५० करोड कमिसन नपाएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्याैलमा

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ मंसिर २६, आईतवार) ०१:११

दुई देशबीच औपचारिक सम्झौतापछि गर्नुपर्ने र हुनुपर्ने प्राय सबै काम सम्पन्न भइसकेका छन् । चिनियाँ प्राविधिक टोली पोखरा आइसकेको छ । शुक्रबारदेखि उनीहरुले काम थालेका छन् । त्यसको ठिक २४ घण्टाअघि पोखरामै आएर नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डययन मन्त्री जीवनबहादुर शाही बोले, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा राष्ट्रघात भएको छ, राष्ट्रघात हुन दिन्नौं बरु सरकारले आफैं बनाउँछ ।’

सबै ठूला पार्टीका शीर्ष नेताको उपस्थितिमा देशको प्रधानमन्त्रीले भव्य समारोहबीच शिलान्यास गरिसकेको राष्ट्रिय गौरवको आयोजनाका विरुद्धमा विभागीय मन्त्रीले नै मोर्चा खोलेपछि धेरैले एउटै प्रश्न गरेका छन्, ‘मन्त्रीले यसरी किन बोले ?’

नेपाल सरकारका उच्च स्रोतका अनुसार पोखरामा विमानस्थल निर्माण सम्झौतामा मन्त्रीले भने जस्तो राष्ट्रघात कतै भएको छैन । तर ‘स्क्रु एकाउन्ट’ सम्बन्धी एउटा बुँदालाई लिएर नेपाली पक्षले बखेडा झिक्ने प्रयास गरेको छ ।

चीनको एक्जिम बैंकबाट ऋण लिएर आयोजना बनाइने भएकाले स्वभाविक रुपमा सो बैंकमा खाता खोल्नुपर्छ । ‘ऋण चुक्ता नहुन्जेलसम्म पोखरा विमानस्थलबाट हुने आम्दानी सोही खातामा जम्मा गर्नुपर्ने सर्त छ, यसैलाई राष्ट्रघात भनेर व्याख्या गर्न खोजिँदैछ,’ उच्च स्रोतले भन्यो, ‘यो ठूलो डिल होइन, अन्तर्राष्ट्रिय चलन नै हो । जुनसुकै वित्तीय सस्थाले यस्तै गर्छन् ।’

स्रोतका अनुसार केही व्यक्तिले ठेकेदार कम्पनीसँग माग गरेको कमिसन नपाएको झोंकमा यस्तो बखेडा झिक्न खोजिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको नाम भजाएर ५० करोड रुपैयाँकमिसन मागिएको दाबी स्रोतले गरेको छ । तर चिनियाँ पक्षले सो रकम दिन अस्वीकार गरेको थियो ।

‘म देउवाको नजिकको नातेदार हुँ, धेरै होइन ५० करोड सहयोग गर्नु पर्‍यो भनिएको रहेछ,’ स्रोतले भन्यो, ‘नेपाली कांग्रेस र सभापति देउवाको बदनाम गर्ने गरी देउवाको नाममा कमिसन उठाउन खोज्नेहरु अहिले आयोजनाको विरुद्धमा देखिएका हुन् ।’तिनैबाट प्रभावित भएर मन्त्री शाहीले त्यस्तो अभिव्यक्ति दिएको हुन सक्छ ।

मन्त्रीको यस्तो अभिव्यक्ति आए पनि चिनियाँ टोली पोखरा आएर काम थालेको थिए । अन्योलबीच पहिलो चरणको काम थालनी हुँदैछ । शुक्रबार आयोजना स्थल पुगेका टोलीले शनिबार वा आइतबारदेखि कामदार र प्राविधिकका लागि वासस्थान निर्माण सुरु गर्ने पोखरा विमानस्थलका अधिकारीले जानकारी दिए । यसअघि पनि पोखरा विमानस्थलको तारबारका क्रममा ठेकेदारबाट ५० लाख रुपैयाँ पार्टीका नाममा लिएको पुष्पकमल दाहाल नेतृत्वको माओवादी कास्कीले सार्वजनिक रुपमै स्वीकारेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ सालको नयाँ वर्षको दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको शिलान्यास गरेका थिए । शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीसहित अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत नेता तथा चिनिया पक्षका उच्च अधिकारी सहभागी थिए ।

पोखरा विमानस्थलका लागि चीनको एक्जिम बैंकले ऋण लगानी गर्ने सम्झौता छ ।सरकारले २०७१ कात्तिक १० चिनिया“ कम्पनी सीएएमसीलाई विमानस्थल निर्माण गर्न ठेक्का दिएको थियो । २१ अर्ब खर्चमा उसले विमानस्थल बनाउने हो । उक्त खर्च चिनियाँ एक्जिम बैंकले नेपाललाई ऋण दिने सम्झौता तत्कालीन प्रधानमन्त्री ओलीको भ्रमणका बेला भएको थियो ।

प्रधानमन्त्रीको चीन भ्रमणका बेला चैत ८ गते उक्त विमानस्थलका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको थियो । ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच सम्झौता भएपछि विमानस्थल निर्माणका लागि लगानीको टुंगो लागेको थियो ।

पोखरा विमानस्थल आयोजनाका अनुसार २५ सय मिटर रनवे हुने विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० र सो सरहका जहाजले उडान र अवतरण गर्न सक्नेछन् । विमानस्थलका लागि २०३२ सालमा पोखराको छिनेडा“डामा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।


(२०७३ मंसिर २६, आईतवार) ०१:११ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना