डिजेलमा बदमासी : काठमाडौं ल्याएको डिजेल फेरि भारत पुग्यो

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ मंसिर २५, शनिबार) ००:३१

पछिल्लो समय काठमाडौंमा न लोडसेडिङ छ, न नाकाबन्दी । तर, डिजेलको माग दिन दुई गुणा रात चारगुणाले बढ्दै गयो र, आइतबार १८ लाख लिटर पुग्यो । यसले ट्यांकरहरुले नेपाल ल्याएको तेल पेट्रोल पम्पहरुमा नखन्याइ भारतमा नै फर्काएर बेच्न थालेका त होइनन् भन्ने आशंका जन्मायो । र, सरकारले बजार अनुगमन बढायो ।

अनुगमनसँगै काठमाडौंमा डिजेलको दैनिक माग घटेको छ । यसबाट काठमाडौंको बजारमा पठाइएको डिजेल भारत पुग्ने गरेको पुष्टी भएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार बजारमा अनुगमन थाल्नासाथ दैनिक ६ लाख लिटर डिजेलको माग घटेको छ ।

भारतमा डिजेलको मूल्य नेपालमा भन्दा झण्डै २० रुपैयाँ बढी छ । यसैकारण बजारमा चलखेल गरेर पम्पहरुलाई दिएको तेल सेटिङ मिलाएर उपत्यकाबाहिर पठाउने गरिएको र ट्यांकरमार्फत नै फेरि सो तेल भारत नै पुग्ने गरेको सरकारी निष्कर्ष छ ।

१८ लाखबाट झरेर १२ लाख लिटरमा

ट्यांकर र पेट्रोल पम्पमाथि निगरानी बढाएपछि बजारमा तेलको माग एक तिहाइले घटेको आयल निगम वितरण विभाग प्रमुख सीताराम पोखरेलले बताए ।

पम्प तथा ट्यांकरमाथि थप निगरानी बढाएर बजारमा तेलको माग सामान्य अवस्थामा झार्न प्रयासरत रहेको उनको दाबी छ । निगमको थानकोटस्थित डिपोका प्रमुख नेत्र काफ्लेले डिजेलको माग अहिले दैनिक १२ लाख लिटरमा झरेको बताए । जबकी अनुगमन थाल्नु अघि गत आइतबारको माग १८ लाख लिटरमाथि थियो ।

शुक्रबार नेपाल आयल निगमले ८ लाख १४ हजार लिटर डिजेल बजारमा पठाएको छ । सामान्य अवस्थामा काठमाडौंमा ८ लाख लिटर डिजेल पठाउँदा माग धान्छ । अनुगमन कसिलो बनाउँदै लगेपछि दैनक माग अझ घट्न सक्ने वितरण विभाग प्रमुख पोखरेल बताउँछन् ।

थानकोटमा ट्यांकरमाथि चेकिङ

लगातार तेलको माग बढेपछि भारतीय बजारमा तेल तस्करी भएको ठहर आपूर्ति मन्त्रालयले गरेको थियो । तेलको कालोबजारी रोक्न अहिले उपत्यका छाड्ने सबै ट्यांकरमा ग्रेज लगाएर तेल भए/नभएको हेर्ने गरिएको छ । यसमा लागि थानकोटमा आपूर्ति व्यवस्थापन विभाग र आयल निगमबाट अधिकृतहरु खटिएका छन् ।

राजधानीमा लोडसेडिङ हुन छाडे पनि तेलको माग घट्नुपर्नेमा बजारमा दोब्बर माग भएपछि कालोबजारीको आशंका जन्मिएको थियो । अहिले २४ नै घण्टा सबै ट्यांकरलाई परीक्षण गरेर मात्रै उपत्यकाबाहिर पठाउन प्रहरीलाई पनि निर्देशन दिइएको छ ।

अब अनुगमन जिल्लामा

उपत्यकाबाहिर पनि तेलको माग उच्च छ । भारतीय सीमा क्षेत्रमा त झन् तेलको माग अप्रत्याशित रुपमा उकालो लागेको छ । सीमा क्षेत्रबाट पम्पबाटै तेल किनेर भारतीय बजारमा तेल बेच्न स्थानीयहरु नै सक्रिय भएका छन् । त्यसैले अब जिल्लाहरुमा अनुगमन बढाउन पनि आपूर्ति मन्त्रालयले समिति बनाएको छ ।

समितिले जिल्लाहरुमै पुगेर तेल डिपो, पम्प तथा ट्यांकरहरुमा अनुगमन गर्नेछ भने प्रहरीलाई सीमा क्षेत्रमा तेल तस्करी नियन्त्रण गर्न निर्देशन पनि दिनेछ ।

तेलको कालोबजारी विरुद्ध खटिएको अनुगमन टोलीले ५ सय लिटरभन्दा बढी डिजेल लैजाने पम्पहरुमा पनि अनुगमन गरिरहेको छ । पम्पहरुबाटै पनि तेलको कालोबजारी भएको सूचना सरकारसँग पुगेको छ ।


(२०७३ मंसिर २५, शनिबार) ००:३१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना