नेपाली मिडियाहरु ब्यापारी र सत्ताका मालिकको चाकडीमा कलम चलाइरहेका छन् ।

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७५ असार ४, सोमबार) १३:१८

क्रान्तिकारी पत्रकार संगठन नेपालका निवर्तमान अध्यक्ष प्रभात चलाउनेले नेपाली मिडियाहरु ब्यापारी र सत्ताका मालिकको चाकडीमा कलम चलाइरहेको बताएका छन् ।

मोफसलका नागरिकहरुको बिषयमा कलम न्यून चल्ने गरेको बताउदै सिहदरबार वरीपरी रहेर कलम चलाउनेहरु नेपाली बिग मिडिया भएको बताएका छन् । रातो खबर साप्ताहिकका लागि पत्रिकाका निर्देशक गुणराज लोहनी संगको अन्तरवार्ता यस्तो छ;-

भर्खरै राष्ट्रिय सम्मेलन सक्नु भयो कस्तो रह्यो राष्ट्रिय सम्मेलन ?

सम्मेलन धेरै हिसावले महत्वपूर्ण र ऐतिहासिक बन्यो । संसदवादी नेताहरुको अहम र निरंकुश चरित्रमा देश अत्यासलाग्दो चपेटामा परिरहेका बेला हाम्रो संगठनको राष्ट्रिय सम्मेलन सकिएको छ । देशभरका करिव २ सय प्रतिनिधि पर्यवेक्षकहरुको उपस्थितिमा हामीले आजको विश्व मिडिया, नेपाली पत्रकारिता र विकसित प्रविधिले मानिसको जीवनमाथि पारेको प्रभावका बारेमा गहन छलफल गर्यौ । काठमाडौंको भृकुटी मण्डपमा रहेको राष्ट्रिय सभागृहमा प्रेससँग सम्बन्धित विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्मेलनको उद््घाटन गरी नगरकोटमा बन्दशत्र सम्पन्न गर्यौ । बन्दशत्रबाट हामीले उर्जाशील युवा पत्रकारहरुको टिमलाई नयाँ कार्यसमितिमा ल्याएका छौ ।

 

यो राष्ट्रिय सम्मेलनले लिएका मुख्यमुख्य निर्णयहरु के के हुन बताइदिनुस् त ?

यो सम्मेलनका तीन वटा मुख्य पाटो छन् । पहिलो नेपाली पत्रकारिता कस्तो छ, पत्रकारिताले कस्तो भूमिका निर्वाह गरिरहेको छ भन्ने बारे गहिरो समीक्षा गरेका छौ । दोस्रो, पत्रकारितालाई आफ्नो वास्तविक सैद्धान्तिक धर्ममा फर्काउन गहन बहस गर्ने, पत्रकारितालाई कमजोर जनताको आवाज बनाउने, समग्रमा आम नागरिकको जीवनबाट कटाएर सीमित हुनेखानेहरुको आवाज बन्न खोजेको मिडियाको भूमिकालाई बदलेर जनपक्षीय पत्रकारिताको विकास गर्ने नयाँ कोर्स सुरु गर्ने नीति तथा कार्यक्रम पारित गरेका छौ । तेस्रो, त्यसका लागि बहस गर्ने, संघर्ष गर्ने र स्वयम त्यस खालको पत्रकारिताको सुरुवात गर्ने उर्जाशील युवाहरुको टिम तयार गरेका छौ ।

सम्मेलनको तयारी अगाडि बढाउँदै गर्दा देशव्यापी रुपमा हामीले मानिसको आस्था, विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षा, प्रेस स्वतन्त्रताको जगेर्ना र जनपक्षीय पत्रकारिताको विकासका लागि केही सैद्धान्तिक र नीतिगत बहस गरेका छौ । त्यसलाई सम्मेलनबाट संश्लेषण गरेका छौ । जनपक्षीय पत्रकारिता विकासका लागि केही सैद्धान्तिक प्रस्तावना र केही कार्यक्रम पारित गरेका छौ ।

साझा संगठन भनेर चिनिएको पत्राकार महासंघले पछिल्लो क्रममा गरेका क्रियाकलापप्रति यहाँहरुको विमति रहेको देखियो । विरोध गर्नुको कारण के के हुन् ?

नेपाल पत्रकार महासंघ नेपालका सबै श्रमजीवी पत्रकारहरुको साझा संस्था हो । हामीले यसलाई यही रुपमा मात्र स्वीकार गरेका हौ । महासंघले गर्ने दुई वटा काम मुख्य छन्, पहिलो यसले काम गर्ने श्रमजीवी पत्रकारहरुको हक, हित, अधिकारको रक्षा, उनीहरुको क्षमता विकास र सुरक्षाका लागि काम गर्नुपर्छ । दोस्रो, यसले आम नागरिकले बोल्न पाउने अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्छ । यिनै दुईवटा कामका लागि महासंघ आफूलाई क्रियाशील बनाउँछ । यो अधिकारको वकालत गर्ने संस्था भएको हुँदा यसको अस्तित्व र गरिमालाई उच्च बनाउनुपर्छ भनेर हामी लागेका हौ ।

तर, विडम्वना के भयो भने अरु क्षेत्रमा जस्तै नेपाल पत्रकार महासंघमा पनि एउटा खालको सोच, एउटा खालको विचार र एक खालका संगठनहरुको कब्जा रहँदै आयो । उनीहरुले मनखुसी आफूलाई सजिलो हुने गरी, आफ्नो दवदवा कायम हुने गरी सदस्यता वितरण गर्ने, तिनै सदस्यहरु गनेर आफू ठूलो संगठन भएको दावी गर्ने अनि महासंघमा नेतृत्व चयनका बेला ती ठूला भनिनेहरु मिलेर सबै पद भागवण्डा लगाएर लिने गर्न थाले । अझ त महासंघको केन्द्रीय समिति अप्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुने हुनाले यहाँ त संसदीय खेलजस्तै हुन थाल्यो । महासंघको चुनाव निकै महंगो हुन थाल्यो । यहाँ त खास श्रम गर्ने श्रमजीवीले चुनाव जित्नै नसक्ने, जसले ठूलो खर्च गर्न सक्छ, जसले आआफ्ना पार्टीमा अनेक सेटिङ मिलाएर टिकट पट्काउन सक्छ उसैले मात्र उम्मेदवार बन्ने हुन थाल्यो । आम सदस्यले न मतदान गर्न पाउने न त उम्मेदवार नै बन्न पाउने अवस्था हुन थाल्यो ।

फेरि त्यसरी निर्वाचित हुनेहरुले कहिले पनि खास श्रमजीवीको आवाजको प्रतिनिधित्व नगर्ने, सरकारी आवाज बोक्ने, सरकारी नीतिको वकालत गर्ने काम भयो । अहिले महासंघ पहिलो पटक प्रादेशिक संरचनामा गयो । महासंघका १० वटा प्रदेशमा निर्वाचनको मिति तोकियो । केन्द्रीय कार्यसमितिले फागुन २२ गते जनकपुरमा बैठक बसेर बैशाख २२ गते मतदान गर्ने निर्णय गर्यो । अझ त हामीले यसअघि गर्दै नगरेको अभ्यासमा कार्यसमितिले मनोनयनको मिति बैशाख ७ गते राख्यो । जुन कुरा आम सदस्यहरुले थाहा पाउन नै सकेनन् । त्यसैगरी विधान विपरित कार्यसमितिबाट यो वर्ष नविकरण गरेका सदस्यहरुले मात्र मतदान गर्न पाउने र नविकरण नगर्नेको सदस्यता खारेज हुनेसम्मका परिपत्र जारी गरिए । यसरी सदस्यहरुको मतदान गर्न पाउने अधिकार र उम्मेदवार बन्न पाउने अधिकार छिनाल्न खोजियो । यसले त जिल्लाबाट प्रदेश सभाका लागि पार्षद चुनिएर आइसकेको सदस्य पनि अब वैध नहुने भयो ।

जिल्ला र केन्द्रको निर्वाचन प्रक्रियामा सहभागी भइसकेको सदस्य प्रदेश निर्वाचनमा आएर वञ्चित हुने अवस्था आयो । त्यो प्रक्रियामाथि हामीले गम्भीर प्रश्न उठायौ । त्यसैगरी आफूलाई संख्या गनेर ठूला भन्ने तीन संगठनले १० वटै प्रदेशका २१ सदस्यीय कार्यसमितिको पूरै भागवण्डा गरेर महासंघमा यसअघि अप्रत्यक्ष रुपमा लाग्दै आएको सिन्डिकेट खुलेआम खडा गरे । अधिकारको वकालत गर्ने महासंघलाई नेपालको जुन खालको विविधता छ सो अनुरुप सम्पूर्ण रुपमा समावेशी बनाउनुपर्छ भन्दै हामीले यसका सबै प्रक्रिया र यसले गरिरहेको कामका बारेमा प्रश्न उठाएर तालाबन्दी नै गर्नुपर्ने अवस्था आयो । हाम्रो यो संघर्ष अझै जारी छ ।

नेपालको पत्रकारिता कस्तो छ ?

पछिल्लो समय मिडियामाथि व्यापार र संसदवादी राजनीतिक स्वार्थ हावी भएको छ । लगानीको चर्को प्रभाव र दवावमा रहेको मिडिया आम नागरिकको आवाज नभई केही सीमित व्यापारी र राजनीतिक स्वार्थबाट प्रेरित भइ उनीहरुका स्वार्थ बोक्न थालेको छ । जसले हुने नहुने अनेक तरहका फन्डाहरु ल्याउछन, जसले बोल्न सक्छन उनीहरुलाई नै मिडियाले बोक्न थालेको छ । यसले नेपाली मिडियाले खेलिरहेको भूमिका माथि धेरै प्रश्न उठेका छन् । त्यसैगरी नेपालमा संसदीय राजनीतिक दल र नेताहरुले आफू सरकारमा जानका लागि मानव अधिकार, प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतालाई बेस्सरी उचाल्ने तर सरकारमा गइसकेपछि भने विभिन्न नीति, नियम र निर्देशिकाहरु अध्यारो कोठामा तयार गरेर प्रेसलाई नियन्त्रण गर्ने प्रयत्न पटक पटक गर्ने गरेका छन् । यसका विरुद्ध संघर्ष गर्ने कार्यक्रम पनि हामीले सम्मेलनबाट तयार गरेका छौ । मिडियाको वास्तविक सैद्धान्तिक धर्म भनेको कमजोर जनताको आवाजका रुपमा काम गर्ने हो ।

पत्रकारिताले गर्ने खास भूमिका भनेकै सामाजिक परिवर्तनका लागि हो । वुर्जुवा राज्य जहिले पनि हुनेखाने, सक्ने बलियाहरुको हुन्छ । त्यस्तो अवस्थामा मिडियाले जनआवाजको प्रतिनिधित्व गर्दछ । यदि पत्रकारिताले कमजोर, सीमान्तकृत, उत्पीडित, पिछडिएका जनताको आवाज बोक्दैन, तब पत्रकारिता बलिया हुने खाने, शासकीय सोच र विचारको सहयोगी बन्न जान्छ । त्यो मिडिया वास्तविक मिडिया नै रहदैन । त्यस्तो मिडिया शक्तिको पुजारी बन्छ । अहिले नेपालका ठूला मिडिया एकातिर बहुराष्ट्रिय कम्पनीका प्रवक्ता जस्तो भएर काम गरिरहेका छन् । ती कम्पनीका विज्ञापन गर्ने र उनीहरुका नयाँ नयाँ विजनेस स्किम, तिनका नाफा घाटाका कथा लेख्न नेपाली मिडिया व्यस्त छ ।

त्यसैगरी देशभित्रका केही सीमित व्यापारिक घरानाका कथा लेख्ने र तिनकै वरिपरि आफ्नो पत्रकारिता सीमित राख्ने प्रवृति पनि हावी छ । त्यसैगरी सत्तासिन दल, तिनका नेता, मन्त्रीका पछि लाग्ने मिडिया पनि छन् । तिनका सेड्यूल चेक गर्ने र तिनकै पछिपछि एउटा रिपोर्टर र क्यामरा पर्सन खटाउने र तिनका गतिविधिलाई मात्र समाचार बनाएर बस्ने मिडियाहरु छन् । यो आर्थिक र राजनीतिक शक्तिको सेवा गरेर आफ्नो व्यापारिक स्वार्थ पूरा गर्ने सोच भएका मिडिया प्रवृति हो । यसले पत्रकारिताको वास्तविक सैद्धान्तिक धर्म, मूल्य र मान्यतालाई ध्वस्त पारेको छ ।

नेपालका बिगहाउस भनेर चिनिएका कर्पोरेट मिडियाका बारेमा यहाँका धारणा ?

नेपालमा केही थोरै कर्पोरेट मिडिया हाउसहरु छन् । उनीहरुका बारेमा कुरा गर्दा चार वटा कुरा बढी उल्लेखनीय छन् । पहिलो यी बिग मिडिया हाउस भित्रको लगानी, दोस्रो, यी मिडियाले निर्वाह गरिरहेको भूमिका, तेस्रो, यहाँभित्रको श्रम अभ्यास र चौथो यी मिडियामा जनताको पहुँच । पहिलो कुरा गर्दा आफूलाई बिग भन्ने मिडियामा भएको लगानी पारदर्शी छैन । नेपालमा कालो धन सेतो बनाउन, सामाजिक राजनीतिक परिवर्तनका एजेण्डाहरुलाई बदनाम गर्ने, विश्रृङखलित बनाउने र कमजोर पार्ने, देशभित्र क्रमशः पश्चिमा राजनैतिक एजेण्डा, संस्कार र शैली छिराउने गरी लगानी भित्रिने गरेको छ ।

बिग मिडियामा केही ठूला प्रोजेक्ट नै सञ्चालन गरिएका छन् । अथवा बिग मिडियाले उठान गरेका अधिकांश एजेन्डाहरुमाथि पनि लगानी चर्को छ । प्रथम पृष्ठका समाचार, रिपोर्ट र विचार अधिकांश प्रायोजित हुन्छन् । आजको ब्यानर न्यूज कति लाखको ? भनेर मालिकहरु आपसमा एकले अर्कोलाई प्रश्न नै गर्ने गरेको भेटिन्छ । आजसम्म मिडियामा अप्रत्यक्ष रुपमा ठूलो विदेशी लगानी छ ।

पछिल्लो नयाँ सञ्चार नीतिले विदेशी लगानीलाई समेत खुल्ला गरिसकेको छ । फलस्वरुप बिग मिडियाले उठान गर्ने एजेन्डामा कमजोर जनता पर्दै पर्दैनन । तिनले निर्वाह गरिरहेको भूमिकालाई गहिरो गरी विश्लेषण गर्ने हो भने विचित्र अवस्था देखा पर्छ । उदाहरणका लागि ठूला भनिने दैनिक पत्रिकाका एक वर्षको फाइल पल्टाएर मात्र हेर्नुभयो भने त्यो सबै प्रष्ट हुन्छ । एक वर्षमा पहिलो पृष्ठमा छापिएका ब्यानर न्यूज, एक वर्षमा प्रथम पृष्ठमा छापिएका समाचार, एक वर्षका सम्पादकीय, एक वर्षमा विचार पृष्ठमा छापिएका लेख रचना अनि एक वर्षमा छापिएका विज्ञापन हेर्ने हो भने सबै कुरा छर्लङ्ग हुन्छ । यसमा पूरै व्यापार हावी छ, आर्थिक र राजनीतिक शक्तिको स्वार्थ हावी छ ।

ठूला मिडियाले मोफसलका समाचारलाई प्राथमिकता नदिएको कुरा त्यहाँ काम गर्नेहरुकै ठूलो गुनासो छ । मोफसलका कुनै पनि विषयवस्तु, जसले कर्पोरेट मिडिया सञ्चालकको नाफा बढाउँदैनन र राजनैतिक र अन्य सम्बन्धको स्वार्थ पूरा गर्दैनन त्यस्ता कन्टेन्टले स्थान पाउँदै पाउँदैनन । यी मिडियाले अर्कै ग्राउन्ड तयार पारिरहेका छन् । अर्को यी मिडियामा नागरिकको पहुँच नै कमजोर छ । अहिले पनि ठूला मिडियाको सर्कुलेसन राजधानी भित्र, सदरमुकाम र केही सहर बजारमा मात्र सीमित छ, ती सदरमुकाममा पनि धेरैले होइन, केही रुची राख्नेहरुले मात्र पत्रपत्रिका र टेलिभिजन हेर्ने हो । बाँकी ठूलो संख्यामा जनसंख्या मिडियाको पहुँचबाट बाहिर छ ।

सेयर बजार उकालो लाग्नु वा ओरालो लाग्ने कुरा, कुनै बैकको नाफा या घाटा, वा कुनै बहुराष्ट्रिय कम्पनीको प्रोडक्ट गाउँका किसान वा नागरिकलाई कुनै अर्थ हुन्न, त्यस्तै दैनिक रुप फेरिरहने र प्रत्येक दिन आफ्नै कुरामा विरोधाभासपूर्ण तर्क गर्ने नेताको बोलीमाथि बनाइएका समाचारको कुनै अर्थ हुन्न । तर, त्यस्तै समाचार थोपरिरहेका छन् आजका बिग मिडिया । त्यसैगरी कर्पोरेट मिडिया हाउसभित्रको श्रम अभ्यास निकै कमजोर छ । भन्दा पत्रकारिता बौद्धिक क्षेत्र हो, जनमत निर्माण गर्ने, जनचेतना फैलाउने, नागरिकलाई सुसूचित गर्ने क्षेत्र हो भन्ने तर त्यस्तो भूमिका निर्वाह गर्ने पत्रकार भने तलब नै नपाएर महिनौ भोकभोकै बस्नुपर्ने अवस्था छ । श्रमको मुल्य निकै कमजोर बनाइएको छ ।

त्यही कमजोरी पारिश्रमिकमा काम गर्न तयार हुन बाध्य पारिएको छ र त्यही असन्तुष्ट जनशक्तिले मिडिया धानिरहेका छन् । जबकि सञ्चालकहरु भने घरका तला थपिरहेका छन्, गाडी फेरिरहेका छन् र अन्य विजनेसमा निरन्तर हात हाल्दै गइरहेका छन् । ठूला ठूला कम्पनीमा शेयर बढाइरहेकै छन् । बाहिर आएको तथ्यांक मात्र हेर्ने हो भने नेपालको विज्ञापन बजारको वार्षिक वजेट पाँच अर्बको छ । त्यसमध्ये करिव ७० प्रतिशत वजेट यिनै ठूला मिडियाले लिने गरेका छन् ।

नेपालको पत्रकारिता मुख्यरुपमा कर्पोरेट मिडियामा बढि नै म्यानुफ्याक्चरिङ कन्सेन्टको गन्ध आइरहेको छ । यसका बारेमा केही बताइदिनु हुन्छ कि ?

यो निकै गम्भीर विषय हो । हामीले बाहिरबाट बुझ्दा मिडिया हाउसमा सम्पादक बलियो मान्छौ । सैद्धान्तिक रुपमा भन्दा मिडियाका कन्टेन्टमाथिको अधिकार पाठक, दर्शक वा स्रोता अर्थात नागरिकमा हुन्छ । मिडिया हाउसभित्रको सम्पादक नागरिकको प्रतिनिधिका रुपमा रहनुपर्छ । तर, आजको कर्पोरेट मिडियामा सिद्धान्ततः हेरिने, मानिने वा खोजिने त्यो वास्तविक सम्पादक छैन ।

सम्पादकीय स्वतन्त्रताको उच्च अभ्यास गर्ने सम्पादक हराएको छ । कसैले त्यो सम्पादकको मृत्युको समेत घोषणा गरेका छन् । आज मालिक र मालिकको लगानीबाट थिचिएको, मालिक र मालिकका सम्बन्धको स्वार्थसँग सम्झौता गरेको, शक्तिसँग साँठगाँठ गर्नसक्ने सम्पादक न्यूजरुमभित्र बाँकी छ । आजको कर्पोरेट मिडिया हाउसभित्रका एजेन्डाहरु सम्पादकले होइन, अरु कोहीले तय गर्दछन ।

त्यहाँ प्रायोजित कन्टेन्टका लागि योजना बुनिन्छन् । एउटा न्यूज रुमभित्र वा एउटा मिडिया हाउसभित्र मात्र होइन, आज ठूला मिडिया मालिकहरुको संस्था बनेको छ र उनीहरुले संयुक्त रुपमा लगानी गर्ने इन्भेस्टमेन्ट कम्पनी तयार गरेका छन् । त्यो कम्पनीलाई आज अरु केही कर्पोरेट विजनेस हाउसहरुले मिडिया म्यानेजमेन्ट अन्तर्गत गोल्डेन शेयर दिने गरेका छन् । यी बिग मिडिया आज योजनाबद्ध रुपमा एउटा सोच, एउटा विचार, एउटा संस्कारको पक्षपोषण गर्ने, त्यसका लागि मलजल गर्ने, त्यसको कडा सुरक्षा गर्ने कार्यमै उत्रन लागेका छन् ।

मिडियामा राजनीतिक दलका एजेन्डाहरु सेटिङ हुने पनि गरेका छन् । सरकार ढाल्ने र बनाउनेमा पनि कर्पोरेट मिडिया लाग्ने गरेका छन् । त्यसैगरी कर्पोरेट मिडियाका मालिकहरु बाह्य शक्तिकेन्द्रका एजेन्टसम्म बनेका छन् । मैले अघि नै भने कि मिडिया राजनीतिक सत्ताको स्वार्थ, आर्थिक स्वार्थ र लगानीको स्वार्थ गरी तीन किसिमबाट प्रभावित छ । राजनीतिक सत्ता राज्यशक्ति र स्रोतको दुरुपयोग गरेर मिडियामा आफ्नो प्रभाव बढाइरहेको छ भने त्यो भन्दा खतरानाक ढंगले आर्थिक सत्ता विज्ञापन र लगानीको कुँजी बनेर आएको छ । आज उत्पादनको मात्र होइन, आफ्नो ब्रान्ड, नीति र विचारको समेतलाई गजबको मसला बनाएर विज्ञापन गर्ने कर्पोरेट विज्ञापन संस्कृति पनि बढिरहेको छ । अन्तराष्ट्रिय विज्ञापन एजेन्सीहरुको दबदवा बढेसँगै मिडियामाथिको नियन्त्रण झन बढेको छ । मिडिया हाउसमा बन्ने समाचार सामाग्रीको साँचो नजानिदो गरेर अर्कैको हातमा पुगेको छ । मिडिया कन्टेन्ट आज सम्पादकले होइन, लगानी र विज्ञापनले निर्माण गर्ने प्रवृति बढिरहेको छ ।

नेपालको श्रमजीवि पत्रकारहरुका मागहरु पूरा नभएको बताइराखिएको छ । खासमा उनीहरुका समस्या के के हुन् र ? सम्बन्धित पक्षले कस्तो व्यावहार गरिराखेको छ ?

मिडिया क्षेत्रको श्रम अभ्यास आज निकै कमजोर छ । सरकारले २०५१ सालमा श्रमजीवी पत्रकारहरुको हितकै लागि भनेर ल्याएको श्रमजीवी पत्रकार ऐन, २०५१ आज २३ वर्ष बितिसक्दा पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । यसलाई सुरुदेखि नै विस्थापित गर्न र खारेज गर्न मिडिया मालिकहरुले लाग्दै आएका छन् । यसैक्रममा अहिले मिडिया छाता कानुन ल्याउने नाममा श्रमजीवी पत्रकार ऐनलाई खारेज गर्ने विधेयकको खेस्रा नै तयार भइसकेको छ । यसप्रति हामीहरुले खबरदारी गर्दै आएका छौ ।

आज पनि नेपालका श्रमजीवी पत्रकारहरु कडा मेहनत गर्ने तर ९ महिनासम्म तलब नपाउने अवस्थामा छन् । मालिकहरुले कृत्रिम समस्या देखाएर आफ्नो कालो धन जोगाउने प्रयत्न गर्दै आएका छन् । सस्तो श्रम मुल्य र कमजोर श्रम अभ्यासका कारण मिडिया गुणात्मक बन्न सकेको छैन । त्यसैगरी अहिले पनि मिडिया सञ्चालकले पत्रकारहरुलाई नियुक्ति पत्र दिएर काम लगाउने गरेका छैनन् । विदा, विमा र तालिम लगायतका अन्य सुविधा मिडिया हाउसले दिएको छैन ।

त्यसैगरी पत्रकारहरु पेशागत र भौतिक असुरक्षामा छन् । जसका कारण मिडिया हाउसभित्रको सेल्फ सेन्सरसिफ बढेको छ । श्रमजीवी पत्रकार ऐन सरकारी मिडियामा नै लागु भएको छैन । सरकार आफैले जारी गरेको ऐन, आफै लागु गर्दैन भने अरु कहाँ लागुहुन्छ । उल्टो राज्य मिडियाप्रति अनुदार बन्ने गरेको छ । पत्रकारहरुमाथिको आक्रमणको तथ्यांक हेर्ने हो भने सुरक्षाकर्मीहरुबाटै बढी पत्रकार प्रताडित बन्नु परेको छ । अहिलेको नयाँ संविधान नै प्रेसप्रति अनुदार छ । त्यसैगरी बेलाबेलामा जारी गरिने सञ्चार नीति, निर्देशिका तथा कानुनहरु पनि निकै नियन्त्रणमुखी हुने गरेका छन् । जोखिम मोलेर पेशामा लाग्ने तर त्यसको उचित पारिश्रमिक नहुँदा क्षमतावान पत्रकारहरु पेशाबाट नै विस्थापित हुनुपरेको छ । त्यसैले हामीले मिडियाको श्रम अभ्यासलाई बैंकभन्दा पनि माथि पु¥याउनुपर्छ भनेर बहस छेडेका छौ ।

क्रान्तिकारी पत्रकार संगठन, नेपालको गौरवपूर्ण इतिहास छ । नेपालको राजनैतिक आन्दोलनमा त्यसमा पनि जनयुद्धमा यसको विशिष्ट भूमिका रहेको छ । अबका दिनहरुमा क्रान्तिकारी पत्रकारहरुको कस्तो भूमिका रहला ?

क्रान्तिकारी पत्रकारहरु संगठित रुपमा देखा परेको भनेको २०६० सालमा हो । सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरुलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर ०६१ माघ १५ गते क्रान्तिकारी पत्रकार संघ, नेपाल स्थापना भएको हो । स्थापनापछि संघले जनयुद्धकै एक सशक्त मोर्चाको भूमिका निर्वाह गर्यो ।

एउटा हातमा कलम र अर्को हातमा बन्दुक बोकेर युद्धका मैदानमा लड्दै जनताको आन्दोलन विरुद्ध तत्कालीन प्रतिक्रियावादी सरकारले फैलाएका अफवाहहरुलाई चिर्दै जनतालाई सही सूचना दिन संघ सफल रह्यो । देशव्यापी रुपमा युद्ध संवाददाताहरु बनाएर क्रान्तिकारी पत्रकार संघले जनपक्षीय पत्रकारितामा ठूलो टेवा पुग्यो । त्यो क्रममा युद्ध पत्रकारहरुलाई तालिम, परिचालन र संगठित गर्नुका अलावा विविध क्रान्तिकारी प्रचार साधनहरुको स्थापना र विकासका कारण छोटो समयमै क्रान्तिकारी पत्रकार संघ, नेपालले आफ्नो पहिचान र औचित्य स्थापित गर्न सफल रह्यो । २०६३ फागुन २९ र ३० गते क्रान्तिकारी पत्रकार संघ, नेपालको काठमाडौंमा प्रथम राष्ट्रि«य सम्मेलन सम्पन्न भएको थियो । त्यसपछि हामीले २०७२ असोज ९ र १० गते मकवानपुरको हेटौडामा हामीले हाम्रो संगठनको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्यौ र अहिले हामीले बैशाख १५, १६ र १७ गते संगठनको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरेका छौ ।

पत्रकारिता नै सामाजिक परिवर्तनको एउटा महान अभियान हो । हामी जनपक्षीय पत्रकारहरु सधै सामाजिक परिवर्तनका लागि हुने हरेक आन्दोलन र अभियानलाई सहयोग गर्दछौ । बुर्जुवाहरु क्रान्तिकारी आन्दोलन, नेतृत्व र एजेण्डाका विरुद्ध दुईवटा तरिका अपनाउँछन् । पहिलो उनीहरु दमन गरेर क्रान्तिकारी आन्दोलन, नेतृत्व र एजेण्डालाई सिध्याउन खोज्छन । दोस्रो, आन्दोलन, नेतृत्व र एजेण्डालाई बदनाम बनाउन भरमग्दुर प्रयत्न गर्छन । अहिले त्यही गरिएको छ । पुँजीवादी बुर्जुवाहरु जहिले पनि भ्रमको खेती गर्दछन् । जनतालाई अनेक आश्वासन बाँड्ने र भ्रममा हालेर आफ्नो सत्ता लम्ब्याउने प्रयत्न गर्दछन् । त्यसका लागि उनीहरुको सबैभन्दा बलियो हतियार भनेकै मिडिया हो ।

मिडिया हाउसहरु खडा गर्ने, यहाँ लगानी गर्ने र मिडियालाई प्रयोग गरेर जनतामा आफ्नो विचार, राजनीति तथा अन्य स्वार्थहरु लाद्दै जान्छन् । त्यसका विरुद्ध हामी त्यो भ्रमको पर्दालाई पूरै च्यातचुत पारेर फाल्ने गर्दछौ । हामी भ्रमपूर्ण पर्दा च्यातेर जनतालाई वास्तविक संसार देखाउन प्रयत्न गर्छौ । यो अधिकारको लडाइ हो । हामी अधिकारको लडाइँलाई कुनै हालतमा पनि कमजोर हुन दिन्नौ । हाम्रो यो लडाइँ जनतालाई बलियो बनाउने लडाइ हो । प्रेस बलियो भयो र प्रेसले वास्तविक भूमिका निर्वाह गर्यो भने मात्र नागरिक बलिया हुन्छन । नागरिक बलिया भए भने मात्र देश बलियो हुन्छ । जनता कमजोर भए भने शासकहरुको मनपरीतन्त्र फस्टाउँछ । राज्य जिम्मेवार बन्दैन ।

केही सीमित मानिसहरुको अराजकता चल्छ र आम जनता सधै अध्यारो संसारमा दवाइन्छन् । हामी त्यसबाट मुक्ति चाहन्छौ । प्रेस स्वतन्त्रता भनेको अन्ततः अभिव्यक्ति स्वतन्त्रता नै हो । त्यसैले समग्रमा हामी नागरिकले आफ्नो मनमा लागेको कुरा भन्न पाउने, विरोध गर्न पाउने, निश्चित आस्था र विचार अंगाल्न पाउने आधारभूत अधिकारका लागि लडिरहेका छौ र लड्छौं । हामी मिडियालाई बुर्जुवा सत्ताको स्वार्थ सिद्धि गर्ने, पुँजीपतिहरुको नाफा आर्जन गर्ने साधनमा सीमित गर्न खोज्ने प्रवृतिका विरुद्ध पनि लड्छौ र मिडियालाई जनताको पक्षमा लगाउछौ ।


(२०७५ असार ४, सोमबार) १३:१८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जयबाबा ईट्टामा बिहानै गोली चल्यो, मेनेजर हुसेनको मृत्यु

सुनसरी जिल्लाको सोनापुरस्थित जयबाबा ईट्टामा आज बिहानै गोली चलेको छ । गोली प्रहारबाट उद्याेगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनको मृत्यु भएको छ । दुहबी - ९ छाताबेलीमा रहेको जय बाबा इँटा उघोगमा ड्युटीमा.....

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका.....

काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? : झलनाथ खनाल

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण.....

Exchange Rate

Nepali Patro