नेपालमाथिको प्रतिवन्ध ९ महिनाभित्र हट्ने, सल्लाहकार समिति बनाउने आइसीसीको घोषणा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट सघंमाथि लगाएको आगामी नौ महिनाभित्र प्रतिवन्ध हट्ने बताएको छ । यो अवधिमा क्रिकेट संघको विधान पुनरावलोन गरी नयाँ निर्वाचन गरिसक्ने उसको लक्ष्य छ । आईसीसीले क्रिकेट संघको विधान पुनरावलोनका लागि सल्लाहकार समिति गठनको घोषणा गरेको छ ।
नेपाल भ्रमणमा रहेका आइसीसीका सीइओ डेभिड रिचर्डसनले आइतबार पत्रकार सम्मेलन गरी सल्लाहकार समिति गठनको जानकारी दिएका हुन् । समितिमा रहनेहरुको नाम भने दुई साताभित्र घोषणा गरिने छ । यसको नेतृत्व अहिले अमर शेखले गर्नेछन् । आइसीसीका तत्कालीन ग्लोबल डाइरेक्टर टिम एण्डरसनको स्थानमा अर्को व्यक्ति आएपछि उनले यसको नेतृत्व गर्नेछन् ।
सल्लाहकार समितिमा सरकार, राष्ट्रिय खेलकुद परिषद् र क्रिकेटका सरोकारबाला पक्ष रहनेछन् । र, यसले क्यानको वर्तमान विधान पुनरावलानेकन गरी संशोधन गर्ने कि नयाँ ल्याउने भनेर आइसीसीलाई सुझाव दिने रिचर्डसनले बताए । सरकारले भने क्रिकेट विकास बोर्ड गठनको प्रस्ताव गरेको छ । आइतबार विहान प्रधानमन्त्रीसहितको छलफलमा खेलकुदमन्त्रीले आइसीसीसामू यो प्रस्ताव राखेका थिए । र, आइसीसी यसप्रति सकारात्मक रहेको मन्त्री श्रीपाइलीले अनलाइनखबरलाई बताए ।
आईसीसीले नयाँ चुनावलाई मदत गर्ने सीइओ रिचर्डसनले बताए । उनले भने, जुन २०१७ मा नेपालमा क्रिकेट नर्मल हुने गरी काम गर्छौं । नयाँ कमिटी आएपछि मात्र निलम्बन हट्छ ।’ नेपाली क्रिकेटमा विवाद देखिएपछि आईसीसीले झण्डै चार महिनाअघि निलम्बन गरेको थियो ।
(२०७३ भाद्र १९, आईतवार) ०६:५३ मा प्रकाशित