पार्टी एकता नटुंगिँदै पूर्वएमालेभित्र फेरि विवाद चरमचुलीमा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ भाद्र १६, शनिबार) ०७:१६

पार्टी एकता नटुंगिँदै पूर्वएमालेभित्र फेरि विवाद चरमचुलीमा पुगेको छ । केही समय मत्थरजस्तै भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहबीचको फेरि विवाद सुरु भएको हो ।

पार्टी एकतको पूर्वसन्ध्यामा पहिलो पटक एउटै गाडीमा यात्रा गरेका ओली र नेपाल जिल्ला तहको एकतासम्म आईपुग्दा पुरानै ठाउँमा पुगेका छन् । नेपाल समूहका नेताहरुले सार्वजनिक रुपमै ओली समूहले कत्लेआम गरेको बताउन थालेका छन् । नेता नेपालले पनि एकतापछि पनि समानान्तर कमिटी चलाउने चेतावनी दिइसकेका छन् ।

खासगरी एकतामा पूर्व एमालेको भागमा परेका जिल्लाहरुमा ओली पक्षले एकलौटी र विना विधि–प्रक्रिया जुनियरलाई नेतृत्वमा सिफारिस गरेको नेपाल पक्षको आरोप छ । विशेष गरी प्रदेश नम्बर ५ मा नेपाल पक्षको बलियो पकड हो । अहिले त्यही ओली पक्षमा प्रहार गरेको बताइएको छ । प्रदेश नं ५ का १२ जिल्लामध्ये ७ जिल्ला एमाले र ५ जिल्ला तत्कालिन माओवादीले नेतृत्व पाउने सहमति गरिएको थियो । सबै जिल्लाहरुमा ओली पक्षका नेताहरु मात्रै सिफारिस भएपछि नेपाल समूहका नेताहरु आक्रोसित भएका छन् ।

यसअघि दाङ, बाँके, रुपन्देही र रोल्पामा नेपाल समूहका नेता पार्टी अध्यक्ष थिए तर अहिले एकजनालाई पनि नेतृत्वमा सिफारिस गरिएको छैन । उनीहरुले सिफारिस गरिएकै नेताहरुलाई नेतृत्व दिइए आफूहरूले समानान्तर जिल्ला कमिटी गठन गर्ने चेतावनी नेपाल पक्षले दिएको छ ।

प्रदेश ५ कमिटीमा पूर्वएमालेका तर्फबाट संयोजक शंकर पोखरेल र सह–संयोजक दलबहादुर राना दुवै ओली निकट हुन् । पोखरेलले दाङमा जिल्ला अध्यक्षका लागि नेपाल–समूहका पूर्व अध्यक्षलाई पन्छाएर आफ्नै बहिनी ज्वाँइलाई सिफारिस गरेको आरोप नेपाल पक्षले बताएको छ । पूर्वएमालेको भागमा परेका दाङमा शिव आचार्य, प्युठानमा तुलसीराम शर्मा, अर्घाखाँचीमा पिताम्बर भुषाल, कपिलवस्तुमा झवीलाल पोखरेल, रुपन्देहीमा गोपाल भट्टराई, गुल्मीमा बालसिंह कौच र पाल्पामा राधाकृष्ण कँडेल सिफारिस भएका छन्।

पार्टी एकतामा देखिएको विवादका कारण ओली र नेपालबीचको बालचाल औपचारिकतामा सिमित भएको छ । नेता नेपाल यसबारे छलफल नै नगरी अमेरिका उडेका छन् ।

स्रोतका अनुसार एमाले नेताहरु एकजुट हुने वचन दिएपछि ओली एकताको लागि तयार भएको तर अहिले पूर्व माओवादी केन्द्रसँग नजिकिँएपछि यो विवाद आएको हो । पूर्व माके अध्यक्ष पुष्पकमल दाहाल र नेपालबीच कुरा मिलेको थाहा पाएपछि ओली बिच्किएका हुन् । उनले सबै ठाउँमा आफ्नो पकड बनाउने योजनामा लागेको बताइन्छ ।


(२०७५ भाद्र १६, शनिबार) ०७:१६ मा प्रकाशित

Exchange Rate

Nepali Patro