डीपीटी खोपको विश्वसनीयतामा शंका, खोप लगाएका तीनजनामा रोग देखापर्‍यो

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ भाद्र १४, मंगलवार) १९:३०

‘डीपीटी’ को पूरै मात्रा खोप लगाएका तीन बालबालिका भ्यागुते रोग (डिप्थेरिया) लागेर त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि मुलुकमा दिइने खोपको विश्वसनीयतामा शंका उत्पन्न भएको छ । मुलुकमा नियमित खोप कार्यक्रमअन्तर्गत भ्यागुते रोग, लहरे खोकी र धनुष्टंकारविरुद्घको डीपीटी खोप जन्मेको ६, १० र १४ साता गरी तीनपटक दिइन्छ ।

धनुषा तिलही गाविसका ५ वर्षीय मनीष यादव र सुर्खेत मोहिनताराकी ११ वर्षीया सपना ओली तथा ६ वर्षीय भाइ सन्देश ओलीको अस्पतालमा उपचार भइरहेको छ । ओलीकी आमाले यस्तै रोगले गाउँमा अघिल्लो साता एक बच्चाको मृत्यु भइसकेको चिकित्सकहरूलाई बताएकी छन् ।

भ्यागुते रोगले मुटुमा असर गरेपछि सपना हाल आईसीयूमा छिन् । यो रोगले दोस्रो सातातिर बिरामीको मुटुमा असर गर्छ भने तेस्रो साता स्नायुसम्बन्धी समस्या उत्पन्न हुन्छ । यादवको प्रयोगशाला परीक्षणले भ्यागुते रोग प्रमाणित भइसकेको छ भने ‘क्लिनिकली (लक्षणका आधारमा) भ्यागुते रोग नै रहेको दिदीभाइको प्रयोगशाला प्रतिवेदन बुधबार प्राप्त हुने डा. सिर्जना बस्नेतले जानकारी दिइन् ।

भ्यागुते रोगका कीटाणुले उत्पन्न गर्ने विषको प्रभाव कम गर्न दिइने ‘एन्टिडिप्थेरिक सिरम’ समेत मुलुकमा नरहेको औंल्याउँदै डा. बस्नेतले तत्काल उपलब्ध गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई आग्रह गरेको बताइन् ।

‘हामीकहाँ भर्ना भएका भ्यागुते रोगका सबै बिरामीले डीपीटी खोप लिएका छन्,’ डा. बस्नेतले भनिन्, ‘यसले मुलुकमा दिइने खोपको गुणस्तरमा शंका उत्पन्न भएको छ ।’

भ्यागुते रोग प्रकरणले मुलुकमा दिने गरिएको डीपीटीको खोपमा गडबडी भएको आशंका बालरोग विशेषज्ञहरूको छ । डा. बस्नेत भन्छिन्, ‘मुलुकमा प्रभावकारी खोप नआइपुगेको हो कि, कोल्ड चेन (कम तापक्रममा निरन्तर राख्नुपर्ने अवस्था) मेन्टेन नगरेको हो भन्नेबारेमा विस्तृत रूपमा अध्ययन गर्नैपर्ने अवस्था आएको छ ।’

मुलुकमा तीनपटक मात्र दिइए पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार भ्यागुते रोगको खोप पाँचपटक लगाउनुपर्छ ।

डा. बस्नेतका अनुसार बालबालिकालाई डीपीटीको खोप ६, १० र १४ साताको उमेरमा मात्र नभई ६ देखि १२ वर्षमा चौथो र १२ वर्षपछि पाँचौं मात्रा खोप लगाउनुपर्नेतर्फ समेत सबैले विचार गर्नुपर्ने अवस्था छ ।

त्रिवि शिक्षण अस्पतालकै नाक, कान र घाँटी विभागका प्रमुख प्रा.डा. राजेन्द्र गुरागाईं खोपको प्रभावकारिता शंकास्पद रहेकाले भ्यागुते रोग देखिएको औंल्याउँछन् । उनका अनुसार बालबालिकालाई विभिन्न खोप दिइए पनि शंकास्पद खोपले गर्दा रोग देखिने गरेको समस्या मुलुकमा बढदो छ ।

‘बालबालिकालाई खोप दिँदादिँदै रोग देखिनु भनेको यसको प्रभावकारिता शंकास्पद छ,’ सूक्ष्म जीव विशेषज्ञ प्रा.डा. शिवकुमार राईले भने, ‘सरकारले तुरुन्त खोप कार्यक्रममा पुनरावलोकन गर्नुपर्छ ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार भ्यागुते रोग ब्याक्टेरियम कोरिनेब्याक्टेरियम डिप्थेरीले गर्दा हुन्छ । यो कीटाणुले उत्पन्न गर्ने विषाक्त पदार्थले मानव शरीरको तन्तु र अंगलाई नोक्सानी वा नष्ट पार्न सक्छ । एक प्रकारको डिप्थेरिया घाँटीलाई प्रभावित गर्छ र कहिलेकाहीँ टन्सिललाई समेत प्रभावित गर्छ । गर्मी क्षेत्रमा सामान्यतया देखिने अर्को प्रकारको डिप्थेरियाले छालामा घाउ उत्पन्न गर्छ ।

डिप्थेरियाले सबै उमेर समूहलाई प्रभावित गर्छ । तर यो धेरैजसो खोप नलिएका बालबालिकालाई लाग्छ । समशीतोष्ण वातावरणमा डिप्थेरिया चिसो याममा हुन्छ । सन् २००० मा विश्वव्यापी रूपमा ३० हजार डिप्थेरियाका रोगी देखिनुका साथै यसले तीन हजार जनाको मृत्युसमेत भएको थियो ।

के गर्छ भ्यागुते रोगले ?
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार भ्यागुते रोग गम्भीर ब्याक्टेरियाको संक्रमण हो । संक्रमित व्यक्तिको खोकी र हाच्छिउँबाट यो रोग सर्छ । यो संक्रमण भ्यागुते रोगको ब्याक्टेरियाले प्रभावित खेलौना, हैन्डललगायतका वस्तुबाट समेत अन्यमा सर्छ । यसले सामान्यत: नाक र घाँटीलाई प्रभावित गर्छ ।

भ्यागुते रोग उत्पन्न गर्ने ब्याक्टेरियाले श्वासप्रश्वास प्रणालीको सतहमा आक्रमण गरेपछि एउटा विषाक्तता उत्पन्न गर्छ । यसले कमजोरी, घाँटी बिगार्नु, ज्वरो, घाँटीको ग्रन्थी सुन्निने समस्या उत्पन्न हुन्छ । यो विषाक्त पदार्थले श्वासप्रश्वास प्रणालीको स्वस्थ तन्तुलाई समेत नष्ट गर्छ । दुई–तीन दिनभित्र मरेका तन्तुले घाँटी र नाकमा बाक्लो खैरो तह निर्माण गर्छन् । यसलाई नक्कली झिल्ली (स्विडो मेम्ब्रेन) समेत भनिन्छ । यसले नाक, टन्सिल, स्वर यन्त्र, घाँटीलाई छोपेर सास फेर्न र निल्न अप्ठ्यारो बनाउँछ । भ्यागुते रोगले उत्पन्न विशाक्तता रगतमा पुगेर मुटु, मृगौला र स्नायुलाई समेत क्षति पुर्‍याउँछ ।

यो रोगमा वायु मार्ग बन्द हुनु, मुटुको मांसपेशी तथा स्नायु क्षतिग्रस्त हुनु, पक्षाघात हुनु, फोक्सोको संक्रमण लगायतका जटिलता देखिन सक्छन् ।

सीडीसीका अनुसार उपचार गरे पनि १० मध्ये एक जना भ्यागुते रोगका बिरामीको मृत्यु हुन्छ भने उपचार नगरे दुईमध्ये एकको मृत्यु हुन्छ ।

यसको उपचारअन्तर्गत रोगले उत्पन्न गरेको विषाक्त पदार्थ हटाउन ‘डिप्थेरिया एन्टिटक्सिन’ उपयोग गरिन्छ । यस्तै ब्याक्टेरियालाई मार्न एन्टिबायोटिकसमेत दिइन्छ ।


(२०७३ भाद्र १४, मंगलवार) १९:३० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भारतीयद्वारा सिमानामा रहेको मठिया प्रहरी चौकीमा बम प्रहार, सेन्ट्रीमा बसेका प्रहरी घाइते

भारतले नेपाली भुमि कालापानी हडपेको बिरोधमा नेपालमा आन्दोलन चलिरहेका बेला रौतहट जिल्लाको इशनाथ नगरपालिका–४ स्थित सिमानामा रहेको मठिया प्रहरी चौकीमा भारतीय नागरिकले बम प्रहार गरेका छन्।  मंगलबार दिउँसो.....

सर्बोच्च अदालतको आदेश लत्याउंदै ने.क.पा. कास्कीका इन्चार्ज रुपेश अदालत गेटबाट फेरी गिरफ्तार, म्याग्दी लगिंदै

विप्लव नेतृत्वको ने.क.पा. कास्कीका ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश"लाई अाज फेरी सर्बोच्च अदालतको गेटबाटै गिरफ्तार गरिएको छ।  बन्दी प्रत्यक्षीकरण मुद्दामा उनलाई आज सर्बोच्च अदालतले रिहा गर्न.....

भारत विरुद्धमा मलेसियाबाट नेपाली जनप्रगतिशिल मोर्चाले कडा संघर्ष को चेतावनी सहित विज्ञप्ति

  भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी ,लिपुलेख,र लिम्पियाधुरासहितको,भु-भा गलाई भारतमा गाभेको विषयप्रति नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया जनप्रगतिशिल.....

Exchange Rate

Nepali Patro