सामुदायिक वनको जमीन अतिक्रमण गरी मनपरी, चुरे फेदी खन्ने क्रम जारी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ आश्विन २५, बिहीबार) ०९:२५

डडेलधुरा जोड्ने भीमदत्त राजमार्ग बनेसँगै तेघरी क्षेत्र सुगम बन्यो  । सबैका आँखा चुरे फेदीको समथर भूभाग र जंगलमा पर्न थाल्यो  । टहरा, भवन, मठ–मन्दिर, खेलकुद मैदानदेखि करोडौं लागतका रिसोर्टसम्म बने ।

यसमा डिभिजन वन कार्यालय कैलाली भने वर्षौंदेखि आँखा चिम्लेर बसेको छ । त्यही ठाउँलाई सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएपछि वन क्षेत्र अतिक्रमण गर्नेहरू निकै खुसी छन् ।

तेघरीदेखि दक्षिणतिरको गोदावरी नदीमा हरेक दिन कैयौं स्काभेटरले दोहन गरिरहेका छन् । दर्जनौं ट्रक त्यहाँबाट गिट्टी, ढुंगा र बालुवा ओसार्न व्यस्त छन् । तेघरी क्षेत्रबाट निर्माण सामग्री उत्खनन गर्न गोदावरी नगरपालिकाले स्वाँर कन्स्ट्रक्सन कम्पनीलाई असोज ९ मा १ करोड २० लाख रुपैयाँको ठेक्का दिएको हो । कम्पनीले नदीमा मनोमानी गरिरहे पनि नगरपालिकाले अनुगमन गरेको छैन । नगर प्रमुख हरिसिंह साउद भर्खरै ठेक्का लगाइएकाले केही दिनपछि अनुगमन गरिने बताउँछन् ।

अत्तरियादेखि पहाडी जिल्लाहरू जोड्ने भीमदत्त राजमार्गको बायाँतिरको जंगल क्षेत्रलाई राजधानी तोकिएको हो । गोदावरी नगरपालिकाको २ र ४ नम्बर वडामा पर्ने यो क्षेत्र तेघरी सामुदायिक वन हो । वन उपभोक्ता समूहका पूर्वअध्यक्ष कैलाशकुमार जोशीले आफ्नो पालामा अतिक्रमण हटाउन पहल गरे पनि अहिले मनपरी चलेको बताए । ‘पहिला जंगल रहेको क्षेत्रमा अहिले बस्ती छ, सार्वजनिक जग्गा मिचिएको छ,’ उनले भने, ‘सम्बन्धित निकायले चासो नदिँदा सबैको मनपरी बढेको छ ।’ उनका अनुसार तेघरी वनसँगै रहेका बस्तीसमेत वन मिचेरै बनाइएका हुन् ।

विगतमा समथर भागमा मात्र हुने गरेको अतिक्रमण अब चुरे जंगलतिर उकालो लाग्न थालेको छ । गोदावरी खोला आसपास र पारिको जंगलभित्र पनि टहरा बनिरहेका छन् । तिनै टहरामा सडक पुर्‍याउन चुरे फेदी खन्ने क्रम जारी छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रममार्फत संरक्षण कार्यक्रम अघि बढिरहेकै स्थानमा जथाभावी खनिँदै छ ।

प्रदेश वन निर्देशनालय, धनगढीका प्रमुख सहसचिव नवराज काफ्लेले अत्तरियादेखि गोदावरीसम्म वन क्षेत्र अतिक्रमण गर्नेहरूलाई विगतमा धेरै पटक हटाइएको दाबी गरे । ‘नयाँ संरचनाबारे मलाई थाहा छैन,’ उनले भने, ‘पहिला धेरै पटक हटाइएको हो ।’ काफ्लेले हटाएको दाबी गरे पनि त्यही क्षेत्रमा अहिले टहरा बन्ने क्रम जारी छ । जंगलकै बीचमा होटल
थपिइरहेका छन् ।

गोदावरी पुलनजिकै चुरेको जंगल हुँदै सडक खनिँदै छ । चुरेको खोंचमा रहेको ४ नम्बर वडामा पर्ने फूलबस्तीमा बाटो पुर्‍याउन नगरपालिकाले गत वर्ष २० लाख रुपैयाँ छुट्याएको छ । ४ नम्बर वडा अध्यक्ष प्रेमबहादुर भण्डारी पुरानो बस्ती भएकाले बाटो खन्न थालिएको बताउँछन् । ‘त्यो बस्तीमा पहिला मगरहरू मात्र थिए, अहिले उनीहरू विस्थापित भएर नयाँ मान्छे थपिएका छन्,’ उनले भने । चुरे क्षेत्रमै बेलपानीदेखि काफलीसम्म पनि सडक बन्दैछ । वन क्षेत्र अतिक्रमण गरेर बस्ती विकास भइरहेको थाहा भए पनि गरिब र निमुखा भएकाले हटाउन नसकिने वडाध्यक्ष भण्डारीको तर्क छ ।

सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सुधीर कोइराला सबै निकायको सहयोग भए मात्र अतिक्रमण हटाउन सकिने बताउँछन् । ‘प्रदेश मन्त्रालयले अतिक्रमण हटाउने विषयलाई प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘नयाँ संरचना रोकिएको छ ।’ गोदावरीमा राजधानीका संरचना बनाउँदा वातावरणीय पक्ष अध्ययन गर्दै सम्भावित क्षति न्यूनीकरणमा ध्यान दिन उनको सुझाव छ ।

विज्ञहरूले वातावरणीय अध्ययनबिना चुरेको खोंचमा सहर बनाउँदा भविष्यमा क्षति निम्तिन सक्ने चेतावनी दिएका छन् । तेघरी भावर क्षेत्र भएकाले उत्खनन हुँदा तल्लो तटीय क्षेत्रमा पानीको संकट पर्ने उनीहरूको भनाइ छ । स्रोत कान्तिपुर दैनिक


(२०७५ आश्विन २५, बिहीबार) ०९:२५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

फर्जी मुठभेड़मा पांच विद्यार्थी नेताको हत्या गर्ने सेनाका मेजर जनरलसहित सात जनालाई जन्मकैदको सजाय

भारतको आसाममा एक फर्जी मुठभेड़ (फेक इन्काउन्टर) को मामलामा सेनाका तीन अधिकारी र चार सैनिकलाई जन्मकैदको सजायँ सुनाइएको छ । सजायँ पाउनेमा भारतीय सेनाका पूर्व मेजर जनरल एके लाल, दुई कर्नल र सात सैनिक समावेश छन्.....

मध्यरात पोखरामा बेवारिशे अशक्त महिला वलात्कृत, वलात्कार गर्ने को ?

पोखराको सडकमा बेवारिसे अशक्त महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई प्रहरीले सोमबार मध्यरात रंगेहात पक्राउ गरेको छ । हाल वडा प्रहरी कार्यालय बैदाम पोखराको हिरासतमा रहेका.....

वडाध्यक्ष भट्टराईको खुकुरी प्रहारबाट पत्रकार पिबी गम्भीर घाइते, दोषी वडाध्यक्षलाई कडा कानुनी कारवाहीको माग

प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष टेक बहादुर भट्टराईको आकमणमा परी सख्त घाइते भएका पत्रकार केन्द्रप्रकाश पिविलाई थप उपचारका लागि आज मध्ये राती नै लुम्बिनी.....

Exchange Rate

Nepali Patro