देशभर जनसत्ता सक्रिय भएको छ : सन्तोष बुढामगर

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७५ असार २, शनिबार) ०९:४९

यहाँले नेपालको अहिलेको परिस्थितिलाई कसरी हेर्नु भएको छ ?

प्रश्नका लागि धन्यवाद । नेपालको तात्कालिक परिस्थिति एउटा महान् अवसर र चुनौतीबीच महान् सम्भावनाको ढोका उघार्दै अगाडि बढेको छ । क्रान्ति र प्रतिक्रान्ति, दलाली र आत्मसमर्पण, दमन र प्रतिरोध, राजनीतिक ध्रुवीकरण र क्रान्तिकारी रूपान्तरण नै अहिलेको राजनीतिक यथार्थ हो । बाह्य शक्तिकेन्द्रहरूको लगातार हस्तक्षेप र सत्तासीन दलालहरूको लगातार आत्मसमर्पण र देशभक्त क्रान्तिकारीहरूको विरोध र प्रतिरोधले देश क्रान्तिकारी परिवर्तन र रूपान्तरणको दिशातिर हुइँकिरहेको छ । दलाली, आत्मसमर्पण, राष्ट्रघात, जनघात, मूल्यवृद्धि–महँगी, भ्रष्टाचार, तस्करी, दमन, हत्या, लूट, सामाजिक हिंसा, चोरी, डकैती आदि यो व्यवस्थाको अनिवार्य विशेषता बनेको छ । यसको प्रतिरोधमा हुने, विद्रोह, आन्दोलन, क्रान्ति यसको अनिवार्य बाटो बनेको छ । परिस्थितिले यही वरिपरि लुकामारी खेलिरहेको छ ।

अब साम्राज्यवादीहरूको एक मात्र मिसन नेपाललाई आफ्नो कठपुतली र क्रीडास्थल बनाउनेमा छ र त्यो हाम्रो पार्टी र देशभक्ति नेपाली जनताको कारणले सम्भव छैन । यसको अनिवार्य परिणति हुन्छ– ‘दमन र प्रतिरोध ।’ जस बेला उनीहरू दमनको मात्रा बढाएर सामाजिक फासिवादसम्म पुग्नेछन्, जनताद्वारा त्यसको शक्तिशाली प्रतिरोध हुनेछ । यसले क्रान्तिलाई जन्म दिनेछ । यसले उनीहरूको अन्तिम अन्त्येष्टि गर्नेछ । परिस्थितिले यही सङ्केत गरिरहेको छ ।

भर्खरै मात्र एमाले र माओवादी केन्द्रका बीचमा एकता भएको छ । यो परिघटनाप्रति यहाँहरूको धारणा के हो ?

राजनीतिक वृत्तमा यो चलिरहने प्रक्रिया हो र यो हुनु अनिवार्य थियो, भयो । ठिकै बेलामा गरे, राम्रै भयो । राजनीतिमा क्रान्तिकारीहरू क्रान्तिकारीतिर र संशोधनवादी–अवसरवादीहरू संशोधनवादीतर ध्रुवीकरण हुने प्रक्रिया चलिरहन्छ । फेरि प्रचण्ड अहिले मात्र बिग्रेर त्यहाँ पुगेको भन्ने कुरा पनि सत्य होइन । यो त लामो प्रक्रियामा क्रमिक विकासबाट गुणमा फड्को मार्दा देखिएको परिणाम मात्र हो । प्रचण्डले त १३ वर्षअगाडि नै दोस्रो खारा कारबाहीको असफलतालगत्तै जनयुद्धलाई साल–नालसहित दिल्लीमा लगेर साम्राज्यवादलाई बुझाइसकेको थियो । त्यसबापत उसले पाएको बक्सिस हो यो एकता । यति मात्र हो ऊ साङ्गठनिक रूपले घोषित रूपमा एमाले हुन बाँकी थियो । त्यो कर्तव्य पूरा ग¥यो, बस् यति हो । सैद्धान्तिक रूपमा खुला रूपमा चुनबाङ बैठकपछि खुला रूपमा एमालेको बाटो समातेकोे प्रचण्डले २०५७ मा सम्पन्न पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनको ‘गोलमेच सम्मेलन र संविधानसभा’ को राजनीतिक कार्यनीतिक शृङ्खला र २०६१ सालमा सम्पन्न रोल्पा दुम्ला बैठकबाट पास गरेको ‘२१ औँ शताब्दीको जनवाद’ को सत्तासम्बन्धी अवधारणाले प्रचण्ड उतिबेलै एमालेको बाटोमा चिप्लिसकेको स्पष्ट हुन्छ । हामीले अलि पछि मात्र बुझ्यौँ । जव हामीले बुझ्यौँ पार्टीभित्र सङ्घर्ष ग¥यौँ तर कुनै हालतमा नसुध्रिने देखेपछि र साम्राज्यवादसामु लम्पसार परेको देखेपछि हामीले सचेततापूर्वक विद्रोह गरेका हौँ । यो घटना त सबैले देख्नुभएकै छ, बरु हाम्रो त्यसबेला कसैले नपत्याएको कुरा अहिले साबित गरेर पुष्टि गरिदएकोमा प्रचण्डलाई ढिलै भए पनि धन्यवाद छ ।

एमाले–माके एकताले थोरै कम्युनिस्ट भ्रम उत्पन्न गरे पनि त्यो धेरै दिन टिक्नेछैन । साम्राज्यवादीहरूको जनयुद्ध सिध्याउने गुरुयोजनाअन्तर्गत यो जेठ ३ गते ‘माओवादी अस्तु’ सेलाएर उनीहरूले अन्तिम कर्मकाण्डी क्रिया सम्पन्न गरेका छन् । अहिले उनीहरूले खुसीयालीमा भोज मनाउँदै हिँडेका छन् । यो घटनाक्रमले हिजोका एमाले–माकेभित्रका अझ हिजो क्रान्तिको झन्डा बोकेर १० वर्ष लडेका माओवादी केन्द्रभित्रका इमानदार क्रान्तिकारीहरूको अपमान गरेको छ । उहाँहरूले पक्कै त्यो बाटो लिनेछैनन् केही लोभीपापीहरूबाहेक । यसले क्रान्तिकारी ध्रुवीकरणको बाटोलाई अझ फराकिलो बनाइदिएको छ ।

उनीहरूले आफूलाई सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी भनिराखेका छन् । अब समाजवाद यहीँबाट लागू गर्ने भनिराखेका छन् । तर यहाँहरूले वैज्ञानिक समाजवादका कुरा गर्नुभएको छ । उनीहरूले भनेको समाजवाद र यहाँहरूले भनेको वैज्ञानिक समाजवादका बीचमा केकस्ता भिन्नता रहेका छन् ?

यो सक्कली र नक्कलीेको कुरा हो । नक्कली जति ठूलो र धेरै भए पनि त्यो नक्कली नै हो । जस्तो कि नक्कली भारु नोट । भारु नक्कली नोट जति ठूलो र धेरै देखिए पनि त्यो नक्कली न हो, त्यसको के काम लाग्यो र ? नचिन्दासम्म केही दिन भ्रम पार्ने कुरा मात्र न हो । त्यसैले यो ठूलो पार्टी नक्कली भारु नोटजस्तै हो । संसदीय व्यवस्थामा पैसा र शक्ति (साम, दाम, दण्ड, भेद) को बलमा उनीहरूको दलको आकार ठूलोसानो हुने गर्दछ । एउटा चुनावमा एउटा दल अर्को चुनावमा अर्को दल ठूलो र सानो हुने गरिरहन्छन् । कसले सबभन्दा बढी साम, दाम, दण्ड र भेदको नीति प्रयोग गर्न सक्यो, सबभन्दा बढी जसले साम्राज्यवादलाई रिझाउन सक्यो, सबभन्दा बढी जसले दलाली, भ्रष्टाचार, राष्ट्रघात र जनघात गर्न सक्यो उही तुलनात्मक रूपले ठूलो दल देखिने गर्दछन् । यो नक्कली फर्जीमतका आधारमा हुने कुरा हो ।

दोस्रो, नक्कली कम्युनिस्टहरू मानवस्वरूपका रोबोट सोफियाजस्ता कसैको रिमोट कन्ट्रोलबाट चल्नेहरूको कथित समाजवाद यान्त्रिक र काल्पनिक समाजवाद मात्र हो । यसमा कुनै भ्रममा पर्न जरुरी छैन । त्यसैले समाजवाद एउटै हुन्छ, कम्युनिस्ट पनि एउटै हुन्छ, दुईटा हुँदैन । यसबारेमा पनि भ्रममा पर्न जरुरी छैन । उनीहरू साम्राज्यवादका पहरेदार हुन् । उनीहरू कम्युनिस्ट आवरणका संसद्वादी पुँजीवादका एजेन्ट (दलाल) हुन् । यस्ता दलालहरूले भन्ने गरेको समाजवाद हावाको महल मात्र हो । हावामा उड्न मान्छेहरूले हावाकै कुरा गरिरहेका छन् । उनीहरूको समाजवादको नारा केवल भोट बैङ्कका लागि रोमान्टिक विज्ञापन (ख्यतभ अयििभअतष्यल बमखभचतष्कझभलत) मात्र हो जब कि हाम्रो पार्टीले भनेको समाजवाद

‘वैज्ञानिक समाजवाद’ हो । यो भिन्नै चीज हो । माक्र्स–एङ्गेल्सले अगाडि सारेको र लेनिन, स्टालिन, माओहरूले विकास गरेको समाजवादको पृष्ठभूमिमा नेपालको मौलिकतामा स्थापना गरिने समाजवाद हो । हामीले भनेको वैज्ञानिक समाजवाद सर्वहारा वर्गको अधिनायकत्वमा आम नागरिकलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, खाद्य सम्प्रभुता, मनोरञ्जन आदिको ग्यारेन्टी भएको व्यवस्था हो जसको सम्पूर्ण जिम्मा राज्यले लिन्छ । अधिकार सम्पन्न जनता, शान्ति, समृद्धि, राष्ट्रिय स्वाधीनता र समानतामा आधारित समाज व्यवस्था हो ‘वैज्ञानिक समाजवाद’ जो यो संसदीय व्यवस्थाबाट सम्भवै छैन र कल्पनासम्म गर्न सकिँदैन ।
यस सन्दर्भमा एउटा उक्ति छ ‘नर्क जानलाई खनिएको बाटो जतिसुकै राम्रो र फराकिलो भए पनि अन्ततः नर्क नै पुग्छ ।’ यो उक्तिमा भनिएजस्तै ‘संसद्वाद वा संसदीय व्यवस्था ‘नर्क जानलाई खनिएको बाटो’ भएकाले यो अन्ततः नर्क नै पुग्छ । यसबाट समाजवादको आशा गर्नु फगत भ्रम मात्र हो । भ्रममा नपर्न सबैमा आग्रह छ ।

यो सरकारले नीति तथा कार्यक्रम र बजेट पनि सार्वजनिक गरेको छ । उनीहरूले यसलाई समाजवादको आधार खडा गर्ने बजेट भनेका छन् । यो नीति तथा कार्यक्रम र बजेटप्रति यहाँहरूको धारणा कस्तो रहेको छ ?

‘बाँदरको हातमा नरिवल’, ‘दूधको साक्षी बिरालो’ भनेजस्तै उनीहरू जे पनि भनिरहेका छन् । मनपरी गरिरहेका छन् । उनीहरूकै अर्थविद्हरूले नै यसको आलोचना गरेका छन्– यो यथास्थितिभन्दा पर छैन । हिजो नेपाली काङ्ग्रेसले लिएको बजेटकै निरन्तरतामा छ भनिरहेका छन् । यो उनीहरूकै कुरा हो । हाम्रो कुरो गर्ने हो भने यो प्रतिगामी बजेट हो । दलाल पुँजीवादी राज्यसत्तालाई भरणपोषण गर्ने र साम्राज्यवादनिर्भर परमुखी, दलाल अर्थतन्त्रमा आधारित यो बजेट न्यूनतम राष्ट्रवाद उन्मुख पनि छैन । समाजवादको आधार तयार पार्ने बजेटसँग त यसको गोरु बेचेको साइनो पनि छैन । यो समाजवादको आधार खडा गर्ने होइन, दलाल संसदीय व्यवस्थाको जग बलियो बनाउँदै प्रतिक्रान्तिको सेवा गर्ने बजेट हो । यसले साम्राज्यवादी विदेशी (दलाल) पुँजीलाई प्रोत्साहन दिएको छ । यसले देशलाई आत्मनिर्भर र धनी बनाउने होइन, विदेशी पुँजीपति वर्ग, दलाल पुँजीपति वर्ग र साम्राज्यवादको हित र संरक्षण गरेको छ । यसले भ्रष्टाचार, महँगी, तस्करी, कालोबजारी, राष्ट्रघातलाई संस्थागत गरेको छ । भोट बैङ्क सुनिश्चित गर्न बजेट विनियोजन गरेका छन् । एक सांसदले ४ करोड मनोमानी खर्च गर्न पाउने कार्यक्रम यसको एउटा ज्वलन्त उदाहरण हो । मुख्य कुरा राजनीतिक कार्यक्रमले निर्धारण गर्ने कुरा हो । उनीहरूको राजनीतिक कार्यक्रम नै आत्मसमर्पणवादी, दलाली र परनिर्भर–परमुखी छ । कुनै पनि क्षेत्रलाई आत्मनिर्भर बनाउने बजेट छैन । यो कुन वर्ग सत्तामा छ भन्ने कुराले निर्धारण गर्दछ । दलाल पुँजीवादीहरू सत्तामा रहेकाले उनीहरूकै हित संरक्षणका लागि यो बजेट ल्याइएकोमा कुनै शङ्का छैन । सामाजिक दलाल पुँजीवादीहरू सरकारको हर्ताकर्ता भएकाले समाजवादको भ्रम दिनु पनि अन्यथा होइन जब कि यी सत्य होइनन् ।

तपाईंको नेतृत्वमा केन्द्रीय जनपरिषद् गठन भएको छ । यसले अहिले के गरिराखेको छ ?

सामयिक प्रश्नका लागि धन्यवाद । २०५२ सालमा सुरु भएको जनयुद्धको तागतमा २०५४ बाट रोल्पा, रुकुमबाट सुरु भएको जनसत्ताले दस वर्षको जनयुद्धमा ८० प्रतिशत भूभागमा जनसत्ताको प्रभाव प¥यो । यो नेपाली जनताले जनसत्ता प्राप्त गरेको पहिलो अवसर हो । त्यसले नयाँ सत्ता र पुरानो सत्ताबीच वार्ता र १२ बुँदे सहमतिको वातावरण बनायो । दस वर्षको शान्तिप्रक्रियापछि काङ्ग्रेस, एमाले र प्रचण्डहरूले बेइमानीपूर्वक फेरि पुरानै संसदीय व्यवस्थालाई गणतन्त्रको लेबल लगाएर पुनस्र्थापना गरेपछि जनसत्ताको पनि स्वतः पुनस्र्थापना हुन पुग्यो । यसै क्रममा २०७२ साल मङ्सिर ५ र ६ गते चितवनमा सम्पन्न केन्द्रीय जनप्रतिनिधिसभाको पहिलो अधिवेशनबाट जनसत्ताको पुनर्गठन ग¥यो र काठमाडौँ शान्तिबाटिकाबाट खुला रूपमा यसको घोषणा गरियो । यो अधिवेशनले जनसत्ताको संरचनागत ढाँचा, सङ्क्षिप्त संविधानको खाका र जनसत्ता निर्देशिका पास ग¥यो । त्यसपछि देशव्यापी रूपमा जनसरकार गठन र पुनर्गठनको प्रक्रिया अगाडि बढ्यो । २०७४ मङ्सिरमा काभ्रेको बनेपामा प्रतिनिधिसभाको दोस्रो अधिवेशन सम्पन्न भयो । जनसत्ताका नीति र कार्यक्रमहरू पारित ग¥यो । तात्कालिक नीति र कार्यक्रम पारित ग¥यो । यति बेला यो व्यावहारिक कार्यान्वयनको प्रक्रियामा छ । तीनै तहका अधिवेशनहरू धमाधम सम्पन्न भइरहेका छन् । गाउँगाउँमा जनसरकारले विस्तारै आकार लिँदैछ । संसदीय व्यवस्थाको विकल्पमा जनतालाई न्यायनिसाफ, जनसुरक्षा, विकास निर्माण, सामाजिक सुधारलगायत जनताका अत्यावश्यक दैनिक कामकार्यहरूमा सत्ताको विकल्प दिइरहेको छ । अहिले स्थानीय तहका गाउँ–नगर तहका निकायसम्म जनसत्ताका संरचनाहरू धमाधम बनाउँदै अघि बढेको छ । अहिले केन्द्र र प्रदेश तहमा नीति निर्माण, अनुगमन, आवधिक समीक्षा र मूल्याङ्कन तथा सङ्घर्षको समन्वयको भूमिकामा छ भने स्थानीय तहमा नीति–कार्यक्रमहरूको व्यावहारिक कार्यान्वयन र अभ्यासका क्रममा छ । क्रान्तिकालमा यसको मुख्य भूमिका सङ्घर्षको साधन र जनसत्ताको अभ्यास, पुरानो सत्ताको विकल्प सत्ता जनतालाई दिनुका साथै संयुक्त मोर्चाको भूमिका पनि निर्वाह गरिरहेको छ ।

यो क्रान्तिकारी सत्ताको प्रारूप भन्दै आउनुभएको छ । यसका नीति तथा कार्यक्रमहरू केके हुन् ?

अहिलेको जनसत्ताको प्रारूप सङ्क्रमणकालीन स्वरूपको छ । यसको तत्कालिक उद्देश्य वैज्ञानिक समाजवादको आधार तयार पार्नु हो भने दीर्घकालिक लक्ष्य वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने रहेको छ । अहिले जनसत्ताले विस्तारै आकार लिइरहेको छ । यसले मुख्यतः राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विषयहरूमा आफ्नो नीति तथा कार्यक्रमहरूको प्रारम्भिक खाका प्रस्तुत गरेको छ । बजेट प्रणाली सैद्धान्तिक र नीतिगत तहमा सीमित छ । अब यसलाई पनि व्यावहारिक रूप दिदैछौँ । सायद आगामी अधिवेशनदेखि यसले सानै रूपमा भए पनि एउटा कदम उठाउनेछ । सङ्क्षिप्तमा विकास निर्माण, न्यायप्रणाली, सामाजिक चेतना अभिवृद्धि, युवाहरूको परिचालन, शान्ति र सुरक्षाको व्यवस्था, जनसुरक्षा नीति, सामाजिक सुरक्षा, उत्पादन र सहकारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा, सामाजिक, सांस्कृतिक सुधारका कार्यहरू, धार्मिक विकृतिका विरुद्ध जनसचेतनाका कार्यहरू, विभिन्न राष्ट्रिय तथा गैरसरकारी संस्थाहरूको परिचालन नीति तथा यसको प्रयोग आदि क्षेत्रमा नीति तथा कार्यक्रमहरू तर्जुमा गरी जनसत्तालाई परिचालन तथा सुदृढ गर्दै जनसत्ता अघि बढेको छ ।

वर्तमान राज्यसत्ताप्रति जनताको विश्वास घट्दै गएको छ । यस्तो अवस्थामा यहाँहरूले जनताका काम कसरी गरिराख्नुभएको छ ?

निश्चय नै वर्तमान राज्यसत्ता जनताको सत्ता होइन । त्यसकारण त्यसप्रति जनताको विश्वास छैन र उनीहरूमा घृणा र तिरस्कारको भाव पैदा हुँदै गएको छ । जनतामा यो राज्यसत्ताप्रति मोहभङ्ग भएको छ । राज्यले अहिले जनतामा ठूलठूला करहरू असुल गरिरहेको छ, भ्रष्टाचार गरिरहेको छ, कालोबजारी, महँगी र मूल्यवृद्धि गरिरहेको छ । सीमाहरू मिचिइरहेका छन् । सीमा क्षेत्रका जनता दिनानुदिन भारतीय सीमा सुरक्षाकर्मीहरूको सिकार भइरहेका छन् । सीमा क्षेत्रका जनता बर्सेनि डुबानको समस्याबाट ग्रसित छन् तर राज्यलाई यसप्रति कुनै चासो छैन । राज्यको ढुकुटी रित्याएर जनतालाई ऋण थोपरिरहेका छन् । नेपाली जनताका अधिकारभित्रका राज्यका साधन, स्रोतहरू, बनजङ्गल, काठ, खानी, जडीबुटी, जलस्रोत, ढुङ्गा, गिट्टी बालुवा तस्करी गरिरहेका छन् । ठेकेदारहरू नै सांसद, मन्त्री, भएर, इन्जिनियर भएर देश लुटिरहेका छन् । यसप्रति कसैको चासो छैन । हाम्रा पार्टीको नेतृत्वमा यी सबै अनुचित र जनविरोधी तथा राष्ट्रघाती कार्यहरूको विरोध मात्र होइन, रोक लगाउँदै, यसलाई नियमन, नियन्त्रण र प्रतिबन्ध लगाउँदै जनहितका कामहरूमा निरन्तर लागिरहेका छौँ जो अरु कसैले गरेका छैनन् ।

नेपालको अबको राजनीति कसरी जान्छ होला ? यहाँहरूका कार्यक्रमहरू कसरी जानेछन् ?

नेपाल यतिबेला परिवर्तनको सङ्घारमा उभिएको छ । समाज निरन्तर परिवर्तनको दिशामा अघि बढिरहेको छ । समाजको यो गतिलाई कसैले रोक्न सक्दैन । न राणाहरूले रोक्न सके, न पञ्चायतले सक्यो, न राजा–महाराजाहरूले नै सके, न त वर्तमान दलाल पुँजीवादका बाहकहरूले नै रोक्न सक्छन् । यी त साम्राज्यवादका पहरेदार मात्र हुन् । यिनले रोक्न खोजे अझ शक्तिशाली प्रतिरोध निम्त्याउनेछ । हामी र हाम्रो पार्टीको नेतृत्वमा जनसत्ताले जनहितभन्दा पर गएर कुनै पनि काम गर्दैन र गर्ने पनि छैन तर जनहितविपरीत हुने कुनै पनि कार्य पनि गर्न दिनेछैन ।

हामी एकीकृत जनक्रान्तिको बाटोबाट आमजनता र देशभक्त तथा सम्पूर्ण क्रान्तिकारीहरूलाई एकीकरण र ध्रुवीकरण गर्दै यो देशलाई ती दलाल पुँजीवादी भ्रष्ट तत्वहरूबाट एक न एक दिन मुक्त गर्नेछौँ र शान्ति, समृद्धि, स्वाधीनता र समानताको वैज्ञानिक समाजवादको लक्ष्यमा मुलुकलाई पु¥याउनेछौँ । यसका लागि नेपालमा एउटा शक्तिशाली आन्दोलन वा विद्रोह बाँकी छ । त्यसमा एकपटक नेकपाको नेतृत्वमा हुने एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि एकपटक साथ र समर्थन दिन सबै न्यायप्रेमी जनता, देशभक्त शक्तिहरू र क्रान्तिकारी वर्गमा हार्दिक अनुरोध गर्दछु ।


(२०७५ असार २, शनिबार) ०९:४९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जयबाबा ईट्टामा बिहानै गोली चल्यो, मेनेजर हुसेनको मृत्यु

सुनसरी जिल्लाको सोनापुरस्थित जयबाबा ईट्टामा आज बिहानै गोली चलेको छ । गोली प्रहारबाट उद्याेगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनको मृत्यु भएको छ । दुहबी - ९ छाताबेलीमा रहेको जय बाबा इँटा उघोगमा ड्युटीमा.....

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका.....

काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? : झलनाथ खनाल

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण.....

Exchange Rate

Nepali Patro