सेना-पुलिस होइन, दलालहरु निसानामा पर्छन् : विप्लव (भिडियाे हेर्नुस्)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ ३, शुक्रबार) १९:४१

सरकार द्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमाथि केपी सरकारले लगाएको प्रतिबन्ध, सरकारको प्रतिबन्धविरुद्धको प्रतिरोध, वार्ता र पार्टीका आगामी कार्यक्रमका बारेमा आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका छन् ।

उनले रातो खबर अनलाइन टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा आफ्नो पार्टीमाथि सरकारले प्रतिबन्ध लगाउनुको कारण उल्लेख गर्दै भनेका छन्, ‘प्रतिबन्ध दलाल पुँजीवादी शक्तिको साम्राज्यवादीका सामु आत्मसमर्पणको परिणति हो । वर्गहितमा खडा गरिएको राज्यभित्र वर्गसङ्घर्ष चलिरहेको अवस्थामा हुने प्रक्रिया हो । यो प्रतिबन्ध हाम्रो हकमा मात्र लागू भएको होइन । राज्यले लगाउने प्रतिबन्ध र जनताले गर्ने प्रतिरोधसँग जोडिएको प्रक्रिया हो । हिजो राणाविरुद्ध भएको आन्दोलनमा जनतामाथि लगाइएको थियो । २००८ सालमा काङ्ग्रेस सरकारले कम्युनिस्ट पार्टीमाथि लगाएको थियो । २०१७ सालदेखि पञ्चायतले काङ्ग्रेस र कम्युनिस्टमाथि प्रतिबन्ध लगायो । जनयुद्ध सुरु भएदेखि काङ्ग्रेस र एमाले मिलेर हामीमाथि प्रतिबन्ध लगाए । अहिले केपी—पीके सरकारले हामीमाथि प्रतिबन्ध लगाएको छ । त्यसैले यो नयाँ कुरा होइन ।’

प्रतिबन्ध लगाएलगत्तै यो सरकारले नेकपाका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूको गिरफ्तारीलाई लिएर विप्लवले भनेका छन्, ‘जनताको बीचमा बसेर सङ्गठनको काम गरिराखेका हाम्रो पार्टीका स्थायी समितिका सदस्य सुदर्शनलगायत ७ जना केन्द्रीय नेताहरू, घरमा बसिराखेका कार्यकर्ता, महिला, शिक्षक, मजदुरहरूलाई यो सरकारले गिरफ्तार गरेको छ ।’

वर्तमान राज्यप्रणालीका विरुद्ध आफ्नो पार्टीले गर्नुपरेको विरोधको कारण बताउँदै उनले भनेका छन्, ‘चैतन्य मिश्रहरूले जति नै टाउको फोेरे पनि, जति नै तर्क गरे पनि पुँजीवादी व्यवस्थाले मानव जातिको कल्याण गर्न सक्दैन भन्ने पुस्टि भैसकेको छ । शान्तिप्रक्रियामा आएपछि काङ्ग्रेस, एमालेहरूले नेताहरूको व्यवस्थापन गर्न खोजे, नेताहरूलाई सुखसुविधामा डुबाएर मोजमस्तीमा रमाउने बनाए । देशलाई पुरानै ठाउँमा छोड्ने काम गरे । हामीले प्रचण्डजीलाई भनेका थियौँ– तपाईंहरूले यही बाटो समाउनुभयो भने हामी जाँदैनौँ है । हामीले काङ्ग्रेस र एमालेलाई भनेका थियौँ– तपाईहरूले प्रचण्ड र बाबुरामहरूलाई समातेको भरमा शान्तिप्रक्रिया टुङ्गिँदैन । तर उनीहरूले त्यही गरे । प्रचण्ड र बाबुरामको व्यवस्थापन गर्नेबितिक्कै, उनीहरूलाई समाउनेबितिक्कै भैहाल्छ भन्ने सम्झिए र जनयुद्धमा उठाइएका जनताका मागहरूको सम्बोधन गरेनन् । त्यसैले फेरि अर्को विद्रोहको आवश्यकता परेको हो ।’

वार्ताका बारेमा स्पष्ट पार्दै विप्लवले भनेका छन्, ‘वार्ताका बारेमा स्पष्ट कुरा के भनिएको छ भने जनता र राज्य, विद्रोही र सत्ता पक्ष, एउटा राज्य र अर्को राज्य, सङ्घर्षशील शक्ति र दमन गरिराखेको शक्तिका बीचमा वार्ता हुने र भैराखेका छन् । यसको हामी निरपेक्ष विरोध वा निरपेक्ष समर्थन गर्दैनौँ । वार्ता हुँदै हुँदैन भन्ने कुरा होइन र सजिलै भैहाल्छ भन्ने पनि होइन । प्रयोगले के साबित गरेको छ भने समस्याहरू आएपछि, सङ्घर्ष भएपछि, विद्रोह भएपछि वार्ता हुन्छन् । वार्ता पनि राजनीतिको एक भाग हो ।’

वास्तवमा नेकपाले गर्न खोजेको सङ्घर्षका बारेमा स्पष्ट पार्दै विप्लवले भनेका छन्, ‘यो क्रान्ति प्रचण्डविरुद्धको लडाइँ होइन, अहिलेका मन्त्रीविरुद्धको लडाइँ पनि होइन, केपीविरुद्धको लडाइँ पनि होइन । यो त पुँजीवादी व्यवस्थाविरुद्धको लडाइँ हो । तर उहाँहरू अगाडि आउनुहुन्छ भने कुनै पनि मूल्य चुकाउन तयार छौँ । यहाँ इन्काउन्टरका कुरा आएका छन् । हामीलाई गोली हान्ने कुरा आएका छन् । यस्तो हो भने हामी पुलिससँग किन लड्छौँ, सेनासँग किन लड्छौँ ? यो राज्यका दलालहरूका विरुद्ध लड्छौँ नि । त्यस समयमा सोच्नुपर्ने हुन्छ ।


(२०७६ जेष्ठ ३, शुक्रबार) १९:४१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

पत्रकार हमालको रिहाईका लागि नेपाल पत्रकार महासंघद्धारा सर्वोच्चमा रिट दायर

पत्रकार ओम हमाललाई रिहाईको लागि सर्वोच्च अदालतमा रिट दायर भएको छ । जनसंचार डटकमका संचालक एवम् सम्पादक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हमाललाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको थियो । पक्राउ.....

पत्रकार ओम हमालको रिहाइको माग गर्दै फोटो पत्रक्रार महासंघ गण्डकी

फोटो पत्रकार महासंघ गण्डकी प्रदेश द्धारा पत्रकार हमालको तत्काल रिहाईको माग पोखरा, भाद्र ६ । पत्रकार ओम हमाललाई प्रहरीले पक्राउ गरेको प्रति फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको ध्यान.....

आत्महत्याको बढ्दो ग्राफ:चार बर्षमा २०९६७ ले गरे आत्महत्या

टेकराज थामी नयपत्रिका/ आत्महत्या गर्ने ५६ प्रतिशत युवा  सरदर दैनिक १५ नेपालीले आत्महत्या गर्ने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार पछिल्ला चार वर्षमा मुलुकभर २० हजार नौ सय ६७ जनाले.....

Exchange Rate

Nepali Patro