संविधान संशोधनका नाममा नयाँ द्वन्द्व निम्त्याउन खोजियोः एमाले

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ श्रावण ३०, आईतवार) १२:२८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव नगरी मुलुकलाई संवैधानिक शुन्यतामा पुर्‍याउने षड्यन्त्र हुन लागेको बताएको छ । र, पार्टीको बैठकमा त्यस्तो षड्यन्त्रको जनस्तरबाटै प्रतिरोध गर्ने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले राखेका छन् ।

सरकारबाट बाहिरिएपछि एमालेको पहिलो स्थायी कमिटी बैठक आइतबारबाट सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा निवर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार सामान्य सत्ता परिवर्तनको उद्देश्यबाट मात्र नहटाएको भन्दै चनाखो बन्नुपर्ने निष्कर्ष सुनाएका हुन् ।

बैठकको शुरुवात गर्दै ओलीले आफ्नो नेतृत्वको सरकार परिवर्तन कुनै एमाले नेता विशेषको चित्त नबुझेर वा कार्यशैलीका कारण नभई ठूलो डिजाइनबाट हटाइएको भएको निष्कर्ष सुनाएको सचिव प्रदिप ज्ञवालीले बताए । ‘यो मुलुकलाई संवैधानिक शून्यतामा धकेल्ने डिजाइनबाट हो भन्ने निष्कर्ष उहाँले बैठकमा राख्नुभएको छ’ ज्ञवालीले भने ।

ज्ञवालीका अनुसार सरकार परिवर्तनको पछाडि एमालेको नेतृत्वमा शुरु भएका आर्थिक सम्बृद्धिका कामलाई अबरोध गर्ने, संविधान कार्यन्वयन हुन नदिने र देशको स्वाभिमान कमजोर पार्दै छिमेकीसँगको सम्बन्धलाई असन्तुलित बनाउने उद्देश्य लुकेको ओलीले बताए ।

ओली आफ्नो सरकारले पारित गरेको नयाँ संविधान कार्यन्वयनको मार्गचित्र अनुसार मंसिरमा स्थानीय, वैशाखमा प्रदेश, अर्को मंसिरमा संसदको चुनाव गराउने थियो । तर, सत्तारुढ कांग्रेस र माओवादीले मंसिरमा नगर्ने भनिसकेको र चैतमा सरकार परिवर्तन गर्ने समझदारी गरेका भन्दै एमालेले स्थानीय चुनाव नै नहुने ठहर छ ।

एमाले सचिव ज्ञवालीले भने, ‘कुनै पनि चुनाव हुन नदिएर संवैधानिक रिक्ततामा धकेल्ने र संविधान संशोधनको नाममा मुलुकमा फेरि धु्रविकरण र द्वन्द्व शुरु गर्ने योजना बनिरहेको हाम्रो निष्कर्ष हो ।’ ओलीले सत्ता गठवन्धनका सम्भावित त्यस्ता कदमविरुद्ध विचार मिल्ने दलहरुसँग सहकार्य गर्दै सशक्त प्रतिपक्षमा रहनु पर्नेमा जोड दिएका छन् ।

एमाले अध्यक्ष ओलीले अनुचित कुरामा संविधान संशोधन हुन नदिने पनि प्रष्ट पारेका छन् । देशलाई संकटमा लैजान आन्तरिक र बाहृय खेलको आधारमा प्रचण्ड सरकार बनेको भन्दै एमालेले त्यस्ता कदमविरुद्ध आवश्यक परेमा जनप्रतिरोध शुरु गर्ने तयारी थालेको छ ।

केन्द्रीय कमिटी बैठकबाट योजना बनाएर जनतामाझ जाने खालका कार्यक्रम बनाउने योजना ओलीले स्थायी कमिटीमा पेश गरेका छन् । जनतालाई प्रष्ट पारेपछि जनताकै बलमा सम्भावित षड्यन्त्रको प्रतिरोध गरिने एमालेले जनाएको छ ।

के-के छन् बैठकमा एजेण्डा ?

एमालेको बैठक आइतबार एजेण्डा तय गरेर सकिएको छ । बैठकमा बिभिन्न सात एजेण्डामाथि छलफल हुने सचिव एबम् प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।

जसमा विगतका कामको समिक्षा एक नम्बर एजेण्डामा राखिएको छ । त्यस्तै आगामी पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठकको मिति पनि यहि बैठकले तय गर्ने सचिव गोकर्ण बिष्टले बताए ।

स्थानीय निकाय पुनसंरचनाबारे पार्टीको दृष्टिकोण बनाउने, प्रदेश कमिटीहरुलाई पूर्णता दिने, सल्लाहकार परिषद बिस्तार, जेष्ठ कम्युनिस्ट मन्च गठन लगायतका एजेण्डाहरु बैठकमा पेश भएको छ ।


(२०७३ श्रावण ३०, आईतवार) १२:२८ मा प्रकाशित

Exchange Rate

Nepali Patro