अखिल (क्रान्तिकारी) अध्यक्ष ढकाल पत्रकार सम्मेलनबाटै गिरफतार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ बैशाख २७, शुक्रबार) १४:५८

विप्लव नेतृत्वको ने.क.पा.निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जिबी ढकाललाई आज काठमाडौ अनामनगरस्थित युनियन हाउसमा ११ विद्यार्थी संगठनहरुद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनबाट प्रहरीले गिरफ्तार गरेको छ । विहीबार विद्यार्थी संगठनको संयुक्त बैठकले तीनवटा निर्णय गरेको थियो r सोही निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनबाट बिद्यार्थी नेता ढकाल गिरफ्तार भएका हुन् ।

सोही पत्रकार सम्मेलनमार्फत विद्यार्थी संगठनको संयुक्त बैठकले गरेको निर्णय बारे सार्वजनिक गरिएको थियो । त्यस अवसरमा वितरित विज्ञप्तिमा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह, ने.क.पा. निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवि ढकाल, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, अनेरास्ववियू (पाँचौं) का अध्यक्ष घनश्याम मिश्र, नयाँ शक्ति विद्यार्थी यूनियनका अध्यक्ष श्यामबाबु गौतम, अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख प्रविण मिश्र, राष्ट्रिय विद्यार्थी संघका महासचिव रञ्जीत निष्पक्ष, समाजवादी विद्यार्थी फोरम, नेपालका अध्यक्ष विवेक राई, राष्ट्रवादी वि. संघका अध्यक्ष, ताराप्रसाद अर्याल र ने.आ.ज.वि. महासंघका अध्यक्ष दुजाङ शेर्पाले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए ।

 

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिका अनुसार, ११ बिद्यार्थी संगठनहरुले गरेको निर्णयहरु यस्ता रहेका छन् :

१. शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणलाई अन्त्य गरी पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवं सर्वसुलभ बनाउनका लागि नेपाल सरकारको शिक्षामन्त्रीलाई मागपत्र बुझाउने निर्णय गरियो ।

२. राष्ट्रिय आविष्कार केन्द्रलगायत अनुसन्धानका क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिलगायत सबैलाई समेटी उच्चस्तरीय सबै क्षेत्रका राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा स्थापित व्यक्तित्वहरुसँग बृहत अन्तरक्रिया कार्यक्रम जेठ ११ गते प्रज्ञा–प्रतिष्ठानको डबलीमा दिनको ११ बजे गर्ने निर्णय गरियो ।

३. राज्यसत्ताको दुरुपयोग गरी विभिन्न प्रकारका भ्रष्टाचारका काण्डहरु वाइडबडी, एनसेल, फोरजी, बालुवाटार जग्गा, सुनकाण्ड, ठेकेदारकाण्डलगायतका विषयहरुमा संलग्न अपराधीहरुलाई कडाभन्दा कडा कारवाहीको निम्ति नेपाल सरकारसँग जोडदार माग गर्ने निर्णय गरियो ।

यसैबीच महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले उनलाई पक्राउ गरिएको गरेको पुष्टि गरे। ढकाललाई महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको र उनीमाथि थप अनुसन्धान गरिने बोगटीले बताए ।


(२०७६ बैशाख २७, शुक्रबार) १४:५८ मा प्रकाशित

Exchange Rate

Nepali Patro