दलाल पुँजीवादको चक्रव्यूह : कृष्णप्रसाद पौडेल

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ बैशाख ३०, सोमबार) १२:२२

मानिसले आफ्नो श्रमलाई यन्त्रको जिम्मा लगाएसँगै त्यसलाई सञ्चालन गर्न चाहिने खनिज ऊर्जा उत्खनन, ठूला प्रशोधन कारखाना र तिनलाई चाहिने कच्चा पदार्थको खोजी तीव्र भयो । मुख्यतः यही बेलायत र पश्चिमी युरोपको औद्योगिक विकासका लागि औपनिवेशिक यात्रा थियो । यो यात्रा त्यस्ता उद्योगका लागि कच्चा पदार्थको जोहो गर्न थालिएको थियो ।

यसले मानव समुदायलाई एकै ठाउँ त ल्यायो तर यही परनिर्भरता, परपीडा र उत्पीडनको बलियो जगसमेत बन्यो । उपनिवेशको बाटो हुँदै फैलिएको यस्तो औद्योगिक विकासले मानिसलाई सुविधाभोगी बनाएन, प्रकृतिको अति दोहन सम्भव बनाउन आधुनिक यन्त्र र यिनको गतिसमेत बढायो ।

यस्ता द्रुतयन्त्रको आविष्कारले कल्पनाशील मानिसमा यन्त्रजस्तै गतिवान् भएर भविष्य बनाउने आकांक्षा बढायो । चन्द्रमा या मंगल ग्रहको यात्रा यसैका मानक हुन् । यान्त्रिक गतिको यस्तो प्रभाव अहिलेको सहरिया जीवनमा सहजै देख्न र भोग्न पाइन्छ । सहरिया मानिस सधैं हतारमा बाँच्न अभ्यस्त भइसकेका छन् ।

औद्योगिक क्रान्तिले भित्र्याएको प्रविधिको विकास, यान्त्रीकरण, खनिज तेलको उत्खनन र कृत्रिम रसायन उत्पादनका कारण औद्योगिक उत्पादन मात्र बढेन, यस्तो उत्पादनको अन्तरदेशीय व्यापार र यसको नियन्त्रण गर्ने होडसमेत बढ्यो । यसैको परिणाम थियो, पहिलो र दोस्रो विश्वयुद्ध ।

सन् १९४९ मा युद्धमा हारेको युरोपको पुनर्निर्माण गर्ने अमेरिकी घोषणासँगै ‘विकास’ शब्दको प्रादुर्भाव भयो । यसले देशीय गठबन्धन, हतियार र थुनछेकका भरमा गरिने भौगोलिक उपनिवेशभन्दा फरक भौतिक उत्पादन, बजार र पैसाका बलमा प्रकृति र मानिस दुवैको नियन्त्रण गर्न सिकायो । सँगै यसले हुने र नहुनेको बीच सानो र ठूलाको मनोवैज्ञानिक पर्खाल खडा गर्‍यो । यस्तो मनोविज्ञानले हीनताबोध, परनिर्भरता र मगन्ते संस्कृति थोपर्दै कित विकासे हुनैपर्ने नत्र पछि परिने सामाजिक मान्यता स्थापित गर्‍यो ।

यसले अविकसित भनिएका समुदाय, भूगोल र देशलाई परैबाट नियन्त्रण गर्न सम्भव बनायो । यस्तो नियन्त्रणको संवाहक विकासलाई पहिले प्राविधिक, भौतिक र आर्थिक सहायता अनि सहुलियत ऋणका रूपमा लिइन्थ्यो । अहिले यो वैदेशिक लगानीका नाममा विकासशील र अविकसित देशहरूमा भित्रिरहेको छ र यसबाट दलाल पुँजीको एकाधिकार र वर्चस्व विस्तार भइरहेको छ ।

यस्तो पुँजीका भरमा गरिने भौतिक विकास नै विकासको एक मात्र विकल्पका रूपमा प्रस्तुत भइरहेको छ । यही दलाल अर्थतन्त्रको जगमा टिकेको संसदीय लोकतन्त्र, स्वतन्त्र बजार र निजी सम्पत्ति अनि यसैले अथ्र्याएको भौतिक विकास नै आधुनिक जीवनशैली हो भन्ने मान्यता स्थापित भएको छ ।

आधुनिक विकासले बाँडेको भौतिक सुविधाको यो सपनामा बाँच्न पाउन यस पृथ्वीमा रहेका सबै मानिसलाई सम्भवै छैन । उदाहरणका लागि, संसारभर १ अर्ब कार छन् र सबैलाई एउटा-एउटा चाहिने हो भने ७ अर्ब कार चाहिन्छ । यी चलाउन चाहिने ऊर्जा र बाटोको कुरा पनि छँदै छ । अहिले १००० अमेरिकीमध्ये ९१० जना कार चढ्छन् । यो दर चीनमा १,००० मा १५४ र भारतमा ५० छ ।

यस्तो सुविधा सबै चिनियाँ र भारतीय या अन्य देशका सबै नागरिकले पाउने हो भने कति कार, तेल र बाटो चाहिएला ? भौतिक सुविधाको यो एउटा उदाहरणबाट मात्र पनि के स्पष्ट छ भने सबैलाई यस्तो सुविधा पुग्नै सक्दैन । महात्मा गान्धीले भनेझैं यस पृथ्वीमा सबैको आवश्यकता पूरा गर्न स्रोत प्रशस्त छ तर सबैको लोभ पूरा गर्न भने यो पुग्दैन ।

दुर्भाग्यवश, केही सीमित शासक मात्र सुविधासम्पन्न हुन सक्ने यस्तो आधुनिक विकास हाम्रो समृद्धिको सपना बन्यो । यही सपना बाँड्दै अहिले आफू रआफ्नाका लागि मात्र भौतिक सेवा, सुविधा र सम्पन्नता बढाउन संसारभरि लुटपाट चलिरहेको छ । यसमा नेपाल पनि अपवाद छैन । यस्तो लुटपाट गर्न अहिले नेपालमा पुँजीवादी अर्थतन्त्रका हिमायती (आर्थिक दलाल) र समाजवादी टोपी लगाएका राजनीतिका दलाल एकै ठाउँ छन् । एनसेल करछलीदेखि बालुवाटारको सरकारी जमिनको लुटपाटसम्ममा यो छर्लंगै देखिन्छ ।

प्रकृतिको अति दोहन गरी भौतिक सुविधाका लागि मात्र गरिने आर्थिक वृद्धिका कारण सिंगो मानव सभ्यता संकटको भुमरीमा फस्दै छ । यसले मानिस-मानिसबीच विभेद बढाएको छ नै, प्रकृतिको विविधता घटाएर जैविक सन्तुलनमा व्यापक गडबडी निम्त्याएको छ । यसको एउटा ज्वलन्त प्रमाण जलवायुमा आएको परिवर्तन हो ।

यसका केही साना वितण्डा त देखिँदै आएका छन् तर ठूला उथल-पुथल भने निकट भविष्यको संघारमा छन् । देखिने भौतिक विकासको पत्रभित्र नदेखिने विनाशलीलाको जग अग्राखझैं बलियो बन्दै गएको छ । मानिसले तथाकथित सुखी जीवनका लागि भौतिक सुविधाको सपनासँगै खनिज ऊर्जा रित्याउँदै छ, वनजंगल र पानीका स्रोतलाई विषाक्त बनाउँदै छ । माटामा कृत्रिम रसायन र रासायनिक विषादी, नसड्ने प्लास्टिक मिसाएर आफैंलाई मास्नेे विषको भण्डार निर्माण गरिरहेछ । यसबाट चेत्ने सुरसार अझै ल्याएको छैन । यसरी निरन्तर बिग्रँदो माटो र मानव स्वास्थ्य सम्हाल्न नै सकिँदैन कि भन्ने अवस्थामा पुगेको छ ।

यी सबै विध्वंसका पछाडि दलाल पुँजीवादको ठूलो हात छ । यसको उत्कृष्ट नमुना हो- अहिलेको सहर, सहरिया प्रवृत्ति र तिनले गर्ने प्रकृतिप्रतिको व्यवहार । काठमाडौं खाल्डो होओस् वा अन्यत्र आफैँले खानपर्ने अन्न, तरकारी, फलफूल फलाउन छोडेर समृद्धिका नाममा कंक्रिटको सहर फलाइएको छ र यो निरन्तर जारी छ । हामी विकासे हुने होडमा दलाल पुँजीवादको दुश्चक्रमा फसेर मृत सहरका बासिन्दा हुँदै छौँ तर हामीलाई यसको अझै राम्रो हेक्का भने भइसकेको छैन ।

यस्तो दलाल पुँजीवादविरुद्ध आम नागरिकसँग हातेमालो गरी सचेततापूर्वक सँगसँगै लड्नुपर्ने जननिर्वाचित सरकार भने तिनै दलाल पुँजीपतिको दौराको फेरो समाउँदै हिँडेको छ । यिनैका फन्दामा परेर लोभीपापी राजनीतिक नेतृत्व बिचौलिया र दलालमा परिणत भएकोे छ । दलका बुद्धिजीवी र विज्ञहरू यिनैको स्तुति गर्दै गुजारा चलाउँदै छन् ।

राजनीतिक दलहरू विचारशून्य छन्, यिनका कार्यकर्ता पाटीमा सुस्ताएका छन् । आम मानिसलाई आफ्नै दैनिकी सम्हाल्न भ्याइनभ्याइ छ । यो अहिलेको कटु यथार्थ हो । यसरी हेर्दा तथाकथित आधुनिक विकासको विनाशलीलाबाट हाम्रो जीवन जोगाउन के गर्न सकिन्छ भन्ने प्रश्न निकै पेचिलो भएको छ । अर्को अर्थमा दलाल पुँजीवादले थुपारेकोे फोहोरको डंगुर हटाउँदै यसले निम्त्याएका समस्यालाई उजागर गर्न ढिलो हुँदै गएको छ ।

विडम्बना, मानवीय चेतना कुम्भकर्णझैं सुतेको हुन्छ । सन् नब्बेको दशकमै बलियोसँग उठेको प्रकृतिलाई न्याय नगरी सामाजिक न्याय सम्भव हुँदैन भन्ने सामाजिक न्याय र प्रकृतिको दिगोपनाको बहस बिस्तारै सुस्ताउँदै अहिले आर्थिक विकास अर्थात् समृद्धिको ओझेलमा परेको छ । दिगो विकास लक्ष्यका सामाजिक न्याय र दिगो प्रकृतिका प्रस्तावहरू कागजका पानामा सीमित भएका छन् । सामाजिक न्यायका मूल आधार लोकतन्त्र, समावेशिता र निष्पक्षताजस्ता मूल मर्म र मानिस, समाज र प्रकृतिबीचको अन्तरनिर्भरताको सम्बन्ध खिइँदै गएको छ ।

त्यसो त दलाल पुँजीवादले निम्त्याएका विध्वंसविरुद्धका आक्रोश भुसको आगोझैं सल्किरहेका छन् । नयाँ र सिर्जनशील उपायका हजारौं छाल पनि संसारभरि नै उठिरहेका छन् । यसलाई आत्मसात् गर्दै एकताबद्ध भएर आलोचनात्मक चेतना बढाउन फेरि नयाँ बहस चाहिएको छ । दलाल पुँजीवादले भुत्ते बनाएको मानवीय सामाजिक मूल्यमान्यतालाई पुनर्जीवन दिनका लागि हाम्रो समग्र चेतनालाई उन्नत बनाउनु अपरिहार्य भएको छ ।

हामी आधुनिक विकासको विकल्पका संघारमा उभिएका छौं । मानवलगायत अन्य जीवनका आधार अरू थप बिग्रन नदिई भावी पुस्तालाई सुम्पनु हाम्रो सामाजिक दायित्व हो । यसका लागि सबैले दलाल पुँजीवादको चक्रव्यूहबाट निस्कन सचेत प्रयत्न गर्नुको विकल्प छैन । यस्तो दलाल अर्थतन्त्रले मौलाएको कुशासन र भ्रष्टाचारका जरा काट्दै नेपाली समाजलाई सुशासित बनाउन र यी भ्रष्टाचारीलाई यसको कलंकबाट समेत मुक्ति दिलाउन आवश्यक छ ।

ब्राजिलका मार्क्सवादी शिक्षाविद् पाउलो फेरेले भनेझैं, यो दोहोरो मुक्तिको सामाजिक दायित्व निर्वाह गरी सामाजिक रूपान्तरणमा योगदान दिने यस अभियानका लागि यो स्वर्ण अवसर पनि हो । यो दर्दनाक स्थिति हामीले अब पनि टुलुटुलु हेरेर बस्न हुँदैन । ‘यो भएन र अब यसरी हुँदैन’ भन्ने आँट गर्न सक्नुपर्छ ।

हामीलाई फेरि एक पटक सामाजिक जागरणसम्बन्धी सशक्त आन्दोलन चाहिएको छ, ताकि दलाल पुँजीवादले थोपरेको दलाल संस्कृतिलाई सधैंका लागि अन्त्य गर्न सकियोस् तर यसो गर्न नसक्ने र अब हुने आन्दोलनले पनि फेरि यिनै दलाल पुँजीवादका नयाँ नाइके तयार गर्ने हो भने हामी आफैंले खनेको ‘समृद्धि’का खाल्डामा पर्ने निश्चित छ ।


(२०७६ बैशाख ३०, सोमबार) १२:२२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro