पोखरा बसपार्क जग्गामै बास्तोला कम्प्लेक्स निर्माण

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ आश्विन ६, बिहीबार) १६:५५

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखरा अन्तर्राष्ट्रिय नगरी बन्नेछ। त्यस्तै, प्रदेश नं. ४ को राजधानी बन्ने शहर हो पोखरा । सोहि अनुसारका पूर्वाधारको विकास हुनुपर्नेछ । व्यवस्थित बसपार्क समेत छैन । चार दशकदेखि २०५ रोपनी जग्गा अधिग्रहण गरिएकोमा अहिलेसम्म बसपार्क बन्न सकेको छैन । अहिले सो जग्गा अतिक्रमणमा परेर छ । दुई सय पाँच रोपनी जग्गा अहिले ८१ रोपनीमा खुम्चिएको छ ।

२०६४ सालको नगर योजना अनुसार एक सय २५ रोपनी क्षेत्रमा बसपार्क निर्माण गर्न प्रतिवेदन तयार भएको थियो तर अहिले त्यसको पनि एक तिहाई जग्गा अतिक्रमणमा परेको अवस्था छ ।  बसपार्कमै सुकुम्बासी बस्ती देखि लिएर लालपुर्जा लिएर नै मानव बस्ती विस्तार छ । व्यापारिक प्रयोजनका लागि सटरहरु खोलिएका छन् । तर गत जेठमा पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहण गरेर भएपनि १८७ रोपनी जग्गामा बसपार्क निर्माण कार्य सुरु गर्ने निर्णय पनि ग¥यो ।

काम र निर्माण हुन नसकेपनि पोखरा बसपार्क सधैं चर्चामा रहने गर्दछ । कहिले जग्गा अतिक्रमण त कहिले बसपार्क भित्रका सुकुम्वासी तथा व्यापारी हटाउने विषय, यी यावत विषयमा पोखरा बसपार्कको चर्चा कहिल्यै सेलाउदैन । पछिल्लो समयमा बसपार्कको चर्चा फरक शैलीले हुन थालेको छ । बसपार्कको जग्गामा बाँस्तोला कम्प्लेक्स निर्माण भएपछि अन्य कम्प्लेक्स संचालक हरुले बसपार्कको नाम जोडेर बाँस्तोला कम्प्लेक्सको विरोध गरेका छन् । बाँस्तोला कम्प्लेक्स बनेको जग्गा केही व्यक्तिको नाममा रहेको बताइन्छ । उक्त जग्गामा पोखराका माधव बाँस्तोला लगायतका व्यक्तिहरु मिलेर कम्प्लेक्स निर्माण गरेका छन् ।

स्वीकृति नै नलिई कम्प्लेक्स निर्माण भएकोमा पोखरा उपत्यका नगर विकास समिति र पोखरा उपमहानगरपालिका कार्यालयले असार १९, असार २६ र साउन ४ गते सार्वजनिक सूचना जारी गरिसकेको अवस्था छ । तर पनि निर्माण कार्य रोकिएको छैन । बसपार्क बन्नुपर्ने सबैको माग रहेकाले यसमा सर्वत्र विरोध छ । यद्यपी, अर्को व्यवसायीहरुकै समूहले भने संघर्ष समिति नै गठन गरेर चर्को आलोचना गरेको छ ।

पोखरा उप–महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले बसपार्कको जग्गाभित्र कुनैपनि व्यापारिक कम्प्लेक्स तथा घर टहरा नबनाउन सूचना जारी गरेको गरेको भएपनि उक्त सूचनाको अवज्ञा गरि कम्प्लेक्स निर्माण भएको बताइन्छ । नगरपालिका र नगर विकास समितिद्वारा संयुक्तरुपमा प्रकाशित सूचनामा भनिएको छ–‘प्रस्तावित पोखरा बसपार्क क्षेत्रको ४ किल्लाभित्रको १८९ रोपनी १० आना ३ पैसा १ दामको परियोजना निर्माण स्थलको जग्गा भित्र व्यक्तिगत जग्गाधनी प्रमाणपूर्जा भएका जग्गाहरु पनि अधिग्रहणको प्रक्रियामा लैजानुपर्ने भएकाले उल्लेखित ४ किल्लाभित्र नक्सा पास स्वीकृति बिना कुनै भौतिक संरचना निर्माण नगर्नु÷नगराउनु सूचना जारी गरिएको छ ।’ उक्त सूचनामार्फत बसपार्कको जग्गामा कुनै भौतिक संरचना निर्माण गरिए भत्काउने चेतावनी समेत दिइएको थियो । तर बसपार्कभित्र बाँस्तोला कम्प्लेक्स बनिसक्दा समेत यस विषयमा बढी सरोकार राख्ने यी दुवै निकायबाट सूचना प्रकाशित गर्नु बाहेक अन्य कुनै पनि प्रक्रिया बढेको छैन । यी दुई निकायले सूचना प्रकाशन बाहेक अन्य कुनै प्रक्रिया अघि नबढाउनुले ठूलो आर्थिक चलखेलको समेत आशंका गरिएको छ ।

यता, नगरपालिका र नगर विकासको निर्देशनलाई अटेर गरेर बाँस्तोला कम्प्लेक्स निर्माण कार्य सम्पन्न भइ भाडामा लगाउने प्रक्रिय अघि बढिसकेको छ । उक्त कम्प्लेक्समा ३ सय ५० सटर रहेका छन् । प्रति सटर २ लाख रुपैयाँ धरौटी र मासिक ५ हजार रुपैयाँ भाडा तोकिएको बताइन्छ, जून भाडा र धरौटी पोखराका अन्य कम्प्लेक्सका भन्दा सस्तो रहेको बताइन्छ। बाँस्तोला कम्प्लेक्समा सस्तो भाडा भएपछि पोखराका अन्य कम्प्लेक्सका व्यापारीहरु समेत त्यहाँ जाने डरले अन्य कम्प्लेक्स संचालकहरु आत्तिएर आन्दोलन शुरु गरेका छन् । आन्दोलनको नेतृत्व फेवा एग्रीकल्चर, सृजना कम्प्लेक्सका साथै अन्य केही कम्प्लेक्सका संचालक युवराज खतिवडाले गरेका छन् । खतिवडाले संचालन गरेका केही कम्प्लेक्सका धेरै सटरहरु खाली छन् भने सटर भाडा पनि महंगा छन् । सटर भाडा महंगो भएपछि कम्प्लेक्सका व्यवसायी आजित छन् । युवराज खतिवडा बसपार्क संरक्षण गर्नका लागि होइन बाँस्तोला कम्प्लेक्स संचालनमा आए आफ्नो व्यवसाय चौपट हुने डरले उक्त कम्प्लेक्स हटाउन खरोरुपमा उत्रिएका छन् । ‘बसपार्क बचाउ, बाँस्तोला कम्प्लेक्स हटाउ’ भन्ने अभियानका साथ खतिवडा सक्रिय भएर लागेका छन् । आफ्नो व्यवसाय चौपट हुने डरले बसपार्क बचाउने नाममा बाँस्तोला कम्प्लेक्स हटाउने अभियानमा खतिवडा सक्रिय भएर लागेको जानकारहरु बताउछन् ।

बाँस्तोला कम्प्लेक्स र युवराज खतिवडालाई नजिकबाट नियाल्ने एक जानकार भन्छन्–‘उनको यो कुटिल चाल हो, उनका २÷३ वटा कम्प्लेक्स छन्, केही कम्प्लेक्सका सटरहरु खाली हुँदा उनी घाटामा छन्। उनले संचालन गरेका कम्प्लेक्सका सटर भाडा महंगा पनि छन् । कम्प्लेक्समा रहेका केही व्यापारीहरु समेत बाँस्तोलामा जाँदैछन् । त्यसैको प्रतिशोध साँध्न पनि उनले यो कुटिल अभियान चलाएका हुन् ।’ बसपार्क बचाउने नाममा बाँस्तोला कम्प्लेक्स हटाउने अभियान बाहेक खतिवडाको अन्य रणनीति केही नभएको उनले बताए । उनले भने–‘युवराज खतिवडा कस्ता व्यक्ति हुन् र उनका विगत कस्ता थिए भन्ने कुरा सबैलाई प्रष्ट छ। प्रतिशोध साँध्नका लागि बसपार्कलाई जोडेर बाँस्तोला कम्प्लेक्स हटाउने अधिकार उनलाई छैन ।’ बाँस्तोला कम्प्लेक्स माथिको रिस बसपार्कमा जोडेकोमा उनको आपत्ति छ । उनले भने–‘बाँस्तोला कम्प्लेक्स बनाउने व्यक्ति पनि ठीक भने होइनन्, बाँस्तोला कम्प्लेक्सको विरोध गर्दै खतिवडा उत्रनु र बसपार्कको नाम जोडिनु विडम्वना हो । यो दुई सिंहबीचको लडाइँ बाहेक अन्य केही होइन ।’ ‘एउटा सिंहको टीमले बसपार्कको जग्गामा कम्प्लेक्स बनाएको छ र अर्को सिंहको टीमले बसपार्कको नाम जोडेर बाँस्तोला कम्प्लेक्स हटाउन खोज्नु दुःखद् हो’, उनले भने–‘यसतर्फ सम्बन्धित निकाय तथा सरोकारवालाले बेलैमा ध्यान दिन सकेनन् भने ठूलोरुप लिन सक्छ ।’

फेवा एग्रीकल्चरका एक व्यवसायी भन्छन्–‘खतिवडा सधंै पैसा, बलको धाक र घमण्डका साथै अन्य नकारात्मक गतिविधिमा सक्रिय व्यक्ति हुन् ।’ ‘खतिवडा र उनको संघर्ष समितिका लागेका व्यक्तिहरुलाई पैसा बाहेक केही थाहा छैन, उनीहरुलाई बसपार्कको बारेमा केही जानकारी नभएको र बसपार्कको नाम जोडेर अघि बढेपनि माखो मार्ने काम गर्न सक्दैनन् ।

बाँस्तोला कम्प्लेक्सको कुरा उठ्न थालेपछि बाँस्तोला कम्प्लेक्स संचालक र युवराज खतिवडाले राजनीतिक तथा व्यक्तिगत प्रतिष्ठाको विषय नै बनाएको बताइन्छ । बाँस्तोला कम्प्लेक्स संचालकहरु एमाले निकट हुन् भने खतिवडा समूह माओवादी केन्द्र निकटका हुन् ।

खतिवडाको क्रियाकलापबाट आजित भएका एक व्यक्तिले  भने–‘खतिवडाले लामो समयदेखि जग्गा किन्ने, घर बनाउने व्यक्तिदेखि सुकुम्वासी जग्गाका साथै विभिन्न ठेक्का पट्टामा समेत गिद्धे नजर लगाउँदै आएका छन् ।’ खतिवडा विभिन्न सामाजिक संघ–संस्थामा पसेर धनको रवाफ देखाउँदै सामाजिक व्यक्तित्वको नाटक गनेर्,  केहीलाई थर्काउने र पैसाका लागि जुनसुकै गतिविधि गर्न पछि नपर्ने व्यक्ति भएको उनले बताए ।

खतिवडाले आर्थिक प्रलोभन, जालझेल र धम्कीकै भरमा पोखरा सस्तो बजारको ठेक्का स्वामित्व पनि आफ्नो पञ्जामा पारिसकेको सस्तो बजारका एक व्यवसायी बताउँछन्। खतिवडाले सस्तो बजारको ठेक्का पाए त्यहाँ रहेका व्यवसायीले झनै ठूलो सास्ती र गोता खेप्नुपर्ने उनी बताउँछन् ।

खतिवडाको अभियानलाई कृषि उपजबजार संचालक समितिका अध्यक्ष रुद्रप्रसाद खनाल, पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष दीलिप सुनार, पोखरा सस्तो बजार व्यवस्थापन समितिका अध्यक्ष केशव भुजेल र राष्ट्रिय फलफूल तथा थोक तरकारी व्यवसायी संघका अध्यक्ष छेवाङ तामाङ (कुमार लामा) ले साथ दिएका छन् भने खतिवडाको संघर्ष समितिमा रुद्रप्रसाद खनाल, दीलिप सुनार, शिव खनाल, छेवाङ तामाङ, बमबहादुर कार्की, तारा प्रसाद पौडेल, चित्तनाथ पौडेल र मुक्तबहादुर राई सदस्य रहेका छन् ।

स्रोतका अनुसार सबैभन्दा पहिला बाँस्तोला कम्प्लेक्सको विरोध गर्ने व्यक्ति रुद्रप्रसाद खनाल हुन् । खनालले केही दिनसम्म खतिवडालाई प्रयोग गरेर अघि बढेका थिए । पछिल्लो समयमा खतिवडा नै रणनीतिक रुपमा खनाललाई उपयोग गर्न सफल भएको स्रोत बताउँछन् । कृषि उपज बजार संचालक समितिका एक सदस्यका अनुसार खनाल र खतिवडा कहिल्यै मिल्ने व्यक्ति नभएको र पछिल्लो पटक यी दुवै एकै ठाउँमा बस्नुले पनि धेरै आशंका उब्जाएको छ । खनाललाई आफू भन्दा धेरै जुनियर व्यक्ति खतिवडालाई संयोजक बनाएर बाँस्तोला कम्प्लेक्सको विरोध गर्न नैतिक हैसियत नभएको उनले बताए । खनालको यो रवैयालाई संचालक समितिको बैठकमा कडा रुपमा राखिने उनले बताए ।

स्रोतका अनुसार बसपार्कको जग्गादेखि करिब १ किमिसम्म कुनै पनि व्यापारिक कम्प्लेक्स बनाउन पाइँदैन । हाल रहेको कृषि उपज बजार बसपार्कको १ किमिभित्रै पर्दछ । कृषि उपज बजार र पोखरा उपत्यका नगर विकास समिति बीच केही वर्षदेखि टकराव रहँदै आएको पनि छ । त्यसैको प्रतिशोध साँध्नका लागि पनि कृषि उपज बजार संचालक समितिका अध्यक्ष रुद्र प्रसाद खनाल र खनालकै अनुयायी गर्दै फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष कुमार लामा लागेको बताइन्छ ।


(२०७३ आश्विन ६, बिहीबार) १६:५५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना