बुढाबुढीलाई बृद्धभत्ता दिन शुरु गर्ने वामपन्थी नेता भरतमोहन अधिकारीको निधन

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ फाल्गुन १९, आईतवार) ०१:३०

बुढाबुढीलाई बृद्ध भत्ता दिने घोषणा गर्ने र आफ्नो गाउँ आफैं बनाउं जस्ता लोकप्रिया र जनमुखी कार्यक्रमको शुरुवात गर्ने जनप्रिय वामपन्थी नेता पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार राती ९.३५ मा निधन भएको छ । ८२ वर्षीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

अधिकारीको जन्म विक्रम सम्वत १९९३ साल बैशाख २२ गते महोत्तरीको भ्रमणपुरा गाउँमा भएको थियो । उनी पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ हुन् । विराटनगरको आर्दश माद्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका उनले भारतको इलाहावादबाट प्रविणता प्रमाणपत्र तह, बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्र र दर्शनशास्त्रमा स्नातक तथा त्रिभुवन विश्व विद्यालयबाट अर्थ शास्त्रमा एमए र कानुनमा स्नातक गरेका थिए ।

अधिकारीले सन् १९५२ मा १६ बर्षको उमेरमै भारतको बनारसमा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएर राजनीति सुरु गरेका थिए । २००८ सालमा गठन भएको आर्दश विद्यालयको छात्र संघका अध्यक्ष बनेका अधिकारीकै नेतृत्वमा २००७ सालमा विराटनगरको जुद्ध स्कुलको बोर्ड परिवर्तन गरेर आर्दश स्कुलको बोर्ड राखिएको थियो । २०१७ सालमा तत्कालिन राजा महेन्द्रले  कू गरेपछि सोभियत संघमा पीएचडी पढ्न पाएको छात्रबृत्ति त्यागेर सक्रिय राजनीतिमा आए ।

अधिकारीले २०१८ सालदेखि कोशी प्रान्तीय कमिटीको सचिव बनेर पूर्वमा कम्युनिष्ट आन्दोलनको नेतृत्व गरे । साइकल चढेर गाउँ-गाउँमा कम्युनिस्ट पार्टीको पर्चा वितरण गर्थे । तत्कालीन नेकपाका महासचिव केशरजंग रायमाझीले राजाको सेवा गर्न थालेपछि २०१९ मा नेकपाको तेस्रो महाधिवेशन गराउन पहल गरे । अधिकारी त्यही महाधिवेशनबाट पोलिटब्युरो सदस्य निर्वाचित भए ।

तत्कालिन माले र मार्क्सवादीबीच २०४७ मा पार्टी एकिकरण गराएर एमाले बनाउन पनि उनको महत्वपूर्ण भूमिका छ । उनकै पहलमा २०४६ सालमा सात वाम घटक एक भएर संयुक्त वाम मोर्चा निर्माण भएपछि पञ्चायतबिरुद्ध आन्दोलन सशक्त भएको थियो । २०६२/०६३ को आन्दोलनमा पनि सक्रिय भए । २०६१ सालमा राजा ज्ञानेन्ऽले कू गरेर सत्ता हातमा लिँदा उपप्रधानमन्त्री रहेका अधिकारीलाई तीन महिना घरमै नजरबन्दमा राखिएको थियो ।

उनी २०४८, ०५१ र ०५६ मा मोरङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भए । बिराटनगरमा केहि समय अध्यापन समेत गरेका अधिकारीले वकालात समेत गरे ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको छैठौं, सातौं र आठौं महाधिवेशनबाट उहाँ लगातार स्थायी समितिमा निवार्चित भए ।

अधिकारीले २०१५ सालमा कम्युनिस्ट पार्टीको मुखपत्र नवयुगको सम्पादकको भूमिका निर्बाह गरेका थिए । नेपालमा औद्योगकरणको समस्या, मेरो जीवन यात्रा भाग-२ प्रकाशित छन् भने जनताको बहुदलीय जनवादको अर्थशास्त्र प्रकाशोन्मुख छ । पञ्चायत विरोधी संघर्षका क्रममा अधिकारी पटक पटक जेल परेका थिए ।

 


(२०७५ फाल्गुन १९, आईतवार) ०१:३० मा प्रकाशित

Exchange Rate

Nepali Patro