‘फेसबुक, मेरा बच्चाहरूबाट टाढै बस

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ पुष ६, बिहीबार) १०:५८

‘फेसबुकले भन्यो– केटाकेटीलाई प्रोफाइल बनाउनबाट रोक्न सकिन्न।’

चार वर्षअघि बेलायती अखबार ‘दी गार्डियन’ ले यो शीर्षकमा समाचार छापेको थियो।

त्यतिबेला फेसबुक प्रयोग गर्ने कलिला केटाकेटी बढेका थिए। प्रयोगकर्ताको उमेर हद १८ भए पनि ९ देखि १२ वर्षका धेरै प्रोफाइल देखिन्थे। उनीहरूले उमेर बढाएर चलाइरहेका थिए।

यसको सर्वत्र आलोचना भयो।

फेसबुकले भने नियन्त्रण गर्न नसकेको स्वीकार गर्यो।

‘हामीसँग प्रयोगकर्ताको वास्तविक उमेर पत्ता लगाउने कुनै उपाय छैन,’ फेसबुकको बेलायत र आयरल्यान्डस्थित नीति निर्देशक साइमन मिल्नरलाई उद्धृत गर्दै गार्डियनले लेखेको छ।

साइमनले यस्तो प्रस्टीकरण दिए पनि कम्पनीले रोक्ने प्रयास भने गरेको छैन। उल्टै उक्साएको छ, जसको प्रमाण हो– ‘किड्स म्यासेन्जर’।

यसै वर्ष डिसेम्बर ४ मा सार्वजनिक यो फेसबुक मेसेन्जर ६ देखि १२ वर्षका केटाकेटी निम्ति ल्याइएको हो।

इन्टरनेट, सामाजिक सञ्जाल र ग्याजेटको बढ्दो प्रयोगले केटाकेटीको बालापन खोसेको आरोप लागेका बेला फेसबुकको यस्तो कदमले थप समस्या ल्याउने विश्लेषकको भनाइ छ।

बेलायतका स्वास्थ्यमन्त्री जेरेमी हन्टले प्रतिक्रिया जनाउँदै भनेका छन्– ‘फेसबुक मेरा बच्चाहरूबाट टाढै बस।’

उनले आफ्नो आक्रोश ट्विटरमा यसरी पोखे— ‘मलाई विश्वासै लागिरहेको छैन। फेसबुकले मलाई कुनै दिन भनेको थियो, ऊ आफ्ना सामग्रीबाट केटाकेटीलाई टाढा राख्ने उपाय लिएर आउनेछ। तर, ऊ त केटाकेटीलाई नै लक्ष्य गरेर नयाँ एप पो ल्याउँदैछ। फेसबुक, तिमी मेरा बच्चाहरूबाट टाढै बस, आफ्नो कामसँग मात्र मतलब राख।’

फेसबुक यस्ता आरोपसँग सहमत छैन।

‘किड्स म्यासेन्जरको उद्देश्य केटाकेटीको सामाजिक व्यवहार सुधार्नू र उनीहरूलाई ठूला मान्छेले चलाउने फेसबुकबाट टाढा राख्नू हो,’ उसले भनेको छ।

कम्पनीका अनुसार यसको सम्पूर्ण नियन्त्रण अभिभावककै हातमा हुन्छ। केटाकेटीले आफैं कसैलाई साथी बनाउन वा कुनै सन्देश हटाउन सक्दैनन्। कुनै किसिमका अश्लील, हिंस्रक र अनुपयुक्त सामग्री पठाउन पनि नमिल्ने कम्पनीको दाबी छ।

अहिलेलाई अमेरिकामा मात्र प्रयोग गर्न मिल्ने यो एप विस्तारै अन्य देशमा खुला गर्ने योजना छ। सुरुआती चरणमै यसले अभिभावकहरूको आलोचना खेप्न थालेको छ।

‘कलिलो उमेरमै फेसबुक हाबी हुनु घातक हो,’ वासिङटनका म्याट क्यूरियोनलाई उद्धृत गर्दै ‘दी न्यूयोर्क टाइम्स’ लेख्छ, ‘म सामाजिक सञ्जालको सक्रिय प्रयोगकर्ता हुँ। मेरा केटाकेटीलाई यो उमेरमै यति धेरै सामाजिक अन्तर्क्रियाको खाँचो छ भन्ने म मान्दिनँ। उनीहरूलाई त हुर्कने र ठूला मान्छेसँग कसरी बोल्ने भन्ने पो सिकाउन जरूरी छ, न कि म्यासेन्जरमा ‘च्याट’ गर्न।’

केही विज्ञले भने फेसबुकको कदममा सही थापेका छन्। यसले केटाकेटीलाई सानैदेखि अभिभावकको नियन्त्रणमा प्रविधि बुझ्न मद्दत गराउने उनीहरूको भनाइ छ।

‘अहिलेको फेसबुक केटाकेटी निम्ति भयावह छ। त्यसबाट बचाउनै यो एप ल्याइएको हो,’ हार्वर्ड विश्वविद्यालय तथा बोस्टन बाल अस्पतालकी मनोविज्ञान विज्ञ क्रिस्टिेल लाभाल्लीको भनाइ उद्धृत गर्दै गार्डियन लेख्छ, ‘बच्चाहरूका निम्ति ल्याइएको यो म्यासेन्जर एप पूर्ण नियन्त्रित हुन्छ। यो उनीहरूकै सुरक्षाका लागि हो।’

लाभाल्ली आफैं पनि यो एप निर्माणमा फेसबुकसँग सहकार्य गरिरहेकी छन्।

उनको तर्कसँग सबै सहमत छैनन्।

‘फेसबुकले केटाकेटीको भलाइ सोचिरहेको छ भन्ने कसरी विश्वास गर्ने?’ केटाकेटीबारे वकालत गर्ने संस्था ‘कमन सेन्स मिडिया’ का प्रमुख कार्यकारी जेम्स स्टेयरको भनाइ न्यूयोर्क टाइम्सले लेखेको छ, ‘मैले पहिले पनि म्यासेन्जर केटाकेटीको पहुँच नहुने गरी विस्तार गर्नू भनेर फेसबुकलाई सुझाएको थिएँ।’

स्टेयरले भनेजस्तै, ६ वर्षका बच्चाको निम्ति ल्याइएको म्यासेन्जर एपमा फेसबुकले उनीहरूको भलाइ होइन, आफ्नो फाइदा हेरेको भन्दै आलोचना भइरहेको छ।

विकसित मुलुकमै विरोध खेपेको ‘किड्स म्यासेन्जर’ बाट भर्खर प्रविधि सिक्दै गरेका देश झनै त्रसित छन्।

‘यो एप केटाकेटीलाई फेसबुक लत लगाउन ल्याइएको हो,’ भारतीय साइबर विज्ञ रक्षित टन्डनलाई उद्धृत गर्दै बिबिसी लेख्छ, ‘हाम्रा केटाकेटी यसका लागि तयार भइसकेका छैनन्। यो उनीहरूको लालनपालनमा नयाँ खतरा हो।’

भारतजस्तो देशमा त यो कदापी सही नहुने टन्डनको भनाइ छ।

‘फेसबुक भन्छ, यो बच्चाहरूलाई कुराकानी गर्न सिकाउने एप हो,’ टन्डनले भनेका छन्, ‘अरे बाबा, हाम्रा बच्चाले पहिले आफ्ना आमाबाबुसँग त कुरा गर्न सिकून्। राम्ररी बोल्न नसक्ने कलिला नानीबाबुलाई म्यासेन्जरमा बोल्न सिकाउनु कहाँसम्म जायज छ?’

टन्डनको भनाइ नेपालको सन्दर्भमा पनि लागू हुन्छ।

फेसबुकको योजनाअनुरुप यो म्यासेन्जर अन्य देशमा फैलिएपछि नेपाल पनि अछुतो रहने छैन। र, त्यतिबेला यसले ल्याउने समस्या अमेरिकाभन्दा विकराल हुन सक्छ।

यसका दुई कारण छन्–

पहिलो, हामी प्रविधि प्रयोगमा भर्खर बामे सर्दै गरेका छौं।

दोस्रो, इन्टरनेट प्रयोगको जोखिमबारे हामीकहाँ ठूला मान्छेलाई नै पर्याप्त ज्ञान छैन।

कुनै ‘नौलो कुरा’ को प्रवेशले चासो बढ्छ। हामीकहाँ इन्टरनेट र सामाजिक सञ्जालको स्वरूप त्यस्तै छ, नौलो र आकर्षक। यसमा पनि फेसबुक भनेपछि दिनरात झुम्मिने बानी लागेको छ।

फेसबुक चलाउनु नराम्रो होइन, तर जोखिम तब बन्छ, जब पर्याप्त ज्ञान हुँदैन। यो भनेको सुरक्षा जोखिम बढाउनु र सामाजिक व्यवहार बिगार्दै लैजानु हो। यसको प्रमाण खोज्न कहीँ पुग्न पर्दैन, अपराध महाशाखामा आएका उजुरी हेरे पुग्छ।

पछिल्लो समय फेसबुकमार्फत् हुने साइबर अपराध ह्वात्तै बढेको महाशाखाले जनाएको छ। फेसबुक प्रयोग गरी धम्क्याउने, ठग्ने, अपहरण गर्ने, अश्लील तस्बिर तथा सामग्री पोस्ट गर्ने लगायत धेरै मुद्दा महाशाखामा आइसकेका छन्। यसले हामी ठूला मान्छे नै फेसबुक चलाउन कति आलाकाँचा छौं भन्ने देखाउँछ।

यसरी इन्टरनेटबाट आफैं असुरक्षित अवस्थामा अवोध नानीबाबुलाई हामी कसरी जोगाउन सक्छौं?

केही समयअघि अमेरिकी अखबार ‘दी एट्लान्टिक’ मा स्मार्टफोनसँग रमाउने केटाकेटीको सामाजिक–मनोवैज्ञानिक व्यवहार, स्वास्थ्य र सिप विकासबारे डा. जिम एन ट्वेन्जको लेख प्रकाशित भएको थियो। उनले यी सबको नतिजा एकदमै ‘भयानक’ भएको प्रस्ट्याएकी थिइन्।

उनको अध्ययनले अमेरिकाको मात्र प्रतिनिधित्व गर्दैन, विश्वका अन्य विकसित र नेपालजस्तो अल्पविकसित देशका केटाकेटीमा इन्टरनेट र स्मार्टफोनको लत कसरी फैलिँदो छ भन्ने ‘डरलाग्दो स्वरुप’ देखाउँछ।

उक्त अध्ययनले केटाकेटी र स्मार्टफोनको सम्बन्धबारे केही गम्भीर निष्कर्ष निकालेको छ।

यीमध्ये एक हो, साथीभाइसँग भेटघाट।

उनको अध्ययनअनुसार आइफोन आएपछि स्कुले विद्यार्थीले साथीभाइसँग भेट्ने अनुपात क्रमिक रूपमा घट्दै गएको छ। पहिले सातामा तीनपटक भेट्नेले भेट्नै छाडेका छन्। यो नतिजाले भन्छ– स्मार्टफोनको बढ्दो प्रयोगले केटाकेटीको बालापनमा साथीभाइको भूमिका गौण बन्दै गयो, स्मार्टफोनको प्रमुख बन्दै।

अचेल दुई वर्ष उमेरदेखिकै नानीबाबुका औंला स्मार्टफोनका स्क्रिनमा सल्बलाउन थाल्छन्। उमेरसँगै यो बानी अझ गाढा हुँदै जान्छ। स्मार्टफोन भए हुने जिनिस होइन, नभई नहुने जिनिसको कोटीमा चढ्दै जान्छ। उनीहरू प्रकृतिबाट टाढा स्मार्टफोनको स्क्रिनमा आउने रंगीविरंगी संसारमा सम्मोहित हुँदै जान्छन्।

हाम्रा छिमेक र आफन्तका धेरै केटाकेटीको व्यवहार हेरौं न!

उदास बच्चा स्मार्टफोन पाएपछि फकिन्छ, उसको अनुहारमा चमक आउँछ। आक्कलझुक्कल आफ्ना साथी वा दिदीभाइ–बहिनीदाजुसँग खेलिरहेका भए पनि स्मार्टफोन भेटे त्यसैमा झुत्तिन्छन्।

स्मार्टफोनमा झुम्मिने भनेको अक्सर गेम खेल्न वा इन्टरनेट चलाउनै हुन्छ।

फेसबुकले भनेझैं उनीहरूका निम्ति ल्याएको म्यासेन्जरमा साथीहरू बन्लान्। आफन्त वा अभिभावकसँग कुरा पनि गर्लान्। तर, व्यक्तिगत भेटघाटबिनाका यी कुराकानी कस्ता हुन्छन्? स्क्रिनमा लेखेर गरिने कुराकानीले के वास्तविक भेटघाटको विकल्प दिन सक्छ? के यस्तो अप्रत्यक्ष कुराकानी हाम्रा केटाकेटीको लालनपालनमा सहायक हुनसक्छ? यसले उनीहरूको सामाजिक व्यवहार विकास गर्छ?

डा. ट्वेन्जका अनुसार स्मार्टफोनमा साथीभाइसँग झुम्मिने केटाकेटी खासमा साथीसँग नजिकिएका हुँदैनन्, स्मार्टफोनसँग रमाइरहेका हुन्छन्। उनीहरू आपसमा खेल्दैनन्, छुँदैनन्, लड्दैनन्, चोट खाँदैनन्। वास्तविक खेलको अनुभूति पाउँदैनन्, जुन केटाकेटीको मानसिक र शारीरिक स्वास्थ्यका निम्ति अपरिहार्य छ।

उनको अनुसन्धानले भन्छ– स्मार्टफोनमै झुत्तिन रमाउनेहरू साथीभाइसँग भुलेजस्तो देखिए पनि गफ गर्दैनन्, ‘च्याट’ गर्छन्। इमोजी वा स्टिकर पठाउँछन्। अब फेसबुकको ‘किड्स म्यासेन्जर’ ले सिकाउने पनि यही हो। यसो गर्दा उनीहरूका औंलाले थिचेको चित्र मात्र जान्छ, उनीहरूभित्रको तस्बिर जाँदैन। भावना साटिँदैन, मन हलुका हुँदैन।

डा. ट्वेन्जका अनुसार फेसबुक कुराकानीले केटाकेटीहरू न एकअर्कासँग सहज अनुभूति गर्छन् न त केही मिनेट सँगै बसेर कुराकानी गर्न सक्छन्। फेसबुक साथी त बन्छन्, तर फेस–टु–फेस साथी विरलै हुन्छन्।

बेलायती स्वास्थ्यमन्त्री जेरेमी हन्ट

त्यस्ता केटाकेटी कोठामा धुम्धुम्ती बसेर एक्लै मोबाइल चलाउन त खप्पिस हुन्छन्, तर समूहमा खेल्न, काम गर्न र घुलमिल हुन सक्दैनन्। उनीहरू आफ्ना विचार भन्न वा कुनै क्रियाकलापमा सहभागी हुन धकाउँछन्। क्रमशः असामाजिक हुँदै जान्छन्। त्यो बेला हाम्रा बच्चा नै हाम्रा हुने छैनन्, सामाजिक सञ्जालका हुनेछन्। भावनाहरू बोलीमा होइन, स्ट्याटसमा पोखिनेछन्। प्रतिक्रिया खुसी र विस्मातमा होइन, इमोजी, लाइक र डिस्लाइकमा सीमित हुनेछन्।

इन्टरनेट र स्मार्टफोनबाट उत्पन्न सामाजिक विग्रहको कुरा गर्दा केटाकेटीको मानसिक विकासमा पर्ने प्रभाव पनि कम छैन। एकोहोरो स्मार्टफोनमा घोरिने अधिकांश केटाकेटी मानसिक तनावको शिकार भइरहेको उनको अनुसन्धानले देखाएको छ। नहोऊन् पनि कसरी, जब उनीहरू बोल्न जान्दैनन्, शारीरिक हाउभाउ देखाउँदैनन् र सामाजिक हुन सक्दैनन् भने!

त्यसैले, डा. ट्वेन्ज सुझाउँछिन्, ‘केटाकेटीलाई स्मार्टफोन चलाउन होइन, स्मार्ट बन्न सिकाउनुस्। उनीहरूलाई नयाँ नयाँ संस्करणको ग्याजेट होइन, फुटबल दिनुस्, भलिबल दिनुस्। स्मार्टफोनमा ‘पेन्ट’ गर्न होइन, कापीमा चित्र बनाउन लगाउनुहोस्।’

स्मार्टफोन र इन्टरनेट लत लागेका नानीबाबुको भविष्य ‘अँध्यारो’ भएको उनी बताउँछिन्।

यही अँध्यारो भविष्य कम गर्न अमेरिकाको सियाटलमा सुधार केन्द्र नै खुलेको छ— रिस्टार्ट लाइफ सेन्टर। यो संस्थाको काम इन्टरनेट र गेमको लत छुटाउन मद्दत गर्नु हो।

यही बेला फेसबुक भने सबै आलोचना बेवास्ता गर्दै आफ्ना जालो फैलाउँदै छ, त्यो पनि भर्खर हिँड्न–बोल्न सिकेकाहरूमा।

 

तोते स्वरमा ‘आमाबुबा’ भन्ने कलिला आवाज के हामी म्यासेन्जरमार्फत् सुन्न तयार भइसक्यौं र?

गार्डियनले गत शुक्रबार छापेको लेखले भन्छ– बेलायती स्वास्थ्यमन्त्री जेरेमी हन्टले झैं हामी सबले भन्न सक्नुपर्र्छ, ‘फेसबुक, मेरा बच्चाबाट टाढै बस।’
पत्रकार तथा लेखक ग्याबी हिन्सिल्फले गार्डियनको आफ्नो लेखमा भनेकी छन्, ‘हो, हामीलाई स्मार्टफोनको लत लागेको छ, मान्छौं। यसको अर्थ यो होइन, हाम्रा नानीबाबुलाई पनि यही लतमा डुबाउन चाहन्छौं। उनीहरूलाई अहिले फेसबुक चाहिएको छैन।’

तपाईं पनि चाहनुहुन्न भने, छोरीछोरालाई फेसबुकबाट टाढै राख्नुहोस्, आफू पनि टाढिनुहोस्।

(गार्डियन, न्यूयोर्क टाइम्स, बिबिसी, एट्लान्टिक लगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आधारित)


(२०७४ पुष ६, बिहीबार) १०:५८ मा प्रकाशित

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro