छिनमै हराउँछ मन्दिरबाट भेटी

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ मंसिर २५, शनिबार) ०४:५२

गोरखा जिल्लाका प्रसिद्ध धार्मिक स्थल मनकामना, गोरखकाली र गोरखनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी छिनमै हराउँछ। भेटी चढाएर भक्तजन ओझेल परिनसक्दै नगदा तथा गरगहना पुजारीको खल्तीमा पुग्छ।

मनकामनामा कति भक्तजनले दर्शन गरे भन्ने यकिन तथ्यांक नभए पनि मनकामना दर्शन प्रालिले वर्षमा कतिजना केबुलकार चढ्छन् भन्ने तथ्यांक राख्छ। प्रालिका अनुसार गत वर्ष करिब ११ लाख मानिस केबुलकार चढेका थिए। यीमध्ये २० प्रतिशत स्थानीय र अरू बाह्य भक्तजन हुन्छन्। मनकामना जाने सडकबाटो तीनवटा छन्। सजिलै गाडीबाट पनि मनकामना मन्दिर पुगिन्छ। हिँडेर दर्शन गर्न जाने पनि हुन्छन्। यी सबै गर्दा मासिक एक लाखभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गर्ने अनुमान पुजारीको छ।

भारतीय मूलका भक्तजन मनकामना धेरै आउँछन्। करिब १५ देखि २० प्रतिशत भारतीय भक्तजन हुन्छन्। पुजारीका अनुसार उनीहरूले अन्य भक्तजनले भन्दा धेरै दान गर्छन्। दैनिक तीन हजारभन्दा बढी भक्तजनले मनकामना मन्दिरमा चढाएको करिब ५० हजार रुपैयाँ भेटी पुजारीले राख्छन्। चारजना पुजारीले आलोपालो पूजा गर्छन्। भक्तजनले चढाएको, दान गरेको भेटी र बहुमूल्य गहनाको लेखाजोखा हुँदैन, जेजति हुन्छ, पुजारीले लैजान्छन्। मासिक १५ लाख भेटी मनकामना मन्दिरबाट गायब हुने गरेको छ। स्थानीय भने भेटी अझै धेरै हुने अनुमान लागउँछन्। एक स्थानीयले भने, ‘गरगहना पनि उत्तिकै चढाउँछन्, कुनै महिना धेरै, कहिले थोरै हुन्छ। व्यवस्थित गर्ने हो भने मासिक २५ लाख भेटी संकलन हुन सक्छ।’

मनकामना मन्दिरको संरक्षण गर्दै आएको मनकामना मन्दिर क्षेत्र विकास समितिले पनि भेटी व्यवस्थापन गर्न नसकेको कार्यकारी निर्देशक गिरिधारी सापकोटा बताउँछन्। ‘पहिलेदेखि नै पुजारीले लैजाने चलन रहेछ, हामीले नियन्त्रण गर्न प्रस्ट कानुनी आधार पनि छैन’, उनले भने। भक्तजनले मन्दिरभित्र चढाएको भेटी व्यवस्थित नभएको स्विकार्दै उनले क्षेत्र विकास समितिले बाहिरपट्टि सहयोग बाकस राखेर आर्थिक संकलन गरेको जानकारी दिए। दान बाकसमा जम्मा भएको रकम कर्मचारीलाई तलब खुवाउन, सरसफाइ गर्न, बिजुलीबत्ती र पानीको व्यवस्थापनमा खर्च हुन्छ।

२०६८ सालदेखि भने मनकामना जीर्णोद्धार समितिले पनि मन्दिर पुनःनिर्माणका लागि भन्दै बाकस राखेर पैसा उठाउने गरेको छ। क्षेत्र विकास समिति र जीर्णोद्धार समितिले आर्थिक संकलन गर्न सातवटा बाकस राखेका छन्।

गोरखकाली मन्दिरमा पनि सरदर दैनिक आठ देखि १० हजार भेटी पुजारीले खल्तीमा राख्दै आएका छन्। यहाँ पूजा गर्न खटिनेहरु सरकारी तलब पनि खान्छन्। दरबार हेरचाह अड्डामा सुसारे र पुजारी रहिरहन्छन्। जो बस्दा भेटी आउँछ उसैले खल्तीमा हाल्ने गर्छ। दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले भने, ‘अहिलेसम्म व्यवस्थित गर्न सकेका छैनौं, तीनवटा दान बाकसमा भक्तजनले खसालेको भेटी भने मन्दिरको पूजाआजामा खर्च गर्छौं।’ भेटी व्यवस्थित गर्न नसकेपछि मन्दिरमा दान बाकस राखिएको छ। बाकसमा भक्तजनले चढाएको पैसा कर्मचारीले खातामा राख्छन्। यो रकम दरबार हेरचाह अड्डाले विभिन्न पर्वमा विशेष पूजाआजामा खर्च गर्छ। गोरखनाथ मन्दिरमा भक्तजनले चढाउने भेटी पनि पुजारीकै खल्तीमा जान्छ।

यी तीर्थस्थलको भेटी व्यवस्थापन गर्न सक्ने हो भने जिल्लाको विकास निर्माणमा टेवा पुग्ने सरोकारवाला बताउँछन्। पुरातŒव विभागका सूचना अधिकारी दामोदर गौतमले भेटी व्यवस्थापन गर्ने कार्यविधि नहुँदा समस्या भएको बताए। ‘कार्यविधि नहुँदा नियन्त्रण गर्न सकेका छैनौं। अहिले कार्यवीधि बन्दैछ, क्याबिनेटबाट पास भएपछि भेटी व्यवस्थापनको योजना बन्छ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि तयार पारेको उनले बताए। गोरखामा मात्रै नभएर नेपालका अन्य थुप्रै शक्तिपीठमा पनि भेटी व्यवस्थित हुन नसकेको बताउँदै उनले भने ‘भेटी व्यवस्थित भयो भने धार्मिक धरोहर जोगाउन आर्थिक संकट पर्दैन।’


(२०७३ मंसिर २५, शनिबार) ०४:५२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना