वर्षमा एक अर्बको तेल चुहावट, मूल्य बढाउँदै बेच्दा पनि अढाइ महिनामा निगमलाई एक अर्ब घाटा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ आश्विन १८, बिहीबार) ०९:३०

कुल कारोबारको ०.५ प्रतिशत इन्धन चुहावट हुने गरेको निगमको तथ्यांक छ । गत आर्थिक वर्ष निगमले २ खर्बको कारोबार गरेको थियो । ट्यांकर, डिपो र पेट्रोलपम्पबाट हुने वार्षिक एक अर्बको वैधानिक चुहावटबाहेक पनि थप चुहावट हुन्छ, जसको लेखाजोखा छैन ।

निगमको भण्डारणगृहबाटै प्राविधिक तथा तापक्रमका कारण नोक्सानी हुने गरेको छ । ८ वटा इन्धन डिपोमा राखिएको पेट्रोल ०.५७ प्रतिशतदेखि ०.९० प्रतिशतसम्म चुहावट हुने निगम बताउँछ । डिजेल र मट्टीतेल ०.३२ देखि ०.६२ प्रतिशतसम्म, हवाई इन्धन ०.१० देखि ०.६२ प्रतिशतसम्म चुहावट हुने निर्धारण निगमले गरेको छ ।

निगमले पेट्रोलपम्पलाई समेत चुहावट हुने लक्ष्य निर्धारण गरिदिएको छ । डिपोबाट पम्पसम्म लोड, अनलोड गर्दा पेट्रोलमा तापक्रमबापत ०.५० प्रतिशत र कार्यगततर्फ ०.३० प्रतिशत गरी ०.८० प्रतिशत चुहावट हुने लक्ष्यसहित भर्पाई दिने गरेको छ । डिजेल र मट्टीतेलमा तापक्रमबापत ०.३० प्रतिशत र कार्यगत ०.२५ गरी ०.५५ प्रतिशत नोक्सान दर निर्धारण गरेको छ ।

आइओसीबाट निगमको डिपोसम्म तेल ओसार्दासमेत चुहावट हुने गरेको छ । पेट्रोलियम तातो ठाउँबाट चिसोमा ढुवानी हुँदा घट्ने र चिसोबाट तातोमा ढुवानी हुँदा बढ्ने गर्छ । नेपालभन्दा भारतको तापक्रम बढी भएकाले त्यहाँबाट ल्याएको इन्धन घट्ने गर्छ ।

आइओसीको डिपोबाट निगमको डिपोमा तेल ल्याउँदा प्रतिहजार लिटर पेट्रोल प्रतिडिग्री तापक्रममा १.०६ लिटर तथा डिजेल र मट्टीतेल ०.७५ लिटर घट्ने सूत्र तयार गरेको छ । जसकारण १२ हजार किलोलिटरको ट्यांकरमा पेट्रोल ल्याउँदा ७ डिग्री तापक्रम कम भए करिब ९० लिटर मात्रा घट्छ ।

अहिले भारतमा पेट्रोल र डिजेलको मूल्य नेपालमा भन्दा प्रतिलिटर ३१ रुपैयाँ महँगो छ । अन्तर्राष्ट्रिय बजारमै भाउ बढेको छ । आफ्नो उत्पादन नभएपछि यस्तै हो । भर्खरै भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार यहाँ मूल्य समायोजन नगर्दा निगमलाई आगामी एक महिनामा थप एक अर्ब घाटा हुने देखिन्छ । दसैँलाई पनि हेरेर मूल्य समायोजन कसरी गर्ने भन्नेबारे छलफल गरिरहेका छौँ । प्रधानमन्त्रीज्यू विदेशबाट फर्केपछि निर्णय लिन्छौँ ।

मूल्य बढाउँदै बेच्दा पनि अढाइ महिनामा निगमलाई एक अर्ब घाटा

नेपाल आयल निगम (एनओसी)ले चालू आर्थिक वर्ष ०७५/७६ को साढे दुई महिनामा ४० अर्बको पेट्रोलियम कारोबार गरेको छ । ४० अर्बको कारोबारमा निगमले एक अर्ब रुपैयाँ घाटा देखाएको छ । साउन, भदौ र मध्य असोजसम्म ४० अर्बभन्दा बढी कारोबार गर्दा ३० अर्ब रुपैयाँ भारतीय आयल कर्पाेरेसन (आइओसी)लाई भुक्तानी दिएको छ ।

यस अवधिमा एक अर्ब रुपैयाँ बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि संकलन गरेको र कुल झन्डै १२ अर्ब राजस्व तिरेको निगमका निमित्त नायब प्रबन्ध–निर्देशक नागेन्द्र साहले बताए ।

उनका अनुसार ४० अर्बको कारोबार गर्दा निगमलाई एक अर्ब घाटा भएको छ । आइओसीले पठाएको मूल्यअनुसार समायोजन नगर्दा घाटा बढिरहेको उनको भनाइ छ ।

‘पछिल्ला महिना लगातार नोक्सानमा पेट्रोलियम पदार्थ बिक्री गर्दा निगमको घाटा चुलिएको हो,’ साहले भने । १५ असोजमा आइओसीले निगमलाई नयाँ मूल्य पठाए पनि बारम्बार मूल्यवृद्धिको चर्को विरोध भएपछि मूल्य समायोजन गरिएको छैन । यसको असर अबको १५ दिनमा ६४ करोड ५७ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण निगमको छ ।

मूल्यवृद्धिका चार कारण

-अनियन्त्रित प्रशासनिक खर्च

सामान्यतया कारोबार रकम बढेपछि प्रशासनिक खर्चबापतको रकम कटौती दर घट्ने गर्छ । तर, निगमले प्रशासनिक खर्चबापतको रकम बढाइरहेको छ । दुई वर्षअघि कुल कारोबारको ०.५० प्रतिशत प्रशासनिक खर्च राखिएको थियो । अहिले बढाएर ०.६० प्रतिशत पुर्‍याएको छ ।

यो रकम वार्षिक १ अर्ब २० करोड रुपैयाँ हुन आउँछ । ०६८ मा तत्कालीन सांसद भीम आचार्यको योजकत्वमा गठित उच्चस्तरीय समितिले निगमलाई प्रशासनिक खर्चको दर घटाउँदै लैजान सुझाब दिएको थियो । तर, त्यसको पालना भएको छैन ।

-चुहावट नियन्त्रणमा निगमको उदासीनता

अहिले कुल कारोबारको ०.५ प्रतिशत इन्धन चुहावट हुने गरेको छ । गत आर्थिक वर्ष ०७४/७५ मा निगमले २ खर्बको कारोबार गरेको थियो । यस आधारमा वार्षिक एक अर्बको इन्धन चुहावट हुने गरेको देखिन्छ । वैधानिक चुहावट नै यति धेरै हुन्छ । त्यसबाहेकको चुहावटको लेखाजोखा छैन । तैपनि, चुहावट नियन्त्रण गर्न सार्थक पहल भएको छैन ।

-अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि

एक वर्षयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लागेको छ । मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८४.८० डलर प्रतिब्यारेल पुगेको छ । डेढ महिनाअघि ७५ डलरआसपास थियो । कच्चा तेलको अन्तर्राष्ट्रिय भाउको १५ दिनको औसत मूल्य निर्धारण गरेर आइओसीले निगमलाई नयाँ बिक्रीदर पठाउने गर्छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा बढेको तथा डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएका कारण आइओसीले पठाउने नयाँ खरिद दर पछिल्लो समय बढ्ने गरेको छ । त्यसैले नेपाली बजारमा पनि इन्धनको मूल्यवृद्धि गर्नुपर्ने बाध्यता छ ।’

-भारतमा महँगो हुँदा ट्यांकरबाटै तस्करी

भारतमा भन्दा नेपालमा इन्धन सस्तो छ । त्यसैले बोर्डरछेउमा रहेका पम्पमा भारतीय गाडी आएर तेल भर्ने गरेका छन् । कतिपय ट्यांकरले त निगमको डिपोमा नल्याई भारतमै तेल बेचिदिन्छन् । अहिले भारतमा भन्दा नेपालमा पेट्रोल ३१ रुपैयाँ ७५ पैसा तथा डिजेल र मट्टीतेल ३० रुपैयाँ १६ पैसा सस्तो छ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई मूल्य थप घटाउँदा भारततर्फ इन्धन तस्करी बढ्ने तर्क गर्छन् । ‘अहिलेको मूल्यमा त चर्को रूपमा भारततर्फ इन्धन गइरहेको छ । अर्कातिर अन्तर्राष्ट्रिय भाउ बढ्दा निगमलाई नोक्सानी बढिरहेको छ । यी दुई कारणले गर्दा मूल्य घटाउनेभन्दा बढाउनेतर्फ हामी केन्द्रित छौँ ।’

स्रोत नया पत्रिका


(२०७५ आश्विन १८, बिहीबार) ०९:३० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना