प्रचण्ड र बादलबीचको सङ्घर्ष

संबाददाता : आस्था नेपाली     प्रकाशित मिति: (२०७५ आश्विन १९, शुक्रबार) १५:५९

माओवादी पार्टी र आन्दोलनमा प्रचण्ड र बादलबीचको सम्बन्ध पनि असामान्य खालको उतार–चढावपूर्ण छ । उनीहरूजत्तिको नजिक सम्बन्ध पनि कसैको भएन भने तिक्तता र प्रतिद्वन्द्विताको पनि कुनै सीमा रहेन । उनीहरूको बुझाइ क्रान्तिलाई निष्कलङ्कपूर्ण तरिकाले पूरा गर्नेभन्दा पनि परोक्ष–अपरोक्ष रूपमा आपूmलाई चाहिनेभन्दा बढी केन्द्रमा राख्ने र अर्कोलाई हतोत्साहित र कायल पार्ने खालको बढी रह्यो । उनीहरूको निकटतालाई तोड्न राजनीतिक आन्दोलनको प्रवाह र उनीहरूभित्र मौजुद आशङ्कापूर्ण सम्बन्ध काफी थियो भने कटुता र प्रतिशोधपूर्ण सम्बन्धमा पुग्न पार्टीभित्रका अनेकौँ शक्ति, प्रवृत्ति एवम् प्रतिनिधि पात्रहरूको विविध सम्बन्ध र गतिविधिहरूले काम गरिरहेका हुन्थे । कतिले उत्तेजित पार्न सहयोग गर्थे भने कतिले सन्तुलित गर्न सहयोग पु¥याउँथे । उनीहरूको कटुता कहाँसम्म पुग्थ्यो भन्न सकिने अवस्था थिएन किनकि प्रचण्डले बादललाई लिनप्याओको आरोप थोपरिसकेका थिए । लिनप्याओ भनेको हत्या गर्नेसम्मको प्रवृत्ति हो र त्यसलाई समाप्त पार्नुपर्छ भन्ने हुन आउँथ्यो । बादलले पनि प्रचण्डलाई होक्जाको संश्लेषण गरेका थिए । एकपटक त नामै ‘लखन’ पनि राखे । त्यसको प्रतीकात्मक अर्थ प्रचण्डलाई जङ्गबहादुर भन्नु र त्यसका विरुद्ध विद्रोह गर्छु भन्ने थियो । यसरी हेर्दा पार्टीभित्र प्रचण्ड–बादल सम्बन्धले पनि माओवादी आन्दोलनलाई आजको स्थानसम्म पु¥याउन भूमिका निर्वाह गरेको छ ।

