सुर्खेतमा राजा र नेताले नसकेको काम जनताले गरे

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ भाद्र १८, शनिबार) ०५:०४

सुर्खेतको पुरानो सदरमुकाम गढी घुम्न आउँदा तत्कालिन राजा वीरेन्द्रले एउटा सपना बाँडे, अग्लो डाँडामा रहेको वस्तिका धारामा पानी खसाल्ने । राजा वीरेन्द्रले मात्र होइन, खानेपानीको आश्वासन बाँडेर धेरै नेताले चुनाव पनि जिते । तर, कसैले पानी खसाल्न सकेनन्, खानेपानीकै अभावमा अन्ततः गढीबाट जिल्लाको सदरमुकाम वीरेन्द्रनगर सारियो ।

राजादेखि नेतासम्मको आश्वासन कुरे पनि स्थानीयले वर्षौंदेखि आकासकै पानीले गुजरा चलाउनुपर्ने बाध्यता टरेन । अग्लो डाँडामा वस्ती नजिकै पानीको मुहान नहुँदा गढी र लेखगाउँका बासिन्दाले घण्टौँ लगाएर गाग्रीमा पानी बोकेर प्राण धाने । प्राण धान्न अत्यावश्यक पर्ने पानी नहुँदा आकासकै पानीबाट गुजरा चल्यो । वर्षौंसम्म पनि गाउँमा पानीको सुविधा नभएपछि अधिकांश परिवारले थाकथलो नै छोडे । वर्षौंसम्म खानेपानी नपाएपछि स्थानीयले गाउँमा पानी आउला भन्ने आश नै मारे । कसैले गाउँमा पानी ल्याउँछु भन्दा पनि पत्याएनन् ।

तर, अब उमेरले ६० वर्ष नाघेकी लेखागाउँ निवासी बिनिसरा लामिछानेले झिसमिसेमै डोकोमा गाग्री राखेर पानीको खोजीमा दौड्नुपर्ने बाध्यता टरेको छ । राजा वीरेन्द्रले सपना बाँडेको ३५ वर्षपछि उनको घरमा रहेको धारामा पानी झरेको छ ।

जन्मेदेखि घर नजिकै धारा र पानी नदेखेकी बिनिसरा जब आफ्नै धारामा पानी आयो, तब उनका आँखाबाट हर्षका आँशु खसे । ‘मैले गाउँमा पानी आउला भन्ने सोचेकी पनि थिइन, बाँचेपछि सबै देखिँदो रहेछ’ आफ्नै धारामा पानी आएपछि बिनिसराले भनिन्,‘हेर्दाहेर्दै मेरो धारामा अमृतजल आयो, अब छोरानातीले सुख पाउने भए ।

यो उमेरमा एक घण्टा उकालोमा गाग्रीमा पानी बोक्नुपर्ने समस्या टर्यो, अब आकाशको पानी खाएर रोगी हुने दिन गए ।’ सुर्खेतको नगरकोट भनेर चिचिने पर्यटकीय स्थल गढी र लेखगाउँमा लिफ्टिङ्गबाट खानेपानी पुगेपछि वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय बासिन्दा हर्षित बनेका हुन् ।

स्थानीय बासिन्दाले लिफ्टिङ्गमार्फत गाउँमा पानी खसालेपछि स्थानीयको घरघरमा पानीको सुविधा उपलब्ध भएको छ । गढीमा १२ किलोमिटर टाढा रहेको चन्दनेबाट लिफ्टिङ्ग गरेर पानी ल्याइएको छ ।

युएनडीपीको करिब २० लाख र स्थानीयको जनश्रमदानबाट गाउँमा पानी आएको हो । गाउँमा पानी आउला भन्ने कल्पना नै नगरेका स्थानीय जब अहिले धारामा पानी आउन थाल्यो, तब दंग परेका छन् । वर्षौपछि गाउँमा खानेपानी उपलब्ध भएपछि स्थानीय बासिन्दाले नाचगान नै गरेर खुशीयाली मनाए ।

गढीमा करिब दुई सय ५० घरधुरीको धारामा पानी आएको छ । यस्तै, लेखगाउँमा पनि चारसय ५० मिटर तलबाट लिफ्टिङ्ग गरेर गाउँमा पानी खसालिएको छ । उक्त आयोजनाबाट ४८ वटा धारामा पानी आउन थालेको हो । एक वर्ष लगाएर अग्लो डाँडामा रहेका गढी र लेखगाउँ गाविसमा पानी खसालिएको हो ।

वस्ती बसेको वर्षौंपछि गाउँमा पानीको सुविधा उपलब्ध भएको भन्दै स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जनताको सक्रियताले मात्र सम्भव भएको बताए । उनले भने, ‘यो डाँडामा पानी आउने कल्पना कसैले गरेका थिएनन्, कल्पना गर्नेहरुले पनि काम गर्न सकेनन् । तर, अहिले गाउँमा पानी आयो, अब यसलाई स्थानीयले संरक्षण गर्नुपर्दछ ।’


(२०७३ भाद्र १८, शनिबार) ०५:०४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना