधमा नेपाल पत्रकार महासंघले दोश्रो चरणको आन्दोलन घोषणा गरेकै दिन बिहानै सत्तारुढ नेकपाका नेताहरुले नेकपा निकट पत्रकारलाई सम्झाउन नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा बोलाए । त्यस कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय नेता महेश्वर दाहाल लगायतका नेताहरु सहभागी भए । तर प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेत, नेकपानिकट पत्रकार मानिने प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य त्यस कार्यक्रममा उपस्थित थिएनन् ।

नेकपा निकट पत्रकारको भेलामा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पनि निम्त्याइएको थिएन । श्रेष्ठ र आचार्य दुवैले आफूहरुलाई सो भेलाबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।  प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेतले आफू बिरामी भएकाले कार्यक्रममा उपस्थित हुन नसकेको बताए ।

सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १० लाखसम्म जरिवाना तिराउने प्रावधान राखिएको भन्दै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेत विधेयकको विपक्षमा उभिँदै आएका छन् । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठ पनि सरकारले ल्याएको विधेयकको विपक्षमा छन् ।

छलफलमा नेकपाले पार्टीनिकट सीमित पत्रकारहरुलाई मात्र डाकेको थियो। प्रेस चौतारीका पूर्वमहासचिव राजेश राई, कोषाध्यक्ष ईन्द्र आचार्य, उपमहासचिव रामुकमार एलन सहभागी थिएनन्।

मिडिया काउन्सिल विधेयकलाई लिएर पार्टी र सरकारको विरोध भएपछि नेकपाले आइतबार पार्टी कार्यालयमा बोलाएको छलफलमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा, सांसदहरू योगेश भट्टराई र पम्फा भुषाल तथा नेकपानिकट पत्रकारहरू सहभागी थिए।

छलफलमा पत्रकारहरूले मिडिया काउन्सिल विधेयकको विरोध गर्दै फिर्ता लिन सुझाएका थिए। मन्त्री बाँस्कोटाले ‘प्रेस छाडा’ भएकाले नागरिकको स्वतन्त्रता रक्षा गर्न विधेयक ल्याइएको तर्क गरे।

बाँस्कोटासँग पत्रकारहरूले सवाल-जवाफ भयो। दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठले बाँस्कोटाको भनाइको प्रतिवाद गरे। ‘सरकारले नागरिकको अधिकार रक्षा गर्छ भन्ने मलाई थाहा छैन,’ श्रेष्ठले भने, ‘नागरिकको अधिकार अपहरण गर्छ भनेकाले प्रेस स्वतन्त्रता दिनुपर्छ भनिएको हो।’ श्रेष्ठले आफू विगतमा काउन्सिलमा दुई पटक सदस्य भएको उल्लेख गर्दै ‘प्रेसको स्वनियमको अवधारणा’ नमानिए अन्तर्राष्ट्रिय रूपमा विषय उठ्ने बताए।‘स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने काम काउन्सिलमार्फत् गर्ने होइन। नियमन गर्ने काम हो, दण्डित गर्ने होइन,’ श्रेष्ठले भने।

बाँस्कोटाले भने मिडिया गैरजिम्मेवार भएको र जथाभाबी गरेकाले विधेयक ल्याउनु परेको बताए। ‘जे मन लाग्यो त्यही गर्ने, सार्वजनिक जिम्मेवारी हुन्न,’ बाँस्कोटाले छलफलमा प्रश्न गरे, ‘के मान्छे सबै अपराधी हुन्, मिडिया गैरजिम्मेवार हुने ?’

पत्रकारहरूले विधेयक संशोधन गर्नु पर्ने बताएका थिए। विधेयकले प्रेस काउन्सिललाई सरकारी अंग बनाउने, जरिवानाको व्यवस्था राख्न नहुने धारणा उनीहरूको थियो।

प्रेस चौतारीका पूर्वउपाध्यक्ष सइन्द्र राई र मन्त्री बाँस्कोटाबीच केहीबेर भनाभन भयो। बाँस्कोटाले विधेयक फिर्ता नलिने र अगाडि बढाउने बताए। लगत्तै राईले प्रतिवाद गरे- यो मन्त्रालयको कार्यकक्ष होइन। यहाँ तपाईंभन्दा सिनियर नेता हुनुहुन्छ। सुवास नेम्वाङ, योगेश भट्टराई र पम्फा भुषाल हुनुहुन्छ, कुरा सुन्ने गर्नुहोस्।

छलफलमा पत्रकारहरू गगन बिष्ट, राजेन्द्र अर्याल र विष्णु सापकोटाले पनि धारणा राखेका थिए। छलफलको अन्त्य मा सुवास नेम्वाङले पत्रकारहरूलाई काउन्सिल विधेयकको संशोधन गर्नु पर्ने विषयको बुँदा तयार गरेर आफूलाई दिन भनेका थिए। नेम्वाङलाई पनि पत्रकारले संशोधन गर्न सुझाएका थिए।

नेम्वाङले भने संविधानसँग बाझिने गरी कानुन बन्न नहुने बताए। ‘संविधानको प्रस्तावनाविपरित कानुन बनाउनु हुँदैन। नभए सर्वोच्चले व्याख्या गर्दै खारेज गर्न सक्छ,’ नेम्वाङले भने, ‘पूर्ण प्रेस स्वतन्त्रतासँग बाझिने कानुन आए अन्य निकायबाट अप्ठेरो पर्न सक्छ।’ नेम्वाङले मिडियालाई अप्ठेरो पर्ने ठाउँ देखाउन पत्रकारहरूलाई सुझाए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी निकट पत्रकाहरूलाई मिडिया काउन्सिल विधेयकमा गर्नु पर्ने संशोधन बुँदा उपलब्ध गराउन भनेका छन्।


(२०७६ जेष्ठ ५, आईतवार) १६:५८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro