अरुण तेस्रो र माथिल्लो कर्णालीमा भारतीय कम्पनीले लगानी जुटाउन सकेनन्

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ भाद्र १९, आईतवार) ०७:१५

नेपालका दुई ठूला आयोजना अरुण तेस्रो र माथिल्लो कर्णालीका प्रवर्द्धक दुई भारतीय कम्पनी जीएमआर र एसएभीएन तोकिएको समयमा लगानी जुटाउन असफल भएका छन् । तोकिएको समयमा फाइनान्सियल क्लोजर गर्न नसकेपछि उनीहरुले लगानी बोर्डमा एक वर्ष समयावधि थप गर्न प्रस्ताव पठाएको लगानी बोर्डले जनाएको छ ।

परियोजना विकास सम्झौता (पीडीए) अनुसार आगामी केही महिनाभित्रै दुबै कम्पनीले फाइनान्सियल क्लोजर गरिसक्नुपर्ने छ । फाइनान्सियल क्लोजिङ गर्न नसकेको खण्डमा सम्झौता खारेज हुने कानूनी व्यवस्था छ ।

माथिल्लो कर्णालीमा जीएमआरले लगानी जुटाउनुपर्ने म्याद सकिन अब १५ दिनमात्र बाँकी छ भने अरुण तेस्रोमा एसजेभीएनको आगामी पुससम्मको म्याद छ । करिब ७ महिनाअघि जीएमआरले र केहीदिन अघिमात्रै एसजेभीएनले एक वर्ष म्याद थप्न लगानी बोर्डलाई आग्रह गरेका छन् ।

‘उहाँहरुले एक वर्ष समय थप गर्नुपर्छ भन्ने प्रस्ताव पठाउनुभएको छ,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, ‘हामीले टाइमलाइन बनाएर ल्याउनोस् भनेका छौं । चित्तबुझ्दो टाइमलाइन आए जति आवश्यक हो त्यतिमात्रै समय थप गर्नेछौं ।’

सन् २००८ मा १८ सय मेगावाट विद्युत उत्पादन गरेर भारतमा बेच्ने लक्ष्यसहित नेपाल भित्रिएको जीएमआर र एसजेभिएन दुबै असफल भएका हुन् । उनीहरुले ९ सय मेगावाटको माथिल्लो कर्णाली र ९ सय मेगावाटकै अरुण तेस्रो निर्माण गर्ने सम्झौता गरेका थिए ।

भूकम्प, मधेस आन्दोलन र नेपालको राजनीतिक अस्थिरताका कारण तोकिएको समयमा वित्तीय व्यवस्थापन गर्न नसकिएको भन्दै उनीहरुले समयावधि थप गर्न माग गरेका हुन् ।

विभिन्न अन्तरराष्ट्रिय बैंक तथा वित्तीय संस्थाले माथिल्लो कर्णालीमा लगानी गर्नका लागि आवश्यक १ खर्ब ३९ अर्ब रुपैयाँमध्ये १ खर्ब १० अर्ब रुपैयाँसम्म लगानी गर्ने आशयपत्र दिएको लगानी बोर्डले जनाएको छ ।


(२०७३ भाद्र १९, आईतवार) ०७:१५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना