दमनविरुद्ध प्रतिरोधको भौतिक–मानसिक तयारी जरुरी : उमा भुजेल ‘शिलु’

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ कार्तिक १६, शुक्रबार) ०७:२०

क्रान्तिको बाटो सोझो , सरल र मैदानी भूभागबाट मात्र हिँड्दैन । क्रान्तिको लक्ष्य मात्र सफा र स्पष्ट हुन्छ, बाटो त आवश्यकताबमोजिम परिवर्तित गरिन्छ र परिस्थितिको बाध्यताले गर्दा यदाकदा खण्डित पनि हुन सक्छ । – क.गोञ्जालो
नेपालमा आज दलाल पुँजीवादी व्यवस्था कायम छ । यससँग नेपाली जनताको प्रधान अन्तरविरोध रहेको छ । संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नै नेकपाको एक मात्र लक्ष्य र उद्देश्य हो । जबसम्म नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुँदैन तबसम्म जनता सुखी, स्वतन्त्र र देश समृद्ध बन्न सक्दैन । यही मर्मबोधका साथ नेकपाले आफ्ना नीति र कार्यक्रमलाई अगाडि बढाइरहेको छ जुन कार्यक्रमले जनभावना समेट्दै गएको छ । देशभक्त, बुद्धिजीवी र स्वाभिमानी नागरिक आशावादी हुन थालेका छन् । तर सरकार भने त्यही आशाको दियो निभाउन सबै शक्ति र हर्कत खर्च गरिरहेको छ ।

(क) पृष्ठभूमि

देश अहिले दुई धारमा डोलायमान हुँदै गएको छ क्रान्तिकारी कम्युनिस्ट धार र दलाल संसदीय धार । यी दुई धारमा देश धु्रवीकृत हुँदै गएको छ । यी दुई परस्पर विरोधी धारहरू गतिशील छन् । एउटाले अर्काको अस्तित्व स्वीकार गरेर होइन, एउटाले अर्कोलाई निषेध गर्न चाहन्छन् किनकि सत्ता भनेको विरोधी वर्गमाथि दमन गर्ने यन्त्र हो । जब हाम्रो पार्टीको नीति र कार्यक्रम सफल हुँदै गयो दलाल व्यवस्था र त्यसका नेताहरूमा छट्पटाहट सुरु भयो । आफ्नो भविष्यप्रति त्रास र खतरा महसुस भयो । त्यसपछि उनीहरू हाम्रो पार्टीलाई दमन गर्न उत्रिए । संशोधनवाद कम्युनिस्ट आन्दोलनभित्रको पुँजीवाद हो । यो पार्टीभित्र पुँजीवादको सेवामा रहन्छ । यो सत्तामा पुगेको अवस्थामा सामाजिक फासिवादका रूपमा प्रकट हुन्छ । नेपाली राजनीतिका पछिल्ला घटनाक्रमहरूले त्यसको पुष्टि गरेका छन् । पुँजीवादले रातो झन्डाको विरोध गर्न, दमन गर्न रातो झन्डा नै प्रयोग गर्दै आएको छ । भारतमा ज्योति बसु सरकार र नेपालमा ओली–प्रचण्ड मण्डलीको सरकार त्यसका उदाहरण हुन् ।

(ख) गिरफ्तारी र झूट्टा मुद्दा

भदौ १२ गते ११ बजेतिर मलाई गिरफ्तार गरेका थिए । त्यसभन्दा अगाडि र पछाडि दर्जनौँ गिरफ्तार भए जसमा पार्टी प्रवक्ता तथा स्थायी समिति सदस्य क. प्रकाण्डसमेत हुनुहुन्थ्यो । देशमा जब क्रान्तिकारी शक्ति दलाल संसदीय व्यवस्थाभन्दा बलियो, विकासवान् र समानान्तर शक्तिका रूपमा स्थापित हुँदै गयो तब दलालहरू चैनले निदाउन छोडे । त्यहाँ विग्रह सुरु भयो । त्यसपछि उनीहरू दमनमा उत्रिए । त्यसक्रममा माथि भनिएझैँ मेरो पनि गिरफ्तारी भएको थियो । सुरुमा मलाई बालाजु प्रहरी चौकीमा लगे । त्यसपछि काभ्रे, पनौती प्रहरी हिरासतमा लगियो । अर्को दिन मलाई सङ्गठित अपराध र आगजनी (क्रसर उद्योगको) मुद्दा थोपरिएको रहेछ जुन विषयमा व्यक्तिगत रूपमा म अनभिज्ञ थिएँ । म आश्चर्यमा परेकी थिएँ । झूट्टा मुद्दा र गैरन्यायिक थुनाका विरुद्ध मेरा आफन्तले सर्वोच्च अदालतमा सरकारका विरुद्ध मुद्दा हालेछन् । अदालतले थुनामुक्त गर्न आदेश दियो । सर्वोच्च अदालतले रिहा गर्न आदेश गर्दानगर्दै अदालतको मूलढोकामा प्रहरीको ठूलो जत्था उपस्थित भैसकेको थियो । मलाई परिवारका सदस्यले बुझ्नासाथ फेरि जबरजस्ती गिरफ्तार गरे । कहाँ लग्ने हुन् ?अत्तोपत्तो थिएन । कमरेड प्रकाण्डसहित अरू केही कमरेडहरूलाई नुवाकोट लगेको हुनाले त्यतै लग्ने त होला भन्ने सोचियो । राती ८ बजे विदुरस्थित नुवाकोट प्रहरी हिरासतमा पु¥यायो । त्यहाँ अमूक डोजर जलाएको भन्दै आगजनी मुद्दा तयार पारिएको रहेछ । प्रहरीको दाबी, सरकारी वकिलको बयान, जिल्ला अदालत हुँदै सर्वोच्च अदालतमा उपस्थिति पुरानै चक्र पूरा भयो । सर्वोच्च अदालतले प्रहरी दाबीको प्रमाण नभएको र राजनीतिक पार्टीको नेता भएको भन्दै रिहा गर्न फेरि पनि आदेश दियो तर अघिल्लो समयका जस्तै घटनाहरू दोहोरिए ।

अब कहाँ लग्ने होला ? स्वाभाविक रूपमा अन्योल पैदा भयो । साँझ ५ः३० देखि अर्को दिन मध्याह्न १२ बजेसम्म अड्डासार गर्दै दाङ, तुल्सीपुरस्थित इप्रका हिरासतमा लग्यो जहाँ चुनावको समयमा भएको घटनामा मृत्यु भएका म्यादी प्रहरी चौधरी हत्यामा संलग्न भएको आरोपमा झूट्टो मुद्दा लगाइएको रहेछ । पुरानै चक्र फेरि सुरु भयो । तेस्रोपटक फेरि पनि अदालतले सरकारी दाबी खारेज गर्दै रिहा गर्न आदेश जारी ग¥यो । फेरि पनि गिरफ्तार गर्ने होला भन्ने लागेको थियो । मलाई सर्वोच्च अदालतले रिहा गर्न तेस्रोपटक आदेश गर्दासम्म देशको राजनीतिक परिस्थितिमा केही परिवर्तन आएको थियो । सरकारभित्र र सरकारी पार्टीमा अन्तरविरोध चर्किएको थियो । दमनको अस्त्र सरकारतिरै फर्केर असफल भएको थियो । आफ्नो असफलतालाई ढाकछोप गर्न सरकारले वार्ताको अमूर्त हल्ला चलाएको थियो । त्यसैको सेरोफेरोमा मलाई रिहा गर्ने चर्चा भएकाले मनको एउटा कुनामा रिहा हुन पनि सकिन्छ भन्ने लागेको थियो तर विश्वास लागेको थिएन । आजाद कमरेड र म अदालतको मूल द्वारबाट बाहिरियौँ । सधैँजस्तो त्यसपटक प्रहरीको चहलपहल थिएन, बरु पार्टीका साथीहरू र आफन्तजनको भीडभाड पो थियो । भदौ १२ देखि असोज ७ सम्मको हिरासतपछि फेरि जनता, नेता र कार्यकर्ताको बीचमा पुग्दा खुसी लाग्ने नै भयो । ‘दलाल सरकार–मुर्दावाद ! प्रहरी दमन–मुर्दावाद !, नेकपा–जिन्दावाद !’ नारा घन्किरहेका थिए । पूर्वनिर्धारित योजनाअनुसार एकजना भाइले मलाई बाससम्म पु¥याइदिए । मेरै स्तरका साथीहरूको तुलनामा मेरो हिरासत बसाइ छोटो थियो । जति छोटो भए पनि पट्यारलाग्दो र छट्पटाहट त हुने नै भयो । क्रान्तिकारीहरूले हिरासत, जेल त के मृत्युसम्मलाई सामान्य ठान्ने गर्छन् । त्यसका लागि मानसिक तयारी गर्छन् । त्यसैले होला क. गोन्जालोले ‘जीवन हो, कुनै पनि बेला धरापमा पर्न सक्छ’ भनेका थिए होला । मैले त्यसरी नै सोचेकी थिएँ ।

(ग) दमनको परिणाम र प्रभाव

क्रान्तिको प्रवाहलाई रोक्न दमनको अस्त्र प्रयोग गरेको सामाजिक फासिवादी दलाल सरकार अन्ततः पछाडि हट्न बाध्य भयो । यो विजय सर्वहारा श्रमिक र देशभक्त जनताको हो । यो पराजय दलाल पुँजीवाद र उसको मालिक साम्राज्यवादको हो । हामी दलाल संसदीय व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवाद स्थापनाका पक्षमा लडिरहेका छौँ । दलाल सरकार हामीलाई क्रसरमा आगो लगाएको, आगजनी गरेको, सङ्गठित रूपले अपराध गरेको आरोपमा थुनछेक गर्छ । हामी राजनीतिक सङ्घर्षमा छौँ । ऊ त्यसको सामना गर्ने आँट गर्दैन । त्यो यो पुँजीवादी विचारको पराजय र माक्र्सवादको विजय थियो । यो हाम्रो कार्यदिशाको सहीपनको विजय र श्रेष्ठता हो भन्ने कुरा जनताले बुझ्न पाए । जनता, प्रहरी प्रशासन, कानुन व्यवसायी, सञ्चारकर्मीदेखि सर्वोच्च अदालतसम्म हाम्रो पार्टीको विचारको बहस चल्यो । सरकारी भूमिकाको कुनै न कुनै रूपमा विरोध भैरहेको थियो । राजनीतिक मुद्दाको समाधान बल प्रयोग गरेर हुँदैन भन्ने बहस सुरुमै चलेको थियो । सरकारी दमनले देश गृहयुद्धमा जान्छ भन्ने धारणा राख्नेहरू पनि थिए । यी दुवै सोचाइ र सरकारी भूमिकाको विरोध गर्नेहरू दलाल पुँजीवाद र उसको मालिक साम्राज्यवादलाई गतिलो झापड भएको थियो । त्यसको प्रभाव प्रहरी–प्रशासन र न्यायिक निकायमा परेको थियो जसको कारण सरकार नराम्ररी नाङ्गिएको थियो किनकि गृहप्रशासनले न्यायालयको आदेशको अवहेलना गरिरहेको थियो । लोकतन्त्र र कम्युनिस्ट नामको सरकार पञ्चायती व्यवस्थाभन्दा निरङ्कुश भएको आरोप सदनमै लाग्यो । पञ्चायती व्यवस्थामा न्यायपालिकाको आदेश कार्यपालिकाले उल्लङ्घन गर्दैनथ्यो । सरकार तानाशाही भएको आरोप सरकारी पार्टीका नेताहरूले नै लगाएका थिए ।

सरकारले राजनीतिक आस्थाका आधारमा एकातिर सयौँको सङ्ख्यामा गिरफ्तार गरेको थियो । अर्कोतिर शान्तिपूर्ण विरोधका कार्यक्रम र सभा–सम्मेलन गर्न पनि अघोषित प्रतिबन्ध लगाएको थियो । सरकार निरङ्कुश बन्दै गएको थियो । हाम्रो वैचारिक, राजनीतिक श्रेष्ठताको कारण बढ्दो प्रभाव र हाम्रा पक्षमा राष्ट्रिय अनुकूलता पैदा भएपछि त्यसलाई अवरुद्ध गर्न अत्तालिएको सरकारले दमन नीति अवलम्बन ग¥यो । त्यो तरिका ‘टाउको दुखेको औषधी नाइटोमा’ भनेझैँ भयो । सरकारप्रति घृणा र आक्रोश अक्कासियो । त्यसलाई मत्थर पार्न सरकारले वार्ताको हल्ला चलायो । त्यो वार्तारूपी नाटक सरकारको अर्को गल्ती थियो । दमन बढाउँदै जाने, वार्ताको चर्चा पनि चलाउने षड्यन्त्र र कलाविहीन नाटकको हाम्रो पार्टीले भण्डाफोर ग¥यो । सरकार वास्तवमा वार्ता होइन, दमन नै गर्न चाहन्थ्यो भन्ने छर्लङ्गै थियो । ‘फाटेको जालोले छेकेको, छेक पनि छर्लङ्गै देखेको’ भन्ने प्यारोडीजस्तै भएको थियो वार्ताको नाटक । सरकार हरेक मोर्चामा असफल बन्दै गयो ।

क्रान्तिकारी विचार अजम्मरी बिउ हुन् जो जुन माटोमा पनि उम्रिन सक्छन् । यस्तो लाग्छ भित्री मोर्चा हाम्रो जिम्मामा छ । हामीले कुनै न कुनै रूपमा छलफल गरिरहेका, आफ्नो विचार प्रवाह गरिरहेका थियौँ । प्रहरीहरूसँग पनि छलफल चल्थ्यो । प्रहरीभित्र पनि तीनथरी प्रवृत्ति छन्– पहिलोथरी क्रान्तिकारी आन्दोलनप्रति नकारात्मक र आक्रामक छन् । दोस्रोथरी निरीह प्रवृत्तिका छन्, पर्ख र हेर नीति लिन्छन् । सबैसँग ठिक्क पार्छन् । ‘हजूर, हामी त आदेशपालक । भोलि हजुरहरू आए पनि सलाम गर्नैपर्छ’ भन्छन् । यी अवसरवादी प्रवृत्तिका हुन्छन् । तेस्रोमा प्रहरी हबल्दारदेखि तलका कनिष्ठ ओहोदाका प्रहरी छन् । तिनीहरूमाथि चर्को उत्पीडन र शोषण छ । यो तप्का परिवर्तनका पक्षमा छ र क्रान्तिप्रति, हामीप्रति सहानुभूति राख्छ । प्रहरी र प्रशासनको भित्रको वर्ग विश्लेषण गर्ने र बोध गर्ने अवसर छोटै समयमा भए पनि प्राप्त भयो । पार्टीको नीति र कार्यक्रम प्रहरीभित्र बेलाबेलामा राख्न पाइयो जुन कुरा अर्को मोर्चाबाट सम्भव थिएन ।

(घ) नयाँ मोर्चाको प्रयोग

सरकारको दमनकारी नीतिका विरुद्ध कानुन व्यवसायी, अधिकारकर्मी र सञ्चार क्षेत्र पार्टीका पक्षमा क्रियाशील भए । पार्टीले जनपरिचालन ग¥यो । भित्री र बाहिरी मोर्चा, वैधानिक र अवैधानिक मोर्चाको बीचमा तालमेल हाम्रो गिरफ्तारीपछि झन् सफल भएको कुरामा म अझ जोड दिन चाहन्छु । यसमा एकीकृत जनक्रान्ति कार्यदिशाको वैज्ञानिकता कारक रहेको छ । एकराज बुबा, कपिल पोखरेललगायतको कानुनी सङ्घर्ष सबैका लागि प्रेरणाको स्रोत बन्न गएको छ । वैधानिक मोर्चाबाटै सरकारका विरुद्ध सशक्त प्रहार गर्न सफल भएको छ । यो कार्यदिशाकै सफलता हो ।

जोड र कोण फरक होलान्, सबैजसो सञ्चार हाम्रो मुद्दा सम्बोधन गर्न बाध्य भए । अधिकारकर्मीहरूको भूमिका सकारात्मक नै रह्यो जसको दबाब थेग्न सरकार असफल भयो । राष्ट्रिय राजनीतिको केन्द्रमा नेकपा देखाप¥यो । ‘हामीले हरेक क्षेत्रबाट लडाइँको मोर्चा खोल्नुपर्छ’, कमरेड महासचिवले भन्नुभएको कुरा यतिबेला म सम्झिरहेकी छु । क्रान्तिलाई केन्द्रमा राखेर सबै सम्भावनाका ढोकाहरू खोल्नुपर्छ । आज त्यो विचार व्यवहारमा लागू भइरहेको छ । नयाँनयाँ मोर्चाका ढोकाहरू खोलिएका छन् । ती प्रयोगमा गइरहेका छन् । वस्तुको विकासका नियम पत्ता लगाउने र त्यसअनुसारका नीति र योजना भएपछि सफलता प्राप्त हुँदो रहेछ । समाज विकासको नियमप्रतिकूल जानेहरूको हार निश्चित हुँदो रहेछ ।

(ङ) निष्कर्ष

प्रहरी हिरासतमा हुँदा प्रकाण्ड कमरेडका विरुद्ध प्रचारयुद्ध तीव्र पारिएको थियो । पार्टीको आदेश नमानेर हिँड्दा गिरफ्तार भएको, प्रचण्डहरूसँग भित्रभित्रै वार्ता भैरहेको, आर्थिक अपचलन गरेको जस्ता अनेक विभ्रमहरू बनाइए । दलाल सत्ताको उक्साहट र योजनामा त्यस्तो प्रचार हुँदा, उचित प्रतिरोध गर्न नसक्दा मर्माहत भइन्थ्यो । तर पार्टी मुख्यालय र कैयौँ कमरेडहरूले भ्रमहरूका विरुद्ध नेतृत्वको प्रतिरक्षा गर्दा खुसी लाग्थ्यो ।

नेपाली क्रान्तिको वर्तमान चरणमा दमन र प्रतिरोधको एउटा उत्कर्ष पूरा भएको छ र यो सङ्घर्षमा क्रान्तिकारी विचार, जनता र पार्टीको सानदार विजय भएको छ । शासक वर्गले हार बेहोरेका छन् । सानासाना थुप्रै विजयका सिँढी चढेर मात्र हामी अन्तिम विजय हात पार्न सक्नेछौँ । गलत नीति र व्यवहारले लगत परिणाम निस्कनु अनिवार्य छ । ‘झूट्टो टिक्दैन, सत्य डग्दैन’ भन्ने नेपाली उखान त्यत्तिकै बनेको होइन । यसलाई हालैका नेपालका राजनीतिक घटनाहरूले पुष्टि गरेका छन् । भविष्यमा अझ ठूलो दमन हुनसक्छ र प्रतिरोधको भौतिक–मानसिक तयारी गर्नुपर्छ । त्यसपछि अझ ठूलो विजय प्राप्त हुनेछ ।


(२०७५ कार्तिक १६, शुक्रबार) ०७:२० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जयबाबा ईट्टामा बिहानै गोली चल्यो, मेनेजर हुसेनको मृत्यु

सुनसरी जिल्लाको सोनापुरस्थित जयबाबा ईट्टामा आज बिहानै गोली चलेको छ । गोली प्रहारबाट उद्याेगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनको मृत्यु भएको छ । दुहबी - ९ छाताबेलीमा रहेको जय बाबा इँटा उघोगमा ड्युटीमा.....

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका.....

काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? : झलनाथ खनाल

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण.....

Exchange Rate

Nepali Patro