सुन ‘तस्कर’ र भ्याट छल्नेसँग आइजिपी खनालको उठबस

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७५ मंसिर १०, सोमबार) ०६:०५

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले सुन व्यापारमा विवादास्पद व्यक्तिसँग उठबस गरेको पाइएको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा युनाइटेड अरब इमिरेट्सको दुबईमा मंसिर २ देखि ५ गतेसम्म सञ्चालन भएको इन्टरपोलको ८७औं महासभामा सहभागी हुन दुबई पुगेका आइजिपी खनालले सुन तस्करीमा मुछिएका ठाकुर ढुंगाना र विवादास्पद व्यापारी दीपक मल्होत्रासँग उठबस गरेका हुन्।

महानिरीक्षक खनालले विवादास्पदहरुले आयोजना गरेको कार्यक्रममा भाग लिनुका साथै रात्रिभोजमा ‘रमाइलो’समेत गरेका थिए।

प्राप्त फोटामा ‘सुन तस्करी’का आरोपी ठाकुर ढुंगाना र आइजिपी गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, युएई च्याप्टरको कार्यक्रममा सँगै बसेको देख्न सकिन्छ। ३८ क्विन्टल सुन तस्करी प्रकरणमा फरार रहेका व्यवसायी ठाकुर ढुंगानाले केही महिनाअघि उच्च अदालत विराटनगरमा आत्मसमर्पण गरेका थिए।

राजनीतिक पहुँचमा बलियो भएका ढुंगाना पछि १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। सुन तस्कर ढुंगाना दुबईमा समेत ‘ग्रीन लाइन ट्राभल एजेन्सी’ चलाएर बस्छन्। सुन तस्करीमा मुछिएपछि काठमाडौंमा रहेको ढुंगानाको ‘कान्तिपुर होलिडेज ट्राभल’समेत बन्द गरिएको थियो।

दुबईमा गैर–आवासीय नेपाली संघको कार्यक्रममा आइजिपी खनाल र सुन तस्कर ढुंगानाको भेट भएको हो। आइजिपीलाई दुबई एयरपोर्टमै सुन तस्करका नाइके मानिने ढुंगानाले स्वागत गरेका थिए। इन्टरपोलको महासभामा भाग लिन दुबई पुगे पनि परराष्ट्र मन्त्रालयले दुबईस्थित नेपाली राजदूतावासलाई कुनै जानकारी समेत नगराएको पाइएको छ।

‘यसो हेर्दाखेरी निजी भ्रमणजस्तो लाग्ने, श्रीमतीसँग पनि आएका थिए। दूतावासलाई समेत खबर भएको छैन। खबर भएको भए दूतावासका कर्मचारी विमानस्थल पुग्थे’, स्रोतले भन्यो, ‘आइजिपी आउनेबारे दूतावासलाई कुनै जानकारी थिएन। सुन तस्करले नै आइजिपी आउँदै छन् नि? भनेर सुनाएका थिए।’

इन्टरपोलको सम्मेलनपछि मात्र एनआरएनएमार्फत दुबईस्थित नेपाली दूतावाससँग आइजिपी खनालले समन्वय गरेका थिए। एनआरएनएको वार्षिक साधारण सभा कार्यक्रममा भाग लिएका आइजिपी खनाल कार्यक्रममा एनआरएनएका आइसिसी सदस्यसमेत रहेका सुन तस्करीमा मुछिएका ढुंगानासँगै थिए।

आइजिपीले एनआरएनएको कार्यक्रममा मन्तव्यसमेत राखेका थिए। पछि त्यही ठाउँमा गएर सुन तस्कर ढुंगानाले मन्तव्य राखे। ढुंगाना मन्तव्य राख्न पोडियममा गएका बेला उनकै ठाउँमा आइजिपी गएर बसेका थिए। सुन तस्कर ढुंगाना बसेको दाँया छेउमा आइजिपी खनालकी श्रीमती बसेकी थिइन्।

कार्यक्रममा सम्बोधन गर्दै आइजिपी खनालले भनेका थिए, ‘नेपालमा भूकम्प जाँदा तपाईंहरूले कति सहयोग गर्नुभएको छ भन्ने मलाई राम्रोसँग थाहा छ। फेरि–फेरि पनि यस्तै सहयोग गर्दै जानुहोला।’ आइजिपीले खनालले भूकम्प गएको बेला सहयोग गरेको भन्दै तस्कर ढुंगानाको खुलेरै प्रशंसा गरेको स्रोतले जानकारी दियो।

एनआरएनएको कार्यक्रममा सुन तस्करीमा मुछिएका व्यक्ति जान्छन् भनेर कार्यवाहक राजदूत सागरप्रसाद फुयाँल नजाने कुरा थियो। कार्यवाहक राजदूत फुयाँलले आफ्नो ठाउँमा श्रम कन्सुलर भेषबहादुर कार्कीलाई पठाउन खोजेका थिए। कार्यक्रमको अघिल्लो दिनसम्म राजदूत यही निर्णयमा अडिग थिए। यो कुरा आइजिपीले थाहा पाएपछि ‘तपाईं नआउने भए म पनि आउँदिन’ भनेपछि राजदूत बाध्य भएर एनआरएनएको उक्त कार्यक्रममा उपस्थित भएका थिए।

एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले आइजिपी दुबई आउनु एक हप्ताअघि नै ‘आइजिपी पनि आउँदै हुनुहुन्छ, हजुरलाई थाहा छ कि छैन?’ भनेर सोधेका थिए। राजदूत फुयाँलले परराष्ट्रले यसबारे आफूलाई कुनै जानकारी नगराएकाले थाहा नभएको जवाफ फर्काएका थिए। स्रोतले भन्यो, ‘आइजिपीले दूतावाससँग समन्वय गर्नेभन्दा पनि एनआरएनएसँग समन्वय गरेर दुबई गएको जस्तो देखियो।’

स्रोतका अनुसार दुबईमा भएका नेपाली पत्रकारसँग राजदूतले एनआरएनएको कार्यक्रममा जाने कि नजाने भनेर सल्लाहसमेत मागेका थिए। पत्रकारले ‘त्यहाँ विवादित व्यक्तिहरु आउँछन्, हामी त जाँदैनौं, तपाईंहरु त झन् जाने कुरै भएन’ भनेर राजदूतलाई कार्यक्रममा नजान सुझाएका थिए।

यसअघि दुबईमा पनि अर्को एक जमघट भएको थियो, जहाँ सुन तस्करीमा मुछिएका अर्का व्यक्ति रोसन भुषाल अगुवा थिए। उनी दुबईको ‘याक एन्ड यति दोहोरी साँझ’का सञ्चालक समेत हुन्। उनीसँगै ‘स्टेज सेयर’ गरेका थिए कार्यवाहक राजदूत फुयाँलले। सुन तस्कर रहेको भन्ने भुषालको पृष्ठभूमि विभिन्न सञ्चारमाध्यमबाट बाहिर आएपछि एनआरएनएको कार्यक्रममा जान छाडेका राजदूत भुषाललाई आइजिपी खनालकै जिद्दीमा यस पटकको कार्यक्रममा उपस्थित हुन बाध्यता परेको थियो।

बुधबार नै विवादास्पद व्यक्तिहरुले युएईको ‘रस अल खेमा’मा रात्रिभोजसमेत आयोजना गरेका थिए। त्यहाँ आइजिपी खनालले सुन तस्करी र कर छलीमा परेका व्यापारी दीपक मल्होत्रालाई समेत भेटेको स्रोतले जानकारी दिएको छ।

बिहीबार आइजिपी ‘डेजर्ट सफारी’मा गएका थिए। शुक्रबार एनआरएनएको कार्यक्रममा सुन तस्करका नाइके ढुंगानासँग भेट भएको थियो। शनिबार आइजिपी खनाल स्वदेश फर्किएका छन्। साभार नेपाल लाइभ


(२०७५ मंसिर १०, सोमबार) ०६:०५ मा प्रकाशित

मुख्य समाचार

सबै

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई.....

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

Exchange Rate

Nepali Patro