एसएलसी परीक्षाको उत्तरपुस्तिकाकै पाना साटफेर

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ आश्विन १५, शनिबार) १९:४३

एसएलसी परीक्षा मर्यादित बनाउन खटिएका निरीक्षकहरूले नै अर्काको उत्तरपुस्तिकाको भित्री पाना झिकेर आफन्तको उत्तरपुस्तिकामा नत्थी गरेको पाइएको छ । न्यून ग्रेड आएका विद्यार्थीले पुनर्योग गर्न परीक्षा नियन्त्रण कार्यालय (पनिका) मा निवेदन दिएपछि छानबिन गर्दा उत्तरपुस्तिका साटफेर भएको खुलेको हो ।

पनिकाका अनुसार रुकुमको यमुनानन्द नमुना मावि सेरिगाउँ परीक्षा केन्द्र र धनुषाको माध्यमिक विद्यालय प्रितपुर पार्वता केन्द्रमा खटिएका निरीक्षकले आफन्तलाई पास गराउन अन्य परीक्षार्थीको भित्री पाना झिकेर आफन्तको उत्तरपुस्तिकाको बाहिरी पानामा नत्थी गरेका हुन् । कार्यालय स्रोतका अनुसार यमुनानन्दबाट परीक्षा दिएका १५४००२९ डब्लू सिम्बोल नम्बर भएका विद्यार्थीको चारवटा विषयको बाहिरी पानामा अन्य विद्यार्थीको भित्री पाना नत्थी गरेको पाइएको छ । परीक्षा केन्द्रमा खटिएका निरीक्षक वसन्त नेपालीले भतिजा नाता पर्ने ती विद्यार्थीलाई पास गराउन त्यही केन्द्रमा परीक्षा दिएका अन्य विद्यार्थीको उत्तरपुस्तिकाको भित्री पाना नत्थी गरेका हुन् । सेरिगाउँ परीक्षा केन्द्रबाट परीक्षा दिएका सम्बोल न. ०५४००४३ डब्लूका विद्यार्थीले पुनर्योग गर्न आवेदन दिएपछि एउटा विद्यार्थीको उत्तरपुस्तिकामा अर्कैको पाना भेटिएको हो ।

यस्तै, धनुषाको माध्यमिक विद्यालय प्रितपुर पार्वता परीक्षा केन्द्रमा निरीक्षकका रूपमा खटिएका सूर्यनारायण दासले त्यही केन्द्रबाट परीक्षा दिएका ०२०१०८१ डब्लू सिम्बोल नम्बर भएका भाइको मूल उत्तरपुस्तिकाको बाह्य पृष्ठ झिकेर अर्को परीक्षार्थीको उत्तरपुस्तिकासँग साटफेर गरेका हुन् । यो सिम्बोल नम्बर भएका विद्यार्थीको सातवटै विषयमा फरक–फरक विद्यार्थीको उत्तरपुस्तिका साटिएको थियो । त्यही केन्द्रबाट परीक्षा दिएका ०२०१०७० एल, ०२०१०७७ एस र ०२०१०७८ टी सिम्बोल नम्बरका विद्यार्थीले आफ्नो नतिजा चित्त नबुझेर पनिकामा आवेदन दिएका थिए । पनिकाले उत्तरपुस्तिका खोजी गरी पुनर्योग प्रक्रियामा लैजाने क्रममा उत्तरपुस्तिकाको बाहिरी पृष्ठ र भित्री पृष्ठहरू शंकास्पद रहेको पाइएको थियो । धनुषा घटनामा परीक्षा केन्द्रका केन्द्राध्यक्ष जागेश्वरप्रसाद साह, सहायक केन्द्राध्यक्ष रवीन्द्रकुमार दास, नितेश्वरप्रसाद सिंह, निरीक्षकहरू सूर्यनारायण दास, विजयकुमार महतोलाई पनिकामा उपस्थित गराएर सोधपुछ गरिएको थियो । सोधपुछका क्रममा निमावि मखनाहा मुग्राहाका प्राथमिक तहका शिक्षक सूर्यनारायण दासले बदनियतपूर्वक यो सबै काम गरेको खुल्न आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

दासको बयानबाट ०२०१०८१ डब्लूका परीक्षार्थीको उत्तरपुस्तिकाको बाहिरी पृष्ठमा अन्य परीक्षार्थीको सात विषयको उत्तरपुस्तिकाको भित्री पृष्ठहरू झिकेर नत्थी गरेको पाइएको थियो । अनिवार्य अंग्रेजी विषयमा ०२०१०८१ डब्लूको बाहिरी पृष्ठमा ०२०१०७० एलको भित्री पृष्ठहरू राखिएको थियो । ०२०१०७० एलको बाहिरी पृष्ठमा ०२०१०८१ डब्लूको भित्री पृष्ठहरू नत्थी गरेको पाइएको थियो । त्यस्तै अनिवार्य नेपाली विषयमा ०२०१०७० को भित्री पृष्ठ राखिएको थियो । अनिवार्य गणितमा ०२०१०७८ टी सिम्बोल नम्बरको भित्री पृष्ठ राखेको पाइएको थियो । अनिवार्य विज्ञानमा ०२०१०७७ एसको भित्री पृष्ठ, अनिवार्य सामाजिकमा ०२०१०७८ टी, स्वास्थ्य जनसंख्या तथा वातारण विषयमा ०२०१०७५ क्यू सिम्बोल नम्बर भएका विद्यार्थीको उत्तरपुस्तिकाको भित्री पानो राखेको पाइएको थियो । ऐच्छिक दोस्रोमा स्वास्थ्य तथा शारीरिक शिक्षामा ०२०१०७५ क्यूकै उत्तरपुस्तिका नत्थी भएको थियो । उत्तरपुस्तिका परीक्षणका क्रममा परीक्षकले लिपि फरक परेको भन्दै प्राप्त गरेको अंक काटेर एक नम्बरमात्रै दिएको छ ।
अन्य विषयको उत्तरपुस्तिका परीक्षणका क्रममा यस्ता विषयमा वास्तै गरिएको थिएन । ०२०१०७८ टी सिम्बोल नम्बरका विद्यार्थीले एक नम्बरमात्रै पाएकामा विज्ञलाई परीक्षण गराउँदा ८२ नम्बर पाएका छन् । यही सिम्बोल नम्बरवालाको सामाजिकमा ७० अंक आएको छ । ०२०१०७० एल सिम्बोल नम्बरका परीक्षार्थीको अंग्रेजीमा ४५ र ०२०१०७७ एस सिम्बोल नम्बरका परीक्षार्थीको विज्ञानमा ६७ अंक आएको छ ।

रुकुमको यमुनानन्द नमुना मावि सेरिगाउँ परीक्षा केन्द्रबाट परीक्षा दिएका १५४००२९ डब्लूका परीक्षार्थीको उत्तरपुस्तिकामा अन्य परीक्षार्थीको चार विषयको उत्तरपुस्तिकाको भित्री पृष्ठ राखेको पाइएको थियो । पनिकाले यो घटनाको छानबिन केन्द्राध्यक्ष दामोदर पौडेल, सहायक केन्द्राध्यक्ष शक्तिराम ओली, टोपबहादुर हमाल, निरीक्षकहरू वसन्त नेपाली, लक्ष्मी खडकालाई बोलाएर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा यमुनानन्द नमुना मावि सेरिगाउँका शिक्षक नेपालीले बदनियतपूर्ण कार्य गरेको खुलेको हो ।

कार्यालय स्रोतका अनुसार १५४००२९ डब्लूका परीक्षार्थीको अनिवार्य गणितको उत्तरपुस्तिकामा ०५४००४३ डब्लू सिम्बोल नम्बर भएका परीक्षार्थीका भित्री पृष्ठहरू राखेको पाइएको थियो । तिनको अनिवार्य विज्ञानमा ०५४०१६१ के सिम्बोल नम्बर भएका विद्यार्थीको भित्री पाना राखिएको थियो । अनिवार्य सामाजिक विषयमा ०५४०१०९ के सिम्बोल नं. भएका परीक्षार्थीको भित्री पृष्ठ साटफेर गरिएको थियो । अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरणमा ०५४००८५ एमको भित्री पृष्ठहरू नत्थी गरेको पाइएको थियो ।

गणित विषयको दिन परीक्षा केन्द्रको कोठा नम्बर ९ मा निरीक्षक नेपालीले भतिज नाता पर्ने विद्यार्थी १५४००२९ को बाहिरी पानामा ०५४००४३ को भित्री पाना साटफेर गरेको स्वीकार गरेको बयान दिएका छन् । ‘थप अन्य विज्ञान, स्वास्थ्य जनसंख्या तथा वातारण, सामाजिक विषयका उत्तरपुस्तिका सिम्बोल नम्बर थाहा नभएका विद्यार्थीहरूबाट झिकेर भतिजको कापीमा नत्थी गरेको साबिती बयान दिएका छन्,’ स्रोतले भन्यो, ‘पुनर्योगका लागि आवेदन दिएका सिम्बोल नम्बर ०५४००४३ डब्लूका परीक्षार्थीको उत्तरपुस्तिकाको आवरणमा रहेको हस्तलिपि, सिम्बोल नम्बर र उत्तरपुस्तिकामा उल्लेख भएको हाजिरीका आधारमा वास्तविक उत्तरपुस्तिका यकिन गरिएको हो ।’ उनको उत्तरपुस्तिका पहिचान गर्दा गणितमा ८७ नम्बर आएको छ ।

निवेदन दिनेको मात्रै सच्चियो
निरीक्षकको बदनियतपूर्ण तरिकाले भित्री पृष्ठ अर्कैमा नत्थी भएका विद्यार्थी पहिचान हँ‘दा पनि एसएलसी परीक्षा सञ्चालक समितिले नतिजा सच्याएको छैन ।

०२०१०८१ डब्लूलाई पास गराउन निरीक्षक दासले सातवटै विषयमा अन्य विद्यार्थीको उत्तरपुस्तिकाको भित्री पाना साटेर नत्थी गरेका थिए । छानबिनबाट ०२०१०८१ सिम्बोल नम्बरका विद्यार्थीको बाहिरी पानासँग कुन सिम्बोल नम्बर भएका विद्यार्थीको उत्तरपुस्तिका थियो भन्ने यकिन भइसकेको छ । तर, पुनर्योग उपसमिति र सञ्चालक समितिले उनीहरूको नतिजा सच्याएको छैन । पुनर्योग समितिको बैठकमा शिक्षा विभागका तत्कालीन महानिर्देशक खगराज बराल, निमित्त महानिर्देशक देवकुमारी गुरागार्इंको अध्यक्षतामा पटक–पटक बैठक बसेको थियो । शिक्षा मन्त्रालयका तत्कालीन निमित्त सचिव डिल्ली रिमालको अध्यक्षतामा भदौ १५ मा बसको एसएलसी परीक्षा सञ्चालक समितिले निरीक्षकको लापरबाहीले कापी साटिएका विद्यार्थीको नतिजा सच्याएको छैन । धनुषाको ०२०१०८१ डब्लू सिम्बोल नम्बर विद्यार्थीको उत्तरपुस्तिकाभित्र नत्थी गरिएको ०२०१०७० को नेपाली, ०२०१०७५ को स्वास्थ्य जनसंख्या तथा वातावरण र स्वास्थ्य शारीरिक शिक्षाको नतिजा सच्याइएको छैन । कार्यालयले पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीको नतिजा मात्रै सच्याइसकेको छ ।

त्यस्तै, रुकुमको १५४००२९ डब्लू सिम्बोल नम्बर भएका विद्यार्थीको उत्तरपुस्तिकाको भित्री पृष्ठमा नत्थी भएका चारवटा विषयमध्ये गणितमा नत्थी भएको ०५४००४३ डब्लू सिम्बोल नं. का परीक्षार्थीले मात्रै पुनर्योगका लागि निवेदन दिएका थिए । कार्यालयले उनको मात्रै नतिजा सच्याएको छ । पुनर्योगको निवेदन नदिएका ०५४०६१ के सिम्बोल नं.का परीक्षार्थीको विज्ञान, ०५४०१०९ के सिम्बोल नं. का परीक्षार्थीको सामाजिक, ०५४००८५ एमका परिक्षार्थीको स्वास्थ्य तथा वातारण विषयको नतिजा सच्चिएको छैन ।

गत चैत १८ देखि २९ सम्म भएको परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये नतिजा चित्त नबुझेर ३ हजार ८ सय ७२ जनाले पुनर्योगको निवेदन दिएका थिए । त्यसमध्ये ५ सय ४५ जनाको नतिजा परिवर्तन भएको छ । यसले पनि परीक्षामा संलग्न संयन्त्रको लापरबाही प्रस्ट हुन्छ । पुनर्योगका लागि निवेदन दिएकामध्ये १४ प्रतिशतको परिवर्तन भयो । विगतमा पनि पुनर्योगका लागि निवेदन दिएकामध्ये करिब १० प्रतिशतको नतिजा परिवर्तन हुन्थ्यो । परीक्षक, डिकोडर, सम्परीक्षक, पनिका र परीक्षा केन्द्रमा हुने लापरबाहीका कारण विद्यार्थी मारमा पर्ने गरेका छन् ।

एसएलसी परीक्षा सञ्चालक समितिको भदौ १५ को निर्णयअनुसार मर्यादाविपरीत बदनियतपूर्ण कार्यमा संलग्न निरीक्षक नेपाली र दासलाई कारबाही गर्न शिक्षा विभागलाई सिफारिस गरेको छ । समितिले शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा १ क बमोजिम कारबाही गर्न सिफारिस गरेको हो । यो दफाअनुसार कारबाही भए एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । अदालतबाट कसुर ठहरिए विभागीय सजायसमेत हुन्छ ।


(२०७३ आश्विन १५, शनिबार) १९:४३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना