भारु सहटीमा रोटीबेटीको सम्बन्ध : जोगवनीमा नेपाली ग्राहक ठगिँदै

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ मंसिर ४, शनिबार) ०२:४८

भ्रष्टाचार एवं आतंकवाद नियन्त्रण गर्न भारत सरकारद्वारा गरिएको नोटबन्दीले बेरोजगार एवं बेखर्ची भएर विहार राज्यको श्रमजीवी वर्गलाई हातमुख जोड्न कठिन भएको छ । चार बालबच्चाकी आमा जोगवनी छोटी मस्जिद बस्तीकी २५ वर्षीया हासमुन खातुन यस्तै एक पात्र हुन् । ‘हामीजस्ताका लागि अहिलेको परिस्थिति महाभूकम्पजस्तै हो,’ उनले भनिन् ।
उनको श्रीमान् राजमिस्त्री हुन् । नयाँ नोट आएपछि मात्र काम सुरु हुने निर्माण ठेकेदारले भनेका हुनाले बेरोजगार भएर उनको श्रीमान् घरमै बसिरहेका छन् । भोकै बस्नु पर्ने स्थिति आएपछि उनी चाँदीका दुई वाला (ब्रासलेट)लाई हजार रुपैयाँ भारुमा बन्धक राख्न बिहीबार बिहान जोगवनी बजारको एक सुनचाँदी पसलमा पुगेकी थिइन् । तर पसलेसँग उनले माग गरेअनुरुप सय दरका नोट थिएन ।

‘पाँच सय रुपैयाँ बैंकको किस्ता तीर्न र बाँकी घर खर्चलाई चाहिएको छ,’ उनले भनिन् । पसले राजेश सोनीले आफूसँग पाँच सय र हजार दरका पुरानो नोट मात्र भएको भनेपछि खातुन रित्तै हात फर्किनु पर्यो । ‘आफ्नो त बैंकमा पनि खाता छैन, कहाँ गएर साट्ने ?’ उनले भनिन्, ‘अरु व्यापारीलाई सोधि हेर्छु, हेरु अल्लाहको के मर्जी ?’

नोटबन्दीले व्यापार चौपट भएको सुनचाँदी गरगहनाका व्यवसायी सोनीले बताए । ‘स्थानीयसँग सीमित परिमाणमा नयाँ भारु नोट भएकाले खर्च गर्न डराइरहेका छन्,’ उनले भने, ‘यसले गर्दा पहिलेको तुलनामा १० प्रतिशत पनि व्यापार भएको छैन ।’ बिहीबार ठूलो हाट लाग्ने जोगवनी बजारमा चहलपहल थिएन ।

ठगिँदै नेपाली ग्राहक
यो बजारमा भारुसरह नै नेपाली रुपैयाँ(नेरु) चल्दै आए पनि अहिले नोटबन्दीका कारणले नेपाली उपभोक्ता ठगिन थालिएका छन् । यसको मुख्य कारण संकलित नेपाली नोटलाई भारुमा सटही गर्नमा झमेला उत्पन्न हुनु हो ।

भारतको उक्त नयाँ कदम अघिसम्म बिक्रीबाट आएको नेरुलाई थोरै बट्टामा नेपालतिरका सटही काउन्टरहरु र स्थानीय नेपाली कारोबारीहरुले साटेर भारु दिने गरेको व्यवसायीहरुले बताए ।

‘खातै नभए पनि नेपाली बैंकबाट स्थानीय नेपालीले नेरु जम्मा गरेर भारु निकाल्न पाउँछन्,’ सोनीले भने । वारितिर नेपाल राष्ट्र बैंक स्वयंले, वाणिज्य बैंकहरु र सटही काउन्टरमार्फत् निश्चित परिमाणमा स्थानीयलाई भारुको सुविधा उपलब्ध गराउँदै आएको छ ।

भारतले पाँच सय र हजार दरका पुरानो नोटमा प्रतिबन्ध लगाउनुअघि स्थानीय व्यापारीहरुले खुल्ला बजारमा १ हजार ७ सय नेपाली रुपैयाँबापत एक हजार भारु पाउँथे । अर्थात उनीहरुले एक हजार भारुका लागि मात्र सय रुपैयाँ नेपाली बट्टा तिर्नुपथ्र्यो । अहिले उनीहरुले १ हजार भारुका लागि २ हजार ५ सय रुपैयाँसम्म नेरु दिनु परेको बताए । विराटनगर–जोगवनी सीमाका सटही काउन्टरहरुमा त सय दरका भारुको नोट उपलब्ध छैन । ‘५, १०, २० र ५० का भारु पनि एकदमै कम संख्यामा छ,’ सीमामै सटही सेवा दिइरहेका एक जनाले भने ।

सामानको मूल्य बढाएर वा बट्टा काटेर व्यापारीहरुले ग्राहकबाट यो रकम उठाउने हुनाले जोगवनी बजारमा किनमेल गर्न जाने नेपाली ठगिने र मारमा पर्नेक्रम सुरु भएको छ । ‘सहज स्थितिमा दुवै मुद्राको मूल्य राम्रो थियो,’ एक किराना व्यापारीले भने, ‘अहिले भारुले नेरुलाई पनि डुबायो ।’

नेरुलाई भारुमा साट्दा लाग्ने बट्टाबराबरको रकम व्यापारीले ग्राहकबाट लिने गरेको उनले बताए । स्थलगत रिर्पोटिङको क्रममा केही स्थानीय कपडा पसलेले ३ हजार नेपाली रुपैयाँ बराबर एक हजार भारु मानेर लिने गरेको समेत पाइयो । स्थानीय प्रतिष्ठित कपडा व्यवसायी हेमन्त अग्रवालले यो चाँहि ठाँडै उपभोक्तालाई लुटने काम भइरहेको हुनाले विरोध गर्नुपर्ने बताए । ‘शोषित हुनु भएन, यस बारेमा यहाँको व्यापार सम्बद्ध संघ/संगठन वा अन्य व्यापारीलाई भन्नुपर्छ वा सोध्नुपर्छ,’ उनले भने ।

तत्कालै मुद्रा वितरण सहज हुने संभावना नदेखिएकाले मार्चसम्म यो विषम अवस्था रहने स्थानीय व्यवसायीहरुले बताए । नेरुलाई अवमूल्यन गरेर लिँदा ग्राहक नमान्ने हुनाले व्यापारीहरुले नाफालाई कायम राख्न घुमाउरो पाराले खाद्य, कपडा, भाँडाकुँडा र विद्युतीय सामग्रीको मूल्य बढाएका छन् ।

‘सामग्रीको मूल्य बढेको पायौं, अब त हाम्रैतिर किन्दा ठीक होला,’ विराटनगर पोखरियाका गृहिणी सृजना निरौलाले भनिन् । एउटा सामग्रीमा ५ देखि ५० रुपैयाँसम्म मोल बढेको नेपालीहरुले बताए । धेरै उपभोक्ता भने यस बद्लिँदो परिस्थितिबारे अनभिज्ञ भेटिए ।  अधिकांश स्थानीय कारोबारीले यो सत्यतालाई स्वीकार्छन् । तर जोगवनी बजार सुक्ने डरले केही भन्छन्, ‘भारुले गर्दा होइन, सामानकै दाम बढेको हो ।’

नेपाली ग्राहकलाई घाटा हुने र यो बजारको साख गिर्ने थाहा हुँदाहुँदै पनि नोटबन्दीका कारण बाध्यतावश मूल्य बढाउनु परेको स्थानीय छालाको सामग्रीका व्यवसायी मनोज सोनीले बताए । नेरु ५ सयदेखि दुई हजार रुपैयाँको सामान किन्दा उपभोक्ताले कम्तिमा २० रुपैयाँदेखि ८० रुपैयाँसम्म बढी मूल्य तिर्नु परिरहेको मोबाइल सामग्रीका व्यवसायी अमितकुमार शाहले बताए । ‘एक हजार भारु बराबरको किनमेल गर्दा सय रुपैयाँ नेरु बट्टा काट्छौं,’ भाँडाकुँडा व्यवसायी शेखरकुमार शाहले भने, ‘नमान्ने खालको ग्राहक लागेमा सामानमै जोडेर लिन्छौं ।’

भारु सटहीमा पनि रोटीबेटीको सम्बन्ध  
रोटीबेटीको सम्बन्धका कारणले पारिकाले वारिका नातागोतासँग रहेका पाँच सय र हजार दरका पुरानो भारतीय रुपैयाँ (भारु)  साटी दिएर पनि सहयोग गरिरहेका छन् ।

अचेल सीमापारिका बैंकहरुमा नेपाली र भारतीय दुवैको उल्लेखीय उपस्थित देखिन्छ । नोटबन्दीबाट पीडित धेरैजसो नेपालीको भारतका बैंकहरुमा खाता नभएकाले उतैका आफन्त एवं हितैषीको भरपर्नु स्वाभाविककै हो ।

सीमावर्ती क्षेत्रका नेपालीले व्यक्तिगत, व्यावसायिक, अध्ययन, उपचार र भ्रमणजन्य उद्देश्यका लागि आफूसँग थोरबहुत् भारु राख्नु सामान्य हो । अप्रत्यासित रुपमा उत्पन्न ताजा परिस्थितिका बारेमा जानकार नभएकाले आफूसँग रहेका ती पुराना भारु नोट साट्न नेपालीलाई धौंधौं परिरहेको छ ।

नेपालतिरका चारजना आफन्तलाई १० हजार रुपैयाँको पुरानो नोट साटेर नयाँ लिइदिएको जोगवनी छोटी मस्जिदका ३६ वर्षे मोहम्मद नाजिमले बताए । उनको विराटनगरमा बहिनी र थुप्रै मित्रहरु छन् । ‘वारिपारि गरिराख्नु पर्ने हुनाले दुवैतिरकाले दुवै खाले मुद्रा राख्छन्,’ उनले भने, ‘यस्तो स्थिति आउलान् भनेर कसैले सोचेका थिएनन् ।’ परेको बेला एकले अर्कालाई सहयोग गर्ने परम्परा उहिलेदेखि कायम रहेको नाजिमले बताए ।

जोगवनीका २७ वर्षीय विकास शर्माले नेपालतिरका ससुराली पक्षलाई ४ हजार ५ सय भारु साटेर दिएको बताए । ‘भारत राजस्थानका उहाँहरुको कर्मथलो विराटनगर हो,’ उनले भने, ‘आवत जावत गरिराख्ने हुनाले उहाँहरुले ५ सय र हजार दरका नोट राख्नुभएको थियो ।’ रकम जति नै भए पनि कागतमा परिणत हुने डरले सबैलाई सताएको उनले औंल्याए ।

भारतको विहारमा पर्ने सीमावर्ती जोगवनीको बैंकहरुमा स्थानीयसँगै भारु लिन आएका प्रशस्तै नेपालीहरु भेटिन्छन् । केहीले पहिला नै यता पनि खाता खोलेकाले राहत महसुस गरिरहेको बताए । आफ्नो नाउमा खाता नभएकाहरुले ज्वाइँ, सम्धी, छोरी र उनीहरुका परिवारको खातामा रकम जम्मा गर्ने र निकाल्ने गरिरहेका थिए । मोरङका एक  कपडा व्यवसायीले आफूसँग भएको पाँच सय र हजार दरका १० हजार पुरानो भारु नोट ज्वाइँको खातामा राखेको बताए । ‘उहाँले थोरथोर गरेर निकाली मलाई दिनुहुन्छ,’ व्यवसायी सुभाष मण्डलले भने ।

आफंै समस्यामा भए पनि विहारी नागरिकले नेपाली कुटुम्बलाई पनि साथ दिइरहेको ५२ वर्षीय व्यवसायी शंकर गुप्ताले बताए । ‘यता र उता दु:ख पर्दा दुवैतिरबाट यो आत्मीयता प्रकट हुन्छ,’ उनले भने । गुप्ताको नेपालतिरको सीमावर्ती रानीमा घरपरिवार र जोगवनीमा रेडिमेड कपडा पसल छ । नेपाली उपभोक्ताले भरिभराउ हुने जोगवनीका व्यापारीहरुमध्ये ५० प्रतिशत नेपालतिरकै छन् । सबैले नेपाली नै बोल्छन् । ‘अहिलेसम्म यहाँ भारु वा नेरुको समस्या आएको थिएन, पहिलो पटक र त्यो पनि भारततिरबाट उत्पन्न भयो,’ गुप्ताले भने ।


(२०७३ मंसिर ४, शनिबार) ०२:४८ मा प्रकाशित

Exchange Rate

Nepali Patro