जनयुद्धको तयारी गर्दा यी दुई पात्रको भूमिका निकै सशक्त मानिन्थ्यो र हो पनि । यी दुई पुगेर प्रशिक्षण राखेपछि नयाँ पिँढीका क्रान्तिकारीहरूमा विशेष उत्साह र विश्वास पैदा भएको मानिन्थ्यो । जनयुद्धमा लैजानुपर्छ भन्नेमा पनि यी दुईको विशेष जोड थियो । प्रचण्डलाई नेतृत्वमा पु¥याउन बादलको भूमिका महŒवपूर्ण मानिन्छ । पद, चतु¥याइँ र गतिशीलतामा प्रचण्ड अगाडि थिए भने सरलता, दृढता र तर्क प्रभावकारितामा बादल अगाडि थिए । नेपालमा सामाजिक एवम् राजनीतिक उत्पीडन र विकल्पको मनोविज्ञानले गर्दा पार्टीभित्र युवा पिँढीको लगाव र माया बादलतिर बढी थियो यद्यपि प्रचण्डमा पनि त्यत्तिकै थियो । युवाहरूको चाहना दुवै मिलेर गरून् भन्ने बढी देखिन्थ्यो । नेतृत्वको विकल्प सोच्नुप¥यो भने बादलतिर सहज भाव थियो । कार्यक्षेत्रका दृष्टिले पनि प्रचण्ड सहरमा अलि बढी भुल्नुपर्दथ्यो भने बादल गाउँबस्तीमा ढुक्क ढङ्गले लागिरहन्थे । संयोग बादलले जिम्मा लिएको राप्ती क्षेत्रमा पार्टीले पारित गरेको ग्रामीण वर्गसङ्घर्ष सशक्त प्रकारले लागू भयो । यसले बादलको प्रतिष्ठा पार्टीमा झन् माथि उठायो । यो कुराले प्रचण्डलाई पोल्न र आत्मपीडाले सताउन थालेको देखियो । निम्न पुँजीवादको विशेषता नै वर्ग, क्रान्ति, सामूहिकता र विश्वासभन्दा मनोकेन्द्रित व्यक्तिवाद, आशङ्का र अविश्वास हो । यो कुरा प्रचण्ड–बादलमा विशेषतः प्रचण्डमा देखियो । उनले बादलको प्रशंसा र लोकप्रियतालाई असहज ठान्दै गएका थिए तर मुखमा उनले यो देखाउँदैनथे र प्रशंसा नै गर्दथे । ग्रामीण वर्गसङ्घर्षको समयमा त बादलको प्रशंसा परिपत्रमै आयो । यसले पार्टीमा एकथरी सङ्कीर्ण र व्यक्तिवादीहरूमा निद्रा बिगा¥यो र कुरा काट्न थाले । प्रचण्डलाई उचाल्न थाले र बादलले प्रचण्डलाई नाघ्न खोज्दैछ भनेर घिउतेल पोल्न थाले । बादलको पनि मस्तराम ताल छँदै थियो, प्रोजेक्ट नं १, प्रोजेक्ट नं २, प्रोजेक्ट नं ३ भन्दै आफ्नै सुरमा ब्युरोतिरै चक्कर मार्न र पहिले नै ब्युरोका योजनाहरू बनाएर केन्द्रमा आउन थाले । सिज (सिस्ने–जलजला), मितेरीजस्ता अभियान चलाएर लालसलामलाई समेत ‘सिज’ तिर बटारे । यति भएपछि एकथरी त सुत्न पनि छोडे । प्रचण्ड पनि झस्किन थाले । भित्रभित्रै ‘बादल भाँड टोली’ कसरी बनाउने भन्नेमा लागे । बादलको भने मस्तराम ताल चलिरह्यो ।

प्रचण्ड र बादलको बुझिने अन्तर्विरोध जनयुद्धको अन्तिम तयारीको गोरखा बैठकमा व्यक्त भयो । त्यहाँ प्रचण्डले नेतृत्व केन्द्रीकरणको विषय उठाए । तर्क के थियो भने बाहिरी राजनीतिमा बुझ्दा बाबुराम अर्थशास्त्री, किरण दर्शनशास्त्री, बादल सैन्यशास्त्री, प्रचण्ड भने टाकटुके सबैलाई मिलाउने र नेता हुने मात्र । यो हो कि होइन ? बहस चलाए । बहस उठाउनेमा मसालबाट विद्रोहको नेतृत्व गरेर आएका हरिबोल गजुरेल थिए र बाबुरामले पनि मलजल गरे । त्यहाँ प्रचण्डको कुरामा खासै गम्भीरता पैदा भएन । बेपत्ता पारिनुभएका दण्डपाणि न्यौपानेले त झन् मजाकमा माओवाद त मैले हुलाकबाट ल्याएको हो । त्यहाँ एउटा पत्र रिमको थियो । त्यसैमा माओवाद थियो भन्न पुगे । हाँसोको फोहोरा छुट्यो । बादलले त्यहाँ ‘पार्टी यहीँबाट विचलनतिर गयो, किन चाहियो केन्द्रीकरण’ भने । यसले प्रचण्डको पहिलेदेखि टिल्लिएको पिलोमा घोचिदिएजस्तो भयो र उनले बादललाई सहयोगी कमरेडभन्दा पनि प्रतिद्वन्द्वीका रूपमा बुझ्न थाले । बादलमा भने कुनै ठूलो प्रतिशोधको भावना देखिँदैनथ्यो यद्यपि राप्तीको वर्गसङ्घर्षको प्रभाव र लोकप्रियताले बादलको टाउकोमा आफ्नै खालको ‘सिउँर’ पलाउन थालेको बुझिन्थ्यो । जोरी खोजे म के कम भन्ने अहम् बढ्दै थियो । यसको अनुभव पनि प्रचण्डले नै बढी गरेका थिए ।

जनयुद्धको पहिलो योजनापछि नै बादल कारबाहीमा परे । पार्टीमा यो एउटा दुर्घटनाको चोटजस्तो भयो । पार्टीमा एकखालको स्तब्धता पनि छायो । कारण के भयो भने जनयुद्धको रापताप, पार्टीमा क्रान्तिकारीहरूको उमङ्गमय विकास राज्यमाथि बढ्दै गएको थियो । केही गम्भीरखालका हत्याकाण्ड राज्यले चलाइसकेको थियो । प्रचण्ड–बाबुरामहरू पहिले नै भारत पसिसकेका थिए । त्यही क्रममा बादललाई पनि भारतमा सर्न भनियो । बादल भारतमा गए । उनीसँगै पम्फा पनि भारतमा गइन् । विदेशको एकान्त बसउठ र खानपानसँगै बादल–पम्फाको प्रेम झाङ्गियो । लसपस बाक्लिँदै जाँदा ‘प्रेम’ यौन–सम्बन्धमा बदलियो । नेपालमा लडाइँ चलिरहँदा उनीहरूले भारतको ‘भानिराम होटेल’ मा मस्ती गरे भन्ने प्रचार आयो । सुरुमा उनीहरूले स्वीकार गरेनन् तर पछि प्रचण्डले अनेक दाउ लगाएर गलाए र स्वीकार्न लगाए । त्यसपछि बादललाई कारबाही भयो र उनीबारे अनेकौँ कथा बुनिन थालियो । कारबाहीपछि प्रस्तुत राजनीतिक प्रस्तावमा बादल माओ र पम्फा चियाङ चिङ हुन खोजेको प्रचण्ड कालको मुखबाट बँचेर आएको, यो यौनकाण्ड नभएर राजनीतिक षड्यन्त्र भएको, त्यो केन्द्र कब्जा गर्ने उद्देश्यबाट प्रेरित रहेको भन्दै बादललाई ‘लिनप्याओवादी’ भएको आरोप थोपरियो । प्रचण्डले आफ्नो प्रस्तावमा यो काण्डबारे लेखे, ‘पहिलो कुरा, सुरुमा उहाँहरूको बीचमा प्रेम र यौन–सम्बन्धको विकास क्षणिक उत्तेजनामा आएर अथवा एक–अर्कोबारे जानकारीको अभावमा होइन, पर्याप्त छलफलपश्चात् जानीबुझी एक निश्चित मान्यताको आधारमा भएको छ । … त्यसप्रकारको गलत सैद्धान्तिक मान्यताका आधारमा शारीरिक सम्बन्ध कायम गरिसकेपछि त्यसलाई पार्टीबाट ‘भूमिगत’ राखेर जाने जुन कार्य भयो त्यसले उहाँहरूमा विद्यमान अनुशासनविहीन एवम् चरम व्यक्तिवादी अहङ्कारलाई अभिव्यक्त गर्दछ । … वास्तविकता स्वीकार गरिसकेर पुनः लुकाउने र नेतृत्वका विरुद्ध सङ्घर्ष गर्ने जुन कसरत आगडि आयो, त्यसले वस्तुतः राजनीतिक एवम् सङ्गठनात्मक रूपले उहाँहरूमा विद्यमान अराजकतावादी–व्यक्तिवादी एवम् षड्यन्त्रमूलक शैलीको गम्भीर कमजोरीलाई स्पष्ट गर्दछ । … समग्र पक्षलाई विचार गर्दा यो घटनाक्रममा अभिव्यक्त उहाँहरूको चिन्तन र कार्यशैली लिनप्याओवादी प्रवृत्तितिर उन्मुख भएको कुरा स्पष्ट छ जसमा मुख्यतः बादलको चिन्तन र कार्यशैली लिनप्याओवादी प्रवृत्तितिर उन्मुख भएको कुरा स्पष्ट हुन्छ‘, (नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू, ग्रन्थ १, पृ. ३९३) । लडाइँको समयमा बादलले गरेको कमजोरीले गर्दा कार्यकर्तामा निकै आक्रोश थियो भने बादलप्रति एकखालको सद्भाव सच्चिएर आऊन् भन्ने पनि थियो । त्यही कारण लिनप्याओको गम्भीर आरोप पनि पारित भयो । यो आरोपको स्तर हेर्दा बादललाई कैद गर्नुपर्ने वा खत्तम गरिदिनुपर्नेसम्मको अवस्था हुन्थ्यो तर उनीप्रतिको सद्भावले गर्दा त्यहाँ पुग्न पाएन तर प्रचण्डमा गोरखा बैठकदेखिको आक्रोश र प्रतिशोध त्यहाँ प्रस्ट झल्किन्थ्यो । यही बेला राप्तीमा बादल समर्थक भन्नेहरूलाई तितरबितर पार्ने कार्य पनि भयो । उनीहरू कुण्ठित भएका देखिन्थे । बादल स्वयम्ले पनि चर्को गरी एक्लोपनको सामना गर्नुप¥यो । त्यस बेला उनको परिवारको सहयोग राम्रो रहेको पाइन्छ ।

बादल कारबाहीमा परेको तीन वर्ष भइसकेको थियो, पाँचौँ विस्तारित बैठकपछि जतिबेला बाबुराम–प्रचण्डको सङ्घर्ष चर्केको थियो, बादललाई कारबाही फुकुवा भयो । पम्फालाई भने अझै परीक्षणमा राखियो । बादल पार्टीमा फर्केपछि क्षेत्रीय ब्युरोबाट काम थाले तर प्रचण्डलाई बादलको तनाव जहिले पनि रह्यो । घरि देशभित्र, घरि देशबाहिर लतार्ने कार्य चलिरह्यो । बादलले पनि आफ्ना कुरा माथिल्लो स्तरमा राख्न छोडेनन् । बाबुरामसँगको सङ्घर्षले गर्दा बादललाई प्रचण्डसँग सहकार्यमा फर्किन केही सजिलो भयो तर भारतको रोहबरमा प्रचण्ड–बाबुरामको एकता भएपछि ‘प्रचण्डपथ’ को संश्लेषण भयो । रमाइलो संयोग र व्यवस्थापन भनौँ, ‘प्रचण्डपथ’ को गाँठो बादलले पारेका थिए । त्यस बेला अरू शब्दहरूमा संश्लेषण गर्ने बहस थियो । कसैले प्रचण्डद्वारा नेतृत्व गरिएको पार्टी विचार, कसैले पार्टीको निर्देशक विचार, कसैले प्रचण्ड विचार, कसैले प्रचण्ड विचारधाराको बहस गरिरहेका थिए तर यी सबै शब्दमा प्रचण्ड आफैँ जोडिएका थिए । नयाँ पिँढीले संश्लेषणलाई आवश्यक ठानेको थियो र त्यो सही पनि हुन्थ्यो तर शब्द के भन्ने भने फरक विषय थियो । पछि थाहा भयो, प्रायः पुराना पिँढीका नेताहरू यसखालको संश्लेषणमा सहमत थिएनन् तर भन्ने आँट कसैको थिएन, बरु मुखमा बुट्टा भर्नमै समय खर्चिने भयो । यो कुरा पछि पार्टी फुटेपछि देव गुरुङले खोलेका थिए– ‘प्रचण्डपथ’ संश्लेषण गर्दा त ‘म र सीपी गजुरेल अर्को कोठामा गएर सिरकले टाउको छोपेर रोयौँ । पार्टी समाप्त भयो भन्यौँ भनेर ।’ उनले कतिसम्म त्रास भएको बताए भने त्यहाँ पनि कसैले सुन्लान् कि भन्ने चिन्ता थियो, बिचराजस्तो !

बादल पार्टीमा काम गर्न थालेपछि बादलबारे आशङ्काका विषय आइरहे । २०६० मा पुग्दा प्रचण्ड र बादलको सङ्घर्ष फेरि बल्झियो । प्रचण्ड बादललाई पहिलेको आरोपमा अराजकतावादीको नयाँ आरोप थपेर कारबाही गर्ने सोचाइमा पुगेका थिए । उनलाई बाबुरामले बाधा नदिएको भए या बादल र बाबुरामको मोर्चा नबनेको भए केही कारबाही हुने पक्का भइसकेको थियो । यसको एउटै उद्देश्य थियो, बादल पार्टीमा पुनस्र्थापित नहोस् । समयले यसलाई पन्छाइदियो । बादलका विरुद्ध तयार गरेको बेङ्लोर बैठकको दस्ताबेज नै धरापमा प¥यो र प्रचण्डले त्यसलाई छाप्दा पनि छापेनन् । कापीका पन्नामा भएको दस्ताबेज त्यसै हरायो । उनीसँग पनि छ वा छैन भन्न सकिँदैन । यसबाट बादलमा पनि एकखालको झस्को र पूर्वाग्रह बचिरह्यो ।

बेङ्लोरबाट फुन्टिबाङ हुँदै लाबाङसम्म पुग्दा सङ्घर्षको मोर्चा नै उलटफेर भयो । बादलबाट उग्ररूपले बाबुरामतिर सरे । जब चुनबाङमा बाबुराम–प्रचण्डको एकता भयो त्यसको घानमा बादलको लिनप्याओवादले पनि मुक्ति पायो । कारण के थियो भने बाबुराम र प्रचण्ड लगनगाँठो पारेर फर्किएका थिए । लाबाङमा खाल्डो खन्ने र विद्रोह गर्ने भन्नेसम्मको सङ्घर्ष चुनबाङमा पुग्दा एकअर्कोलाई प्रशंसैप्रशंसा बर्साउनेमा बदलिएको थियो । बाबुराम प्रचण्डलाई भन्दै थिए— २१ औँ शदीको ‘लेनिन’ जस्तो लाग्छ अनि प्रचण्ड बाबुरामलाई भन्दै थिए– दक्षिणएसियाकै मेधावी र बौद्धिक नेता ! यसो भनेपछि त बाबुराममाथि लाबाङमा लगाएको आरोप निकाल्नुप¥यो तर निकाल्ने कसरी ! त्यही मौकामा बादलको लिनप्याओवादले बिदा लियो तर प्रचण्डको भित्री इच्छा बादलको लिनप्याओ नहटे हुन्थ्यो, कुनै न कुनै रूपमा रहे हुन्थ्यो तर परिस्थितिले त्यो सम्भव रहेन । प्रचण्ड नै लिनप्याओ पनि हटाऔँ भन्नेमा गए । यसले बादलको दिमागमा रहेको गह्रौँ बोझ हल्का भयो । बाबुरामको भन्दा पनि बादलको आरोप खारेजमा केन्द्रीय समिति खुसी देखिन्थ्यो । चुनबाङमा बादलले प्रचण्डसँगको आफ्नो सम्बन्धबारे मनका बह पोख्दा केन्द्रीय समिति नै भावुक बन्यो । उनी भन्दै थिए, ‘म सिपाही कमान्डर बन्न खोजेँ, म जग टावर बन्न खोजेँ । म सहयोगी जित्न खोजेँ, म मेरो प्यारो नेतासँग अङ्कमाल गर्न चाहन्छु ।’

शान्तिप्रक्रियामा प्रवेश गरेपछि प्रचण्डमा वैचारिक–राजनीतिक विचलनका समस्याहरू देखिन थाले । किरण जेलबाट छुटेपछि प्रचण्डसँग अन्तर्सङ्घर्ष सुरु भयो । बालाजुमा कार्यशैलीगत कमजोरीबारे आलोचना हुँदा बैठक कक्षको ७० प्रतिशत मत आलोचनाका पक्षमा देखियो । बादललाई पनि कतै न कतै समस्या महसुस भएको थियो । खरीपाटी भेलामा पुग्दा प्रचण्डसँगको सङ्घर्ष राजनीतिक विचारमा परिसकेको थियो । त्यसमा बादल बीचमा बसे । जब बहस पालुङटार हुँदै धोबीघाटतिर मोडियो, बादल प्रचण्डको विचलनविरुद्ध उभिन पुगे । उनीभित्र प्रचण्डप्रतिको घृणा प्रस्ट देखियो । २०६९ सालमा पुग्दा बादल प्रचण्डका विरुद्ध सङ्घर्षमा उभिए । त्यसले पार्टीमा निकै ठूलो प्रभाव पा¥यो पनि । उनले प्रचण्ड–बाबुरामलाई एउटा भावमा ‘लालगद्दार’ पनि भने र देशैभरि प्रचार पनि भयो । उनले प्रचण्डविरुद्धको सङ्घर्षमा नेतृत्व नै त गरेनन् तर सशक्त भूमिका भने पूरा गरे । सम्भवतः प्रचण्डलाई बादलले एकपटक आफूविरुद्ध विद्रोह गर्ने अनुमान थियो । उनले सुरुमा केही जोड बादललाई फकाउने गरे पनि पछि त्यति मतलब गरेनन् । पार्टीमा विद्रोह भएर किरणको नेतृत्वमा नेकपा–माओवादी बनेपछि प्रचण्ड–बादलको जीवनभरको सहकार्य जो निकै भावना र कटुताले भरिएको थियो, समाप्त भयो । बादल नेकपा–माओवादीका महासचिव भए ।

किरणको नेतृत्वले वैचारिक–राजनीतिक धारको नेतृत्व गरे पनि क्रान्तिको ठोस तयारीसहितको नेतृत्व दिन सकेन । जुन आशा क्रान्तिबारे गरिएको थियो त्यो संसदीय घेराभन्दा बाहिर जान नसक्ने देखाप¥यो । किरणलाई त्यहाँ तान्नेमा देव गुरुङ, पम्फा, हितमानहरू सक्रिय भए । यसको अर्थ हुन्थ्यो वा चुनावबाट ठूलो पार्टी भएर सरकारमा भाग लिने मोहनविक्रमको धारजस्तो वा फर्किएर प्रचण्डहरूसँगै जाने र भागबन्डा लगाएर संसदीय राजनीतिमै दिन काट्ने । यसमा बादल तानिए । हामीले यो कुरा किरणलाई भन्यौँ पनि तर किरणको दृष्टिकोण दक्षिणपन्थी, संसद्वादी प्रकृतिको देखेपछि हामीले किरणसँग विद्रोह गरेर पार्टी पुनर्गठन ग¥यौँ । नभन्दै हामी निस्केको एक वर्ष नबित्दै बादलहरू पुनः फर्किएर प्रचण्डसँग मिल्न पुगे । त्यो बादलको जीवनको सबैभन्दा भयानक कमजोरी र आत्मसमर्पण थियो । क्रान्तिकारीले समयअनुरूप आफूलाई तयार गर्छ र नेतृत्व दिन्छ तर बादलले पाएको नेतृत्व पनि समाल्न नसकेर घोर संशोधनवादमा पतन भइसकेका प्रचण्डमा लगेर पार्टीलाई समर्पण गरे । यसले बादलभित्र रहेको दब्बुपना जसबारे प्रचण्डले हामीलाई उनी कारबाहीमा पर्दा बारम्बार भन्ने गर्थे, ‘तपाईंहरूले बादललाई बुझ्नु नै भएको छैन, हेर्दा रूप मात्र राम्रो देखिने हो । उसले वर्गसङ्घर्षको भीषणताको नेतृत्व दिन सक्दैन कि लत्रिन्छ कि त बिढङ्गो गर्छ । मैले बादलसँग सहकार्य पनि हेर्दा राम्रो जिउडाल भएको, केही क्षमता पनि भएको भएपछि गर्न मन लागेर गरेँ, बादलले पनि मसँग सहज मान्नुभयो ।’ हुन पनि बादलमा यस्तै हुनै–नहुने कमजोरी देखियो जसले उनलाई हुरीको झोक्काले तीर लगाएको पातजस्तो हलुङ्गो बनाएर अन्त्य गरिदियो । उनले क्रान्तिको नेतृत्व गर्ने सुनौलो अवसर गुमाएर केही अवसरवादी, दक्षिणपन्थी, पदलोलुप, सुविधाभोगी, आत्मसुरक्षावादीहरूको उक्साहटमा परेर प्रचण्डसँग नै विलीन हुन पुगे । अन्ततः ‘मुसीको साथ मुसी’ भन्ने भयो । आज प्रचण्ड बादलले ‘लालगद्दार’ भनेको भन्दा पनि पर पुगेका छन् । तिनै प्रचण्डलाई नेतृत्व मानेर नेतृत्व हैसियत समाप्त पार्नु भनेको कारबाहीपछि दोस्रो राष्ट्रिय सम्मेलन विशेषतः चुनबाङ बैठकमा बादल आफैँले भनेको ‘सायद म जग हुन लायक थिए, टावर हुन खोज्दा भासिएँ’, ‘सायद म सिपाही हुनुपर्ने मान्छे थिएँ, कमान्डर हुन खोज्दा ढलेँ’ ठाउँमा पुगेर कहिल्यै उम्किन नसक्ने गरी दब्न पुगेका छन् । उनले सायद भनेका होलान्, ‘मैले बेलाबखत भूत चढेर बाटो बिराउँछु तर गुरुको सम्मोहनले तानिएर लीन हुन आइपुग्छु, गर्नै नहुने गल्ती गर्छु, अभिभावकको दयाले पुनर्जीवन प्राप्त गर्छु ।’ त्यतिखेर प्रचण्ड भावुक भएर मुस्कुराउँदा हुन् ।
(यसै साता बजारमा आउँदै गरेको महासचिव विप्लवको नयाँ पुस्तक ‘महापतन’ को एक अंश)


(२०७५ आश्विन १९, शुक्रबार) १५:५९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

फर्जी मुठभेड़मा पांच विद्यार्थी नेताको हत्या गर्ने सेनाका मेजर जनरलसहित सात जनालाई जन्मकैदको सजाय

भारतको आसाममा एक फर्जी मुठभेड़ (फेक इन्काउन्टर) को मामलामा सेनाका तीन अधिकारी र चार सैनिकलाई जन्मकैदको सजायँ सुनाइएको छ । सजायँ पाउनेमा भारतीय सेनाका पूर्व मेजर जनरल एके लाल, दुई कर्नल र सात सैनिक समावेश छन्.....

मध्यरात पोखरामा बेवारिशे अशक्त महिला वलात्कृत, वलात्कार गर्ने को ?

पोखराको सडकमा बेवारिसे अशक्त महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई प्रहरीले सोमबार मध्यरात रंगेहात पक्राउ गरेको छ । हाल वडा प्रहरी कार्यालय बैदाम पोखराको हिरासतमा रहेका.....

वडाध्यक्ष भट्टराईको खुकुरी प्रहारबाट पत्रकार पिबी गम्भीर घाइते, दोषी वडाध्यक्षलाई कडा कानुनी कारवाहीको माग

प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष टेक बहादुर भट्टराईको आकमणमा परी सख्त घाइते भएका पत्रकार केन्द्रप्रकाश पिविलाई थप उपचारका लागि आज मध्ये राती नै लुम्बिनी.....

Exchange Rate

Nepali Patro