सिध्याउने कि सिद्धिने बाटोमा नेकपा : विनोद ढकाल

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ भाद्र १७, आईतवार) १२:२९

पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र नेकपा एमालेसँग एकीकरण गरेपछि बनेको नेपाल कम्युनिस्ट पार्टीसँग माओवादको साइनो साँघुुरो छ । माओवादका केही सैद्धान्तिक मान्यतालाई नेकपाले ‘एडप्ट’ गरे पनि उसको आधिकारीक सैद्धान्तिक लाइन अब– लोकतान्त्रिक ‘कम्युनिज्म’ बनिसकेको छ ।

यसैका आधारमा नै तल्ला कमिटीसम्मको एकीकरण प्रक्रियालाई एउटा गति दिने निर्णय नेकपाले गरिसकेको छ । भ्रातृ र जनवर्गीय संगठनको एकीकरणको ढाँचा पनि यहि प्रक्रियामा जाने नेताहरूले बताइसकेका छन् ।

माओवादको ‘ख्याउटे’ आदर्श बोकेर हिँडिरहेका छन्, मोहन बैद्य किरण । तर, उनको पार्टीको नाम पनि माओवादी होइन । नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टीको नाममा विज्ञप्ति निकाल्ने र शुभकामना दिने भन्दा उनको अर्को काम छैन । जस्तो पूर्वराजा ज्ञानेन्द्रले बेला मौका धार्मिक दिवस र प्रजातन्त्र दिवसका दिन दिँदै आएका छन् ।

यसबीचमा नाममा कायाकल्प गरी पुच्छरबाट ‘माओवादी’ हटाए पनि नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले ‘माओवाद’को शैलीलाई अपनाउन छाडेको छैन । नेपाल वा भारतको माओवादको आदर्श एकै छन् र तिनको कर्मचाहीँ ‘हिंसात्मक द्वन्द्व’ हो । जसलाई उनकै भाषामा ‘जनयुुद्ध’, समानान्तर सरकारलाई ‘जनसरकार’ भनिँदै आएको छ ।

प्रहरीले विभिन्न ठाउँबाट सूचना संकलन गरी एक करोडभन्दा बढी रकम युद्धको तयारीका लागि हतियारसहित बन्दोबस्तीका सामान खरिद गरेको रिपोर्ट तयार पारेको छ

१० बर्षको हिंसात्मक आन्दोलनबाट स्थापित भएको तत्कालिन नेपाल कम्युनिस्ट पार्टी माओवादीको परिस्कृत र विसर्जित प्रारूपसँगै विभिन्न झुन्डमा बाँडिएका शक्ति फरक कित्तामा छन् ।

नेत्रबिक्रम चन्द त्यसमध्येका एउटा ‘तिखो चोइटो’ हुन् जसले नेपाली समाजको तल्लो तहलाई माओवादको शैलीमा घोच्न थालेका छन्, सुरक्षा संयन्त्रको उपल्लो तहसम्म यसको गोप्य सूचना र तयारीका योजनाबारे जानकारी भइसकेको छ । भारतको विस्तारवादी नीतिकाविरुद्ध आगो ओकलिरहेका विप्लव चुनावको पक्षमा कहिले रहेनन्, सत्ता कव्जाको नीति र नियतमा नै हिंसाको बाटोमा अघि बढीरहेका छन् । त्यसकारण राजनीतिक वृत्तमा उनी नेपालमा माओवादका अन्तिम ‘पुत्ला’ हुन् ।

विप्लवको रहस्य के हो ?

नेत्रविक्रम विप्लव महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टीले हिंसात्मक युद्धको तयारीमा तिव्रता दिएको छ । जन सेना गठनदेखि तालिमको तयारी गरिरहेका बेला सरकारले आफ्ना प्रभावशाली मानिएका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ गरि विभिन्न मुद्दा लगाउने कोशिश गरेपछि विप्लव समुह अझ सशक्त तयारीमा उत्रिएको छ ।

भारतसँग सीमा जोडिएका ग्रामिण बस्ती तथा हिमाली जिल्लादेखि विप्लवको हिंसात्मक आन्दोलन, छापामार युद्धको शंखघोष हुनसक्ने एक नेताले बताए । केही दिनअघि मात्र विभिन्न रूपमा हिंसात्मक आन्दोलनमा रहेका पार्टी, समुह र संगठनलाई सरकारले वार्तामा बोलाउने निर्णय गरेको थियो । त्यसका लागि गृह मन्त्रालयलाई मन्त्रिपरिषद्ले अख्तियारी समेत दिइसकेको छ । तर विप्लव समुह सरकारसँग वार्ता नगरी छापामार युद्धको तयारीमा जुटेको छ ।

कम्युनिस्ट र माओवादीका नाममा मोहन वैध किरण कमजोर भएको, पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग आत्मसमर्पण गरी सहिद, वेपत्ता र जनयुद्धमा मारिएका परिवारको सपनालाई तुहाएको भन्दै विप्लवले युद्धको तयारी थालेका हुन् । त्यसका लागि नेकपाले दुई रणनीति अपनाएको छ । ग्रामिण भेगमा छापामार युद्ध र सहरमा प्रविधिको युद्धलाई तिव्रता दिने उसको योजना छ ।

यो समुहले आफूविरुद्ध राज्यलाई सूचना दिने, असहयोग गर्ने र आन्दोलन तुहाउनका लागि भुमिका खेल्नेको सूची समेत तयार पारिरहेको छ । सूचीमा रहेका व्यक्ति, कम्पनी वा त्यसका सञ्चालकलाई कारबाहीसम्म गरिने चेतावनी दिइएको छ ।

नेपाल प्रहरीले पनि विप्लव समुहको युद्धको तयारी रहेको सूचना प्रहरी प्रधान कार्यालयसम्म पुराएको छ । गृह मन्त्रालयमा पनि यहि व्रिफिङ गरिएको छ । भूमिगतरुपमा सैन्य दस्ता निर्माण गरिरहेको दावी गर्दै प्रहरीले त्यसका लागि नेकपाले सैन्य दस्ता पोशाक, बन्दोबस्ती र प्राविधिक (हातहतियार र गोलाबारुद) का लागि दुई वर्षमा एक करोड रुपैयाँ खर्च गरेको रिपोर्ट तयार पारेको छ । विप्लव समुहको बहिखाता फेला पारेको प्रहरीले भुमिगत केन्द्रहरूमा छापा मारेको थियो । बहिखाता नेपाल प्रहरीको महाराजगञ्जस्थित विधिबिज्ञान प्रयोगशालामा परिक्षण भईरहेको छ ।

विप्लव समूहको आर्थिक वर्ष २०७३ देखि साउनसम्मको आम्दानी र खर्चको विवरण पत्ता लागेको प्रहरीको दाबी छ । खातामा यसअवधिमा सात करोड ७५ लाख रुपैयाँ चन्दा बापत उठाएको देखिएको छ । त्यसमध्ये एक करोड रुपैयाँ लडाकुको व्यवस्थापनमा खर्च भएको प्रहरीले पत्ता लगाएको छ । चन्दा दिने संस्था र व्यक्तिको नाम पनि सो खातामा प्रहरीले भेटेको छ । त्यसैका आधारमा अझ अनुसन्धान बलियो बनाउने तयारी गरिएको एक प्रहरी अधिकारीले बताए ।

गृहमन्त्री रामबहादुर थापा (बादल) को निर्देशनपछि हिंसात्मक गतिविधिमा संलग्न बिप्लब माओवादी लक्षित आक्रामक कारवाहीमा प्रहरी जुटेको छ । प्रहरीले विप्लवको समेत खोजी गरिरहेको छ । चुनावका बेलामा विभिन्न ठाउँमा विस्फोट गराउने, अन्य सामान्य समयमा पनि असामान्य हिसाबले हिंसा मच्चाउनेलगायतका मुद्दा विप्लव समुहलाई लगाइएको छ ।

एकातिर नेता कार्यकर्ता पक्राउ गरी अदालतलाई समेत चुनौति दिने सरकारले बोलाएको वार्तामा नजाने भन्दै विप्लव समूह युद्धको तयारीमा नै जुटेको छ

बिप्लब माओवादीले पछिल्लो समय भौतिक आक्रमण गरेका ठूला व्यवसायिक संस्था र घरानाले ठूलो रकम चन्दा बापत उपलब्ध गराएका छन् । सो रकमको व्यवस्थापनको जिम्मा प्रहरी हिरासतमा रहेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पाएका थिए ।

प्रहरीले प्रकाण्डसहित चारजना पोलिटब्युरो सदस्य, चारजना केन्द्रीय सदस्य र मेची तथा कोशी ब्युरो इन्चार्जलाई पक्राउ गरेर स्थानीय प्रहरीको जिम्मा लगाएको छ । पक्राउ पर्नेमा प्रकाण्डसहित पोलिटब्युरो सदस्यहरू कृष्ण धमला, मोहन कार्की, ओमप्रकाश पुन र पदम राई छन् । धमला र कार्कीलाई प्रदेश–३ प्रहरीको जिम्मा लगाईएको छ । राईलाई प्रदेश–१ प्रहरीको जिम्मा दिईएको छ भने पुन उपर अनुसन्धान भईरहेको छ ।

केन्द्रीय सदस्यहरू चन्द्रबहादुर खड्का, देवनारायण शाह, टेकबहादुर केसी र दिपेश राई पनि पक्राउ परेका छन् । विप्लब माओवादीका मेची ब्युरो कमाण्डर सुमन लिम्बु र कोशी व्युरो कमाण्डर किरण राईलाई पक्राउ गरेर सम्बन्धित क्षेत्रका प्रहरीको जिम्मा लगाईएको छ ।
आफ्ना विभिन्न ठाउँका नेता कार्यकर्ता पक्राउ गरी कारबाहीसहित मुद्दा लगाइएका कारण सरकारले बोलाएको वार्तामा नआउने विप्लव समुहले जनाइसकेको छ ।

पार्टीका प्रवक्तालाई सरकारले नियत राखेरै पक्राउ गरेको भन्दै वार्ता टोलीसँग छलफल गर्नुको कुनै औचित्य नभएको पार्टीले उल्लेख गरेको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत तराईमा रहेका सशस्त्र समूहसँग वार्ता गर्न सरकारले गत पाँचजना सदस्य रहेको उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो ।

तर नेता कार्यकर्ता पक्राउ गरिरहेको भन्दै चन्द नेतृत्वको दलका स्थायी कमिटीका सदस्य हेमन्तप्रकाश ओलीले वार्ता टोली गठनको औचित्यमै प्रश्न उठाए । सरकारले दमन गर्ने नीति लिएको र वार्ताको नाटक गरेको ओलीको ठम्याई छ । उच्च स्तरीय वार्ता टोलीले भने अर्को हप्ताबाट नै काम थाल्ने गरी तयारी गरिरहेको जनाएको छ ।

वार्ता टोलीका संयोजक सांसद सोमप्रसाद पाण्डे दुई तिहाइको सरकार स–साना कुरामा अल्झिन नपरोस् भनेर समस्या सुल्झाउन यो कदम उठाएको बताए ।

सक्किन्छन् कि सिध्याउँछन् ?

सरकार माओवादका नाममा कुनै पनि समुहले टाउको नउठाओस् भन्ने मनसायमा छ । त्यसैको परिणामका आधारमा विप्लवले तयार पारेको छापामार युद्धको ‘झिल्को’लाई गृहमन्त्री बादल निभाउन चहान्छन् । न्यायीक प्रणालीले उनलाई बारम्बार रोकीरहे पनि प्रहरीलाई प्रस्ट निर्देशन छ– जहाँ भेटियो त्यहि पक्राउ गर्ने ।

तर विप्लव समुहले हिंसात्मक आन्दोलनको विकल्प देखेको छैन । उसले छापामार युद्ध जारी राखेर यो राज्यसत्तालाई धरासायी पार्ने योजना बनाएको बताइन्छ । कतिपय राजनीतिक विश्लेषकहरूले भारतका औपचारिक र अनौपचारिक समुहले विप्लवको प्रत्यक्ष र परोक्ष सहयोग गरिरहेको पनि बताउँछन् । स्थायी सरकारको संयन्त्रलाई भंग गरी विभाजित राजनीति र समाजिक बनोटमा भारतीय प्रशासनको ‘रुल’ हुनुपर्छ भन्ने मान्यताको ‘प्यादा’ विप्लव बनिरहेको भन्ने बुझाई पनि छ ।

यो झिल्कोलाई प्रचण्डलगायतले निभाउन चहान्छन् । यिनको राजनीतिक र सैन्य योजनालाई निमिट्यान्न पार्ने राज्यको तयारी छ । तर, आन्दोलनको स्वरुप र तयारी तथा त्यसको ‘व्याकप’को शक्तिलाई नजरअन्दाज नगर्ने हो भने एउटा प्रश्नले धेरैलाई गाँजेको छ । यो राजनीतिक संस्कार सिध्याउँछन् वा आफैं सिध्दिन्छन् ?


(२०७५ भाद्र १७, आईतवार) १२:२९ मा प्रकाशित

Exchange Rate

Nepali Patro