ब्यारेकबाट हराएको ठुलो परिमाणको हतियार भेटियो, ३ जना पक्राउ

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ आश्विन ७, शुक्रबार) ०६:४६

हराएको ५० औँ दिनपछि दिपायलस्थित सुदूरपश्चिम पृतना हेडक्वार्टर दिपायलबाट हराएको हतियार शुक्रबार बिहान पृतनाको हाताभित्रै फेला परेको छ।गत साउन २१ गते सेनाको दिपायलस्थित सुदूरपश्चिम पृतनाबाट हराएको हतियार पृतनाकै पर्खालको चेपमा भेटिएको हो  । हतियार चोरेको अभियोगमा ३ जना पक्राउ पनि परेको स्रोतले बतायो । पक्राउ परेकाहरु सैनिक हुन् की गैरसैनिक खुलाइएको छैन ।

स्रोतका अनुसार हतियार शुक्रबार बिहानै पृतनाको पर्खालको चेपमा फेला परेको थियो । दुई नम्बर गेटको कुलपाते जाने बाटोको इलाकामा एसएमजी भेटिएपछि त्योसँगै हराएको गोलीसहित म्याग्जीन पनि भेटिएको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिए ।

सैनिक प्रवक्ता सहायक रथी कार्कीले भने, ‘हराएको हतियारसहित गोली र म्याग्जीन पनि पृतनाको पर्खालको चेपमा भेटिएको हो, पक्राउ परेकाहरुबारेमा मलाई थाहा छैन ।’

नेपाली सेनाको  सुदूरपश्चिम पृतना हेडक्वार्टर दिपायलमा रहेको  गरुड दल गणबाट गत साउन २१ गते एक थान सर्ट मेसिन गन (एसएमजी), २ थान त्यसमा लाग्ने लोडेड अबस्थामा रहेको म्यागजिन र २ सय ८८ राउण्ड गोली गायब भएको खबर थियो।  सेनाले सो बारेमा यसअघि जारी गरेका विज्ञाप्तिहरुमा ‘हतियार गन्तीका क्रममा नपुग भएको’ भन्ने व्यहोरा जानकारी गराउँदै आएको थियो।

हराएको हतियारको खोजबिन तथा अनुसन्धानका लागि असोज ४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको एक टोली पनि दिपायल बोलाइएको थियो । नेपाली सेनाको आग्रहमा एकजना एसएसपी र दुई जना डिएसपी सहितको सिआइबीको टोलीले पनि हतियार हराएको बारे अनुसन्धान गरिरहेको थियो ।

त्यसपछि सेनाले तत्कालिन अवस्थामा ड्यूटीमा रहेका सैनिक कर्मचारीहरुलाई थुनामा राखेर अनुसन्धान थालेको थियो। त्यसक्रममा उनीहरुमाथि चरम यातना भएको, सैनिक आफन्तहरुलाई भेटघाट गर्न नदिएको, अनुसन्धानमा धामीझाँक्रीको प्रयोग गरिएको  खबरहरु बाहिर आएका थिए। तर, ती सबै कुरालाई सेनाले नकार्दै आईरहेको छ। यसै क्रममा थुनामा रहेका एक सैनिक हबल्दार दीपक खड्काले आफैलाई गोली हानेर आत्महत्या गरेका थिए।

आफन्तले भेट्न नपाएको समाचार प्रकाशित भएपछि केही आफन्तहरुले थुनामा रहेका सैनिक कर्मचारीलाई सामान्य भेटघाट गर्न पाएका थिए। तर, सबै सैनिकका आफन्तहरुलाई भेट्न नदिइएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको थियो। उजुरीका आधारमा अनुसन्धान गर्न पुगेको राष्ट्रिय मानवअधिकारको टोलीलाईसमेत नेपाली सेनाले पृतनाभित्र प्रबेश गर्न दिएको थिएन।

राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका मानवअधिकार अधिकृत पवनकुमार भट्ट नेतृत्वको टोली भदौ २२ गतेदेखि २४ गतेसम्म दिपायलमै बसेपनि उक्त टोलीलाई यातना दिईएका भनिएका जवानहरुसँग भेटघाट गर्न नदिईएपछि टोली फर्केको थियो । नेपाली सेनाले हतियार र गोलीहरु हराएको घटना सत्य भएको बाहेक यस घटनामा अरु कुनै कुरा पनि सार्वजनिक गरेको छैन ।


(२०७३ आश्विन ७, शुक्रबार) ०६:४६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना