आधार प्रस्ट नहुँदा युरेनियम सुरक्षा जिम्मा अन्योल

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ मंसिर ४, शनिबार) ०३:०७

सरकारले युरेनियम जिम्मा त दियो, तर जिम्मेवारीको स्पष्ट आधार नखुलाएपछि सेना आफ्नो तर्फबाट पूर्ण तयारीमा जुट्न सकेको छैन । अन्योलबीच नै आफ्नो प्रारम्भिक आन्तरिक तयारी भने थालिसकेको सेनाले जनाएको छ । सरकारबाट युरेनियम जिम्मेवारीको सम्बन्धमा यसको के कति अधिकार, अनुसन्धान र उत्खननमा सेनाले आफ्नो काम गर्न पाउने हो, त्यो स्पष्ट नभएकाले अझै दुबिधा रहेको सैनिक उच्च अधिकारीले बताए ।

पटकपटकको अनुसन्धान आधारमा उपल्लो मुस्ताङको लोमान्थाङमा युरेनियम रहेको पुष्टि भएको हो । त्यसैले सरकारले सेनालाई जिम्मेवारी दिए पनि त्यो सुरक्षाका लागि मात्र हो वा अनुसन्धानका लागि पनि हो स्पष्ट नभएको सैनिक स्रोतले जनाएको छ । तैपनि केही प्रारम्भिक तयारी सुरु गरिसकेको स्रोतको भनाइ छ ।

सेनाले युरेनियम भएको स्थान नजिकै ब्यारेक राख्ने निर्णय गरिसकेको छ । भूगर्भविदले लोमान्थाङ खोलाको किनारमा युरेनियम भएको प्रारम्भिक जानकारी दिएपछि यसको जिम्मा सरकारले तत्कालका लागि सेनालाई दिएको थियो । ‘कस्तो जिम्मेवारी हो, हामी बुझ्दै छौं, रक्षा मन्त्रालयमार्फत आउनुपर्ने भएकाले जिम्मेवारीको स्पष्ट अधिकार सेनाले पर्खिएको छ,’ सैनिक प्रवक्ता ताराबहादुर कार्कीले भने , ‘सरकारले निर्णय गरिसकेकाले हामी त्यसको तयारीमा जुटिसकेका छौं ।’ तर स्थलगत कार्य अधिकार सेनालाई के कस्तो हुने सम्बन्धमा हालसम्म कुनै जानकारी नभएको उनले बताए । सरकारले युरेनियमको जिम्मा सेनालाई दिने निर्णय गरिसकेको हुनाले त्यसको अवलोकन र वस्तुस्थिति सेनाले अध्ययन गरिरहेको उनले जानकारी दिए ।

भूगर्भविदका भनाइका आधारमा केपी ओली सरकारका पालामा यसको थप अनुसन्धान थालियो । तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहित सरकारी र निजी १८ जना भूगर्भविद आएर अनुसन्धान गरेपछि लोमान्थाङमा युरेनियम भएको थप आधार मिलेको थियो । यसैलाई निरन्तरता दिँदै युरेनियम सुरक्षार्थ नेपाली सेनालाई जिम्मा दिने निर्णय सरकारले गरिसकेको छ ।
लोमान्थाङ खोलाको किनारमा युरेनियम सुरक्षाका लागि माथिल्लो भागमा सेनाको ब्यारेक बस्ने भएको छ । तीन महिनाको अवधिमा सेनाका उच्च स्तरका अधिकारीहरूले चार पटकसम्म युरेनियम पाइने सम्भावना रहेको भनिएको स्थलको निरीक्षण गरिसकेका छन् । ‘हाम्रो आन्तरिक तयारी भइरहेको छ,’ भीमदल गणका गणपति सुरेन्द्रदेव बोगटीले भने, ‘सैनिक मुख्यालयको निर्देशनबमोजिम आफ्नो काम गरिरहेका छौं ।’

घमीदेखि लोमान्थाङ हुँदै छोसेर गाविससम्मको खोला किनारमा युरेनियम भएको दाबी २०५० मै गरिएको थियो । खोलाकिनारको कान्लामा युरेनियम बढी भएको हुन सक्ने खनिजविदले दाबी गर्दै आएका छन् । सरकारी र गैरसरकारी संघसंस्थाबाट सामान्य अनुसन्धान भए पनि गम्भीर रूपमा यहाँको अध्ययन भएको थिएन । अघिल्लो सरकारले खनिजविद नै पठाएर अनुसन्धान थालेपछि युरेनियम भएको थप पुष्टि भएको हो ।

सोधकर्ता रामप्रसाद उपाध्यायले लोमान्थाङमा युरेनियम भएको दाबीसहित प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । उनी भन्छन्, ‘लोमान्थाङमा रहेको युरेनियम संसारकै उत्कृष्ट र राम्रो गुणस्तरको छ ।’ २३ वर्षअघि नै विदेशी टोलीले लोमान्थाङमा युरेनियम भएको दाबी गरिसकेको उनले बताए । युरेनियमको प्रयोग विद्युत् उत्पादनदेखि बम बनाउन विश्वका शक्तिशाली मुलुकले उपयोग गर्दै आएका छन् । युरेनियमबाट उत्पादित रेडियसन क्यान्सर उपचारमा प्रयोग गरिन्छ । क्यान्सर रोग निवारणमा थेरापीका लागि प्रयोग हुने युरेनियम हाल नेपालले क्यानाडाबाट खरिद गर्दै आएको छ ।


(२०७३ मंसिर ४, शनिबार) ०३:०७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना