देशले सोध्ला नि खोइ झलकमान भन्ला

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ श्रावण २७, बिहीबार) १५:५३

कास्कीको अर्मलामा ठूलो गुरुङ बस्ती छ । त्यहाँका गुरुङहरू भारतलगायत विभिन्न मुलुकका सेनामा भर्ती हुन जान्थे । त्यहाँ लाहुरे नभएका घर भेटिन मुस्किलै हुन्थे । गजे घले पनि त्यतैतिरका हुन्, जसले दोस्रो विश्वयुद्धमा वीरता प्रदर्शन गरेबापत बेलायत सरकारबाट ‘भिक्टोरिया क्रस’ प्राप्त गरेका थिए । लोकगायक झलकमान गन्धर्व गजेका वीर गाथा गाउँ–गाउँ पु¥याएर सुनाउँथे । उनीमात्र होइन, झलकमानले २० भन्दा बढी व्यक्तिको ‘कर्खा’ गाएका छन् ।
सारंगी रेट्दै गाउँ–गाउँ डुलेर गीत गाउने झलकमान दुरुस्तै उनीहरूका कथा–व्यथा ‘कर्खा’मा उतार्थे । त्यसै क्रममा उनले सुन्थे– फलानो–फलानो देशबीच युद्ध चलिरहेको छ । नेपाली लाहुरेहरू पनि यति मरे ।
घरको दुःख टार्न र जहान छोराछोरीको अनुहार उज्यालो पार्न परदेशी भूमिमा रगत–पसिना बगाउन पुगेको छोरो युद्धमा परेर अकाल मुत्युवरण गर्न पुगेको सुन्दा उनको मन कटक्क खान्थ्यो । मनभित्र ज्वारभाटा उर्लन्थ्यो । उनी त्यो वेदना सारंगीमार्फत् प्रस्फुटन गर्थे र गाउँ–गाउँमा सुनाउन पुग्थे ।
त्यही क्रममा उनले जन्माएका हुन्, “हे बरै ! बाबाले सोध्लान् नि खै छोरो भन्लान्, रण जित्दैछन् भन्दिए…।”
त्यतिबेला झलकमानले यो गीत गाउँ–गाउँ पुगेर गाउँदा मानिसहरू आँसुका धारा बगाउँथे । उनका छोरा कर्णबहादुरलाई अझै सम्झना छ– चौतारीमा टुसुक्क बसेर झलकमान सारंगीको दुई तारमुनि जब ‘धनु’ छिराउँथे, वरिपरि भेला भएका मानिसहरू उनलाई त्यही गीत गाउन पटक–पटक अनुरोध गर्थे । र, गीत सक्दा नसक्दै मानिसहरूको आँखामा सेती नदी सुसाइसकेको हुन्थ्यो ।
झलकमानका बाउछोराले बढी गाएको गीत ‘तानसेन घमाइलो’ पनि हो । जहाँ पुगे पनि अनुरोध आउँथ्यो– “झलकमान दाइ ! ‘तानसेन घमाइलो’ गाइदिनुस् न ।”
छोरा कर्णबहादुर अझै पनि त्यही गीत गाउँदैछन् ।
झलकमानका गीतहरूमा मानिसको पीर–व्यथामात्र मिसिएको छैन, ग्रामीण क्षेत्रका विकृति विसंगतिविरुद्ध प्रहार पनि छ । बाउको छालामाथि छोराहरूको रजाइँ, गरिब निमुखामाथि उपल्ला जात भनिएकाहरूको दाइँ, घरभित्र दाजुभाउजू र भाइभतिजाबीच हुने तिक्तता अनि आमाको मनको रिक्ततालाई उनले करुण आवाजमा उतारेका छन् । देशविदेश चहारेर आफ्नो आवाजमा सुनाएका छन् ।
जनकविकेशरी धर्मराज थापासँगको घनिष्ठतापछि झलकमानको सांगीतिक आयाम चुलियो । उनका रसिला लोकभाकाहरू देशविदेशका नेपालीले सुन्न पाए । बिहेबटुलो, व्रतबन्ध र पाटीपौवाहरूमा बसेर विरह गाउने झलकमान सबैका प्रिय गायक बने । ‘गाइने’ बनेर गाउँ–गाउँ डुल्ने र मनको भँडास पोख्ने झलकमान त्यसपछि रेडियो नेपालमा पनि सुनिन थाले । त्यो आवाज झन्डै ३० वर्ष रेडियोमा अनवरत रूपमा गुञ्जिरह्यो । आज पनि रेडियो नेपालमा तथा देशभर खुलेका एफएम रेडियोहरूमा झलकमानका गीत सुन्ने स्रोताहरूको कमी छैन ।
झलकमान धर्तीबाट बिदा भएको १३ वर्ष बितिसकेको छ । तर, उनको मौलिक आवाज र मन छुने सारंगीको धुन आजपर्यन्त हाम्रो कानमा गुञ्जिरहन्छ । त्यो तिख्खर आवाज सुन्दा यस्तो लाग्छ– उनी यतैकतै सारंगी रेटिरहेका छन् र छहरासँग मीत लगाउँदै पहराका गीत गाइरहेका छन् ।
वनबुट्यानका गीत गाउने कुशल सारंगी बादक, लय संकलक तथा गायक झलकमानका सांगीतिक जीवनका केही पाटाहरू हामीले यहाँ उतार्ने प्रयास गरेका छौँ ।
० ० ०
झलकमान गन्धर्वको जन्म १९९२ वैशाख १२ गते कास्कीको बाटुलेचौरमा भएको हो । गीत गाउने पुख्र्यौली पेसा भएकाले पनि उनले गीत गाउन आफ्ना पिताबाटै सिके । पिता दुर्गाबहादुर ‘मेजर’ गाउँको हेरविचारको काम पनि गर्थे । त्यसका अतिरिक्त उनी मीठो गीत गाउँथे र गाउँलेहरूलाई मन्त्रमुग्ध बनाउँथे । ‘ख्याली’, ‘कर्खा’मार्फत सत्यनारायण पूजादेखि बिहेबटुलोसम्ममा रौनक भरिदिन्थे । त्यसैको सिको झलकमानले गरे । बाबुले गाएको टपक्कै टिपेर उस्तैगरी गाउन उनले सानैदेखि सिके र सात वर्षकै उमेरमा पारंगत बने ।
झलकमान नाच्नमा पनि उत्तिकै निपुण थिए । नाच्न पनि उनले बाबुबाटै सिकेका हुन् । घर–घर डुलेर गीत गाउने र दया–धर्मले दिएको मानोमुठ्ठी बटुलेर छाक टार्नुपर्ने उनीहरूको निर्मम बाध्यता थियो । खेती, कमाइ नभएकाले उनीहरूले गीत गाउनुका अतिरिक्त माछा मारेर पनि परिवार पाल्नुपथ्र्यो । त्यसैले झलकमानको बाल्यकाल कहिले सारंगी बोकेर गाउँ–गाउँ पुग्दै त कहिले टँगालो बोकेर खोला डुल्दै बित्यो ।
माछा मार्ने पनि गन्धर्वहरूको पुख्र्यौली पेसा भएको बताउँछन् झलकमानका नाति दिनेश गायक । उनी भन्छन्, “औँला डोब्ने जग्गासमेत नभएकाले त्यतिबेला हामीले खोलामा माछा मारेर छाक टार्नुपथ्र्यो र त्यो क्रम अहिले पनि चलिरहेको छ ।”
त्यसैले झलकमानको बाल्यकाल पनि स्थानीय विजयपुर, कालीखोला, मोर्दी खोला, फुस्रे खोलामा दुवाली फर्काएर होस् या टँगालोमा बल्छी अड्काएर माछा मार्दै बित्यो । खोलासरि मानिसका भावना सुसेल्न र छहरासरी मानिसका अन्तव्र्यथा गुनगुनाउन उनले त्यसैगरी सिके ।
झलकमानको सानै उमेरमा कलावती गन्धर्वसँग विवाह भयो । दिनेशका अनुसार झलकमान त्यतिबेला  त्यस्तै ११–१२ वर्षका थिए । बाटुलेचौरमा ६२ घरजति गन्धर्व परिवार छन् । उनीहरूको समुदायमा मामा–चेली, फुपू–चेलाबीच विवाह चल्ने भएकाले बाटुलेचौरमा ६२ घरपरिवार गन्धर्व पुगेको दिनेशको भनाइ छ ।
बाबुको पछि लागेर बिहेबटुलो र चाडपर्वमा गीत गाउँदै हिँड्दा झलकमानलाई सानैमा मानिसहरूले आश्चर्य मान्थे– यति सानो छ, कस्तो राम्रो गीत गाउँछ ! कसरी जानेको होला ?
हुन पनि स्थानीय भेगमा घटेका घटना–दुर्घटना, दुःखका कहानीहरू र आफ्ना पीर–व्यथालाई उनी आँसु झार्ने गरी लयमा उतार्थे । त्यतिबेला मानिसहरू चोक–चौतारीमा बसेर झलकमानका गीत त सुन्थे, आँसु झारूँलाझैं पनि गर्थे तर तिमीहरूले दुःख पाएछौ भनेर केही दिने उदार मनको कोही भेटिँदैनथ्यो । भोकभोकै गीत गाउँदै हिँड्न उनीहरू विवश थिए ।
बाटुलेचौरका गन्धर्वहरूले जति गीत गाए, त्यत्तिकै हन्डर पनि खाए । त्यसैले त सारंगीको आवाज केवल धुन होइन, त्यो गन्धर्वहरूको आफ्नै जीवनको वेदना हो । सारंगी नेपालीहरूले मात्रै बजाउने विश्वकै मौलिक बाजामात्रै होइन, त्यो त गन्धर्वहरूको जीवन जिउने साधन र साधना पनि हो ।
० ० ०
पोखराकै हुन् जनकविकेशरी धर्मराज थापा पनि । झलकमान र धर्मराजको घरबीचको दूरी खासै टाढा थिएन । त्यस्तै ५–७ मिनेट लाग्थ्यो । त्यसैले झलकमानको घरमा धर्मराज बरोबर आउजाउ गर्थे । त्यतिमात्र होइन, धर्मराज भन्थे, “ए झलक ! नयाँ गीत के बनाएका छौं ? सुनौँ, सुनौँ !”
झलकमान हौसिन्थे र सारंगी लिएर गीत गाउन थालिहाल्थे । धर्मराज बडो रुचिपूर्वक सुन्थे र कतै सच्याउन आवश्यक लागे सच्याउन आग्रह पनि गर्थे ।
झलकमानको घर पुगेका बेला एकदिन धर्मराजले अनौठो आग्रह गरे, “रेडियो नेपालमा लोकगीत प्रतियोगिता छ, तिमी जसरी भए पनि सहभागी हुनुपर्छ ।”
झलकमानले धर्मराजको कुरा काट्न सकेनन् । कास्कीबाट उनीलगायत १८ गन्धर्वहरू रेडियो नेपालको लोकगीत प्रतियोगितामा सहभागी हुन काठमाडौं आए । ०२२ फागुन ७ गते भएको राष्ट्रिय लोकगीत प्रतियोगितामा झलकमानको समूहले पहिलो स्थान प्राप्त ग¥यो । त्यो प्रतियोगिता उनको सांगीतिक जीवनको ‘कोसेढुंगा’ सावित भयो । त्यसपछि त झलकमान रेडियो नेपालका जागिरे भए । बाद्यवादक र लय संकलकको रूपमा देशका कुनाकन्दरा र विदेशी भूमिमा समेत पाइला राख्ने अवसर पाए ।
झलकमान गन्धर्वले ‘आमाले सोध्लिन् नि’, ‘बाला जोवन’, ‘घर घरी बगानी’, ‘राधा पियारी’, ‘तिम्रै नि माया लाग्छ’, ‘घाँसै काट’, ‘आऊ बसौँ थकाइ मारौं’, ‘बस माया आजको’, ‘गोरखा गोरखनाथ’, ‘पानी खाने गोदावरी’, ‘खाऊँ त भने सुन्तला पानी’, ‘अल्लारे नानी’, ‘यानि माया’, ‘घाँस काटी’लगायत दुई दर्जनभन्दा बढी गीत गाएका छन् । उनका गीतहरू अहिले पनि रेडियो नेपालका स्रोताहरूको फर्माइस बन्ने गरेको छ ।
झलकमान नेपाली लोक संगीतका बहुआयामिक प्रतिभा हुन् । उनले ०२२ देखि ०६० सालसम्म नेपाली सांगीतिक क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिए । उनले गन्धर्व जातिले गाउँ–गाउँमा गाउने ‘झ्याउरे’, ‘ख्याली’, ‘कर्खा’, आदि भाकाका गीतहरूलाई सबैको मन–मुटुको गीत बनाइदिए । झलकमानको ०६० मंसिर ८ गते काठमाडौंमा निधन भयो ।
त्यसो त उबेला अहिलेजस्तो व्यापक थिएनन् रेडियो र टेलिभिजन । अनलाइन मिडियाको त झन् अत्तोपत्तो नै थिएन । गन्धर्वहरू ‘कटुवाल’ र हल्काराको समेत काम गर्थे । गाउँमा घटेका घटनाहरूलाई गीति लयमा पस्किने उनीहरू एककिसिमले सञ्चारकर्मीजस्ता थिए ।
“हामी त्यतिबेला ठाउँमा घटेका सामाजिक घटना, मानिसका पिर–व्यथाका करुण कथा, देशमा घटेका दुर्घटनाहरू, मायाप्रितीका कथा, लाहुरेका कथा–व्यथा, परदेशमा भएका नेपालीका अनुभूति आदि समेटेर गीत तयार पाथ्र्यौं र सारंगीमा दुरुस्तै उताथ्र्यौं,” छोरा कर्णबहादुरले सुनाए ।
झलकमानले सिंहदरबारमा आगो लागेको घटनालाई गीत बनाएर गाउँ–गाउँमा सुनाउँदै हिँडेको नाति दिनेशलाई पनि राम्रो सम्झना छ ।

काठमाडौं आएपछि यतै घरजम

गीत गाउन काठमाडौं पसेपछि झलकमानले यतै विवाह गरे । कीर्तिपुर मच्छेगाउँकी मंगलमाया गन्धर्वसँग उनको दोस्रो घरजम भयो । चार छोरी र एक छोरा जन्मिए । आफ्नी आमा बितेपछि कान्छी आमाकहाँ राम्रै आउजाउ गर्ने गरेको जेठीपट्टिका छोरा कर्णबहादुर बताउँछन् । बाबुले दोस्रो बिहे गर्दा चित्त नदुख्ने छोराछोरी को होलान् र !
“बिहे गरेकै बेला हामी दुःखी भए पनि बुबाको माया दुवैतिर बराबरी नै थियो । कान्छी आमा र उहाँपट्टिका भाइबहिनीसँग पनि राम्रो सम्बन्ध छ,” कर्णबहादुरले सुनाए ।
“कसरी भेट भए छ त उहाँहरूको ?” मैले जिज्ञासा राखेँ ।
मेरो प्रश्न भुइँमा खस्न नपाउँदै कर्णबहादुरले जवाफ फर्काए, “सारंगी बोकेर गाउँदै हिँड्ने मानिस ! भेट्नुभयो होला नि कतै, त्यति धेरै त कसरी जानूँ र हजुर ।”
उनी लख काट्छन्, “परिवारसँग छुट्टिएपछि छोरा मान्छेको मन त हो नि ! हाम्रो समुदायमा त सारंगी रेटेर गीत गाउन जानेन भने छोरी पनि पत्याउँदैनन् । बुबाले त्यति राम्रो गाउनुहुन्थ्यो, त्यही भएर पत्याएका हुन् कि !”

पञ्चायतले गाउन दिएन

झलकमानलाई लोकसंगीतका पिता भन्दा अत्युक्ति नहोला । त्यसका अतिरिक्त उनी जनताका गायक पनि हुन् । निम्छरा र निर्धाहरूको गीत गाउने र सुमधुर आवाजमार्फत् दुःख–पीडा ओकल्ने उनी पञ्चायतको आँखाको कसिंगर बन्न पुगे । केही समयका लागि झलकमानलाई तत्कालीन पञ्चायती प्रशासनले ‘कर्खा’ गाउन प्रतिबन्ध लगायो । राजा–महाराजाको वीरगाथा र लाहुरेहरूको व्यक्ति चित्रण गरेर गाइने ‘कर्खा’ उनले गाउन पाएनन् । त्यसबेला आफू निकै दुःखी भएको उनी सहकर्मीहरूलाई बताउने गर्थे ।

एकेडेमी पुग्दा बाबु देखिनँ

झलकमान काठमाडौँ पसेपछि छोरा कर्णबहादुरको जीवनमा नसोचेको दुःख आइलाग्यो । परिवारको जिम्मा पनि आफ्नै काँधमा परेजस्तै भयो । झलकमान बेलाबखत नजाने होइनन् । तर, उनी अरु जिल्ला घुम्ने र त्यहाँको लोकभाका खोज्नेमै बढी व्यस्त भए । त्यसैले होला, परिवारको हेरविचार गर्ने जिम्मा कर्णबहादुरको काँधमा आइलाग्यो । रेडियो नेपालबाट जब आफ्ना बाबुको गीत सुन्थे, उनको मुटु गर्वले फुल्थ्यो ।
०६० मंसिरको एउटा चिसो बिहान उनको जीवनको तारा निभ्यो । उनले बिहानै ३ बजे बाबुको निधनको खबर पाए । उनलाई पत्यारै लागेन । खबर सुन्नेबित्तिकै काठमाडौं हान्निऊँ लागेको थियो तर साधन नभएकाले रोकिए । बिहान ७ बजेतिर गाडी चढेर काठमाडौंतिर हिँडे ।
काठमाडौँ उत्रिएपछि उनी सरासर नेपाल प्रज्ञा प्रतिष्ठान पुगे । चारैतिर आँखा दौडाए तर बाबुको शव देखेनन् । कसैले मूर्ख बनाएछ जस्तो पनि लाग्यो । तर, उनले सुनेको खबर सत्य नै थियो । बाबुलाई अघि नै आर्यघाट लगिसकेको खबर पाएपछि उनी स्तब्ध भएर आर्यघाट पुगे । त्यहाँ अन्तिम संस्कारको कर्म चल्दै थियो । उनका आँखा थामिएनन् । जीवन सूर्यास्त भएर अन्धकारमा परिणत भएझैँ भयो ।
उनले सुनाए, “दमको रोगी हुनुहुन्थ्यो । तर पनि बितिहाल्नुहोला भन्ने लागेको थिएन ।”
झलकमानको निधनबाट कर्णबहादुरले बाबुमात्रै गुमाएनन्, नेपालको ‘लोकतारा’ नै अस्तायो ।

‘मच्छेगाउँमा शालिक बनोस्’

झलकमानको स्मृतिमा उनकै जन्मथलो कास्कीको बाटुलेचौरमा अर्धकदको शालिक बनाइएको छ । “हामीले युद्ध लडेर यो शालिक निर्माण गरेका हौँ,” नाति दिनेशले भने, “दलितको शालिक राख्न हुँदैन भनेर धेरैले विरोध जनाएका थिए । तर, सबैको असहयोगको बाबजुद हामीले शालिक खडा ग¥यौँ ।”
दिनेशलगायत केही युवा मिलेर अहिले गन्धर्व समुदाय विकास केन्द्र स्थापना पनि गरेका छन् । दिनेश त्यसका उपाध्यक्ष हुन् । उनी भन्छन्, “सरकारले गन्धर्व समुदायको विकासका लागि केही गर्ला भन्ने आशा छैन । झलकमान लोकसंगीतका नै पिता थिए, उनको सम्झनामा मच्छे गाउँमा हुन्छ कि अन्त कतै हुन्छ, एउटा पूर्ण कदको शालिक बनाइदेओस् ।”

सबैले सुने, देशले चिनेन

जति सारंगी रेटे पनि आफ्नो पीडा दूर नभएको व्यथा पोख्छन्, सुनिल गायक । भन्छन्, “आम मानिस रोइरहेका छन् । तिनीहरूको पीडा बुझ्ने फुर्सद त राज्यलाई छैन, गन्धर्वहरूको सारंगीको वेदना सुन्ने जाँगर सरकारलाई कहाँ होला र ! हामीलाई पञ्चायतले हेरेन, बहुदलले पनि वास्ता गरेन । लोकतन्त्र आएपछि त दिन फेरिएलान् भन्यौँ तर हाम्रो जीवनमा सुखको पारिलो घाम कहिल्यै नलाग्ने भयो ।”
सारंगी रेट्नु, विष्टले जे दिन्छन् त्यो थपक्क लिनु र झुपडीमा रहेका जहानबच्चाको पालनपोषण गर्नु अहिले पनि गन्धर्वको बाध्यता बनेको छ भन्छन् दिनेश गायक । उनले थपे, “बाबुबाजेसँग सारंगी थियो, हामीले पनि त्यही सारंगी पाएका छौं । सारंगी बजाएर घर–घर डुलेर खानुपर्छ । घरघर जान्छौँ, हाटबजार पुग्छौँ सारंगी रेट्छौँ, सारंगीको तालमा गाउँछौँ, नाच्छौँ, हाँस्छौँ, रुन्छौैँ । हाम्रो जीवन भन्नु यही हो ।”
कसैलाई वैंशका गीत मन पर्छन्, कसैले मुग्लान भासिएका लाहुरेको व्यथा सुन्न रुचाउँछन् । कसैलाई लडाइँ र कसैलाई बिछोडको पीडाले घोचिरहेको हुन्छ । उनीहरूका फर्माइसअनुसार सारंगीको धुनमा गीत गाउनु र सुन्नेलाई मन्त्रमुग्ध पार्दैमा बाबुबाजेको जीवन फाट्यो । नाति पुस्ताको पनि झन्डै आधा उमेर ढल्किसकेको छ ।

सम्पत्ति भन्नु सारंगीमात्रै

एक गाभो धान रोप्ने जग्गा नभएका गन्धर्वहरू सारंगी बोकेर गाउँ पस्छन् र गीत गाउँछन् । पोखरादेखि कैलालीसम्म फैलिएका गन्धर्वहरूको बाध्यता हो त्यो । उनीहरूका गीत कतिले रहरले सुन्छन्, कतिले कहरले सुन्छन् र ठहर गर्छन्– मीठै गीत गाए, दिऊँ न अलिकति पैसा ।
हो, उनीहरूको जीवन त्यसैगरी दया–धर्मले नै चलेको छ ।
झलकमान पनि सारंगीलाई आफ्नो पुर्खाको नासो बताउँथे । मानिसलाई रुवाउने, हँसाउने र मन्त्रमुग्ध बनाउने क्षमता राख्ने सारंगी नै गन्धर्वहरूको सम्पत्ति भएको बताउँछन् छोरा कर्णबहादुर ।
झलकमान सधैं आफूले बजाउने सारंगीको बखान गर्थे । सारंगी बजाउँदै पूरै देश भ्रमण गरेका झलकमानले माटोको स्वाद राम्रै चाखे र त्यसलाई आवाजमार्फत् प्रस्फुटन गरे । जर्मनी, बेल्जियम, युगोस्लाभिया, फ्रान्स, भारतलगायत देशमा पुगेर सारंगीलाई चिनाउने कामसमेत गरे ।

झलकमानको चर्चित गीत

हे बरै
बाबाले सोध्लान् नि खै छोरा भन्लिन्
रन जित्दैछन् भन्दिए
आमाले सोध्लिन् नि खै छोरा भन्लिन्
रनमा प¥यो भन्दिए
दाजैले सोध्लान् नि खै भाइ भन्लान्
अंशै बढ्यो भन्दिए
भाउजूले सोध्लिन् नि खै देवर भन्लिन्
खसी काट भन्दिए
भाइले सोध्लान् नि खै दाजै भन्लान्
घेरामा परे भन्दिए
दिदीले सोध्लिन् नि खै भाइ भन्लिन्
माइती घटे भन्दिए
बैनीले सोध्लिन् नि खै दाजै भन्लिन्
चोली घट्यो भन्दिए
छोराले सोध्लान् नि खै बाबा भन्लान्
टोपी झिक भन्दिए
छोरीले सोध्लिन् नि खै बाबा भन्लिन्
सुन–चुरा को दान दिए
प्रियाले सोध्लिन् नि खै स्वामी भन्लिन्
बाटो फुक्यो भन्दिए
साथीले सोध्लान् नि खै लाउरे भन्लान्
मया मार भन्दिए
हे बरै
दशी धारा पू नरोए आमा
दशी धारा पू नरोए आमा
बाँचे पठाम्ला तस्बिरै खिचेर
कस्तो लेख्यो नि भावीले
कर्मलीला थै मलाउ हजुर
कस्तो लेख्यो नि भावीले
कर्मलीला थै मलाउ हजुर
बटौलीको बजारैमा
चार पैसाको लाहा छैन
शिरको स्वामी स्वर्गे हुँदा
घर बस्नीलाई था छैन
                                                                                                                                                                                                                                                                                                                                                                                                    
सिसै काट्यो गोलीले
रणमा परी मरिछन् लाहुरे
बाबा रुन्छन् लौ वर्षदिन
आमा जुगैभरी लौ हजुर

गन्धर्वका दुःख

व्यवस्था फेरियो । मुलुकमा धेरथोर परिवर्तन आयो । उतिबेला कहाँ यस्तो थियो र ! जतिबेला झलकमान सारंगी बोकेर गीत गाउँदै गाउँ–गाउँ पुग्थे । कर्णबहादुर सम्झन्छन्, “खाएको थाल पनि हामी आफैँलाई माझ्न लगाउँथे । गीत सबैले सुन्थे तर दलित भनेर भित्र पस्न दिँदैनथे । पानी बार्थे र छिःछि र दुरदुर गर्थे ।”
विगतको त्यस्तो छोइछिटो र अपहेलना सम्झेर होला, अहिलेका पुस्ता कोही गीत गाउन मान्दैनन् । बिस्तारै सारंगी बजाउने गन्धर्वहरू अरु पेसातिर तानिएका छन् ।
कर्णबहादुर भन्छन्, “खेती कमाइ छैन । सारंगी बजाएर मात्र जहान छोराछोरीको पेट भर्न सकिँदैन । त्यसैले मेरा तीनवटा छोराहरू त नोकरीका लागि बाहिरफेर गएका छन् ।”
गन्धर्वहरू सारंगी बजाउने मात्र होइन, सारंगी बनाउने पनि काम गर्छन् । तर, कर्णबहादुर भन्छन्, “हामीलाई त बनाउन आउँदैन हजुर ! हजुरबुबाको पालामा बनाउनुहुन्थ्यो । हामीहरूले बनाएनौँ । हामी त तनहुँको डुम्रेबाट किनेर ल्याउँछौँ ।”
उनका अनुसार अहिले एउटा सारंगीको ५ हजार रुपैयाँ पर्छ । उनले थपे, “भनेजस्तो त कहाँ पाउनु हजुर ! असली सारंगी खिर्रोबाट बनाउनुपर्छ । अहिलेको त सालसल्लोबाट बनेका हुन्छन् । आवाज नै राम्रो नआउने !”
कर्णबहादुरलाई दुःख लाग्छ– बिस्तारै गन्धर्वहरू गायन पेसाबाट पलायन हुँदैछन् । कति रोजगारीका लागि बाहिर भासिइसके ।
कतिले जेनतेन यो पेसा जोगाइरहेका छन् । गाउँ–गाउँमा गीत गाउन हिँड्नेको संख्या शून्यमा झरिसक्यो । तर, दोहोरी साँझ या सांस्कृतिक संघ÷समूहमा बसेर कतिपयले यो पेसा जोगाइरहेका छन् । उनी आफैँले पनि लामो समय दोहोरी साँझमा गीत गाए र परिवारको भरणपोषण गरे ।
गन्धर्वहरूको पेसा नै गाउने हो । गाउँ–गाउँका भाका बटुल्ने र सारंगीमार्फत आवाजमा ढाल्न उनीहरूलाई प्रकृतिले नै वरदान दिएको छ भन्दा फरक पर्दैन । त्यसैलाई थुप्रैले फाइदा उठाएका छन् । गन्धर्वमा गाउँमा पस्ने र ‘दाइ, एउटा मीठो गीत गाइदिनुहोस् न’ भन्दै सय–पचास दिएर गाउन लगाउने र पछि त्यसलाई आफ्नो लय र भाका भनेर रेकर्ड गर्नेहरूको कमी नभएको बताउँछन् झलकमानका नाति दिनेश ।
गन्धर्वहरू खासगरी कास्की जिल्लाको विभिन्न गाउँबस्तीमा छरिएर र समुदायमा पनि बस्ने गरेका छन् । लमजुङ, दाङ, बागलुङ, पर्वत, बाँके, बर्दिया, चितवन, मकवानपुर र स्याङ्जामा गन्धर्वहरूको घनिभूत बसोबास रहेको दिनेश बताउँछन् । गोरखा नै गन्धर्वहरूको उत्पत्तिस्थल हो र त्यहाँबाट नै अन्यत्र फैलिएका हुन् भन्ने कथन छ । तथापि, उल्लेखित कुनै तथ्य भेटिँदैन ।

(२०७३ श्रावण २७, बिहीबार) १५:५३ मा प्रकाशित

Exchange Rate

Nepali Patro