रामदेवको एक अर्ब लगानीले नेपालीको ६ अर्ब जोखिममा. अत्तालियो सरकारी आयुर्वेद औषधि उद्योग

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ मंसिर १३, सोमबार) ०७:१३

भारतीय योगगुरु रामदेवले बारामा तामझामका साथ आयुर्वेदिक औषधि उद्योग खोलेसँगै नेपाली आयुर्वेद औषधि उद्योगीहरु आफ्नो लगानी डुब्ने चिन्तामा परेका छन् । रामदेवले नेपालमा आयुर्वेद औषधि उद्योग खोल्दै यस क्षेत्रमा मात्रै १ अर्ब लगानी गर्ने घोषणा गरेका छन् । जबकि अहिले नेपालीहरुले सञ्चालन गरिरहेका आयुर्वेद उद्योगहरुमा ६ अर्ब भन्दा ठूलो लगानी  छ । आयुर्वेद औषधि उद्योगमा रामदेवको प्रवेशले नेपालीहरुको ६ अर्ब भन्दा ठूलो लगानी जोखिममा पर्न लागेकोे व्यवसायीहरु बताउँछन् ।

नेपाल हब्र्स एण्ड हर्बल प्रोडक्ट्स एसोसियसनका अध्यक्ष गोविन्द घिमिरेका अनुसार अहिले नेपालका आयुर्वेद औषधि उद्योगहरुले झन्डै ५ हजारलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । त्यस्तै २० लाखभन्दा बढी नेपालीहरुले यसै क्षेत्रमा अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।

नेपाली आयुर्वेद औषधि उद्योगमा रामदेवको प्रवेशले निजी उद्योगहरु मात्रै नभई सरकारी आयुर्वेद औषधि उद्योग सिंहदरबार बैद्यखाना विकास समिति समेत अत्तालिएको छ

अध्यक्ष घिमिरेले भने– ‘यो क्षेत्रमा नयाँ लगानी आउनु राम्रै भए पनि भर्खरै बामेसर्दै गरेका नेपाली आयुर्वेद उद्योगहरु भने रामदेवको वैदेशिक लगानी आएपछि डुब्ने खतरा बढेको छ । अब यसले नेपालीहरुको ६ अर्बको लगानी पनि डुबाउने सम्भावना छ ।’ घिमिरेका अनुसार अहिले नेपालमा १२ वटा ठूला आयुर्वेद उद्योगहरु सञ्चालनमा छन् ।

अब रामदेवको पतञ्जलीले कैयन साना तथा  घरेलु उद्योगका रुपमा नेपालीहरुबाट सञ्चालित आयुर्वेद उद्योग र यसै क्षेत्रमा आश्रित जनताको समेत रोजगारीमा नकारात्मक असर पर्ने अध्यक्षको भनाइ छ ।

सरकारी आयुर्वेद उद्योग पनि संकटमा 

नेपाली आयुर्वेद औषधि उद्योगमा रामदेवको प्रवेशले निजी उद्योगहरु मात्रै नभई सरकारी आयुर्वेद औषधि उद्योग सिंहदरबार बैद्यखाना विकास समिति समेत अत्तालिएको छ ।

दुई वर्षदेखि उत्पादन गर्न नसकेको बैद्यखानाको स्थितिमा सुधार ल्याउन भने अहिलेसम्म कसैले पहल गरेको छैन । रामदेवको औषधि  उद्योगको उदघाटन गर्नका लागि देशका नेताहरु लाम लाग्दै गर्दा यता सरकारी आयुर्वेद औषधि उद्योग भने उचित व्यवस्थापनको अभावमा छटपटाइरहेको छ ।

सिंहदरबार बैद्यखाना विकास समितिका औषधि तथा अन्य उत्पादनको माग ठूलो भए पनि बजारमा यसका उत्पादन उपलब्ध छैनन् । ग्राहकले   बैद्यखानाले उत्पादन गरेका औषधिहरु खोजीरहेका छन् तर पाइरहेका छैनन् ।

हाल ६४ जना कर्मचारी रहेको बैद्यखाना बिकास समितिका १ सय ५० वटा औषधि उत्पादन गर्ने क्षमता रहेको छ । तर, अहिले १५ वटा मात्रै औषधिहरु उत्पादन गरिरहेको सिंहदरबार बैद्यखाना बिकास समितिका प्रबन्ध निर्देशक राजेन्द्र कुमार गिरी बताउँछन् ।

गिरीले अनलाइनखबरसँग भने– ‘रामदेवको औषधि उद्योग व्यवसायिक रुपमा अघि बढ्न सहज छ, तर, सरकारी उद्योग भएका कारण हाम्रो उत्पादन भने प्रक्रियामा अल्झिन्छ ।’ आयुर्वेद उद्योगमा रामदेवको प्रवेशले सिंहदरबार बैद्यखाना झनै धरासायी हुने गिरीको ठहर छ ।

बजारमा मागअनुसारको उत्पादन गर्न नसकेको बैद्यखानाले समयमै उत्पादन दिन सकेको छैन । बजारमा अहिले यसको चेवनप्रास अभाव छ । बैद्यखानाले गत वर्षदेखि चेवनप्रास उत्पादन गर्न सकेको छैन । यसको चेवनप्रास यसकै हातामा रहेको रिटेल काउन्टरमा समेत पाइँदैन । मंसिरको मध्यसम्म पनि चेवनप्रास उत्पादन हुन सकेको छैन ।

निर्देशक  गिरीले अहिले चेवनप्रासको उत्पादन सुरु भएको बताउँछन् । तर, उत्पादन थालिए पनि बजारमा यो लगभग गर्मी महिना सुरु हुँदा मात्रै आइपुग्छ । गर्मी महिनामा भने यसको खासै माग हुँदैन ।

सिंहदरबार बैद्यखानाले यसरी उत्पादन नियमित नगर्दा निजी कम्पनीका उद्योगहरुको बिक्री भने ह्वात्तै बढेको छ । निजी कम्पनीले आफ्नो उत्पादनको बिक्री बढाउन बैद्यखानालाई भने धरासायी बनाउने प्रयास गरेका छन् ।

निजी कम्पनीबाट प्राप्त हुने कमिसनको कारण नै बैद्यखानाको उत्पादन प्रभावित भएको बैद्यखानाका कर्मचारीहरु बताउँछन् । एक कर्मचारीले भने ‘सरकारी निकायबाट उत्पादन नगरे निजी कम्पनीले पैसा बुझाउँछ, अनि किन गर्थे उत्पादन ।’

व्यवस्थापनमा हेरफेर तथा कार्यप्रणालीमा सुधार ल्याउन नसके आगामी दिनमा बैद्यखानाका सबै उत्पादनहरु बन्द हुने देखिन्छ

बैद्यखानाका नियमित उपभोक्ताहरु अहिले बाध्य भएर अन्य कम्पनीका औषधि तथा अन्य उत्पादनहरु प्रयोग गरिरहेका छन् । काठमाडौं लगायतका बजारमा रामदेवको पतञ्जलीबाट उत्पादित सामाग्रीले नेपाली बजारलाई सुकाउन थालिसकेको छ ।
बैद्यखानाले अहिले नियमित रुपमा खानुपर्ने उच्च रक्तचाप तथा मधुमेहको औषधिहरु समेत उत्पादन गरेको छैन ।  स्टकिष्टहरुले गत दुई वर्षदेखि यसको उत्पादन मागबमोजिम नपाएको गुनासो गरेका छन् ।

तारा आयुर्बेद सप्लार्य थसिखेल ललितपुरका सञ्चालक विश्वराज घिमिरेले दुई वर्षदेखि सिंहदरबार बैद्यखानाका उत्पादनहरु माग बमोजिम नपाएको बताए ।  घिमिरेले भने ‘मेरो पसलमा दिनमा ३० जना जति मान्छे सिंहदरबार बैद्यखानाको उत्पादन नपाएर फर्कने गरेका छन् ।’

व्यवस्थापनमा हेरफेर तथा कार्यप्रणालीमा सुधार ल्याउन नसके आगामी दिनमा बैद्यखानाका सबै उत्पादनहरु बन्द हुने देखिन्छ । ३ सय ७५ वर्ष पहिले मल्लकालमा राजा प्रताप मल्लले स्थापना गरेको यो उद्योगलाई रामदेवको नेपाल प्रवेशले झनै धरासायी बनाएर लाने देखिएको छ ।

ramdevरामदेवले भारतमा विदेशी खाद्यवस्तुमाथि प्रतिवन्ध लगाउनुपर्ने अभियान चलाउँदै आएका छन् । बिदेशी सामाग्रीलाई घरेलु सामाग्रीले प्रतिस्थापन गर्नुपर्छ भन्ने उनको मान्यता छ ।

रामदेवले अहिले बिस्कुट, दन्तमञ्जन, चेवनप्रासलगायत घरमा दैनिक आवश्यक पर्ने बस्तुहरुको समेत उत्पादन तथा विक्री गर्ने गरेको छ । यसबाट पनि देशका स्वदेशी उद्योगीहरु प्रभावित भएका छन्

तर, नेपालमा भने उनको यो लगानीले सरकारी स्वामित्वको सिंहदरबार बैद्यखानासंगै नेपालीहरुको ६ अर्बभन्दा ठूलो लगानी रहेका स्वदेशी आयुर्वेद औषधि उद्योगहरु डुब्ने स्थिति सिर्जना भएको छ ।

नेपाल हब्र्स एण्ड हर्बल प्रोडक्ट्स एसोसियसनका अध्यक्ष घिमिरेले भने ‘बहुराष्ट्रिय कम्पनीको लगानी ठूलो हुन्छ, उसले विज्ञापन गर्छ, धेरै उत्पादनका कारण कम लगानीमा उत्पादन सम्भव हुन्छ जसले गर्दा हामी डुब्छौं ।’

रामदेवले अहिले बिस्कुट, दन्तमञ्जन, चेवनप्रासलगायत घरमा दैनिक आवश्यक पर्ने बस्तुहरुको समेत उत्पादन तथा विक्री गर्ने गरेको छ । यसबाट पनि देशका स्वदेशी उद्योगीहरु प्रभावित भएका छन् । यसले गर्दा यी उद्योगसँगै अब आयुर्वेद उद्योग पनि धरासायी हुने व्यवसायीहरुको विश्लेषण छ ।


(२०७३ मंसिर १३, सोमबार) ०७:१३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना