स्कुलमा बम राखिएको हल्ला भएपछि आतंक, शंकरको घरभित्र छिरेका गोपीलालको हातमै बम पड्कियो

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ मंसिर ६, सोमबार) १०:३८

बाराको गढीमाई नगरपालिका वडानम्बर एक पथलैयामा रहेको शंकर लामाको घरमा सोमबार बम विष्फोट भएको छ । गोपीलाल श्रेष्ठ नामका अर्का एक स्थानीय घरभित्र छिरेको र उनकै हातमा बम पड्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

विष्फोटमा परी गढीमाई १२ पिलुवाका गोपीलाल घाइते भएका छन् । विष्फोटले गोपीलालको हातमा चोट लागेको छ । उनको उपचारका लागि स्वास्थ्य संस्था पठाइएको छ । घट्ना रहस्यमय रहेको र शंकार र गोपीलालबीचको सम्बन्धबारे प्रहरीले छानबिन गरिरहेको छ।

घटनास्थलमा पुगेको प्रहरीले घरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। लामाको घर पछाडि एउटा कालो पोको देखिएकाले त्यसबारे पनि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोबिन्द कुमार कार्कीले जानकारी दिए ।

आठ जनाको परिवार रहेको लामाका घरमा रहेका परिवार सदस्य सबै सकुशल छन् । सबैलाई घरबाहिर निकालेर प्रहरीले घरमा खानतलासि गरिरहेको छ । लामा स्थानीय वन समितिका सदस्य हुन् । बम ल्याउने श्रेष्ठ र लामाका विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।

यसैबिच प्राप्त जानकारी अनुसार, बाराको गढीमाईस्थित स्थानीय होली गार्डेन इंग्लिस स्कुलमा बम राखिएको हल्ला भएपछि आतंक मच्चिएयो । पुरै स्कूल खाली गराएर सुरक्षा फौजबाट सर्च गर्नुपरेको थियो । एक्कासी बमको हल्लाभएपछि बालबालिकाहरुबीच रुवाबासी र भागदौड चलेको थियो। बमको हल्ला सुन्नसाथ  बालबालिका लिन अभिभावकहरु दौडिदै विद्यालय पुगेका थिए भने विद्यार्थीहरु रोएका थिए । प्रहरीले विद्यालय बन्द गरी  अनुसन्धान शुरु गरेको छ ।


(२०७३ मंसिर ६, सोमबार) १०:३८ मा प्रकाशित

Exchange Rate

Nepali Patro