श्रमजीवि पत्रकार एबम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अभियान चलाउने क्रान्तिकारी पत्रकार संगठनको निर्णय

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ आश्विन ३, बुधबार) १७:४५

नेत्र बिक्रम चन्द ‘विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालले देशभर श्रमजीवि पत्रकार एबम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अभियान चलाउने निर्णय गरेको छ । सो संगठनको दाङमा सम्पन्न केन्द्रीय समितिको प्रथम बैठकले यस्तो अभियान चलाउने निर्णय गरेको हो ।

बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारहरुको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयनका लागि दबावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ भने देवानी तथा फौंजदारी संहितामा रहेका प्रेस स्वतन्त्रता विरोधी बुँदा खारेज गर्न जोडदार माग पनि गरेको छ । साथै  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारका हकहितका लागि हुने सबैखाले आन्दोलनमा ऐक्यबद्धता र सहकार्य गर्दै अघि बढ्ने निर्णय पनि क्रान्तिकारी पत्रकार संगठनले गरेको छ ।

बैठकपछि संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले जारी गरेको संयुक्त विज्ञप्तिमा मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीले साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेका जन्मदेव जैशी, कमल बुढा,बाबुराम भुषाल र सुदीप बर्देवालाई पनि क्रान्तिकारी पत्रकार संगठनको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय जनाइएको छ । सो संयुक्त विज्ञप्तिमार्फत पछिल्लो समय केही व्यक्तिहरुले संगठनको लेटर प्याड, छाप र संगठनका केन्द्रीय सदस्यहरुको नाम समेत दुरुपयोग गर्दै हस्तक्षर नभएका नक्कली विज्ञप्ति निकाल्ने र यस संगठनको नेतृत्व विरुद्ध भ्रम फैलाउने कार्य भएकोप्रति  गम्भिर ध्यानकर्षण भएको जनाउंदै गलत व्यक्ति, नक्कली र गलत प्रचारको भ्रममा नपर्न देशभरका संगठनका सदस्य, सञ्चारकर्मी र शुभचिन्तकहरुलाई आग्रह गरिएको छ  ।

विज्ञप्तिमा जनाइए अनुसार, बैठकले संगठन र नेतृत्वविरुद्ध अनावश्यक तथा भ्रामक प्रचार गर्ने, संगठन विरोधी गतिविधि गर्ने तथा संगठनको निर्णय नमान्ने एवं अनलाईन सञ्चार माध्यम, समाजिक सञ्जाल (फेसबुक ट्वीटर लगायत) मार्फत संगठन र नेतृत्वको बदनाम गर्ने गम्भिर हर्कत गरिरहेकाले त्यस्ता क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दै संगठनको विधि र पद्धती अनुसार अगाडि बढ्न निर्देशन दिएको छ ।

बैठकले देशभर विभिन्न जिल्ला शाखाहरुको भेला, बैठक, सम्मेलन तथा पत्रकारिता सम्बन्धि प्रशिक्षण कार्यक्रम चलाउने निर्णय गरेको छ ।


(२०७५ आश्विन ३, बुधबार) १७:४५ मा प्रकाशित

Exchange Rate

Nepali Patro