वर्तमानमा असम्भव प्राय: माओवादी पार्टी बिचको एकता र ध्रुवीकणका जटिलता : अनिल बिरही

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ पुष १६, सोमबार) १४:२४

नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (कट्टेल) र नेकपा (साइँला) को बीचमा कार्यगत एकता लामो समयदेखि चलिरहेको छ । नेकपा (कट्टेल) र नेकपा (साइँला) पार्टी एकताका विषयमा लचकदार देखिएका छन् तर विप्लव नेतृत्वको नेकपा र किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का बीचमा पार्टी एकताको प्रयत्न सफल भइरहेको छैन । त्यसकारण अनेक टिप्पणीहरू बजारमा आइरहेका छन् । त्यस विषयमा नेकपाको पछिल्लो धारणाका विषयमा सामान्य सोचाइ प्रकाशित गर्न खोजिएको छ ।

नेकपा नेपाली क्रान्तिका लागि अकर्मण्यतावाद, सङ्कीर्णतावाद, यान्त्रिकता र पुच्छरवाद सबैसँग लड्दै अघि बढ्न चाहन्छ । पार्टीमा ढलिमली गर्न नपाउने देखेपछि वा सशस्त्र सङ्घषर््ामा पार्टी जाने देखेपछि शिवगढी भेलामा नै नलगिएका केही व्यक्तिवादी अराजकतावादी तत्वहरूले जतिसुकै ‘पागल—प्रलाप’ गरे पनि ‘झिँगाले सरापेर डिँगो मर्दैन’ भनेझैँ नेकपाको आफ्नो यात्रा अघि बढिरहेको छ । क्रान्ति पार्टीभित्र र बाहिर अकल्पनीय चुनौतीको सामना गर्दै अघि बढ्ने गर्छ । यो वस्तुगत नियमबाट नेकपा पनि अलग छैन । शिवगढी भेला, दाङ राष्द्रिय सम्मेलन हुँदै थबाङको आठौँ महाधिवेशनसम्म पुग्दा नेकपा एकीकृत जनक्रान्ति कार्यदिशा पारित गरेर अघि बढिसकेको छ । त्यसलाई लागू गरेर जानु अब उसका नेता—कार्यकताको नैतिक दायित्व हुन्छ । कार्यदिशा पारित गर्ने, लागू नगरी अर्कैथरी बहसमा जानु भनेको न नैतिक हुन्छ, न त जिम्मेवारीपूर्ण नै हुन्छ । त्यसकारण अकर्मण्यतावाद र पुच्छरवादवाट मुक्त भएर पार्टी एकता र ध्रवीकरणलाई हेर्नुपर्छ भन्ने नेकपाको धारणा छ ।

कार्यदिशा र नेतृत्वको प्रश्नलाई निर्णयहीन बहसमा लगेर भगवान् भरोसे शैलीमा पार्टी एकता गर्ने पक्षमा नेकपा छैन । २०४७ सालमा तत्कालीन नेकपा (मसाल) ले झैँ आफ्नो कार्यदिशा पारित भएन भने पार्टी फुटाउने (विद्रोह गर्ने) भनेर अथवा त्यही नजिर लागू गर्ने पक्षमा पनि छैन । एकताको बहसमा आएर अरू कोहीलाई कार्यकारी स्तरको नेतृत्व सुम्पेर पार्टी अगाडि बढ्छ भन्ने विश्वास पनि नेकपालाई छैन । त्यसकारण नीति र नेतृत्वको प्रश्न समाधान गरेर मात्र पार्टी एकता गर्ने पक्षमा नेकपा रहेको छ ।

औपचारिक र आधिकारिक छलफल र निर्णय नभैसकेको भए पनि क. साइँला र क. ऋषि कट्टेल नीति र नेतृत्वको प्रश्नमा बाधक देखिन्न् । तर संसदीय चुनावका विषयमा उनीहरूको धराणा के हो ? बीच बाटोमै संसदीय चुनावपरस्त सोचाइ आउने हो कि भन्ने शङ्का नेकपाको छ । तर त्यो विषयलाई बहसद्वारा समाधान गर्न सकिन्छ ।

नेकपा (क्रान्तिकारी माओवादी) मा मुख्य समस्या छ । एमबी सिंहबाट फुटेर आएको रामसिंह समूह एउटा चुनावपरस्त र सुधारवादी धार हो । त्यसले महान् जनयुद्धलाई समेत अस्वीकार गर्दछ । आजभोलि किरणको महिमागान गर्ने व्यक्तिवादी अराजकतावादी तत्वहरूले किरणको कतिसम्म न्यूनीकरण गर्थे, व्यक्तिगत रूपमा टिप्पणी गर्थे, सबैलाई थाहा नभए पनि धेरैलाई थाहा छ । उनीहरूले क. गौरवलाई क. प्रचण्डले झैँ सुधारवादी, चुनावपरस्त भन्ने गर्छन् । गौरव पनि पार्टी एकताप्रति उत्साहित छैनन् भन्ने नेकपाको बुझाइ छ । यस्तो अवस्थामा पार्टी एकता गर्दा अर्को ‘बादल–गुरुङको खेती’ हुने नेकपाको धारणा छ । त्यस विषयमा क. किरणको धारणा के हो ? पार्टी एकता गरिहालौँ, जे होला–होला ! किरणको धारणा हो कि भन्ने देखिन्छ । नेकपा र उसको नेतृत्व पङ्क्ति त्यसप्रकारको सोचाइमा छैन ।

जनयुद्धको समयमा थुपै्र पार्टी एकता र ध्रुवीकरण भए । क. जनक, क. दीनानाथ, क. साइँला, क. वासु शाक्य र नेकपा (मओवादी) को बीचमा पार्टी एकता भएको थियो । त्यसले जनयुद्धलाई ऊर्जा दिएको थियो । त्यसबेला एकता र ध्रुवीकरणमा आउने समूह र व्यक्तिले तत्कालीन नेकपाको नीति र नेतृत्व स्वीकार गरेर आएका थिए । नीति र नेतृत्वमा एकता भएका कारण ती एकताले भावनात्मक एकतासमेत पैदा गरेको थियो । अहिले वैचारिक एकता नगरी हुलमूलमा एकता गर्दा अमूक अराजकतावादी तत्वहरूलाई रोजगारी त होला तर क्रान्ति हुँदैन । नेकपा लगातार वर्गसङ्घर्षमा गएको, उसले शक्ति सुढृढ गरिदिएको र बादल–गुरुङले धोका दिएपछि क. किरण पार्टी एकताप्रति सकारात्मक भएका हुन् । पार्टी एकताप्रति सकारात्मक हुनुमा कमरेड किरणको सचेतन पक्ष कमजोर छ भने वस्तुगत पक्षको दबाब बढी छ । नीति र नेतृत्वका विषयमा क. किरणले आफ्नो योजना र धारणा पार्टी समितिमा राख्न र पार्टी पङ्क्तिलाई आफ्नो सोचाइअनुसार तयार गर्न पनि नसकेर मरिचझैँ चाउरिएर, खुम्चिएर बसेझैँ भान हुन्छ । जहाँसम्म हाम्रोे कुरा छ, हामी त प्रचण्ड, किरण, बादलदेखि ओलीसम्मले भौतिक–वैचारिक हमला गर्दागर्दै तुसारोमा टुसाएकोे बिरुवाझैँ उदाएका शक्ति न हौँ । क्रान्ति बहुमत जनताले गर्ने हो तर बहुमत जनता क्रान्तिमा कसरी आउँछ ? भन्नेमा हामी स्पष्ट र निश्चित योजनासहित यात्रारत छौँ । पार्टी एकता बहसमा रहिरहेको बेला ध्रुवीकरण बढ्दै गएको छ । वैचारिक रूपले ढुलमूल–अस्पष्ट पार्टी एकताभन्दा ध्रुवीकरणलाई तीव्रता हुन्छ भन्ने हाम्रो बुझाइ छ । ध्रुवीकरण भनेको आउने मात्र होइन, जाने–पलायन हुने विषय पनि हो भन्ने कुरा हामीलाई थाहा छ । पार्टी एकता होस् भनेर दीप प्रज्वलन गर्ने तर त्यसो नहुँदासाथ दुस्मनकै कित्तामा प¥याएर बुझ्ने लफङ्गाहरूका विषयमा हामीलाई धेरै भन्नुपर्ने छैन किनकि अखबार पार्टीहरूले संसारमा कतै वर्गदुस्मनको रौँ झारेका छैनन् । तर पनि नेकपाले आफ्नातर्फबाट पार्टी एकताद्वारा क्रान्तिकारी ध्रुवीकरणको प्रयास गरिहनेछ ।


(२०७५ पुष १६, सोमबार) १४:२४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro