संघाईसँग ५ करोड लिएको खबरले प्रहरी मुख्यालयमा खैलाबैला, घुस लिएको १४ लाख रुपैयाँ फिर्ता गरेर बरामदमा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ श्रावण २९, शनिबार) २१:५६

लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)का प्रमुख एवं विवादास्पद डीआईजी जयबहादुर चन्दले लागूऔषध तस्करहरुसँग बार्गेनिङ गर्दै अनौठो किसिमले रकम असुल्ने गरेको तथ्यको रहस्योद्घाटन भएको छ । विवादास्पद व्यवसायी पवन संघाई मुख्य सञ्चालक रहेको आर्या फर्मा ल्याब प्रालिले अवैध तवरले नेपाल भित्र्याएको प्रिकर्सर केमिकल काण्डमा १६ करोडको बार्गेनिङ गरेपछि विवादमा तानिएका डीआईजी चन्दले लागूऔषध ब्युरोको कमाण्ड सम्हालेदेखि भएका हरेक अपरेशनको दौरानमा व्यापक बार्गेनिङ गरेर रकम असुल्ने गरेको लागूऔषध ब्युरो सम्बद्ध विश्वस्त स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार डीआईजी चन्द रकम असुल्ने तरिका पनि अत्यन्तै अनौठो छ । उनले पछिल्लो समय गरेका हरेक अपरेशनमा मुद्दा मिलाइदिने र छाडिदिने भन्दै हिरासतमा रहेका व्यक्तिका आफन्तसँग मोलमोलाइ गर्ने, ब्युरोका अन्य अधिकारीहरुले सुइँको नपाए रकम बुझेर कुम्ल्याउने, यदि सूचना चुहिएमा उक्त रकमलाई घुसको अफर गरेको भन्दै पत्रकार सम्मेलन गरेर बरामद गरेको दाबी गर्दै सार्वजनिक गर्ने गरेको खुल्न आएको छ ।

डीआईजी चन्दले ब्युरोमा कार्यरत डीएसपी अपिलराज बोहरा र इन्स्पेक्टर कृष्ण पनेरुलाई विश्वासमा लिएर उक्त धन्दा सञ्चालन गरेको स्रोत बताउँछ । सोही धन्दाकै क्रममा ब्युरोबाट सञ्चालित अपरेशन आइसअन्तर्गत गत वैशाख १७ गते ब्युरोबाट खटिएको टोलीले बरामद गरेको लागूऔषध एम्फेटामाइनसम्बन्धी मुद्दामा फरार रहेका धादिङका पूर्ण बहादुर पाख्रिन तामाङलाई काठमाडौंको बूढानीलकण्ठस्थित निलोपुलबाट पक्राउ गरेर ब्युरो पु¥याएलगत्तै डीआईजी चन्दले आफ्नो कार्यकक्षमा पु¥याएर बार्गेनिङ सुरु गरेका थिए ।

स्रोतका अनुसार उक्त दिन डीआईजी चन्दले पक्राउ परेका तामाङलाई पैसा खर्च गरेमा हिरासतमुक्त गरिदिने आश्वासन दिएर तामाङको मोबाइलबाट थाइल्याण्डमा रहेका उनका मुख्य मालिकलाई फोन गर्न लगाएका थिए । सोही क्रममा थाइल्याण्डमा बसेर लागूऔषधको धन्दा सञ्चालन गरेका मुख्य व्यक्तिले ५० लाख रुपैयाँ र उपहारस्वरूप तीन लाख रुपैयाँ मूल्य पर्ने राडो ब्राण्डको हाते घडी दिन तयार रहेको बताएपछि उक्त रकम र हाते घडी बुझ्न डीआईजी चन्द तयार भएका थिए ।

स्रोतका अनुसार डीआईजी चन्दसँग मोलमोलाइ सकिएपछि थाइल्याण्डका लागूऔषध तस्करले उक्त रकम र हाते घडी डीआईजी चन्दले पाउने गरी काठमाडौंमा उपलब्ध गराइदिएका थिए भने सो रकम बुझ्न डीआईजी चन्द निकटका केही व्यक्ति पुगेका थिए । निकटस्थहरुले ल्याएको रकममध्येको चौध लाख रुपैयाँ र हाते घडी सोही दिन आफूले लिएर घर लगेका थिए । त्यसको दोस्रो दिन डीआईजी चन्दले ब्युरोमा कार्यरत एसएसपी, एसपी र डीएसपीको भेला गराएर बचेको रकममध्ये १० लाख रुपैयाँ आईजीपी उपेन्द्रकान्त अर्याललाई पठाइदिनुपर्ने र बाँकी रहेको २६ लाख रुपैयाँ अपरेशनमा खटिएका प्रहरी कर्मचारीहरुलगायत सम्पूर्ण सिनियर अधिकृतहरुले बाँडीचुँडी खान उनले आग्रह गरेका थिए । तर उनको आग्रहलाई ब्युरोमा कार्यरत एसएसपी गणेश केसी, तत्कालीन एसपी धिरजप्रताप सिंह र डीएसपी प्रेम शाहीले प्रतिवाद गर्दै कुनै हालतमा त्यस्तो हुन नहुने अडान लिएपछि चन्दले घरमा लगेर राखेको १४ लाख रुपैयाँ समेत फिर्ता गरेको ब्युरोमा कार्यरत एक प्रहरी अधिकारीले नाम नछाप्ने शर्तमा जानकारी दिए ।

उनका अनुसार ब्युरोमा कार्यरत प्रहरी अधिकारीहरुको विरोधपछि अत्तालिएर १४ लाख रुपैयाँ फिर्ता गरेका डीआईजी चन्दले तीन लाख मूल्य पर्ने हातेघडीचाहिँ फिर्ता गरेका छैनन् ।
ब्युरो स्रोतका अनुसार डीआईजी चन्दले घुसको लागि बार्गेनिङ गरेर मगाएको पैसाको विषयमा पोल खुल्ने डरले त्यसको केही दिनपछि पत्रकार सम्मेलनको आयोजना गरेर घुस भनेर पठाएको ५० लाख रुपैयाँ बरामद गरिएको जानकारी गराएका थिए ।

 ‘सो समय हरेक सञ्चारमाध्ययममा ब्युरोले बरामद गरेको ५० लाख रुपैयाँको व्यापक चर्चा भए पनि त्यस प्रकरणसँग जोडिएको भित्री पाटोको विश्लेषणतर्फ कसैको ध्यान जान सकेन’, स्रोतले भन्यो । ‘घुसबापत आएको ५० लाख रुपैयाँको लोभमा नपरी उक्त रकम बरामद गरेर ब्युरोले एकदम राम्रो काम गरेको भन्दै सबैले ब्युरोको प्रशंसा गरे पनि यथार्थ विश्लेषण गर्नेतर्फ कसैको ध्यान गएन ।’

 अर्कोतर्फ करिब दुई हप्ता अगाडिको प्रिकर्सर केमिकल काण्डमा मुख्य आरोपी भगाएर आर्थिक चलखेल गरेको आरोप लागेका डीआईजी चन्दले नेतृत्व गरेको लागूऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले मुख्य आरोपी पवन कुमार संघाईलाई बाराको जितपुरस्थित आर्या फर्मा ल्याबबाट पक्राउ गरेर चितवनको भरतपुरस्थित एक होटेलमा पु¥याई ५ करोड रुपैयाँ लिएर भारततर्फ भगाएको खबर पुगेपछि प्रहरी मुख्यालयमा खैलाबैला मच्चिएको छ ।

प्रहरी मुख्यालय स्रोतका अनुसार उक्त घटनामा नेपाल प्रहरीका एक विवादास्पद एआईजीले मध्यस्थकर्ताको भूमिका खेलेका थिए । स्रोतका अनुसार पक्राउ पर्नु एक दिनअगाडि ती एआईजीलाई भेट्न फ्रिल्यान्डर गाडी लिएर पवन संघाई आफैँ प्रहरी मुख्यालय पुगेका थिए । त्यहाँ कुरा नमिलेपछि बारा पुगेका संघाईलाई ब्युरोको टोलीले बाराबाट पक्राउ गरी चितवनको भरतपुरमा रहेको एक होटेलमा ल्याएर छोडेको स्रोतको दाबी गर्छ ।

उता १४ लाख रुपैयाँ नगद तथा हातेघडी लिएको र पक्राउ परेका संघाईलाई पाँच करोड लिएर छाडेको विषयमा प्रतिक्रिया लिँदा ब्युरो प्रमुख डीआईजी जयबहादुर चन्दले उक्त कुरा हावादारी भएको बताए । ‘यी सबै फाल्तु कुरा हुन्, तपाईंहरु किन मेरो पछि मात्र लाग्नुभएको छ ? यस्तो मिसन पत्रकारिता नगर्नुस्’, डीआईजी चन्दले भने ।

उनले आफूमाथि लागेका आरोपको बचाउ गरे पनि सुशासन न्युज साप्ताहिकमा समाचार प्रकाशित भएपछि समाचार रोक्न विभिन्न अस्त्र प्रयोग गर्दै आइरहेका छन् । उनले संवाददातालाई विभिन्न माध्यमबाट अनेक प्रलोभन तथा धाक धम्कीपूर्ण सन्देश पठाउँदै आफ्नो बारेमा समाचार प्रकाशन नगर्न चेतावनी तथा अनुरोध गर्नेक्रम जारी राखेका छन् । आजको सुशासन न्युज साप्ताहिकमा समाचार छ ।


(२०७३ श्रावण २९, शनिबार) २१:५६ मा प्रकाशित

Exchange Rate

Nepali Patro